बुधबार, १० असार २०८३
ताजा लोकप्रिय

मुख्य राजमार्गको अवस्था : कतै पहिरो, कतै मर्मतले सडक अवरुद्ध

बुधबार, १० असार २०८३, ०८ : ५८
बुधबार, १० असार २०८३

सारांश

  • मनसुन सक्रिय भएसँगै कोशी र बागमती प्रदेशका मुख्य राजमार्गहरूमा बाढी, पहिरो र सडक मर्मतले यातायात प्रभावित भएको छ ।
  • कोशी प्रदेशमा कोशी राजमार्ग पूर्ण रूपमा अवरुद्ध छ भने पूर्व-पश्चिम र मध्य पहाडी लोकमार्ग एकतर्फी सञ्चालनमा छन् ।
  • बागमती प्रदेशमा सम्भावित बाढीको जोखिमले वीपी राजमार्गमा सवारी रोक लगाइएको छ भने सडक मर्मतका लागि कुलेखानी-काठमाडौँ सडक एक महिनासम्म बन्द गरिएको छ ।

काठमाडौँ । मनसुन सक्रिय भएसँगै देशका विभिन्न मुख्य राजमार्गहरूमा बाढी, पहिरो र सडक मर्मतका कारण यातायात प्रभावित भएको छ । नेपाल प्रहरीको विवरण अनुसार कोशी र बागमती प्रदेशका कतिपय सडक खण्डहरू पूर्ण वा आंशिक रूपमा अवरुद्ध रहेका छन् ।

कोशी प्रदेशका तीनवटा मुख्य सडक खण्डहरू प्रभावित भएका छन् । संखुवासभाको भोटखोला गाउँपालिका–३, स्याबुडमा गत असार ७ गते गएको पहिरोका कारण कोशी राजमार्ग अझै पनि पूर्ण रूपमा अवरुद्ध छ ।

यस्तै, मोरङको सुन्दरहरैँचा नगरपालिका–५, बलिया बुढीखोलामा असार ६ गते खसेको पहिरोका कारण पूर्व–पश्चिम राजमार्ग एकतर्फी मात्र सञ्चालनमा छ । उता भोजपुर नगरपालिका–५, बोखिममा वैशाख १२ गते आएको बाढीका कारण मध्य पहाडी लोकमार्ग पनि एकतर्फी मात्र सुचारु छ । त्यहाँ वैकल्पिक बाटोको समेत व्यवस्था गरिएको प्रहरीले जनाएको छ ।

बागमती प्रदेशमा पनि मुख्य सडकहरूमा अवरोध देखिएको छ । काभ्रेपलाञ्चोकको खुर्कोट–नेपालथोक–कटुञ्जेबेँसी खण्डमा सम्भावित बाढीको जोखिमलाई मध्यनजर गर्दै जेठ २२ गतेदेखि नै वीपी राजमार्गमा सवारी साधन सञ्चालनमा रोक लगाइएको छ ।

यसैगरी, मकवानपुरको इन्द्रसरोवर गाउँपालिका–२ र ४, महालक्ष्मी क्षेत्रमा सडक मर्मतको काम भइरहेकाले कुलेखानी–फाखेल–हुमाने–फर्पिङ–काठमाडौँ सडक खण्ड पूर्ण रूपमा बन्द गरिएको छ । मर्मत कार्यका लागि यो सडक खण्ड आगामी एक महिनासम्म बन्द रहने जानकारी दिइएको छ ।

730498136_1041969575060872_6890125476465704975_n

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप