बिहीबार, ११ असार २०८३
ताजा लोकप्रिय
भिडियो रिपोर्ट

कीर्तिपुर होल्डिङ सेन्टरमा आश्रित सुकुमबासी भन्छन्– हामीलाई बस्ने बास चाहियो

बिहीबार, ११ असार २०८३

काठमाडौँ । होल्डिङ सेन्टरमा आश्रित सुकुमबासीहरूमा गहिरो सन्नाटा छाएको छ । अधिकार सम्पन्न बागमती सभ्यता एकीकृत विकास समितिले विस्थापित सुकुमबासीलाई राखिएको कीर्तिपुरस्थित होल्डिङ सेन्टर पाँच दिनभित्र खाली गर्न अल्टिमेटम दिएर सूचना टाँसेपछि उनीहरू चिन्तित छन् ।

काठमाडौँको कीर्तिपुरस्थित राधा स्वामी सत्संग होल्डिङ सेन्टरमा आश्रय लिइरहेका सुकुमबासीले समितिको सूचना अनुसार असार १२ गतेसम्ममा होल्डिङ सेन्टर छोड्नु पर्नेछ ।

काठमाडौँका नदी किनारबाट हटाइएका ६८ परिवारका २०३ जना कीर्तिपुर होल्डिङ सेन्टरमा आश्रय लिइरहेका छन् । होल्डिङ सेन्टरमा राखिएका सुकुमबासीहरूलाई सरकारले प्रत्येक परिवारको स्वःव्यवस्थापनका लागि २५ हजार रुपैयाँ उपलब्ध गराउने भने पनि उनीहरू असन्तुष्ट छन् ।

गत वैशाख १२ गते थापाथलीको सुकुमबासी बस्तीमा डोजर चलेपछि अस्थायी बसोबासका लागि ६८ परिवारलाई कीर्तिपुर होल्डिङ सेन्टरमा राखिएको थियो । केही घन्टा डोजर चल्दा उठीबास लागेका सुकुमबासीहरूले काठमाडौँ महानगरपालिकाको व्यवस्थापनमा रहेको होल्डिङ सेन्टरमा छोटो समयका लागि राहत पाएका थिए । अहिले त्यही अस्थायी आश्रयस्थल खोसिने भएपछि उनीहरू छट्पटीमा परेका छन् ।

थापाथलीको सुकुमबासी बस्तीमा २० वर्षदेखि बस्दै आएकी कमली लिम्बुले आफ्नो जीवनको आधा हिस्सा त्यही किनारमा बिताइन् । ‘हामीलाई डोजर चलाएर उठाए, यहाँ ल्याएर थन्काए । हामीलाई न त खानाको टुङ्गो छ, न स्थायी बासको,’ उनले दुखेसो पोखिन् ।

लिम्बुको ६ जनाको परिवार अहिले एउटै कोठामा खुम्चिन बाध्य छन् । कहिले बागमती सभ्यता त कहिले सहरी विकासका कर्मचारीहरू आएर धम्क्याएको नमिठो घटना उनले सुनाइन् । उनका अनुसार उठीबास लागेका सुकुमबासी परिवारलाई व्यवस्थित गर्न सरकारले कुनै ठोस कदम चालेको छैन । आफूहरूको अवस्था बुझ्न कुनै सरकारी निकाय पनि नै नआएको उनीहरूको गुनासो छ । ‘५ दिनको म्याद दिएर हटाउन खोजिएको छ, तर हाम्रो अवस्था कसैले सोध्दैन,’ लिम्बुले भनिन् ।

पुनम मगरको पीडा झनै दर्दनाक छ । थापाथलीमा छँदा चटपटे पसल चलाएर गुजारा चलाइरहेकी पुनमको सामान डोजर चल्दा बस्तीमै पुरियो । अप्रेसन गरेको घाउ अझै निको नभएकी उनको ६० हजार रुपैयाँ त औषधिमै खर्च भइसक्यो । होल्डिङ सेन्टरमा आएपछि आवश्यक औषधि नपाएको र स्वास्थ्य कमजोर बन्दै गएको उनले सुनाइन् ।

अन्य सुकुमबासीको अवस्था पनि उस्तै छ । २० वर्षदेखि थापाथलीमा बस्दै आएकी सुशीला विकले भनिन्, ‘हाम्रो दुःख कोही देख्दैन । सरकारले जग्गा दिन्छु भन्छ, तर कहिले र कहाँ दिन्छ ?’

WhatsApp Image 2026-06-24 at 18.52.56 (11)

थापाथली बस्तीमा लामो समय बसेर कीर्तिपुरको होल्डिङ सेन्टरमा आश्रित बेलिमाया लिम्बु निकै आक्रामक सुनिइन् । सरकारले यहाँ ल्याएर राखेपछि राम्ररी खाना नदिएको, न्यूनतम आधारभूत आवश्यकता पनि पूरा नगरेको उनको भनाइ छ ।

‘सुकुमबासी र अव्यवस्थित बसोबासी छुट्ट्याउने नाममा हामीलाई लखेट्ने योजना बन्दै छ । हामी कहाँ जाने ?’ उनले भनिन्, ‘किन हामीलाई सधैँ तर्साउँछौ ?’

कसको घर छ, कसको छैन, को सुकुमबासी, को हुुकुमबासी भनेर छानबिन गर्नु त्यति गाह्रो कुरा नभएको उनले सुनाइन् । बस्दै आएको ठाउँमा डोजर चलाएर हटाएको र अस्थायी आश्रयस्थलमा केही दिन राखेपछि फेरि बेघर बनाउन खोजेको उनको गुनासो छ ।

होल्डिङ सेन्टरमा आश्रित सुकुमबासीहरूले आफूलाई जग्गा उपलब्ध गराउन र आत्मनिर्भर हुने वातावरण बनाइदिन सरकारसँग माग गरेका छन् । ‘हामी गरिब मान्छे, जहाँ गए पनि सुकुमबासी भनेर कोठा दिँदैनन्,’ पुनम तामाङले भनिन्, ‘सरकारले हामीलाई कहाँ धकेल्न खोजेको ?’

होल्डिङ सेन्टरमा बसेका सुकुमबासीहरूलाई नियमित खानाको व्यवस्था नभएको पीडित बताउँछन् । कहिलेकाहीँ खान नपाएर भोकभोकै बस्नुपरेको उनीहरू बताउँछन् । ‘के राज्यसँग हामीलाई खाना खुवाउने सामर्थ्य छैन ?’ सुशीलाले प्रश्न गरिन् ।

कीर्तिपुरको होल्डिङ सेन्टरमा रहेका सुकुमबासीहरू भोक, रोग र अनिश्चितताबिच बाँचिरहेका छन् । एकातिर छाक टार्न कठिन छ भने अर्कोतिर बासको समस्याले पिरोलिरहेको छ । पाँच दिनको अल्टिमेटमले सुकुमबासीहरूलाई गहिरो सङ्कटतर्फ धकेलेको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया