फेवातालमा मनपरी गर्न थालेपछि कास्की प्रशासनकाे १९ बुँदे निर्देशन
पोखरा । कास्की जिल्लाका तालहरूमा असुरक्षा बढेपछि जल पर्यटन व्यवसायीलाई जिल्ला प्रशासन कार्यालय कास्कीले १९ बुँदे निर्देशन जारी गरेको छ।
बिहीबार प्रशासनले डुङ्गा, कायाकिङ तथा सर्फिङ बोटहरू सञ्चालन गर्दा अपनाउनुपर्ने सुरक्षा सावधानी र कानुनी प्रक्रियाका विषयमा निर्देशन दिएको छ।
धेरै व्यवसाय अहिले दर्ता बिना सञ्चालन भएको गुनासो बढ्न थालेको छ। व्यवसायीबिचमै मूल्य सूचीमा एकरूपता नभएको, बीमा नगरिएको र सुरक्षा मापदण्ड नअपनाई व्यवसाय सञ्चालन गर्दा दुर्घटना हुने गरेको जनगुनासो बढेपछि निर्देशन जारी गर्नुपरेको प्रशासनले जनाएको छ।
जलपर्यटनसँग सम्बन्धित व्यवसायहरू अनिवार्य रूपमा सम्बन्धित निकायमा दर्ता तथा नवीकरण गरेर मात्र सञ्चालन गर्न प्रशासनले सचेत गराएको छ । सेवाग्राहीलाई सेवा प्रदान गर्दा अनिवार्य रूपमा विल बिजक उपलब्ध गराउन भनेको छ।
व्यवसायीले सबै सेवाग्राहीका लागि लाइफ ज्याकेट अनिवार्य गर्न निर्देशन दिएको छ। लाइफ ज्याकेट बिना डुङ्गा, कायाकिङ तथा सर्फिङ गर्न पूर्ण रूपमा रोक लगाइएको छ भने १६ वर्ष मुनिका बालबालिकालाई अभिभावक बिना वा एक्लै कायाकिङ र सर्फिङ गर्न दिन नपाइने नियम जारी गरिएको छ।
हालको मनसुन र मौसम परिवर्तनलाई मध्यनजर गर्दै दिउँसो २ बजेपछि मौसम सामान्य भएको अवस्थामा बाहेक डुङ्गा, कायाकिङ र सर्फिङ सञ्चालन नगर्न आदेश दिइएको छ । प्रतिकूल मौसममा सञ्चालन गर्नुपरेमा सुरक्षाकर्मीसँग समन्वय गर्नुपर्ने र साँझ ६ बजेपछि जल पर्यटन सम्बन्धी व्यवसायहरू अनिवार्य रूपमा बन्द गर्न निर्देशन दिइएको छ। व्यवसायी तथा सञ्चालकहरूले धूम्रपान, मद्यपान र लागू पदार्थ सेवन गर्न पाउने छैनन् भने सेवाग्राहीले पनि मद्यपान वा लागू पदार्थ सेवन गरेको शङ्का लागेमा सेवा उपलब्ध नगराउन भनिएको छ।
सेवा प्रदायकले सेवा सुरु गर्नुअघि ग्राहकलाई चलाउने तरिका, सम्भावित समस्या, समाधानका उपाय र सुरक्षित क्षेत्रबारे जानकारी गराउनुपर्नेछ । सेवा अवधिभर व्यवसायीले सेवाग्राहीको निरन्तर निगरानी राख्नुपर्नेछ र समस्या परेमा तत्काल सहायता उपलब्ध गराउनुपर्नेछ।
सञ्चालनमा रहेका बोटहरूको संख्या अनुसार सेवाग्राहीको अनिवार्य बीमा गराउनुपर्नेछ । दुर्घटना भएमा घाइतेको सम्पूर्ण जिम्मेवारी सेवा प्रदायक कम्पनीकै हुनेछ र घाइतेलाई तत्काल अस्पताल पुर्याउने व्यवस्था मिलाउनुपर्नेछ। प्रशासनको निर्देशन अनुसार, दुर्घटनाको अवस्थामा फेवातालमा खटिएको सशस्त्र प्रहरी बलको रेस्क्यु टोली वा सुरक्षा टावरमा तत्काल खबर गर्नुपर्ने सहायक प्रमुख जिल्ला अधिकारी चित्रांगत बरालले जानकारी दिए।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मुस्ताङमा सशस्त्र प्रहरीको विपद् प्रतिकार्य अभ्यास
-
बारामा ९३ हजार मेट्रिकटन भन्दा बढी धान उत्पादन
-
कोशी प्रदेशमा २ अर्ब ८ करोडका ४ ठुला परियोजना स्वीकृत
-
कर्णालीको बजेट : नीति र विधिका गफ तर व्यवहारमा पहुँचवालाकै रजाइँ !
-
आलोचना भएपछि फुटपाथमा पार्किङ गरेको प्रहरीको भ्यानलाई जरिवाना
-
रास्वपा महाधिवेशन : केन्द्रीय सदस्यको मत परिणाम सार्वजनिक (लाइभ)
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण