पासपोर्ट छपाई अनियमितता प्रकरण : महानिर्देशक अर्यालसहित ७ जनाको बयान पूरा
सारांश
- ई-पासपोर्ट छपाई अनियमितता प्रकरणमा राहदानी विभागका महानिर्देशक तीर्थराज अर्यालसहित सात जनाको बयान विशेष अदालतमा पूरा भएको छ।
- सात जनाको बयान पूरा भएसँगै थुनछेक बहस बाँकी रहेकाले सबैलाई न्यायिक हिरासतमा पठाइएको छ।
- अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ई-पासपोर्ट छपाई प्रकरणमा १० अर्ब १३ करोड रुपैयाँभन्दा बढी भ्रष्टाचार भएको ठहर गर्दै मुद्दा दर्ता गरेको थियो।
काठमाडौँ । ई–पासपोर्ट छपाई अनियमितता प्रकरणमा भ्रष्टाचार मुद्दाको अभियोग लागेका राहदानी विभागका महानिर्देशक तीर्थराज अर्यालसहित सात जनाको बयान पूरा भएको छ । विशेष अदालतका न्यायाधीशत्रय नारायणप्रसाद पौडेल, हेमन्त रावल र उमेश कोइरालाको इजलासमा अर्यालसहित सात जनाको बयान पूरा भएको छ ।
सात जनाको बयान पूरा भएसँगै थुनछेक बहस बाँकी रहेकाले अदालतमा उपस्थित भएका सबैलाई न्यायिक हिरासतमा पठाइएको र थुनछेक बहस भोलि मात्रै हुने विशेष अदालतका सूचना अधिकारी पार्वती हितानले जानकारी दिइन् ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सोमबार राहदानी छपाई प्रकरणमा विभागका महानिर्देशक अर्यालसहित निर्देशक सुनिल कुमार के।सी, तत्कालीन लेखा अधिकृत तुलसी प्रसाद आचार्य, तत्कालीन शाखा अधिकृत सोमेश थापा, कम्प्युटर इन्जिनियर विपिन प्रसाई, परराष्ट्र मन्त्रालयका तत्कालीन उपसचिव (कानुन) राजाराम दाहाल र जर्मनी कम्पनी मुल्हबाउरका नेपाल प्रतिनिधि मुनिन्द्रराज मल्लसहितलाई अदालतमा उपस्थित गराएको थियो ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ई–पासपोर्ट छपाई प्रकरणमा १० अर्ब १३ करोड रुपैयाँभन्दा बढी भ्रष्टाचार गरेको ठहर गर्दै सोमबार मुद्दा दर्ता गरेको थियो ।
विभागले आह्वान गरेको दुई वटा प्याकेजको बोलपत्रमा सरकारी अधिकारी र विदेशी कम्पनीका प्रतिनिधिहरूबिच मिलेमतो गरी राज्यलाई अर्बौँको नोक्सानी पुर्याएको आयोगको निष्कर्ष छ ।
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण