बुधबार, १० असार २०८३
ताजा लोकप्रिय

मकवानपुरगढी गाउँपालिकाले ल्यायो ७२ करोड ७५ लाखको बजेट

बुधबार, १० असार २०८३, १७ : ०४
बुधबार, १० असार २०८३

सारांश

  • मकवानपुरगढी गाउँपालिकाले आगामी आर्थिक वर्ष २०८३/८४ का लागि ७२ करोड ७५ लाख २३ हजार रुपैयाँको बजेट सार्वजनिक गरेको छ ।
  • प्रस्तुत बजेटमध्ये चालु खर्च तर्फ ४३ करोड ९० लाख २३ हजार रुपैयाँ र पुँजीगत खर्चतर्फ २८ करोड ८५ लाख रुपैयाँ विनियोजन गरिएको छ ।
  • गाउँपालिकाले कृषि, शिक्षा, स्वास्थ्य, पर्यटन, पूर्वाधार विकास, सुशासन र वातावरण संरक्षणलाई मूल आधार बनाई बजेट विनियोजन गरेको छ ।

हेटौँडा । मकवानपुरगढी गाउँपालिकाले आगामी आर्थिक वर्ष २०८३/८४ का लागि ७२ करोड ७५ लाख २३ हजार रुपैयाँको बजेट सार्वजनिक गरेको छ । मकवानपुरगढीले आगामी आर्थिक वर्षको नीति कार्यक्रम कार्यान्वयन गर्न बुधाबार बसेको गाउँसभामा उपाध्यक्ष मानकुमारी पाख्रिन नेपालीले उक्त बजेट प्रस्तुत गरेकी हुन् ।

प्रस्तुत बजेटमध्ये चालु खर्च तर्फ ४३ करोड ९० लाख २३ हजार रुपैयाँ (६०.३५ प्रतिशत) र पुँजीगत खर्चतर्फ २८ करोड ८५ लाख रुपैयाँ (३९.६५ प्रतिशत) विनियोजन गरिएको छ । उक्त बजेटको खर्च व्यहोर्ने स्रोत तर्फ सङ्घीय सरकारबाट वित्तीय समानीकरण अनुदान १० करोड ९० लाख रुपैयाँ, राजस्व बाँडफाँडबाट २२ करोड १९ लाख रुपैयाँ तथा आन्तरिक आय र गत वर्षको मौज्दात गरी ८ करोड ८३ लाख रुपैयाँ प्राप्त हुने अनुमान गरिएको छ ।

मकवानपुरगढीले क्षेत्रगत बजेट विनियोजनतर्फ सामाजिक विकासमा ३२ करोड १ लाख ७८ हजार रुपैयाँ, पूर्वाधार विकासमा २३ करोड ३० लाख रुपैयाँ, आर्थिक विकासमा ५ करोड ४५ लाख रुपैयाँ, संस्थागत विकास तथा सुशासनमा १ करोड ३ लाख रुपैयाँ र वन, वातावरण तथा विपद् व्यवस्थापनमा ७० लाख ३५ हजार रुपैयाँ विनियोजन गरिएको छ ।

गाउँसभामा गाउँपालिका अध्यक्ष दोर्जे स्याङ्तानले नीति तथा कार्यक्रम पेस गरेका थिए । मकवानपुरगढीले आगामी वर्षको नीति तथा कार्यक्रममा कृषि, शिक्षा, स्वास्थ्य, पर्यटन, पूर्वाधार विकास, सुशासन र वातावरण संरक्षणलाई मूल आधार बनाएको छ । कृषि क्षेत्रलाई उत्पादनमुखी र बजारमुखी बनाउने, रैथाने बाली संरक्षण, जैविक खेती, स्मार्ट कृषि, सिँचाइ विस्तार तथा किसान परिचयपत्र कार्यक्रमलाई प्राथमिकता दिइएको छ भने पशुपालनलाई आधुनिक प्रविधिसँग जोड्दै दुग्ध, मासु तथा पशुजन्य उत्पादनको मूल्य शृङ्खला विकास, पशु बिमा, खोप तथा साइलेज उद्योग सञ्चालन गरिने जनाइएको छ ।

पर्यटन प्रवर्द्धनअन्तर्गत मकवानपुरगढी दरबार, ऋखेश्वर गुफा, ढुंगेगढी, मनकामना क्षेत्र, छत्रेलेक पाथिभरा मन्दिर, हेलिग्राफ तथा अन्य धार्मिक तथा सांस्कृतिक सम्पदाको संरक्षण र प्रवर्द्धन गरिने भएको छ। होमस्टे, कृषि पर्यटन र सांस्कृतिक पर्यटनलाई एकीकृत रूपमा विकास गरिने नीति लिइएको छ ।

शिक्षा क्षेत्रमा डिजिटल सिकाइ, करियर मार्गदर्शन, छात्रवृत्ति तथा ‘पढ्दै कमाउँदै’ कार्यक्रमलाई प्रभावकारी बनाइने जनाइएको छ भने स्वास्थ्यतर्फ आधारभूत अस्पताल सुदृढीकरण, प्रयोगशाला सेवा विस्तार, मातृ तथा शिशु स्वास्थ्य, मानसिक स्वास्थ्य तथा नसर्ने रोग नियन्त्रण कार्यक्रमलाई प्राथमिकता दिइएको छ ।

गाउँपालिकाले खानेपानी बोर्ड गठन गरी खानेपानी उपभोक्ता समितिहरूलाई आबद्ध गराउने, सुरक्षित खानेपानी र ‘एक घर एक धारा’ अभियानलाई निरन्तरता दिने नीति पनि अघि सारेको छ । साथै सूचना प्रविधिमा आधारित सेवा प्रवाह, डिजिटल नागरिक वडापत्र, अनलाइन अभिलेख तथा पारदर्शी प्रशासनलाई प्राथमिकतामा राखिएको छ ।

 

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप