बुधबार, १० असार २०८३
ताजा लोकप्रिय
स्थानीय तह बजेट

१४ गाउँपालिकाले ल्याएनन् समयसीमाभित्र बजेट, अध्यक्षको अस्वस्थतादेखि सहमति अभावसम्म

बुधबार, १० असार २०८३, २० : ३७
बुधबार, १० असार २०८३

सारांश

  • देशभरका ४ सय ६० गाउँपालिकामध्ये ४ सय ४६ वटाले आगामी आर्थिक वर्ष २०८३/८४ को नीति, कार्यक्रम तथा बजेट कानुनी समय सीमाभित्र गाउँसभामा पेस गरेका छन्।
  • बाँकी १४ गाउँपालिकामा बजेट पेस हुन नसक्नुका कारण तयारी नपुग्नु, अध्यक्ष अस्वस्थ हुनु, प्रमुख प्रशासकीय अधिकृतको सरुवा तथा बजेट निर्माणमा सहमति जुट्न नसक्नु रहेका छन्।
  • बजेट पेस हुन नसकेका गाउँपालिकाहरूले केही दिनभित्रै गाउँसभा आह्वान गरी नीति तथा कार्यक्रम तथा बजेट प्रस्तुत गर्ने जानकारी प्राप्त भएको छ।

काठमाडौँ । देशभरका अधिकांश गाउँपालिकाले आगामी आर्थिक वर्ष २०८३/८४ को नीति, कार्यक्रम तथा बजेट कानुनी समयसीमाभित्र गाउँसभामा पेस गरेका छन्।

गाउँपालिका राष्ट्रिय महासङ्घ नेपालले बुधबार जारी गरेको प्रेस विज्ञप्तिअनुसार देशभर रहेका ४ सय ६० गाउँपालिकामध्ये ४ सय ४६ वटा अर्थात् करिब ९७ प्रतिशत गाउँपालिकाले असार १० गतेभित्र नीति, कार्यक्रम तथा बजेट गाउँसभामा पेस गरेका छन्।

महासङ्घका अनुसार बाँकी १४ गाउँपालिकामा भने बजेट पेस हुन सकेको छैन। तीमध्ये ५ वटा गाउँपालिकाले नीति तथा कार्यक्रम सभामा प्रस्तुत गरिसके पनि बजेट भने अझै पेस गर्न बाँकी रहेको जानकारी प्राप्त भएको महासङ्घका कार्यकारी निर्देशक राजेन्द्रप्रसाद प्याकुरेलले जानकारी दिए ।

बजेट पेस गर्न नसकेका गाउँपालिकाहरूमा तयारी नपुग्नु, अध्यक्ष अस्वस्थ हुनु, अध्यक्षका परिवारका सदस्य बिरामी भई जिल्ला बाहिर रहनु, प्रमुख प्रशासकीय अधिकृतको सरुवा हुनु तथा बजेट निर्माणमा सहमति जुट्न नसक्नु लगायतका कारण देखिएको महासङ्घले जनाएको छ।

यद्यपि बजेट पेस हुन नसकेका गाउँपालिकाहरूले केही दिनभित्रै गाउँसभा आह्वान गरी नीति तथा कार्यक्रम तथा बजेट प्रस्तुत गर्ने जानकारी प्राप्त भएको महासङ्घले जारी गरेको प्रेस विज्ञप्तिमा उल्लेख छ ।

अन्तरसरकारी वित्त व्यवस्थापन ऐन, २०७४ अनुसार स्थानीय तहहरूले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम र बजेट असार १० गतेभित्र सम्बन्धित गाउँ वा नगरसभामा पेस गरिसक्नुपर्ने व्यवस्था छ।

727613289_5229128400646272_6826486433316927718_n

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप