मङ्गलबार, ०२ असार २०८३
ताजा लोकप्रिय

‘माग्ने बुढा’ को अमेरिका बसाइ : ग्रीन कार्डको चर्चाबिच पत्नी सीताले खोलिन् वास्तविक रहस्य

मङ्गलबार, ०२ असार २०८३, १३ : २३
मङ्गलबार, ०२ असार २०८३

सारांश

  • हास्य कलाकार केदार घिमिरे 'माग्ने बुढा' अमेरिकामा बस्नुको कारण ग्रीन कार्ड नभई छोरीको स्वास्थ्य अवस्था रहेको पत्नी सीतादेवी तिमल्सिनाले बताएकी छन्।
  • छोरीको स्वास्थ्योपचार र रेखदेखका लागि केदार अमेरिकामा बसिरहेको र यसै कारण उनले 'छ माया छपक्कै २' जस्ता फिल्महरू पनि गुमाएको बताइएको छ।
  • ग्रीन कार्डको चर्चाका बीच पारिवारिक स्रोतले भने केदारको अमेरिका बसाइ छोरीको उपचार र रेखदेखका लागि भएको स्पष्ट पारेको छ।

काठमाडौँ । नेपाली कला क्षेत्रका चर्चित हास्य कलाकार केदार घिमिरे ‘माग्ने बुढा’ यतिबेला अमेरिकामा छन्। उनी लामो समयदेखि अमेरिकामा रहनुको पछाडि त्यहाँको स्थायी बसोबास अनुमति पत्र अर्थात् ‘ग्रीन कार्ड’ को प्रक्रिया चलिरहेको चर्चा बजारमा व्यापक छ। 

यद्यपि, यस विषयमा केदार आफैँले भने अहिलेसम्म कुनै आधिकारिक जानकारी दिएका छैनन्। उनी तत्काल नेपाल फर्किने सम्भावना नदेखिएकै कारण दीपक–दीपा समूहको बहुप्रतीक्षित नयाँ फिल्म ‘छ माया छपक्कै २’ मा उनको स्थानमा अर्को कलाकारलाई समेटेर सुटिङ अगाडि बढाइएको छ।

केदारले अमेरिकाको ग्रीन कार्ड लिन लागेको हल्ला बाहिरिरहँदा उनकी श्रीमती तथा कलाकार सीतादेवी तिमल्सिनाले भने त्यसको खण्डन गरेकी छन्। हालै काठमाडौँमा आयोजित एक कार्यक्रममा सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै उनले आफ्ना श्रीमान् लामो समयदेखि अमेरिकामा बस्नुको मुख्य कारण छोरीको स्वास्थ्य अवस्था रहेको खुलासा गरिन्। उनका अनुसार छोरी बिरामी परेकाले र उनलाई रेखदेखको आवश्यकता भएकाले केदार अमेरिकामा बसिरहेका हुन्।

कार्यक्रममा श्रीमान्‌लाई कति मिस गर्नुहुन्छ भन्ने पत्रकारको प्रश्नको जवाफ दिँदै सीताले भनिन्, ‘मिस त अवश्य हुन्छ नै। तर, मिस भयो भनेर आफ्नो कर्तव्यबाट विमुख हुनु पनि भएन। मैले आज स्पष्ट पारेँ, हाम्री छोरी अमेरिका छिन्। छोरीलाई स्वास्थ्यले अलि साथ नदिएका कारण उहाँ छोरीलाई सहयोग गरेर बस्नुभएको छ। यता मैले छोरालाई हेरिरहेको छु, उता उहाँले छोरीलाई हेरिरहनुभएको छ।’

घिमिरे आफ्नो पछिल्लो फिल्म ‘जेरी अन टप’ प्रदर्शन भएलगत्तै अमेरिका प्रस्थान गरेका थिए। ग्रीन कार्ड प्राप्तिका लागि लामो समयसम्म अनिवार्य रूपमा अमेरिका नै बस्नुपर्ने कानुनी प्रावधान रहेकाले सोही प्रक्रिया पूरा गर्न उनी उतै रोकिएको र त्यसैका कारण नेपालबाट अफर आएका थुप्रै फिल्महरू समेत छोडेको फिल्म वृत्तमा चर्चा छ। 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप