मङ्गलबार, ०२ असार २०८३
ताजा लोकप्रिय
लगानी

११ महिनामा प्रत्यक्ष वैदेशिक लगानी प्रतिबद्धता ४७ अर्ब ६१ करोड, जेठमा २ अर्ब २९ करोड

मङ्गलबार, ०२ असार २०८३, १३ : ४८
मङ्गलबार, ०२ असार २०८३

सारांश

  • चालु आर्थिक वर्ष (२०८२/०८३) को ११ महिनामा प्रत्यक्ष वैदेशिक लगानी (एफडीआई) प्रतिबद्धता ४७ अर्बभन्दा माथि आएको छ ।
  • २०८३ जेठ महिनामा मात्रै २ अर्ब २९ करोड ५३ लाख रुपैयाँ बराबरको वैदेशिक लगानी स्वीकृत भएको छ ।
  • लगानीका हिसाबले कृषि तथा वनजन्य क्षेत्र सबैभन्दा आकर्षक देखिएको छ ।

काठमाडौँ । चालु आर्थिक वर्ष (२०८२/०८३) को ११ महिनामा प्रत्यक्ष वैदेशिक लगानी (एफडीआई) प्रतिबद्धता ४७ अर्बभन्दा माथि आएको छ ।

उद्योग विभागका अनुसार वैशाख मसान्तसम्म ४७ अर्ब ६१ करोड ६९ लाख ४६ हजार रुपैयाँ बराबर एफडीआई स्वीकृत भएको हो । यस अवधिमा अटोमेटिक रुटबाट ७ अर्ब ७१ करोड र अप्रुभल रुटबाट ३९ अर्ब ९० करोड रुपैयाँ बराबर एफडीआई स्वीकृत भएको छ ।

२०८३ जेठ महिनामा मात्रै २ अर्ब २९ करोड ५३ लाख रुपैयाँ बराबरको वैदेशिक लगानी स्वीकृत भएको छ । विभागका अनुसार जेठ महिनामा कुल १८६ वटा परियोजना स्वीकृत भएका छन् ।

११ महिनामा सो लगानी प्रतिबद्धता कुल ९१४ कम्पनीमार्फत आएको हो । २०३ कम्पनी अप्रुभल रुट र ७११ कम्पनी अटोमेटिक रुटबाट दर्ता भएका थिए ।

जेठ महिनामा स्वीकृत १८६ परियोजनामध्ये १८३ वटा साना स्केलका उद्योग छन् भने ३ वटा मध्यम स्केलका छन् । ठुला स्केलका उद्योग भने यो महिना एउटा पनि स्वीकृत भएको छैन । यी उद्योग सञ्चालनमा आउँदा १ हजार २२१ जनाले रोजगारी पाउने अनुमान गरिएको छ ।

आर्थिक वर्ष २०८२/०८३ को ११ महिनामा वैदेशिक लगानीको प्रतिबद्धता भएका कुल ९१४ वटा परियोजनाबाट २५ हजार ४५० जनाले रोजगारी पाउने अनुमान छ ।

सरकारले अहिलेसम्म ५ हजार २४८ उद्योग दर्ताका लागि ७ हजार ३७४ लगानी स्वीकृत गरी ६ खर्ब ६० अर्ब ४३ करोड ८९ लाख रुपैयाँ बराबरको वैदेशिक लगानी प्रतिबद्धता भएको विभागले जनाएको छ ।

आर्थिक वर्ष २०८२/०८३ को ११ महिनामा वैदेशिक लगानीको प्रतिबद्धता भएका कुल ९१४ वटा परियोजनाबाट २५ हजार ४५० जनाले रोजगारी पाउने अनुमान छ ।

उद्योग विभागका अनुसार लगानीका हिसाबले कृषि तथा वनजन्य क्षेत्र सबैभन्दा आकर्षक देखिएको छ । परियोजना सङ्ख्याको आधारमा भने सूचना प्रविधि क्षेत्रमा सबैभन्दा बढी ५७७ वटा उद्योग स्वीकृत भएका छन्, जसमा कृषि तथा वनजन्य क्षेत्रमा २२ अर्ब ८ करोड अर्थात् ४६ प्रतिशत लगानी स्वीकृत भएको छ ।

त्यस्तै, पर्यटन क्षेत्रमा १२ अर्ब ९९ करोड, सेवा क्षेत्रमा ४ अर्ब ५९ करोड, उत्पादनमूलक क्षेत्रमा ३ अर्ब ५७ करोड, सूचना प्रविधिमा २ अर्ब ३६ करोड, पूर्वाधारमा १ अर्ब ६५ करोड, ऊर्जामा २३ करोड ४२ लाख र खनिजमा ११ करोड ५० लाख रुपैयाँ लगानी स्वीकृत भएको छ ।

विभागको तुलनात्मक ग्राफ अनुसार चालु आर्थिक वर्षको ११ महिनामा लगानीको उतारचढाव देखिएको छ, जसमा आर्थिक वर्षको सुरुवाती महिना साउनमा वर्षकै सबैभन्दा बढी (करिब २५ अर्ब हाराहारी) लगानी स्वीकृत भएको थियो ।

जेठ महिनामा ९५ जना लगानीकर्ता, ५१ जना प्रतिनिधि र ८५ जना आश्रितहरूका लागि व्यावसायिक भिसा सिफारिस गरिएको छ ।

त्यस्तै, भदौ महिनामा साउनको तुलनामा लगानीमा गिरावट आएको थियो । असोजदेखि माघसम्ममा लगानीको ग्राफ निकै न्यून विन्दुमा झरेको थियो, जसमा मङ्सिर र पुस महिनामा लगानी सबैभन्दा कम देखिएको छ । फागुन महिनामा लगानीको ग्राफमा केही सुधार देखिएको थियो ।

साउनमा वर्षकै उच्च करिब २४ अर्ब रुपैयाँ लगानी स्वीकृत भएको थियो भने भदौमा यो घटेर करिब ९ अर्बमा खुम्चियो । त्यसपछिका महिनाहरू असोजमा करिब ३ अर्ब, कात्तिक र मङ्सिरमा समान १ अर्ब ५० करोड तथा पुस महिनामा १ अर्ब हाराहारीमा लगानी प्रतिबद्धता आएको थियो ।

माघमा पुनः १ अर्ब ५० करोड पुगेको लगानी फागुनमा करिब १ अर्बमा झरेको थियो । चैतमा १ अर्ब र वैशाखमा करिब ३ अर्ब पुगेको लगानी जेठ महिनामा आएर २ अर्ब २९ करोड स्वीकृत भएको छ ।

जेठ महिनामा ९५ जना लगानीकर्ता, ५१ जना प्रतिनिधि र ८५ जना आश्रितहरूका लागि व्यावसायिक भिसा सिफारिस गरिएको छ । त्यस्तै, जेठ महिनामा रोयल्टीबापत ४४ करोड ७५ लाख र लाभांशबापत ७९ लाख ८६ हजार रुपैयाँ फिर्ता लैजान स्वीकृत दिइएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप