सोमबार, ०१ असार २०८३
ताजा लोकप्रिय

वडा सदस्य मृत फेला, आत्महत्या गरेको आशंका

एक जना पक्राउ
सोमबार, ०१ असार २०८३, १९ : ००
सोमबार, ०१ असार २०८३

धनगढी । अछामको ढकारी गाउँपालिका–४ बलाताकी वडा सदस्य ३५ वर्षीया मनिषा साउद मृत फेला परेकी छन् ।

जेठ २९ गतेदेखि बेपत्ता भएकी साउदको शव जेठ ३१ गते साँझ स्थानीय पालेवन जंगलमा पलास्टिकको डोरीमा झुण्डिएको अवस्थामा फेला परेको हो ।

सामाजिक अपमान र मानसिक तनावका कारण उनले आत्महत्याको बाटो रोजेको हुन सक्ने देखिएको छ । जिल्ला प्रहरी कार्यालय अछामका प्रमुख प्रहरी नायब उपरीक्षक ओमप्रकाश खनालले घटनाको गम्भीरता हेर्दै प्रहरीले अनुसन्धान प्रक्रिया अगाडि बढाएको बताए । 

यो घटना हुनुमा जेठ २७ गते रातिको घटनासँग जोडिएको छ । सो रात मनिसा साउदको घरमा गाउँकै एक पुरुष बसेको थाहा पाएपछि केही स्थानीयले उनीहरूलाई नियन्त्रणमा लिएका थिए । सो क्रममा केही व्यक्तिहरूले उनीहरूको फोटो र भिडियो खिचेर सामाजिक सञ्जालमा भाइरल बनाएका थिए । 

भोलिपल्ट जेठ २८ गते बिहान जनप्रतिनिधि, पूर्वजनप्रतिनिधि र गाउँका भद्रभलादमीहरूको बैठक बसेको थियो । उक्त छलफलमा प्रहरीमा उजुरी नगर्ने र भारतमा रहेका मनिसाका श्रीमान् नआउन्जेल दुवै पक्षको जिम्मेवारी वडा कार्यालयले लिने सहमति भएको थियो । छलफल सकिएलगत्तै सोही दिन बिहान ११ बजेतिर मनिसा घरबाट निस्केकी थिइन् । 

मनिषा घर नफर्केपछि वडाध्यक्ष पहलवान थापाले जेठ ३० गते दिउँसो ४ बजेतिर प्रहरीलाई खबर गरेका थिए । खोजतलास गर्ने क्रममा घरभन्दा करिब ५ सय मिटर टाढा रहेको बलाताको जंगलमा उनी मृत फेला परेकी हुन् । 

घटनास्थलको मुचुल्का तयार गरी शवलाई पोस्टमार्टमका लागि जिल्ला अस्पताल मंगलसैनमा राखिएको छ । मृतकका दुई छोरी र एक छोरा छन् । उनका श्रीमान् रोजगारीको सिलसिलामा भारतमा थिए । उनी घटनाको खबर पाएपछि आज साँझसम्म मंगलसैन पुग्दैछन् । 

प्रहरीले घटनामा संलग्न भएको आशंकामा सोही रात मनिसाको घरमा भेटिएका भनिएका ती पुरुषलाई नियन्त्रणमा लिएको छ । ‘ती व्यक्तिसँगको सम्बन्ध र त्यसपछि सिर्जना भएको सामाजिक परिस्थितिका कारण मनिसाले आत्महत्या गरेको हुनसक्ने देखिएको छ । हामीले ती पुरुषलाई सोधपुछका लागि नियन्त्रणमा लिएका छौँ,’ डीएसपी ओमप्रकाश खनालले भने । 

सामाजिक सञ्जालमा भिडियो सार्वजनिक गर्ने र मनिसालाई मानसिक रूपमा तनाव दिने पक्षमाथि पनि प्रहरीले अनुसन्धान केन्द्रित गरेको छ । श्रीमान् आएर जाहेरी दिएपछि आत्महत्या दुरुत्साहन वा अन्य उपयुक्त मुद्दामा अनुसन्धान अगाडि बढाइने प्रहरीले जनाएको छ । 

‘सामाजिक रूपमा अपमानित हुने गरी भिडियो भाइरल बनाइएका कारण उनले यो कठोर निर्णय लिएको हुनसक्ने आशंका छ, घटना कसरी यहाँसम्म पुग्यो र यसमा कस–कसको भूमिका छ भन्नेबारे हामी गम्भीरतापूर्वक अनुसन्धान गरिरहेका छौँ,’ डीएसपी खनालले भने । 

उक्त स्थान सदरमुकाम मंगलसैनबाट गाडीमा ६ घण्टाको दूरीमा पर्छ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप