मङ्गलबार, ०२ असार २०८३
ताजा लोकप्रिय
ठगी धन्दा

कानेपोखरी ठगी प्रकरण : थप ११ पीडितद्वारा संयुक्त उजुरी, क्यान्सर रोगीदेखि बाख्रापालकसम्मको उठीबास

मङ्गलबार, ०२ असार २०८३, ०७ : १३
मङ्गलबार, ०२ असार २०८३

विराटनगर । मोरङको कानेपोखरी–६, रमाइलो बजारस्थित ‘शुभलक्ष्मी अधिकारी सुनचाँदी पसल’का सञ्चालकबाट करोडौँ रुपैयाँ ठगिएको भन्दै थप ११ जना पीडितले जिल्ला प्रशासन कार्यालय मोरङमा संयुक्त उजुरी दर्ता गराएका छन् ।

असार १ गते सोमबार दर्ता गरिएको उजुरीमा पीडितहरूले पसल सञ्चालक होमनाथ अधिकारी, उनकी श्रीमती बाटुलादेवी अधिकारी, छोराहरू ध्रुव र मनोज अधिकारी तथा बुहारीहरूसहितको परिवारले आफ्नो सर्वस्व हिनामिना गरेको उल्लेख छ ।

यसअघि जेठ ७ गते स्थानीय विष्णुमाया गिरीले २९ लाख १७ हजार रुपैयाँ ठगी भएको भन्दै किटानी जाहेरी दिएकी थिइन् ।

उजुरी दिन पुगेका पीडितहरूको अवस्था अत्यन्तै दयनीय र कारुणिक छ । कसैले जीवनभरि दुःख गरेर त कसैले रोगको उपचारका लागि साँचेको रकम सञ्चालक परिवारले हिनामिना गरिदिँदा उनीहरू सडकमा पुगेका छन् ।

पीडित दुर्गामाया मंग्रातीले आफूले राखेको र आफ्नो बुबा वीरबहादुर बयलकोटीले राखेको रकम फिर्ता नपाएको बताइन् । दुर्गामायाले भनिन्, ‘मेरो बुबाले वृद्धभत्ता जम्मा गर्नुभएको थियो । पैसाको कुरा गर्दा गर्दै उहाँ पनि बित्नुभयो ।’

अर्का ७४ वर्षीय नारायण धिमाललाई क्यान्सर लागेको छ । उनी नियमित किमोथेरापी गराइरहेका छन् । आफूले जम्मा गरेको २ लाख ६५ हजार रुपैयाँ फिर्ता नहुँदा अब उपचार कसरी गर्ने भन्ने उनको चिन्ता थियो ।

Piditharu

‘मैले चुरोट–सुर्ती बेचेर कनीकुथी जम्मा गरेको पैसा हो यो,’ धिमालले भने । फोक्सोको क्यान्सर भएका उनी अहिले उपचारका लागि पैसा नहुँदा छटपटाइरहेका छन् ।

‘बीमा पनि बन्द भयो, अब उपचार गर्ने पैसा छैन । हामीलाई हाम्रो पैसा दिलाइदिनु पर्‍यो,’ उनले बिलौना गरे ।

यस्तै गंगाबहादुर गुरुङ र उनकी श्रीमती डेगमाया गुरुङले करिब ११ लाख रुपैयाँ उक्त पसलमा बचत गरेका थिए । स्थानीय वृद्ध बलमाया गुरुङले गाउँमा बाख्रा र खसी–बोका पालेर, गोबर सोहोर्दै दुःखजिलो गरी १६ लाख ५० हजार रुपैयाँ बचत गरेकी थिइन् । ‘अहिले घरमा रुनु न हाँस्नु भएको छ । गाउँका मान्छेले ठिक्क पर्‍यो भन्छन् । हामी बर्बाद भयौँ,’ उनले भनिन् ।

सोही ठाउँकी दिलमाया धिमालले आफ्नी बहिनीको ४ लाख ६९ हजार ६९७ रुपैयाँ उक्त पसलमा राखेकी थिइन् । बैंकमा राख्दा झन्झटिलो हुने भएकाले सुनपसलमा रकम राखेको उनले बताइन् ।

जिल्ला प्रशासन कार्यालय मोरङमा पेस भएको लिखित निवेदन अनुसार थप ११ जना पीडितहरूमा अर्जुन संग्रौला, नारायण धिमाल, हरि पौडेल, दिलमाया धिमाल, छलीमाया संग्रौला, वीरबहादुर बयलकोटी, दुर्गामाया मंग्राती, बख्रेलाल धिमाल, कलवाती गुरुङ, सलबहादुर गुरुङ र गंगाबहादुर गुरुङ–डेगमाया गुरुङ छन् ।

करिब २५० भन्दा बढी सर्वसाधारणको झन्डै १२ करोड रुपैयाँ हिनामिना गरी सञ्चालक होमनाथ र बाटुलीमाया अमेरिका भाग्ने तयारीमा थिए । सोही क्रममा स्थानीय स्तरमै घटना दबाउन भूमि आयोग मोरङका निवर्तमान अध्यक्ष नवीन पौडेलको नेतृत्वमा एक ‘ऋण असुली समिति’ गठन गरिएको थियो ।

प्रशासनको अनुसन्धान अनुसार, पौडेलले पीडितहरूलाई कानुनी दायरामा जानबाट रोक्दै मिलाइदिने बहानामा अलमल्याएका थिए । सञ्चालक बाटुलीदेवीको नाममा रहेको १ विघा जग्गा पौडेलले आफ्नो निकटस्थ काशीराज थापाको नाममा पास गराई पीडितलाई रकम दिनुको साटो प्लटिङ गर्न थालेका थिए ।

पौडेलले मुख्य निवेदक विष्णुमाया गिरीलाई ‘तेरो पैसा कुनै हालतमा दिन्नँ, गएर झुण्डिएर मर’ भन्दै धम्कीसमेत दिएको पीडित बताउँछन् । पौडेलसहितको समितिले रकम फिर्ता गराउने भन्दा पनि उल्टो पीडितसँग पैसा उठाएको केही पीडितले बताएका छन् ।

पीडित अर्जुन संग्रौलाले आफूहरूसँग डुबेको एक लाख बराबर १ हजार उठाएर समितिले लगेको बताए । ‘पैसा उठाउन भन्दै पीडितहरूसँगै पैसा उठाए । मैले ५ हजार दिएको छु । कसैले १६ हजार, कसैले १० हजार दिएको भनेका छन्,’ उनले भने, ‘पैसा फिर्ता गराउनुको साटो हामीसँगै पैसा उठाए । अहिलेसम्म केही पनि भएन ।’

Nibedan (1)Nibedan (2)Nibedan (3)

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

अर्जुन आचार्य
अर्जुन आचार्य
लेखकबाट थप