युरोपको भिसा लागेको पासपोर्ट थानकोटबाट बरामद, छुटाउन ६ लाख माग्ने दुईजना पक्राउ
काठमाडौँ । संगठित गिरोहले युरोप जाने भिसा भारतबाट लगाएर काठमाडौँ पठाउने गरेको तथ्य फेला परेको छ । उपत्यका अपराध अनुसन्धान कार्यालयले बरामद गरेको २१ थान पासपोर्टबारे अनुसन्धान गर्दा सो तथ्य खुलेको हो ।
उपत्यका अपराध अनुसन्धान कार्यालयबाट खटिएका प्रहरीले असार ६ मा चन्द्रागिरि नगरपालिका–२ नागढुंगाबाट २१ थान पासपोर्ट बरामद गरेका थिए ।
भारतको नयाँ दिल्लीबाट काठमाडौँ आउँदै गरेको बागमति प्रदेश–१–००६ ख ७४५४ नम्बरको बसमा सो पासपोर्ट भेटिएको हो । सो गाडीका चालक सिन्धुलीको कमलामाई घर भएका ४६ वर्षीय जित बहादुर तामाङलाई प्रहरीले पक्राउ गरेर अनुसन्धान गरिरहेको छ ।
सो प्रकरणमा अरु दुईजना पक्राउ परेका छन् । प्रहरीले बरामद गरेको पासपोर्ट छुटाउन आर्थिक चलखेल गरेको आरोपमा दुईजना पक्राउ परेका हुन् । पक्राउ पर्नेमा सिन्धुपाल्चोकको मेलम्ची घर भएका ३६ वर्षीय निर्मल ढकाल भन्ने राजेन्द्र ढकाल र काठमाडौँको तार्केश्वर नगरपालिका घर भएका ३० वर्षीय विशाल खड्का छन् ।
उनीहरूले सो पासपोर्ट प्रहरीबाट छुटाउन ‘६ लाख रुपैयाँ लाग्छ’ भनेर चलखेल गरेको आरोप छ । एउटा पासपोर्ट छुटाउन तत्काल १५ हजार दिनुपर्ने र थप रकम पछि दिनुपर्ने भन्दै उनीहरूले बार्गेनिङ गरेको खुलेपछि पक्राउ गरिएको उपत्यका अपराध अनुसन्धान कार्यालयका एसपी शरत कुमार थापाले रातोपाटीलाई जानकारी दिए ।
आरोपीहरूले पासपोर्ट छुटाउन टेकुस्थित उपत्यका अपराध अनुसन्धान कार्यालयका ‘एसपी समेतलाई मिलाउनुपर्छ’ भनेर रकम मागेको आरोप छ ।
उनीहरूलाई थप अनुसन्धान गर्न अनुसन्धान कार्यालयले जिल्ला प्रहरी परिसर काठमाडौँमा पठाएको छ । युरोप जाने भिसा भारतमा लगाउने गिरोहबारे प्रहरीले अनुसन्धान गरिरहेको छ ।
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण