बुधबार, १० असार २०८३
ताजा लोकप्रिय
फिफा विश्वकप २०२६

के घानाले इङ्ल्यान्डमाथि कालाजादु गरेको थियो ?

बुधबार, १० असार २०८३, १६ : ५०
बुधबार, १० असार २०८३

काठमाडौँ । सामाजिक सञ्जालमा एउटा ट्रोल देखिन्छ । यसमा इङ्ल्यान्डका प्रशिक्षक थोमस टुचेलले घानाविरुद्धको खेलपछि भनका छन्, ‘घानाले हामीमाथि कालो जादु (ब्लयाक म्याजिक ) प्रयोग गरेको थियो । रेफ्रीहरूले भीएआर जाँच गर्नुपर्छ, घानाका समर्थकहरूले मैदानमा सेतो पाउडर उडाइरहेका देखिनेछन् ।’ तर खासमा टुचेलले यस्तो अवैज्ञानिक कुतर्क किन गर्थे र ? बरु अंग्रेज भलाद्मीले खेलपछि आयोजित पत्रकार सम्मेलनमा प्रशिक्षक टुचेलले विपक्षी टोलीको रक्षात्मक रणनीतिको प्रशंसा गरेका थिए । 

thomas-tuchel

विश्वकपका दौरान यस्ता ट्रोल र मिमहरू बन्नु कुनो अनौठो होइन । त्यसमाथि  ७८.८ प्रतिशत बल नियन्त्रण, १९ प्रहार र कुल ६१९ पास खेलेको इङ्ल्यान्डलाई जबरजस्ती घानाले ०–० मा रोकेको थियो । खेलको तथ्याङ्क र परिणामले नै भन्छ कि त्यहाँ ‘काला जादु’बाहेक अरू केहीले पनि सम्भवत इङ्ल्यान्डलाई रोक्ने कुनै सम्भावना नै देखिँदैन । कहाँबाट आयो त कालाजादुको प्रसंग ? 

खासमा ट्रोलमा प्रस्तुत गरिएको सेतो पाउडर उडाउँदै गरेको फोटो घाना राष्ट्रिय फुटबल टोलीका प्रख्यात समर्थक कैलामी इब्राहिम पाक्पा हुन् । उनी सन् २०१० देखि नै रंगशालामा आफ्नो परम्परागत संस्कृति र फरक रूपमा घानाको समर्थन गर्दै आएका र फुटबल जगतमा निकै परिचित अनुहार हुन् । 

त्यसो त कालाजादुको प्रसंग यहीँ सकिन्न । एक घानाली झाँक्रीले इङ्ग्ल्यान्ड र घानाबिचको खेलअघि ह्यारी केनमाथि आफूले जादु गरिरहेको दाबी गरेका थिए । नाना क्वाकु बोन्सामले आफू इङ्ग्ल्यान्डका कप्तानमाथि ‘टुना–मुनागरिरहेको’ बताएका थिए र उनी आफ्नो देशविरुद्धको खेलमा केनलाई प्रभावकारी प्रदर्शन गर्नबाट रोक्न सक्ने विश्वास व्यक्त गरेका थिए । उक्त आध्यात्मिक नेताले आफूले केनलाई गम्भीर चोट नपुर्‍याउने तर खेलमा उनको प्रभाव कम गर्न मात्र चाहेको बताएका थिए । ‘मैले पहिले पनि आफू के गर्न सक्षम छु भन्ने देखाइसकेको छु, त्यसैले उनलाई रोक्न मैले कस्तो काम गर्नुपर्छ भन्ने मलाई थाहा छ,’ बोन्सामले सामाजिक सञ्जालमा भनेका थिए, ‘म घानालाई मद्दत पुग्ने गरी आफ्नो काम गर्नेछु ।’ 

कालाजादुको प्रसंग अझै सकिँदैन । सन् २०१२ को नेसन्स कपमा घानाकै प्रशिक्षकले ‘जादुटुनालाई टोली विभाजनको कारण’ मानेका थिए । बीबीसीले लेखेको थियो, ‘प्रशिक्षक स्टेभानोभिचले नेसन्स कपका क्रममा घाना विभाजित भएको र त्यसमा जादुटुनाको प्रयोग भएको बताएका थिए ।’ बीबीसीका अनुसार, सर्बियाली प्रशिक्षकले यो दाबी २०१२ अफ्रिका कप अफ नेसन्समा ब्ल्याक स्टार्सको असफलताबारे तयार गरिएको प्रतिवेदनमा गरेका हुन्, जुन चुहिएको थियो । 

england-vs-ghana

उक्त प्रतियोगिताको सेमिफाइनलमा घाना अन्ततः विजेता बनेको जाम्बियासँग पराजित भएको थियो । ‘हामी सबैले केही खेलाडीहरूको मानसिकता परिवर्तन गर्न मद्दत गर्नुपर्छ, जसले ‘कालो शक्ति’ प्रयोग गरेर आफ्नै विनास गर्न खोज्छन् । साथै, हामीले एकअर्काप्रति अनुशासन र सम्मानको भावना विकास गराउनुपर्छ,’ घानाका प्रशिक्षकले नै कालाजादु स्विकारेको प्रमाण बाहिरिएको थियो । 

अफ्रिका र दक्षिण एसियाका कतिपय मुलुक र समुदायमा आज पनि जादुटुनामा विश्वास गरिन्छ । ठुला प्रतियोगिताका दौरान समर्थकहरूले आफ्ना रोजाइका टिमको सफलताका लागि तथा विपक्षीको पराजयका लागि अन्धविश्वासमा भर पर्दै विभिन्न किसिमका पूजापाठ तथा अनुष्ठान गर्ने परिपाटी छ ।

यद्दपि, पश्चिमी सञ्चारमाध्यमले यस्ता विषयलाई प्रथामिकता दिनुलाई भने गैरपश्चिमी चिन्तकहरूले पाश्चात्य पूर्वाग्रहका रूपमा लिने गर्छन् । नाम नराख्ने सर्तमा त्रिभुवन विश्वविद्यालय अंग्रेजी केन्द्रीय विभागका ‘ननवेस्टर्न तथा क्रिटिकल डिस्कोर्स’ विषयका प्राध्यापक भन्छन्, ‘यो प्रवृति भनेको गैर–पश्चिमी मुलुक (तेस्रो विश्व) विशेषतः अफ्रिका र दक्षिण एसियालीलाई अझै पनि ‘जंगली’ र अन्धविश्वासी देखाउने रणनीति हो । उनीहरू तेस्रो विश्वका यस्तै ननसेन्स कुरामा मात्र फोकस गर्छन् । पाखण्ड त पहिलो विश्वमै धेरै छ ।’  

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

युवराज भट्टराई
युवराज भट्टराई
लेखकबाट थप