बुधबार, २७ जेठ २०८३
ताजा लोकप्रिय
संसद् बैठक

‘नेपालले पनि भारतको सिमाना मिचेको छ’ भन्ने प्रधानमन्त्रीको अभिव्यक्ति लज्जास्पद र गैरजिम्मेवार : आङ्देम्बे (सम्बोधनको मुख्य अंशसहित)

बुधबार, २७ जेठ २०८३, १६ : ४५
बुधबार, २७ जेठ २०८३

सारांश

  • प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस संसदीय दलका नेता भीष्मराज आङ्देम्बेले प्रधानमन्त्रीको 'नेपालले पनि भारतको सिमाना मिचेको छ' भन्ने अभिव्यक्तिको आलोचना गरेका छन्।
  • आङ्देम्बेले प्रधानमन्त्रीको उक्त अभिव्यक्तिलाई आपत्तिजनक, गैरजिम्मेवार र लज्जास्पद भन्दै राष्ट्रियताप्रतिको निष्ठामाथि प्रश्न उठाएका छन्।
  • उनले सत्ताको लोभमा सांसदहरूले विवेक गुमाएको र प्रधानमन्त्रीको अभिव्यक्तिले अन्तर्राष्ट्रिय जगतमा नेपालको छवि बिग्रने चिन्ता व्यक्त गरेका छन्।

काठमाडौँ । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस संसदीय दलका नेता भीष्मराज आङ्देम्बेले ‘नेपालले पनि भारतको सिमाना मिचेको छ’ भन्ने प्रधानमन्त्री बालेन शाहको अभिव्यक्तिको आलोचना गरेका छन्।

संघीय संसद प्रतिनिधि सभाको बुधबारको बैठकमा विशेष समय लिएर बोल्दै  उनले बालेनको उक्त अभिव्यक्तिलाई ‘आपत्तिजनक, गैरजिम्मेवार र लज्जास्पद’ भन्दै सांसदले प्रधानमन्त्रीको राष्ट्रियताप्रतिको निष्ठामाथि प्रश्न उठाए । 
सम्बोधनका क्रममा उनले नेपाल कहिल्यै कसैको उपनिवेश नबनेको भन्दै प्रधानमन्त्रीले वीर गोर्खालीको स्वाभिमानमाथि प्रधानमन्त्रीले चोट पुर्‍याएको आरोप लगाए। गोपाल योञ्जनको देशभक्तिपूर्ण गीत ‘खोसेको रोटीले मेरो पेट भरिन्न’ को स्मरण गर्दै उनले नेपाली जनताले सगरमाथा जत्रै स्वाभिमान बोकेर बाँच्न चाहेको तर प्रधानमन्त्रीले भने छिमेकीको सिमाना मिचेको भन्दै आत्मसमर्पणवादी धारणा राखेको बताए।
‘लिपुलेक, कालापानी र लिम्पियाधुरा हाम्रो हो भन्ने कुरा यो संसदले नक्सा पारित गरेर दुनियाँलाई देखाइसकेको छ,’ उनले भने, ‘तर आज हाम्रै प्रधानमन्त्रीले ‘हामीले पनि मिचेका छौँ’ भन्नु कतिसम्म लज्जास्पद कुरा हो ? के उहाँले हिसाब बराबर गर्न खोज्नुभएको हो ?’

सत्तारुढ दल र विशेष गरी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसदहरूप्रति लक्षित गर्दै उनले प्रधानमन्त्रीको यस्तो राष्ट्रघाती अभिव्यक्ति आउँदा विरोध गर्नुको साटो टेबल ठटाएर समर्थन गरेको दृश्य इतिहासकै सबैभन्दा दुखद र लज्जास्पद भएको बताए। सत्ताको लोभमा सांसदहरूले आफ्नो विवेक र प्रश्न गर्ने क्षमताको ‘आत्महत्या गरिरहेको उनको टिप्पणी थियो।
प्रधानमन्त्रीको अभिव्यक्तिका कारण अन्तर्राष्ट्रिय जगतमा समेत नेपालको छवि बिग्रने र गलत सन्देश जाने भन्दै उनले चिन्ता व्यक्त गरे। 

सम्बोधनमा मुख्य अंश–

सम्माननीय सभामुख महोदय,

आज असामान्य परिस्थितिमा म यो सम्मानित सदनलाई सम्बोधन गर्न उभिएको छु । म जान्दछु- म त्यो देशको नागरिक हुँ, जुन देश इतिहासमा कहिल्यै कसैको उपनिवेश बनेन । म जान्दछु- मेरो देश वीर गोर्खालीको देश, दुनियाँमा कहिल्यै कसैका सामु झुकेन । तपाईं हामी कयौंले बाल्यकालदेखि गोपाल योन्जनको गित सुन्दै आयौं - खोसेको रोटीले मेरो पेट भरिन्न, मागेको धोतिले मेरो लाज छोपिन्न, घोटिएर हात-पाउ झरिजाउन् औंला, तर कोई अगाडि यी हात जोडिन्न। बनेको छ पहराले यो छाती मेरो सभामुख महोदय, यो राष्ट्रिय गितको शब्द / शब्दले यहि सन्देश दिएको छ कि नेपाली आमाको गर्भबाट हिजो जन्मिएका या भविस्यमा जन्मने प्रत्येक बच्चा, प्रत्येक मान्छे- शिरमा स्वाभिमान बोकेर बाँच्नेछ । सगरमाथा मात्रै होईन, सगरमाथा जत्रै स्वाभिमान बोकेर बाँच्नेछ । तर यसो सोच्छु सभामुख महोदय, आज गोपाल योन्जन हुनुन्थ्यो भने - `हाम्रो देशले छिमेकीको सिमाना मिचेको छ´ भन्ने प्रधानमन्त्रीको अभिव्यक्ति सुनेर के भन्नुहुन्थ्यो होला ? उहाँले पक्कै शोध्नुहुने थियो- उनले पनि मिचे, हाम्ले पनि मिच्यौँ के हिसाब बराबर भन्न खोज्नुभएको हो प्रधानमन्त्रीजी ? दुनियाँलाई थाहा छ ।

सभामुख महोदय, * लिपुलेक हाम्रो हो, * कालापानी हाम्रो हो, * लिम्पियाधुरा हाम्रो हो । यहि संसदले ती भुभाग सहितको नेपालको नक्सा पारित गरेको पनि दुनियाँलाई थाहा छ । यो बिषयको हल उत्तेजना र आवेगले होईन संयमित ढंगले गहन संवादको माध्यमबाट कुटनैतिक प्रक्रियाबाट हुनुपर्छ । हामी सबै यहि चाहन्छौं । त्यसका लागि हामी पक्ष - प्रतिपक्ष सबै नै सरकारको साथमा थियौं र छौं । तर सरकार र सत्तारुढ पार्टीको रवैया यो गम्भीर प्रश्नप्रति गम्भीर देखिन्न ।

सभामुख महोदय ,

*सरकार अलग कुरा हो, पार्टी अलग । * मन्त्री / प्रधानमन्त्री पद अलग हो , सांसद अलग । यो तथ्य बुझेर अघिल्लो संसदमा जुन बेला मेरो पार्टी नेपाली काँग्रेस सरकारमा थियो, त्यसबेला काँग्रेसकै दुई महामन्त्री रोस्ट्रममा उभिएर आफ्नै सरकारको पनि कमजोरी केलाउनु हुन्थ्यो । काँग्रेसकै सांसदहरू काँग्रेसकै मन्त्री / प्रधानमन्त्रीका विरुद्ध आवश्यक बिषयमा प्रश्न उठाउनु हुन्थ्यो । प्रहार गर्नुहुन्थ्यो । त्यसैले दम राखेर भन्न सकियो - काँग्रेस लास र दासहरुको पार्टी होइन । तर .... आजको मितिमा म यो संसदमा प्रश्न गर्ने क्षमताले आत्महत्या गरिरहेको बडा कारुणिक दृश्य हेरिरहेको छु । सत्ताको कित्ताबाट कोहि एकजनाले हिम्मत गर्लान् र मेरो देशले कसको सिमा कहाँ मिचेको छ ? भनेर प्रश्न गर्लान् भनेको त सभामुख महोदय म लज्जित छु- उल्टै कतिपय सांसद मित्र नेपालले भारतको सिमा मिचेकै हो भनेर पुष्टि गर्न न्वारानदेखिको बल लगाएर दौडिएका छन् । त्यस्तो हर्कत गर्ने मित्रहरूलाई वीर भक्ती थापाको आत्माले धिक्कार्ला कि नधिक्कार्ला ? यो साेधेर म उसै दुखी मनहरुलाई थप दुखित बनाउन चाहन्न ! बरु सभामुख महोदय , म यो संसद अब यहि बिषयमा रुमल्लिएर बस्नुहुन्न भन्ने परिपक्व र जिम्मेवार दायित्वतर्फ सबैको बडा नम्रतापुर्वक ध्यानाकर्षण गराउन चाहन्छु । यो बर्षको बजेट उपरको छलफल बाँकी छ । नेपाली जनताका अन्य कैयन जिवन्त मुद्दामा छलफल गर्नुछ ।

प्रधानमन्त्रीजीलाई संसद नचाहिएला, तर प्रतिपक्षलाई संसद चाहिएको छ । फेरि कुनैदिन छापामार शैलीमा प्रधानमन्त्रीजि फेरि आउनु होला, तर म उहाँलाई अब खोज्न चाहन्न । तर प्रधानमन्त्रीले बोलेकै कुरामा मात्रै अल्मलिएर , गरिमामय संसदको अमुल्य समय खेर फाल्नुहुन्न भन्ने जिम्मेवारीबोध गर्ने कार्यमा कमजोरी गर्न पनि चाहन्न । `नेपालले पनि भारतको सिमा मिचेको छ´ भन्ने प्रधानमन्त्रीको अभिव्यक्ति गैह्र जिम्मेवारपुर्ण थियो । आपत्तिजनक थियो र लज्जास्पद अभिव्यक्ति थियो । तर यदि हाम्रो संसदमा लगातार ५ दिनसम्म ५ जना अन्तर्राष्ट्रिय पर्यवेक्षक राखेर छलफल गरियो भने ५ दिनपछि तिनले निष्कर्षमा पक्कै लेख्नेछन् - नेपालले भारतको सिमा मिचेको कुरा सत्य हो रहेछ । किनकी सत्ताको टेपले टालिएका ओठहरु, सत्यको पक्षमा बोल्न सक्दैनन् ।

सबै सांसद बोल्ने हो भने ती बिदेशी पर्यवेक्षकहरुले लेख्नेछन्- नेपालको संसदको बहुमत सांसदले स्विकारेका छन् `नेपालले भारतको सिमा मिचेकै हो´ । किनकी `मिचेको होईन´ भन्ने संख्या त संसदमा अल्पमतमा छ । बहुमत सांसदले त्यो स्विकारेको लज्जास्पद दृश्य झल्झली सम्झन्छु सभामुख महोदय म - त्यो दिन जब प्रधानमन्त्रीजिले त्यस्तो बोल्नुभयो, तब रास्वपाका माननीय सदस्यहरुले समर्थनमा ठोक्नुभएको थियो टेबुल- ड्याङ / ड्याङ / ड्याङ गरेर । माफ पाउँ सभामुख महोदय, मैले यो जन्ममा देखेको अहिले सम्मकै सबैभन्दा लज्जास्पद , र सबैभन्दा दु:खद दृश्य थियो त्यो !!

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप