बुधबार, २७ जेठ २०८३
ताजा लोकप्रिय

सांसद हमालद्वारा राष्ट्रियताको विषयमा एकताबद्ध हुन आग्रह

बुधबार, २७ जेठ २०८३, १७ : ३६
बुधबार, २७ जेठ २०८३

काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का नेता तथा सांसद प्रमेशकुमार हमालले राष्ट्रियता, राष्ट्रिय स्वाभिमान र सीमा सुरक्षाजस्ता विषयमा संसद् विभाजित भएर प्रस्तुत हुनु दुःखद् भएको बताएका छन्।

प्रतिनिधि सभाको आजको बैठकमा बोल्दै उहाँले राष्ट्रिय स्वाभिमान, भू–अखण्डता र सीमासम्बन्धी विषयमा राजनीतिक दलहरूबीच साझा धारणा र एकता आवश्यक रहेको बताए । सांसद हमालले नेपाल–भारत सीमासम्बन्धी विषयमा प्रधानमन्त्रीले दिनुभएको अभिव्यक्ति फिर्ता लिनुपर्ने माग गरे।

“राष्ट्रियताको सन्दर्भमा प्रधानमन्त्रीले दिनुभएको अभिव्यक्ति फिर्ता हुनुपर्छ”, उनले भने, “संसद्को रेकर्डमा रहेका ती शब्दहरू पनि हटाइनुपर्छ ।” उनले कालापानी, लिपुलेक र लिम्पियाधुरा नेपालको अभिन्न भूभाग भएको दोहोर्‍याउँदै ती क्षेत्रमाथिको नेपालको दाबी ऐतिहासिक र तथ्यगत रूपमा स्पष्ट रहेको बताए।

उनले नेपालको आत्मसम्मान, राष्ट्रिय गौरव र सार्वभौमसत्ताको संरक्षण सबै राजनीतिक शक्ति र राज्य संयन्त्रको साझा दायित्व भएको उल्लेख गरे।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप