सोमबार, २५ जेठ २०८३
ताजा लोकप्रिय
कलाकार

पर्दामा परिपक्व भूमिका निभाउन खोज्ने रेनु

थिएटरले सिकायो अभिनयलाई फरक दृष्टिकोणबाट हेर्न
सोमबार, २५ जेठ २०८३, ०७ : ०१
सोमबार, २५ जेठ २०८३

सारांश

  • अभिनेत्री रेनुनाथ योगी यतिबेला प्रदर्शनमा आएको फिल्म 'रोल नम्बर १' बाट दर्शकको राम्रो प्रतिक्रिया पाएर दंग छिन् ।
  • बाल मनोविज्ञानमा आधारित यस फिल्ममा रेनुले आमाको भूमिका निर्वाह गरेकी छिन् र यसले शिक्षा प्रणालीले बालबालिकामा पार्ने प्रभावलाई चित्रण गरेको छ ।
  • थिएटर पृष्ठभूमिबाट आएकी रेनु अभिनयलाई गहिराइबाट बुझ्न रुचाउँछिन् र भविष्यमा रोमान्टिक भूमिका गर्न पनि तयार छिन् ।

काठमाडौँ । अभिनेत्री रेनुनाथ योगी यतिबेला दंग छिन् । यसको कारण हो हालै प्रदर्शनमा आएको फिल्म ‘रोल नम्बर १’ । फिल्मले व्यवसाय त राम्रै गरिरहेको छ नै, यसभन्दा राम्रो छ दर्शकको प्रतिक्रिया ।

जेठ १५ देखि देशव्यापी प्रदर्शनमा आएको ‘रोल नम्बर १’ बाल मनोविज्ञानमा आधारित फिल्म हो । यसमा मुख्य भूमिका निर्वाह गरेकी रेनु त्यसयता हल भिजिट गरिरहेकी छन् । आइतबार उनी पोखरा पुगेर त्यहाँका दर्शकको प्रतिक्रिया लिइन् ।

‘दर्शकहरूको प्रतिक्रिया सुन्दा फिल्मको कथाको मर्म दर्शकको मनसम्म पुगेको पुष्टि गर्छ,’ रातोपाटीसँग रेनुले भनिन् । फिल्मको वर्ड अफ माउथ निकै राम्रो रहेको उनी बताउँछिन् ।

‘दर्शकहरूले फिल्मको यथार्थ कथालाई मन पराउनुभएको छ । यदि फिल्मको कथा काल्पनिक भएको भए दर्शकले यसलाई आफ्नो कथा मान्नु हुने थिएन,’ रेनु भन्छिन्, ‘हाम्रो शिक्षा प्रणाली कस्तो छ र यसले बालबालिकामा कस्तो प्रभाव पार्छ भन्ने कथा फिल्ममा छ ।’

फिल्म हेरेपछि हरेक अभिभावकलाई महसुस गराउँछ- हामीले कतै शैक्षिक प्रमाणपत्रको मात्रै पछि लागेर आफ्ना बच्चामाथि गल्ती त गरिरहेका छैनौँ ? फिल्मको कथा सरल र सहज तरिकाले बगेका कारण पनि दर्शकले यसमा अपनत्व महसुस गर्ने उनी बताउँछिन् ।

रेनुलाई लागेको छ, ‘रोल नम्बर १’ ले नेपाली फिल्म बजारमा फरक तरङ्ग ल्याएको छ । नेपाली फिल्म हेर्न बिरलै जाने दर्शकलाई पनि यो फिल्मले हलसम्म डोर्‍याइरहेको छ । हल भिजिटका क्रममा रेनुले ट्रेलरबाट प्रभावित भएर पहिलोपटक नेपाली फिल्म हेर्न आएका दर्शक समेत भेटिन् ।

Renu Yogi (3)

‘हामीले विद्यालयहरूमा पुगेर पनि फिल्मको प्रचार गरेका थियौँ,’ रेनु सुनाउँछिन्, ‘त्यसले गर्दा विद्यार्थी र युवापुस्ता ठुलो सङ्ख्यामा हलमा आए ।’ पाँचजना बालकलाकारको अभिनय र फरक प्रस्तुतिले पनि फिल्मप्रति दर्शक आकर्षित भएको उनी बताउँछिन् ।

फिल्ममा रेनुले आमाको भूमिका निर्वाह गरेकी छिन् । कथा र चरित्र सुन्दा नै उनी यो भूमिकाप्रति आकर्षित भइन् ।

एउटा गम्भीर र मानसिक रूपमा आहत भएको पात्रलाई पर्दामा उतार्न रेनुले निकै मेहनत गरेकी छिन् । यसको पहिलो जस उनी फिल्मका लेखकलाई दिन्छिन् । बलियो र तिखो लेखनले नै कलाकारलाई आफ्नो अभिनय निखार्न मद्दत गर्ने उनको बुझाइ छ । त्यसपछि उनले डकुमेन्ट्रीहरू हेरेकी थिइन् ।

‘मेरो पात्र एउटा ठुलो मानसिक आघात र शोकमा बाँचेको पात्र हो । यस्तो अवस्थामा महिलाको मनोविज्ञान कस्तो हुन्छ भन्ने बुझ्न मैले मनोपरामर्शदाता (काउन्सिलर) सँग पनि परामर्श लिएँ’, रेनु सुनाउँछिन्, ‘आघातका विभिन्न चरण बुझेर मैले आफ्नो चरित्रलाई पर्दामा ढाल्ने कोसिस गरेँ ।’

समाजमा आमा र बुबाको मनोविज्ञान फरक हुने रेनुको अनुभव छ । ‘बुबाहरू प्रायः व्यावहारिक र अलि प्राविधिक सोच राख्छन् । बाहिरी संसार देखेका हुनाले उनीहरू सन्तानले दुःख नपाओस् भनेर बढी प्रेसर दिने गर्छन् । तर आमा स्नेह र ममताको प्रतीक हुन् । उनीहरू सन्तानको व्यक्तिगत खुसी र मानसिक शान्तिलाई बढी जोड दिन्छन्,’ उनको बुझाइ छ ।

  • थिएटरले बनायो परिपक्व

रेनुले फिल्म ‘प्रकाश’बाट अभिनयमा डेब्यु गरेकी हुन् । ‘रोल नम्बर १’ सम्म आइपुग्दा गम्भीर, आमा वा श्रीमती जस्ता परिपक्व भूमिका नै गरेकी छन् । धेरैले उनलाई यो उमेरमा रोमान्टिक फिल्महरू रोज्नुपर्ने सुझाव दिन्छन् । तर रेनुको सोचाइ फरक छ, जसको मुख्य कारण उनको थिएटर पृष्ठभूमि हो । उनी सन् २०१५ बाट थिएटरमा जोडिएकी हुन् ।

Renu Yogi (1)

‘थिएटरले मलाई अभिनयलाई फरक दृष्टिकोणबाट हेर्न सिकायो । त्यहाँ उमेर, रूप वा रङभन्दा पनि पात्रको अभिनय र गहिराइलाई बढी महत्व दिइन्छ’, उनी भन्छिन्, ‘थिएटरका साथीहरूको सिफारिसमा नै मैले फिल्म क्षेत्रमा पाइला टेकेकी हुँ ।’

भारतको नैनीतालमा रामलीला र स्थानीय नाटकहरूमा दाजु-दिदीहरूले गरेको अभिनय  हेर्दै उनी हुर्किइन् । सानैदेखि नृत्यमा रुचि भएकी उनमा त्यही कारण अभिनयको भोक जागेको थियो । थिएटरले भने उनको जीवनको बाटो नै मोडिदियो । यद्यपि, उनी आफूलाई कुनै सीमामा बाँध्न चाहन्नन् ।

‘म अझै सिक्दैछु र म युवा नै छु । सुरुमा काम गम्भीर भएकाले मानिसहरूलाई मैले यस्तै भूमिका मात्र गर्छे भन्ने लागेको हुन सक्छ’, उनी सुनाउँछिन्, ‘तर म मुस्ताङको चिसोमा सिफनको साडी उडाएर रोमान्टिक भूमिका गर्न पनि उत्तिकै तयार छु ।’

रेनु एकपछि अर्को फिल्म यात्रालाई आफ्नो सिकाइको एउटा निरन्तर प्रक्रियाका रूपमा लिन्छिन् । ‘प्रकाश’ को तुलनामा अहिले आफूमा बुझाइ र अभिनयका हिसाबले केही परिपक्वता आएको उनले महसुस गरेकी छन् ।

‘मेरो लागि अभिनय एउटा काम हो, जहाँ मैले आफ्नो शतप्रतिशत दिने प्रयास गर्नुपर्छ,’ रेनु भन्छिन्, ‘कामपछिको चर्चा वा प्रचारभन्दा मलाई निरन्तर राम्रा कथाहरू भन्न मन छ ।‘

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

कुवेर गिरी
कुवेर गिरी

कुवेर गिरी कला/मनोरञ्जन बिटमा रिपोर्टिङ गर्छन् ।

लेखकबाट थप