दिगो कृषि तथा खाद्य प्रणालीसम्बन्धी राष्ट्रिय सम्मेलन चितवनमा
चितवन । नेपालको कृषि तथा खाद्य प्रणालीलाई दिगो, समावेशी, जलवायु उत्थानशील र भविष्य उन्मुख बनाउने उद्देश्यका साथ चितवनको रामपुरस्थित कृषि तथा वन विज्ञान विश्वविद्यालयमा बिहीबारदेखि तीन दिने राष्ट्रिय सम्मेलन सुरु हुने भएको छ । विश्वविद्यालयअन्तर्गतको अनुसन्धान तथा प्रसार निर्देशनालयको आयोजनामा बिहीबारदेखि सुरु भई यही असार १३ गतेसम्म ‘दिगो कृषि तथा खाद्य प्रणालीसम्बन्धी राष्ट्रिय सम्मेलन’ सञ्चालन हुन लागेको हो ।
आयोजक समितिका संयोजक प्राडा निराजन भट्टराईका अनुसार तीन दिनसम्म सञ्चालन हुने सम्मेलनमा कृषि रूपान्तरण, खाद्य तथा पोषण सुरक्षा, जलवायु अनुकूलन, प्राकृतिक स्रोत व्यवस्थापन, पशु चिकित्सा, एक–स्वास्थ्य, चक्रीय अर्थतन्त्र, कृत्रिम बुद्धिमत्ता तथा डिजिटल कृषि र सामाजिक समावेशीकरण जस्ता बहुआयामिक विषयहरूमा गहन छलफल र बहस हुनेछ ।
सम्मेलनमा २० वटा प्रमुख आमन्त्रित प्रस्तुति, ७० वटा मौखिक अनुसन्धान प्रस्तुति र ४६ वटा पोस्टर प्रस्तुतिहरू समावेश हुने उनले जानकारी दिए । सम्मेलनमा नेपालको दिगो खाद्य प्रणाली रूपान्तरण र लैङ्गिक समानता र कृषि–पारिस्थितिकीय प्रणालीमार्फत समावेशी खाद्य प्रणाली रूपान्तरणसम्बन्धी विशेष सामूहिक सत्रहरू सञ्चालन गरिने प्राडा भट्टराईले उल्लेख गरे ।
यसैगरी, विश्वविद्यालयको व्यवसाय विकास केन्द्र (बिजनेस इन्क्युबेसन सेन्टर) द्वारा आर्थिक तथा प्राविधिक सहयोग प्राप्त १३ वटा विद्यार्थी समूहका नवप्रवर्तनशील स्टार्टअपहरूको विशेष प्रदर्शनीसमेत गरिनेछ । प्राडा भट्टराईले कला र सामाजिक चेतनालाई कृषिसँग जोड्न चितवनको प्रख्यात रङ्गमञ्च ‘कर्मी चौतारी’ द्वारा पहिलो दिनको अन्तिम सत्रमा विशेष नाटक मञ्चन गरिने बताए ।
विश्वविद्यालयका रजिष्ट्रार प्राडा सुवीर सिंहले नेपालको कृषि क्षेत्रले हाल जलवायु परिवर्तन, प्राकृतिक स्रोतको क्षय, श्रमिकको अभाव, युवा पलायन र खाद्य असुरक्षालगायत गम्भीर चुनौतीहरू भोगिरहेको उल्लेख गर्दै यी समस्याहरू केवल उत्पादन वृद्धि गरेर मात्र समाधान हुन नसक्ने बताए । सम्पूर्ण कृषि तथा खाद्य प्रणालीलाई दिगो, समावेशी र उत्थानशील बनाउनु आजको आवश्यकता रहेको उनको भनाइ छ ।
रजिष्ट्रार सिंहले भने, “यो सम्मेलन केवल अनुसन्धान प्रस्तुत गर्ने औपचारिक कार्यक्रम मात्र नभई नेपालको कृषि र खाद्य प्रणालीको भविष्यका बारेमा साझा दृष्टिकोण निर्माण गर्ने राष्ट्रिय मञ्च हो ।” उनले यस प्रकारको सम्मेलनबाट विश्वविद्यालय, सरकार, निजी क्षेत्र, विकास साझेदार र कृषकहरूलाई एउटै थलोमा ल्याएर ज्ञान, नीति र अभ्यासलाई जोड्दै यसले नेपालको दिगो विकास लक्ष्य प्राप्ति र कृषि रूपान्तरणमा महत्त्वपूर्ण योगदान पुग्ने विश्वास व्यक्त गरे ।
सम्मेलनमा सङ्घीय सरकारका विभिन्न मन्त्रालयका प्रतिनिधि, नेपाल कृषि अनुसन्धान परिषद्, विभिन्न विश्वविद्यालय, विकास साझेदार संस्था, निजी क्षेत्र, कृषक समूह र विद्यार्थी स्टार्टअपहरूका प्रतिनिधिहरू गरी करिब ४०० जनाको सहभागिता रहने आयोजकले जनाएको छ ।
सम्मेलनको सह–आयोजकमा नेपाल सरकारको कृषि, वन तथा वातावरण मन्त्रालय, संयुक्त राष्ट्रसङ्घीय खाद्य तथा कृषि सङ्गठन, हेफर इन्टर्नेसनल नेपाल, केयर नेपाल र वेल्टहङ्गरहिल्फे रहेका छन् । विश्वविद्यालयका उपकुलपति प्राडा होमबहादुर बस्नेतको अध्यक्षता तथा मन्त्रालयका सचिव डा राजेन्द्रप्रसाद मिश्रको प्रमुख आतिथ्ययतामा सम्मेलन सम्पन्न हुने आयोजक समितिका संयोजक प्राडा भट्टराईले जानकारी दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बिहीबार यी राशिहरूको लागि शुभ, हेर्नुहोस् राशिफल
-
एटलान्टामा मोरक्को र हाइटीको सनसनीपूर्ण प्रदर्शन, पहिलो हाफमै ४ गोल
-
भिनिसियस चम्किँदा स्कटल्याण्ड विरुद्ध ब्राजिललाई पहिलो हाफमा अग्रता
-
भिनिसियस जुनियरको जारी विश्वकपमा ‘थ्री आउट अफ थ्री’ को सानदार रेकर्ड
-
दिगो कृषि तथा खाद्य प्रणालीसम्बन्धी राष्ट्रिय सम्मेलन चितवनमा
-
अनैतिक गतिविधिमा संलग्न २४ जना नियन्त्रणमा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण