बुधबार, १० असार २०८३
ताजा लोकप्रिय
पानी अभाव

सुके धनगढीका चापाकल, उपमहानगरमा पानी बाँड्दै ट्यांकर

बुधबार, १० असार २०८३, १७ : १७
बुधबार, १० असार २०८३

सारांश

  • धनगढीमा अत्यधिक गर्मी र खडेरीले खानेपानीको संकट निम्त्याएको छ, जसले गर्दा चापाकल र मोटर सुकेका छन् ।
  • पानीको अभावले जनजीवन, व्यवसाय र सरसफाइमा कठिनाई थपिएको छ, जसले गर्दा उपमहानगरले ट्यांकरमार्फत पानी वितरण गरिरहेको छ ।
  • विज्ञहरूले तराईमा घट्दो भूमिगत जलस्तरलाई मरुभूमीकरणको संकेत मानेका छन् र यसको समाधानका लागि वर्षाको पानी जमिनमुनि पठाउने उपाय अपनाउनुपर्ने सुझाव दिएका छन् ।

धनगढी । सुदूरपश्चिम प्रदेशको अस्थायी राजधानी धनगढीमा पछिल्लो समय खानेपानीको चरम संकट देखिएको छ । अत्यधिक गर्मी र लामो समयदेखिको खडेरीका कारण जमिनमुनिको जलस्तर घट्दा धनगढी उपमहानगरपालिकाका विभिन्न क्षेत्रमा वर्षौँदेखि पिउने पानीको मुख्य स्रोत रहेका हातेपम्प नल्का र मोटरहरू सुकेका छन् । 

केही दिनयता धनगढी–१४ स्थित स्याउले बजार क्षेत्रमा खानेपानीको ठुलो हाहाकार मच्चिएको छ । यहाँका दर्जनौँ परिवार विगत तीन महिनादेखि एक बाल्टिन पानीको खोजीमा भौँतारिनुपर्ने अवस्थामा पुगेका छन् ।
घरमा गाडिएका नल्काहरू पूर्ण रूपमा सुकेपछि स्थानीय बासिन्दा छिमेकीको घर वा टाढाकाबाट पानी बोकेर गुजारा चलाउन बाध्य छन् । स्थानीय मनिषा चौधरीले गत वैशाखदेखि नै नल्का (चापाकल) मा पानी आउन छाडेपछि अहिले छिमेकीकोमा धाउनुपर्ने बाध्यता आइलागेको बताइन् । 

आकासबाट समयमा पानी नपर्दा र जमिनमुनिको सतह निकै तल जाँदा दैनिक जीवन नै अस्तव्यस्त बनेको उनी बताउँछिन् । 

पानीको यो अभावले सर्वसाधारणको दैनिकी, स्थानीय व्यवसायसमेत नराम्ररी प्रभावित भएको छ । होटल व्यवसायीहरूले किनेर वा टाढाबाट पानी ओसारेर मुस्किलले आफ्नो व्यवसाय धानिरहेका छन् । सोही ठाउँकी स्थानीय ललिता विष्टका अनुसार खाना पकाउन, लुगा धुन र सरसफाइका लागि पानी नहुँदा महिला र बालबालिकाले सबैभन्दा बढी सास्ती खेप्नुपरेको छ । 

भान्सादेखि सरसफाइसम्म पानी नै चाहिने भए पनि नल्काबाट अहिले पानी नआउँदा समस्या भएको उनी दुखेसो पोख्छिन् । 

यस्तो अवस्थामा धनगढी उपमहानगरपालिकाले अहिले ट्यांकर र रोड वासरमार्फत टोल–टोलमा पानी वितरण गरिरहेको छ । उपमहानगरपालिकाले तत्कालका लागि दमकल प्रयोग गरेर भए पनि नगरवासीलाई पानी वितरण गरिरहेको छ । 

नगर प्रमुख गोपाल हमालले आकासबाट पानी नपर्दासम्म यो समस्या कायमै रहने देखिएकाले वैकल्पिक व्यवस्था गरिएको र दीर्घकालीन समाधानका लागि डिप बोरिङ जडान गरी खानेपानीको सहजता मिलाउने प्रतिबद्धता व्यक्त गरेका छन् । यद्यपि, वर्षौँअघि खानेपानी आयोजनाका लागि स्थानीयबाट रकम संकलन गरिए पनि अहिलेसम्म पानी ट्यांकी मात्र बनेको र घर–घरमा धारा नपुगेको भन्दै स्थानीयले आक्रोशसमेत व्यक्त गरिरहेका छन् । 

अहिले तत्काल धनगढी १४ मा बढी समस्या देखिए पनि अन्य वडाका बासिन्दाहरूले पनि नल्का सुक्दा उत्तिकै हैरानी खेपिरहेका छन् । धनगढी उपमहानगरपालिका–१२, मनेहराकी बिना चौधरीको घरको नल्कामा यस वर्ष चैतदेखि जेठसम्म तीन महिनासम्म पानी आएन । आफ्नो नल्का सुकेपछि उनी छिमेकीकोमा गएर पानी ल्याउन बाध्य भइन्, जसको नल्का उनको भन्दा बढी गहिराइमा गाडिएको छ । उनले पहिले बाह्रैमास पानी आउने गरे पनि पछिल्लो ७ वर्षदेखि चैतदेखि जेठसम्म पानी सुक्ने र वर्षा सुरु भएपछि मात्र आउने गरेको अनुभव सुनाइन् । उनको घरको नल्काको पाइप १४५ फिटसम्म गाडिएको भए पनि सुक्खा मौसममा पानी आउन छाडेको छ ।

dhangadhi-bajar

छिमेकी राम चौधरीको नल्कामा पनि त्यस्तै समस्या देखिन थालेको छ । उनको नल्कामा पानी आउन त आउँछ तर मात्रा निकै घट्न थालेको छ । आसपासका सबैजसो नल्काहरूमा यस्तै समस्या देखिँदा स्थानीयको कार्यबोझ र मानसिक तनाव दुवै बढेको छ । 

धनगढीमा पानीको सतह निकै तल गएको छ । वडा नम्बर–११ का बहादुर रानाका अनुसार उनी किशोर हुँदा थोरै गहिराइमा गाडिएका बोरिङबाटै सहजै सिँचाइ हुन्थ्यो । राजाको आदेशमा २०४५ सालमा धनगढीका केही ठाउँमा गाडिएका बोरिङहरूले केही वर्ष राम्ररी सिँचाइ गरे पनि अहिले ती कुनैबाट पनि पानी आउँदैन । पहिले सिँचाइका लागि पर्याप्त पानी दिने जमिनले अहिले पिउनका लागि समेत पानी दिन छाडेकोमा उनी चिन्तित छन् ।

वडा नम्बर १३ मा पनि भूमिगत पानी निकालेर जडान गरिएका धाराहरूमा पानी सुकेको छ । कुनै समय चौबीसै घण्टा पानी आउने ती धाराहरू अहिले पूर्ण रूपमा सुकेका छन् । भूमिगत पानीको सतह घट्दै गएपछि अब नल्काको पाइपको गहिराइ कम्तीमा २०० फिटभन्दा तल पुर्‍याउनुपर्ने अवस्था सिर्जना भएको छ ।

भूमिगत पानी तानेर वितरण गर्ने खानेपानी आयोजनाका अधिकारीहरूले पनि यो संकटको प्रत्यक्ष अनुभव गरेका छन् । धनगढी–८ स्थित शिवनगर खानेपानी आयोजनाका अध्यक्ष राजेश खातीका अनुसार पहिले प्रतिसेकेन्ड २६ लिटर पानी दिने बोरिङले अहिले बढीमा २२ लिटर मात्र दिने गरेको छ । केही वर्षअघि सय फिट गाडिएका १० वटा बोरिङबाट पानी ह्वात्तै घटेपछि अहिले गहिराइ बढाइएको छ । पहिले मासिक २० लाख लिटर पानी वितरण गर्ने गरिएकोमा अहिले माग बढेर ४० लाख लिटर पुगेको तर पानीको उपलब्धता भने घट्दै गएको उनले जानकारी दिए । 

भूमिगत पानीसम्बन्धी विज्ञ डा. मोतीराम रिजालका अनुसार तराई क्षेत्रमा भूमिगत पानीको सतह निरन्तर घट्दै जानु मरुभूमीकरणको एउटा स्पष्ट संकेत हो । केही वर्षअघि पर्साको वीरगञ्जमा पनि यस्तै हाहाकार भएर ट्यांकरबाट पानी वितरण गर्नुपरेको स्मरण गर्दै रिजालले आफूहरूले वर्षा भएर पानी बगेको त देखेको तर जमिनमुनि के भइरहेको छ भन्ने कुरामा ध्यान नदिएको बताए । नेपालमा सक्रिय मनसुन सय दिन मात्र हुने र बाँकी २६५ दिन करिब सुक्खा रहने हुनाले जमिनमुनिको पानी दिनदिनै घटिरहेको उनको ठम्याइ छ ।

पूर्व–पश्चिम भएर बनेका सडक र अन्य भौतिक संरचनाहरूले पनि जमिनमा पानीको सतह घटाइरहेका छन् । पानी उत्तरबाट दक्षिणतिर बग्ने भएकाले पूर्व–पश्चिम फैलिएका राजमार्ग र बस्तीहरूले पानीको बहावमा अवरोध सिर्जना गरेको र जमिनमा पानी पुनर्भरण हुने प्रणालीलाई नै बिथोलेको डा. रिजालको तर्क छ । उनका अनुसार राम्ररी पुनर्भरण हुन नपाएपछि तराईमा भूमिगत पानीको सतह तल सर्दै गएको र यसैकारण बोरिङ तथा नल्काहरू सुक्न थालेका हुन् । साथै, ठुला उद्योग र फोहोरको डम्पिङ साइटले भूमिगत पानीमा प्रदूषणसमेत बढाइरहेका छन् । 

tanker

तराई क्षेत्रमा सिँचाइ, औद्योगिक प्रयोजन र खानेपानीका लागि भूमिगत जलस्रोत नै मुख्य आधार हो । तर माछापालन र स्वीमिङ पुल जस्ता क्षेत्रमा समेत भूमिगत पानीको अत्यधिक दोहन भइरहँदा पनि सरकारको ध्यान संरक्षण र पुनर्भरणतर्फ पुग्न नसकेको विज्ञहरूको गुनासो छ । डा. रिजालका अनुसार यो समस्या समाधान गर्न राज्यले वर्षाको पानीलाई जङ्गल र खुला क्षेत्रको उपयोग गरी जमिनमुनि पठाउने वैज्ञानिक उपायहरू अपनाउनुपर्छ । यसका लागि पहिले जमिनमुनिको अवस्था अध्ययन गरी पानी जम्ने पोखरीहरू बनाउनुपर्ने र ती पोखरीहरूको नियमित सरसफाइ गरी रिचार्ज भएको छ कि छैन भनेर अनुगमन गर्नुपर्ने आवश्यकता छ ।

यसै समस्यालाई दृष्टिगत गर्दै धनगढी उपमहानगरपालिकाले तीन वर्षअघि भूमिगत पानी पुनर्भरणको काम सुरु गर्न विशेष नीति बनाएको थियो । डिभिजनल इन्जिनियर डिजराज भट्टका अनुसार प्राकृतिक तालतलैयाको संरक्षण गर्दै भूमिगत पानी पुनर्भरणका लागि उपयोग गर्ने नीतिअनुसार कार्यक्रमहरू भएका छन् । मेयर गोपाल हमालका अनुसार बस्ती विकाससँगै रूखहरू काटिने, प्राकृतिक तालहरू मासिने र मानिसहरूले घरको आँगनसमेत पक्की बनाउने गर्दा जमिनले पानी सोस्ने सतह घट्दै गएको छ । यसलाई रोक्न उपमहानगरपालिकाले अहिले प्राकृतिक ताल, कुला र खोलाहरू खोज्ने र कतिपय ठाउँमा भइरहेको अतिक्रमण हटाउने काम  गरिसकेको छ । त्यसैअन्तरगत रातदिन निरन्तर बग्ने गरी भूमिगत पानी निकाल्न रोक लगाइने र घरको नक्सा पास गर्दा भूमिगत पानी रिचार्जको व्यवस्था भए/नभएको हेरेर मात्र स्वीकृति दिने नियम कडाइका साथ लागु गरिएको छ । 

उपमहानगरले ’एक सामुदायिक वन, एक पोखरी’ को अवधारणा अघि सारेको छ, जसले भूमिगत जलस्तर बढाउनुका साथै आगलागी नियन्त्रण र वन्यजन्तुका लागि समेत पानीको स्रोत उपलब्ध गराउनेछ । यस्ता ताल र पोखरीहरूलाई पर्यटकीय दृष्टिले समेत उपयोगी बनाउने काम पनि भएका छन् ।

सामुदायिक वनका प्रतिनिधिहरूसँगको छलफलपछि उपमहानगरले काम गरिरहेको छ । धनगढीमा मात्र नभई सुदूरपश्चिमका तराईका जिल्लाहरूमा भूमिगत पानीको संकट गहिरिँदै गएकाले समयमै वैज्ञानिक व्यवस्थापन र संरक्षणमा ध्यान नदिने हो भने भविष्यमा खानेपानीका लागि समेत पहाडको भर पर्नुपर्ने र तराई क्षेत्र मरुभूमिमा परिणत हुने जोखिम रहेको विज्ञहरूले चेतावनी दिएका छन् ।

अहिलेलाई भने आकासबाट ठुलो वर्षा नभएसम्म धनगढीबासीले पानीका लागि ट्यांकरकै बाटो कुर्नुपर्ने बाध्यता कायमै देखिएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

सविता बुढा
सविता बुढा
लेखकबाट थप