बिहीबार, ११ असार २०८३
ताजा लोकप्रिय

फिल्म  ‘भागदौड’ को गीत ‘पातली’ मा निशा र घनश्यामको नृत्य

बिहीबार, ११ असार २०८३, १० : ४४
बिहीबार, ११ असार २०८३

सारांश

  • फिल्म ‘भागदौड’को नयाँ गीत ‘पातली’ सार्वजनिक भएको छ, जसमा निशा श्रेष्ठ र घनश्याम जोशीको अभिनय छ ।
  • वैदेशिक रोजगारी, सहकारी ठगी र जीवनका उतारचढावमा आधारित यो फिल्मको निर्देशन पहमाल उप्रेतीले गरेका हुन् ।
  • फिल्मले काठमाडौँको बुङ्गमती क्षेत्रको सभ्यता, संस्कृति र विभिन्न समुदायबिचको सहअस्तित्वलाई देखाउनेछ ।

काठमाडौँ । आगामी २६ गते (जुलाई १०) बाट देशभर प्रदर्शनमा आउन लागेको फिल्म हो ‘भागदौड’ । प्रदर्शन मिति नजिकिँदै गर्दा फिल्मको गीत ‘पातली’ सार्वजनिक गरिएको छ । प्रह्लाद तिमिल्सेना र अस्मिता अधिकारीको स्वर रहेको गीतमा शब्द, सङ्गीत वसन्त सापकोटाको छ ।

प्रेमकथा व्यक्त गरेको गीतमा फिल्मका मुख्य कलाकार निशा श्रेष्ठ, घनश्याम जोशीको अभिनय देख्न सकिन्छ । वैदेशिक रोजगारी, फाइनान्स तथा सहकारी ठगी र मानिसहरूको जीवनमा आइपर्ने विभिन्न उतार चढावलाई कथाको रूपमा उठाएको फिल्म पहमाल उप्रेतीले निर्देशन गरेका हुन् । प्रेम, बदला र भागदौडको रोचक सम्मिश्रण फिल्ममा देख्न सकिने निर्देशक उप्रेतीले बताए ।

फिल्ममा निशा र घनश्यामको अलवा शारदा राई (डायना), विशाल पोखरेल, शिशिर चापागाईं, देशभक्त खनाल, लक्ष्मी गिरी, शङ्कर महर्जन र सुवास तिमिल्सिना लगायतका कलाकारहरूको मुख्य भूमिका छ । विश्वराम विष्टको प्रस्तुतकर्ता रहेको फिल्ममा अंगिरा थापा कार्यकारी निर्माता रहेका छन् भने सह–निर्माताहरू भूपेन्द्रकुमार खड्का, सागर पुरी र सुरेश गिरी हुन् ।

सुप्रिम म्युजिक एन्ड फिल्मस प्रालि र नेशनल सिने ग्रुप नेपालको प्रस्तुतिमा निर्माण भएको यो फिल्मले काठमाडौँको ऐतिहासिक एवं परम्परागत नेवार बस्ती बुङ्गमती र बागमती नदी किनारको आसपासमा केन्द्रित छ । फिल्मले बुङ्गमतीको प्राचीन सभ्यता, नेवारी कला–संस्कृति, र त्यहाँ बसोबास गर्ने नेवार, बाहुन, क्षेत्री लगायतका विभिन्न समुदायबिचको सह अस्तित्व तथा परम्परागत प्रथा र आधुनिक जीवन शैलीबिचको सन्तुलनलाई पर्दामा देखाउने फिल्मका प्रस्तुतकर्ता विश्वराम विष्टले बताए ।

फिल्ममा दीपक बज्राचार्यको छायाङ्कन, प्रवीण ढकालको सम्पादन, वसन्त सापकोटा र प्रकाश नेपालीको सङ्गीत छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप