प्रचण्ड गर्मीको चपेटामा युरोप, फ्रान्समा डुबेर मर्नेहरूको संख्या अत्यधिक
सारांश
- युरोपका विभिन्न देशहरूमा तापक्रमले कीर्तिमान बनाएको छ र गर्मीको लहर चरम स्तरमा पुगेको छ, जसले गर्दा फ्रान्समा पौडी खेल्ने क्रममा ४० जनाको मृत्यु भएको छ ।
- फ्रान्स, स्पेन र इटाली सबैभन्दा बढी प्रभावित भएका छन्, जहाँ तापक्रम ४० डिग्री सेल्सियसभन्दा माथि पुगेको छ र 'रेड अलर्ट' जारी गरिएको छ ।
- जलवायु परिवर्तनले युरोपलाई विश्वको तुलनामा दोब्बर गतिमा तताइरहेको छ, जसले गर्दा गर्मीका लहर, पानीको दबाब र डढेलोका घटनाहरू बढेका छन् ।
फ्रान्सका प्रधानमन्त्री सेबास्टियन लेकोर्नुले बढ्दो गर्मी छल्न पौडने क्रममा बिहीबारयता मात्र ४० जनाको डुबेर मृत्यु भएको बताएका छन् । यसैबिच, युरोपका विभिन्न देशहरूमा तापक्रमले कीर्तिमान बनाएको छ भने गर्मीको लहर चरम स्तरमा पुगेको छ ।
हालसम्म फ्रान्स, स्पेन र इटाली सबैभन्दा बढी प्रभावित भएका छन् । फ्रान्समा मंगलबार जुन महिनाको इतिहासकै सबैभन्दा तातो दिन रेकर्ड गरिएको थियो, जहाँ औसत तापक्रम २९.८ डिग्री सेल्सियस पुगेको थियो ।
मेटेओ फ्रान्सका अनुसार सोमबार राति पनि इतिहासकै सबैभन्दा तातो रात रेकर्ड गरिएको थियो, जहाँ न्यूनतम औसत तापक्रम २१.६ डिग्री सेल्सियस थियो । देशको आधाभन्दा बढी क्षेत्र उच्चतम सतर्कता अर्थात् ‘रेड अलर्ट’ मा राखिएको छ ।
यसैबिच स्पेनमा राष्ट्रिय स्तरको गर्मीको लहरको तेस्रो दिनमा केही क्षेत्रमा तापक्रम ४० डिग्री सेल्सियसभन्दा माथि पुग्ने अनुमान गरिएको छ । दक्षिणको अन्डालुसिया तथा उत्तरका कान्टाब्रिया र बास्क क्षेत्रमा ‘रेड अलर्ट’ जारी गरिएको छ ।
जलवायु परिवर्तनको प्रभावबाट सबैभन्दा बढी प्रभावित युरोपेली देशहरूमध्ये स्पेन पनि एक हो । सरकारी मौसम सेवा एइमेटका अनुसार जुन महिनामा गर्मीको लहर झन् सामान्य बन्दै गएको छ । सन् २००० देखि २०२५ सम्म मुख्यभूमि स्पेनमा जुन महिनामा मात्र १० वटा गर्मीका लहर रेकर्ड भएका छन्, जबकि त्यसअघिका २५ वर्षमा केवल दुईवटा मात्र थिए ।
इटालीमा पनि रोम, मिलान, फ्लोरेन्स, टुरिन र भेनिससहित १५ सहरमा रातो सतर्कता घोषणा गरिएको छ । यो चेतावनीले वृद्ध वा दीर्घरोगी मात्र होइन, स्वस्थ वयस्कहरूलाई समेत स्वास्थ्य जोखिम हुन सक्ने अवस्थालाई जनाउँछ ।
फ्रान्सकी खेलकुद मन्त्रीले मानिसहरू जोखिमको मूल्याङ्कन नगरी नदी र नहरहरूमा चिसो हुन जाने क्रम बढेको बताएकी छिन् । यसरी मृत्यु हुनेमध्ये एक १३ वर्षीया बालिका थिइन्, जो आइतबार साँझ आफ्नो परिवारसँग फोन्तेन–ला–पोर्टस्थित सेन नदीमा नुहाउन गएकी थिइन् । उनलाई पौडी खेल्न आउँदैनथ्यो ।
यसैबिच, लियोन नजिकैको एउटा पार्कमा रोन नदीबाट उद्धार गरिएका एक युवा व्यावसायिक फुटबल खेलाडीको अवस्था गम्भीर रहेको छ । पौडी खेल्न निषेध गरिएको क्षेत्रमा चार जना युवाहरू समस्यामा परेपछि आपत्कालीन सेवाहरू परिचालन गरिएको थियो ।

फ्रान्समा सोमबार थप दुई बालबालिकाको मृत्यु पनि अत्यधिक गर्मीका कारण भएको बताइएको छ । दक्षिणी सहर कार्पन्त्रासको पार्किङ क्षेत्रमा दुई र चार वर्षका बालबालिकाहरू परिवारको कारभित्र मृत अवस्थामा फेला परेका थिए ।
जर्मनीमा पनि धेरै मानिस डुबेका छन् । यस हप्ताको अन्त्यसम्म पश्चिमी र दक्षिणपश्चिमी क्षेत्रमा तापक्रम ४० डिग्री सेल्सियससम्म पुग्ने अपेक्षा गरिएको छ ।
जर्मन लाइफसेभिङ एसोसिएसन (डीएलआरजी) का अनुसार शुक्रबारदेखि आइतबारसम्म पौडी खेल्दा छ जनाको मृत्यु भएको छ । विशेष गरी पुरुषहरूले पानीको सतहलाई आफ्नो क्षमताभन्दा कम आँक्दा दुर्घटना हुने गरेको एसोसिएसनले जनाएको छ । दक्षिणपश्चिमी बिब्लिस नजिक राइन नदीमा तीन जनाको शव फेला परेको छ । २३, २७ र ५० वर्ष उमेरका तीन पुरुष केही दिनअघि बेपत्ता भएका थिए ।
स्पेनको एइमेट मौसम सेवाका अनुसार दक्षिणी सहर कोर्डोबा नजिकका ग्रामीण क्षेत्रमा मंगलबार तापक्रम ४४ डिग्री सेल्सियसभन्दा माथि पुग्न सक्छ भने उत्तरपूर्वी एब्रो उपत्यकामा ४२ डिग्रीभन्दा माथि पुग्न सक्छ ।
जलवायु परिवर्तनले विश्वभर तापक्रम बढाइरहेको छ, तर यसको प्रभाव विशेष गरी युरोपमा बढी देखिएको छ । ‘कोपर्निकस क्लाइमेट सर्भिस’का अनुसार युरोप विश्वको सबैभन्दा छिटो तातिँदै गएको महादेश हो, जहाँ तापक्रम विश्व औसतको तुलनामा दोब्बर गतिले बढिरहेको छ ।
सोमबार एइमेटका ८२८ मौसम केन्द्रमध्ये १०१ केन्द्रमा तापक्रम ४० डिग्री वा सोभन्दा माथि पुगेको थियो । अन्दुहारमा ४५ डिग्री सेल्सियस रेकर्ड गरिएको थियो ।
‘गर्मीका लहरहरू अब अघिल्ला दशकको तुलनामा गर्मी यामको सुरुमै बढी देखिन थालेका छन्,’ एइमेटका रुबेन डेल काम्पोले स्पेनी सञ्चारमाध्यमलाई बताएका छन् ।
इटालीमा सरकारले खेतबारी र निर्माण क्षेत्रमा काम गर्ने श्रमिकहरूलाई अत्यधिक घाममा काम गर्न नपरोस् भनेर आपत्कालीन श्रम सुरक्षा उपायहरू पुनः लागू गरेको छ । खतरनाक गर्मीका कारण काम रोक्ने वा घटाउने कम्पनीहरूले अब सरकारी सहयोग प्राप्त गर्न सक्नेछन् ।
मेटेओ फ्रान्सले बुधबार दिउँसो देशका ९६ विभागमध्ये ५४ बाट बढाएर ५८ विभागमा रातो चेतावनी विस्तार गरिने जनाएको छ, जसमा उत्तरपश्चिमका थप क्षेत्रहरू पनि समावेश हुनेछन् ।
सम्पूर्ण पेरिस क्षेत्र समेट्ने इल–द–फ्रान्स क्षेत्रकी अध्यक्ष भालेरी पेक्रेसले मानिसहरूलाई यात्रा नगर्न र घरबाटै काम गर्न आग्रह गरेकी छन् । ‘रेलमार्गका पटरिहरूले ५० डिग्री सेल्सियसभन्दा माथिको तापक्रम सहन सक्दैनन् । त्यसैले सार्वजनिक यातायातमा धेरै अवरोध आउनेछ,’ उनले भनिन् ।
एफिल टावरले राजधानीमा अत्यधिक तापक्रमको पूर्वानुमानका कारण मंगलबार समयअगावै बन्द हुने जनाएको छ । राति १२ः४५ बजेसम्म खुला रहने तालिका भए पनि यो दिउँसो ४ः०० बजे बन्द गरियो र अन्तिम प्रवेश १२ः१५ बजे दिइएको थियो । गत वर्ष ६७ लाख ५० हजार मानिसले यो स्मारकको भ्रमण गरेका थिए ।
विश्वकै सबैभन्दा धेरै भ्रमण गरिने सङ्ग्रहालय लुभ्रले पनि बुधबारदेखि शनिबारसम्म आफ्नो बन्द हुने समय साँझ ६ बजेको सट्टा दिउँसो ४ बजेमा सार्ने जनाएको छ ।
लुभ्रले आफ्नो ऐतिहासिक भवन ‘अझै पनि कमजोर रहेको र जलवायु परिवर्तनअनुकूल पर्याप्त रूपमा रूपान्तरण नभएको’ बताउँदै दिनको अन्त्यमा तापक्रम सबैभन्दा बढी बढ्ने र आगन्तुकहरूको चापले त्यसलाई झन् कमजोर पार्ने जनाएको छ ।

गर्मीको लहरका कारण दक्षिणपश्चिमी फ्रान्सको आणविक ऊर्जा केन्द्र पनि सोमबार राति बन्द गर्नुपरेको थियो, किनभने गारोन नदीको पानीको तापक्रम मंगलबार २८ डिग्री सेल्सियस पुग्ने अपेक्षा गरिएको थियो । फ्रान्सको कानुनअनुसार गोल्फेक केन्द्रका रिएक्टर चिस्याउन प्रयोग हुने पानीको तापक्रम यस भन्दा बढी हुनु हुदैँन ।
स्पेनी मौसमविद्हरूका अनुसार आइबेरियन प्रायद्वीपमा बुधबारदेखि तापक्रम घट्न थाल्नेछ । तर नेदरल्यान्ड्स, बेल्जियम र जर्मनीमा भने शुक्रबारसम्म तापक्रम उच्च बिन्दुमा पुग्ने अपेक्षा गरिएको छ ।
डच मौसम सेवा केएनएमआईले दक्षिणी र मध्य क्षेत्रमा बुधबारदेखि शुक्रबारसम्म ‘खतरनाक मौसम हुने उच्च सम्भावना’ जनाउँदै कोड अरेन्ज चेतावनी जारी गरेको छ ।
मंगलबारको बैठकपछि बेल्जियमको जोखिम व्यवस्थापन समूहले ‘राष्ट्रिय ओजोन तथा गर्मी योजना’ को सतर्कता चरण सक्रिय गर्ने निर्णय गरेको छ । यस्तो निर्णय गरिएको यो दोस्रो पटक हो; पहिलो पटक अगस्ट २०२० मा गरिएको थियो । हालसम्म कुनै विशेष राष्ट्रिय उपाय घोषणा गरिएको छैन, तर वृद्धवृद्धा र बालबालिकाको विशेष हेरचाह गर्न आग्रह गरिएको छ ।
जलवायु परिवर्तनले विश्वभर तापक्रम बढाइरहेको छ, तर यसको प्रभाव विशेष गरी युरोपमा बढी देखिएको छ । ‘कोपर्निकस क्लाइमेट सर्भिस’का अनुसार युरोप विश्वको सबैभन्दा छिटो तातिँदै गएको महादेश हो, जहाँ तापक्रम विश्व औसतको तुलनामा दोब्बर गतिले बढिरहेको छ ।
यसका कारण गर्मी याममा बढी गर्मीका लहर, पानी आपूर्तिमाथि बढ्दो दबाब र अझ तीव्र डढेलोका घटना देखिएका छन् । गत वर्ष युरोपभर १० लाख हेक्टरभन्दा बढी वन क्षेत्र जलेको थियो । यो कीर्तिमानी डँडेलो हो । विशेष गरी स्पेन यसबाट बढी प्रभावित भएको थियो । बीबीसीबाट
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
इन्धनको मूल्य नघटाएकोमा कांग्रेस महामन्त्रीको आक्रोश
-
फिल्म ‘भागदौड’ को गीत ‘पातली’ मा निशा र घनश्यामको नृत्य
-
सुन्ने क्षमता घटिरहेको छ ? शरीरले दिन्छ प्रायः यी सङ्केतहरू
-
रास्वपाले प्रदेशसभा खारेज गर्ने प्रस्ताव गरेको हो भने त्यो ठुलो भूल हुनेछ : डा भट्टराई
-
इरान युद्धमा ८७ अर्ब डलर माग
-
विश्वकप नकआउट समीकरण : कुन टोलीलाई अघिल्लो चरण पुग्न के चाहिन्छ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण