मङ्गलबार, ०२ असार २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

वन अतिक्रमण हटाउने सूचनामा आपत्तिजनक टिप्पणी गर्ने व्यक्तिले पक्राउ परेपछि मागे माफी

मङ्गलबार, ०२ असार २०८३, ११ : ३४
मङ्गलबार, ०२ असार २०८३

सारांश

  • बारामा वन अतिक्रमण हटाउने सूचनामा आपत्तिजनक टिप्पणी गर्ने एक व्यक्तिलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
  • निजगढका एक पुरुषले सामाजिक सञ्जालमा 'जनता एक भएर घाँटी छिनाउनुपर्छ' जस्ता उत्तेजक टिप्पणी गरेका थिए ।
  • प्रहरी नियन्त्रणमा व्यक्तिले आफ्नो गल्ती स्वीकार गरी माफी मागेपछि छाडिएको छ ।

बारा । वन अतिक्रमण हटाउन डिभिजन वन कार्यालय बाराले सार्वजनिक गरेको सूचनामा सामाजिक सञ्जालमार्फत उत्तेजक तथा आपत्तिजनक टिप्पणी गर्ने एक व्यक्तिलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

डिभिजन वन कार्यालयले गत शुक्रबार आफ्नो आधिकारिक फेसबुक पेजमार्फत निजगढ नगरपालिका वडा नं. २ स्थित वनदेवी सामुदायिक वन क्षेत्रभित्र रहेको अतिक्रमित जग्गा खाली गर्न सात दिने सूचना सार्वजनिक गरेको थियो ।

उक्त सूचनामाथि प्रतिक्रिया जनाउँदै निजगढ नगरपालिका वडा नं. ९ निवासी एक पुरुषले ‘जसले गरिब जनता उठाउन आउँछ, त्यहाँको जनता एक भएर त्यसको घाँटी छिनाउनुपर्छ’ भन्ने आशयको टिप्पणी गरेका थिए ।

वन कार्यालयले उक्त टिप्पणीलाई सरकारी निकायका कर्मचारी तथा सुरक्षाकर्मीलाई लक्षित गर्दै हिंसा भड्काउने र सार्वजनिक शान्ति सुरक्षामा असर पार्ने खालको अभिव्यक्ति भएको ठहर गर्दै आवश्यक कारबाहीका लागि इलाका प्रहरी कार्यालय सिमरामा निवेदन दिएको थियो ।

प्रहरीले ती व्यक्तिलाई जीतपुरसिमरा–३, बजनी क्षेत्रबाट नियन्त्रणमा लिएको हो । नियन्त्रणमा लिइएका व्यक्तिसँग प्रहरीले सोधपुछ गर्दा गल्ती स्विकार गर्दै ‘आगामी दिनमा यस्तो टिप्पणी नगर्ने’ भन्दै माफी मागेको इलाका प्रहरी कार्यालय सिमराले जनाएको छ ।

उनले लिखित रूपमा माफी मागेको र आगामी दिनमा यस्ता गतिविधि नगर्ने प्रतिबद्धता जनाएपछि साँझ छाडिएको प्रहरीको भनाइ छ ।

डिभिजन वन कार्यालय बाराका प्रमुख राजीव कुमार झाले वन क्षेत्र संरक्षणका लागि कानुनी प्रक्रिया अनुसार नै अभियान सञ्चालन भइरहेकाले सामाजिक सञ्जालमा जिम्मेवार अभिव्यक्ति दिन सबैलाई आग्रह गरेका छन् ।

प्रमुख झाले सरकारी कामकारबाहीमा अवरोध पु¥याउने, कर्मचारी तथा सुरक्षाकर्मीलाई धम्की दिने वा हिंसात्मक गतिविधि उक्साउने कार्य कानुनविपरीत हुने उल्लेख गर्दै यस्ता घटनामा आवश्यक कानुनी कारबाही गरिने बताएका छन् ।

वन संरक्षण अभियन्ताहरूले पनि सामाजिक सञ्जालको प्रयोग गर्दा संयमता अपनाउन तथा असहमति भए कानुनी र सभ्य माध्यमबाट आफ्नो धारणा राख्न आग्रह गरेका छन् ।

वन अतिक्रमण हटाउने विषयलाई लिएर विभिन्न स्थानमा बहस भइरहेका बेला सामाजिक सद्भाव र कानुनी शासन कायम राख्न सबै पक्ष जिम्मेवार बन्नुपर्ने झाको भनाइ छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप