बगरलाई बगैँचा बनाउने अभियानमा जुट्दै युवा
महोत्तरी । चार दशकअघि बर्दिबास नगरपालिका–१२ र १३ बिजलपुराको मा रातु नदीमा आएको बाढीले बगर बनाएको क्षेत्रमा विभिन्न प्रजातिका बिरुवा लगाउन यहाँका युवा जुटेका छन् । ‘बिजलपुरा रूपान्तरण अभियान’ मार्फत हरियाली बनाउँदै पर्यावरण प्रवर्द्धन र आर्थिक उपार्जनका लागि यहाँका युवा ‘बगर बगैँचा अभियान’ मा जुटेका हुन् ।
विसं २०४० अघि पटकपटक रातु नदीमा आएको बाढीले बगर बनाएको पश्चिमी भँगालोमा पर्ने एक हजार बिघाभन्दा बढी जग्गालाई बगर बगैँचा बनाउने अभियानमा युवा जुटेका बिजलपुराका प्रमोदकुमार महतोले बताए ।
“यहाँको उर्वर जग्गा रातुले बगर बनाएपछि कति जना सुकुमवासी हुनुपर्यो । तीन वटा भँगालो बनेर एक हजार बिघाभन्दा बढी जग्गा बगर बनाएको रातुका पूर्वी र पश्चिमी भँगालो दुई दशकअघि तटबन्ध बनेपछि उक्सिएका छन्”, उनले भने, “पश्चिमी भँगालोमा उक्सिएको बगरमा हामीले बगैँचा र उत्पादनशील जग्गा बनाउने सम्भावना खोज्न थालेका हौँ ।”
बिजलपुराको शिक्षा, स्वास्थ्य, पर्यावरण र कृषि क्षेत्र सुधारका लागि युवापुस्ताले ‘बिजलपुरा रूपान्तरण अभियान’ थालेका छन् । अहिले उकास भएको पश्चिमी भँगालोको बगरमा सोही अभियानअन्तर्गत रही ‘बगर बगैँचा’ को अवधारणमा छलफल गरी विभिन्न सरोकार भएका निकायसँग समन्वय थालिएको उक्त अभियानका संयोजक राजकरण महतोले जानकारी दिए ।
“यहाँ बगर बनेको हजारौँ बिघा जग्गालाई हराभरा बगैँचा बनाउने प्रक्रियामा हामी जुटेका छौँ”, उनले भने, “यसका लागि जग्गाधनी, स्थानीय जनप्रतिनिधि, बर्दिबास नगर कार्यपालिकाको कार्यालय र वातावरण तथा पर्यावरणका क्षेत्रमा कार्यरत सामाजिक सङ्घसंस्थासँग छलफल र समन्वय गरिरहेका छौँ । यसले शीघ्र पूर्णता पाउनेछ ।”
रातुको पश्चिमी भँगालोमा पर्ने भङ्गाहा नगरपालिका–६ को उकास बगरमा पछिल्लो १० वर्षयतादेखि करिब ३०० बिघा जग्गा हराभरा भएको छ । यो बगरका पहिलेका जग्गाधनीले पुनः खेती लगाउन पाएका छन् । साथै गौशाला नगरपालिका–८ स्थित सोनीनदी किनारको करिब २०० बिघा उकास बगर हरित क्षेत्र बनेको छ ।
यी दुवै ठाउँमा सम्बद्ध नगर कार्यपालिकाको कार्यालयसँगको समन्वयमा चुरे तथा जलाधार संरक्षण, कृषि एवं हरियाली प्रवर्द्धन क्षेत्रमा कार्यरत सामुदायिक विकास तथा पैरवी मञ्च नेपालले स्थानीयको सहभागितामा ‘बगर बगैँचा’ अभियान सञ्चालन गरेको बिजलपुरा रूपान्तरण अभियानका रमेश महतोले बताए । उनका अनुसार यी क्षेत्रका बगरमा अहिले आँप, लिची, अम्बा, कागतीलगायतबाट लगाएर हरियाली बनाइएको छ ।
छिमेकका यिनै दुई ठाउँको बगर बगैँचा देखेपछि आफूहरूलाई यहाँको उकास बगरमा यस्तै काम गर्ने प्रेरणा जागेको अभियन्ता महतोले उल्लेख गरे । उनका अनुसार पहिलो चरणमा यहाँको बगर क्षेत्रको अवस्था, माटोको गुणस्तर, सिँचाइको सम्भावना र दीर्घकालीन कृषि प्रवर्द्धनका सम्भावनाबारे सामुदायिक विकास तथा पैरवी मञ्चसहित सरोकार भएका निकायका विज्ञले स्थलगत अध्ययन गरेका छन् ।
“हामीले बर्दिबास–१२ मा पर्ने रातुको पश्चिमी भँगालोको उकास बगरक्षेत्र अवलोकन गर्यौँ”, मञ्चका अध्यक्षसमेत रहेका वातावरणविज्ञ नागदेव यादवले भने, “यो ठाउँ भङ्गाहा –६ को र गौशाला–८ को बगरभन्दा उर्वर छ ।” यहाँ रोपिने रुखका बिरुवा चाँडै बढ्ने उनले विश्वास व्यक्त गरे । यस अभियानमा बर्दिबास नगरकार्यपालिकाको कार्यालयसँगको समन्वय र साझेदारीमा आफ्नो संस्था जोडिएको उनको भनाइ छ ।
भङ्गाहा–६ को बगर उर्वर जग्गा भएकाले यसको संरक्षण गरी उपयोग गर्नुपर्ने स्थानीय बताउँछन् । यसैबिच, गौशालाको उकास बगर भने आर्थिक अवस्था कमजोर भएका मुसहर समुदायलाई उत्पादनसँग जोड्न नगरपालिकाले उपलब्ध गराएको छ ।
बगैँचाभित्र भूमिहीन मुसहरले तरकारीखेती गरेर प्रशस्त आयआर्जन गरिरहेका छन् । दुवै ठाउँको बगर बगैँचाभित्र तरकारीखेती विस्तारका लागि मञ्चले बीउविजन, बिरुवा र प्राविधिक सहयोग पुर्याउँदै आएको छ । यसैगरी ठाउँठाउँमा सिँचाइका लागि बोरिङ्ग जडान गरिएको मञ्चका अध्यक्ष यादवले जानकारी दिए । नगरकार्यपालिकाको कार्यालय र मञ्चको सहयोग तथा स्थानीयको मेहनतले ती ठाउँ हराभरा बनेका उनको भनाइ छ ।
बगर बगैँचाको अवधारणा वर्षौंदेखि बञ्जड बनेको ठाउँलाई फेरि चार दशक पहिलेको जस्तै उर्वर जग्गा बनाउने उद्देश्यका साथ सम्भाव्यता अध्ययन गरी सम्बद्धपक्षसँगको समन्वयमा पहलकदमी लिइएको बिजलपुरा रूपान्तरण अभियानमा आबद्ध आनन्दकुमार सिंहले बताए । “हामी आफ्नो ठाउँलाई समृद्ध बनाउने अभियानमा छौँ”, उनले भने, “आपसी सहकार्य र समन्वयबाट यो अभियान अघि बढ्छ ।”
“युवाको पहलमा केही हुन्छ कि भन्ने आश पलाएको छ”, बर्दिबास–१३ का रामप्रकाश महतोले भने, “फेरि एकपटक जग्गाधनी बन्न पाइने र खेती गरी आयआर्जनमा जोडिने आशा जगाएको छ ।”
बस्तीका युवाको पहलमा अघि बढेको अभियानमार्फत बगर फेरि उत्पादनशील जग्गा बन्ने सम्भावना बढेको बर्दिबास–१३ का वडाध्यक्ष लक्ष्मण सिंहले बताए । यो बगरक्षेत्र फेरि कृषियोग्य बनाउन सकिए यहाँको कृषि उत्पादनमा वृद्धि हुनुका साथै रोजगारी सिर्जना, वातावरण संरक्षण तथा स्थानीय आर्थिक गतिविधि बढ्ने उनले विश्वास व्यक्त गरे । अभियानलाई पूर्णता दिन आफूले सक्दो सहयोग गर्ने उनले प्रतिबद्धता जनाए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: मध्यरातमा सुरु भयो सुदूरपश्चिमको बजेट भाषणदेखि नेकपामा चुलियो असन्तुष्टिसम्म
-
मध्यराति सुदूरपश्चिम सरकारको बजेट, प्रतिपक्षद्वारा संसद् बहिस्कार
-
मध्यरातमा सुरु भयो सुदूरपश्चिमको बजेट भाषण
-
विश्वकपमा नवप्रवेशी केप भेर्डेले स्पेनलाई रोक्यो, गोलरहित बराबरी
-
पूर्वस्वास्थ्य अतिरिक्त सचिव डा. संगीता मिश्रसहित ८ जनालाई सफाइ
-
बगरलाई बगैँचा बनाउने अभियानमा जुट्दै युवा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण