यस वर्षको मनसुनबाट ५१ हजार घरधुरी प्रभावित हुने अनुमान
सारांश
- यस वर्षको मनसुनबाट करिब ५१ हजार घरधुरी र २ लाख २६ हजार नागरिक प्रभावित हुने राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले अनुमान गरेको छ।
- मनसुनजन्य विपद्बाट लुम्बिनी, कोशी र मधेस प्रदेश बढी प्रभावित हुने अनुमान छ भने कर्णाली प्रदेशमा कम प्रभाव पर्ने देखिएको छ।
- विपद् व्यवस्थापनका लागि 'मनसुन पूर्वतयारी तथा प्रतिकार्य राष्ट्रिय कार्ययोजना–२०८३' स्वीकृत गरी कार्यान्वयनमा ल्याइएको छ र सुरक्षा निकायलाई तयारी अवस्थामा राखिएको छ।
काठमाडौँ । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले यस वर्षको मनसुनका कारण देशभर करिब ५१ हजार घरधुरी प्रभावित हुनसक्ने अनुमान गरेको छ।
प्राधिकरणकी सूचना अधिकारी शान्ति महतका अनुसार यस वर्षको मनसुनबाट करिब २ लाख २६ हजार नागरिक विपद्को जोखिममा रहेका छन्।
असार ५ गते शुक्रबार कोशी प्रदेशबाट नेपाल प्रवेश गरेको मनसुन प्रणाली अझै पनि त्यहीँ कमजोर अवस्थामा रहेको र देशभर सक्रिय हुन थप केही दिन लाग्ने प्राधिकरणले जनाएको छ।
यस वर्षको मनसुनबाट लुम्बिनी, कोशी र मधेस प्रदेश सबैभन्दा बढी प्रभावित हुने अनुमान छ भने कर्णाली प्रदेशमा तुलनात्मक रूपमा कम प्रभाव पर्ने देखिएको छ। मनसुनजन्य विपद्बाट हुने क्षति न्यूनीकरण तथा प्रतिकार्यका लागि आवश्यक पूर्वतयारी पूरा भइसकेको सूचना अधिकारी महतले बताइन्।
उनका अनुसार विपद् व्यवस्थापनका लागि ‘मनसुन पूर्वतयारी तथा प्रतिकार्य राष्ट्रिय कार्ययोजना–२०८३’ स्वीकृत गरी सबै प्रदेश, जिल्ला प्रशासन कार्यालय र स्थानीय तहमा पठाइसकिएको छ। मुलुकका अधिकांश स्थानीय तहले यसैलाई आधार मानेर आफ्नै कार्ययोजना समेत बनाएर कार्यान्वयनमा ल्याइसकेका छन्।
प्राधिकरणले मनसुनसँगै खडेरी र अत्यधिक गर्मीबाट उत्पन्न हुनसक्ने जोखिमलाई समेत लक्षित गर्दै पूर्वतयारी तथा प्रतिकार्य योजना कार्यान्वयनमा ल्याएको छ। यसमा अत्यधिक गर्मीको अवस्थामा संघ, प्रदेश र स्थानीय तहको जिम्मेवारी स्पष्ट तोकिएको छ। ‘मनसुनजन्य विपद्का कारण हुनसक्ने क्षति र खडेरी तथा अत्यधिक गर्मीबाट हुनसक्ने प्रभावलाई न्यूनीकरण गर्ने विषयमा हामीले सँगसँगै काम गरिरहेका छौँ,’ महतले भनिन्, ‘मनसुन कार्ययोजना तयार गर्नुभन्दा दुई–तीन महिना अगाडि नै तातो हावाको लहर र खडेरीसम्बन्धी पूर्वतयारी र प्रतिकार्य योजना स्वीकृत गरेर कार्यान्वयनमा लगिसकेका छौँ।’ उनले तातो हावाको लहरको जोखिम कम गर्न सबै तहका सरकारबीच आपसी समन्वय र सहकार्य भइरहेको पनि बताइन्।
सम्भावित विपद्को सामना गर्न खोज, उद्धार तथा राहत सामग्री विगतका वर्षहरूभन्दा थप खरिद गरी विभिन्न स्थानमा भण्डारण गरिएको छ। नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र नेपाली सेनासहित तीनवटै सुरक्षा निकायका तालिमप्राप्त जनशक्ति र गोताखोरलाई समेत तयारी अवस्थामा राखिएको प्राधिकरणले जनाएको छ। विपद् प्रतिकार्य, राहत र उद्धार कार्यका लागि ११ वटा मन्त्रालयबीच समन्वय गर्ने व्यवस्था मिलाइएको छ।
यसैगरी, विपद्का बेला नागरिकले प्रयोग गर्ने हेल्पलाइन नम्बर ११४९ अब केन्द्रीय स्तरमा मात्र नभई ७७ वटै जिल्ला प्रशासन कार्यालयअन्तर्गतका जिल्ला आपत्कालीन कार्यसञ्चालन केन्द्रबाट समेत सञ्चालन हुने व्यवस्था मिलाइएको महतले जानकारी दिइन्। प्राधिकरणले मनसुनी विपद्को जोखिम भएका क्षेत्रका नागरिकलाई आवश्यक पूर्वतयारीसहित सतर्क रहन आग्रह गरेको छ।
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण