शनिबार, १३ असार २०८३
ताजा लोकप्रिय

वर्षा र सडक मर्मतका कारण अवरुद्ध छन् यी राजमार्ग

शनिबार, १३ असार २०८३, ०८ : २३
शनिबार, १३ असार २०८३

सारांश

  • बाढी र सडक मर्मतका कारण कोशी र बागमती प्रदेशका केही सडक खण्डहरू प्रभावित भएका छन्।
  • भोजपुरमा मध्य पहाडी लोकमार्ग बाढीले प्रभावित भए पनि हाल एकतर्फी सुचारु छ।
  • काभ्रेको बीपी राजमार्ग र मकवानपुरको कुलेखानी-फाखेल-हुमाने-फर्पिङ सडक खण्ड सवारी आवागमनका लागि प्रभावित छ।

काठमाडौँ । बाढी, सम्भावित जोखिम र सडक मर्मतका कारण कोशी र बागमती प्रदेशका केही सडक खण्डहरू प्रभावित भएका छन्।

नेपाल प्रहरीको विवरण अनुसार कोशी प्रदेशको भोजपुर जिल्लास्थित मध्य पहाडी लोकमार्गमा बाढीका कारण सडक प्रभावित भएको छ। भोजपुर नगरपालिका वडा नम्बर ५, बोखिममा हिजोदेखि बाढीले समस्या सिर्जना गरेको थियो। हाल यो सडक एकतर्फी रूपमा सुचारु रहेको र वैकल्पिक बाटोको समेत व्यवस्था रहेको प्रहरीले जनाएको छ।

बागमती प्रदेशका दुई महत्त्वपूर्ण सडक खण्डहरूमा सवारी आवागमन प्रभावित भएको छ । काभ्रेपलाञ्चोक जिल्ला अन्तर्गत पर्ने बीपी राजमार्गको खुर्कोट–नेपालथोक–कटुन्जेबेंसी खण्डमा सम्भावित बाढीको जोखिमलाई मध्यनजर गर्दै सवारी साधन सञ्चालनमा रोक लगाइएको छ।

मकवानपुरको ईन्द्रसरोवर गाउँपालिका वडा नम्बर २ र ४ (महालक्ष्मी) क्षेत्रमा पर्ने कुलेखानी–फाखेल–हुमाने–फर्पिङ(काठमाडौँ सडक खण्ड पूर्ण रूपमा अवरुद्ध छ। सडक मर्मत कार्य जारी रहेकाले यो खण्ड आगामी एक महिनासम्मका लागि बन्द रहने प्रहरीले जानकारी दिएको छ। यो सडक खण्ड गत जेठ १५ गतेदेखि नै मर्मतका लागि बन्द गरिएको हो।

मनसुन सक्रिय भएसँगै देशका विभिन्न स्थानमा पहिरो र बाढीको जोखिम बढ्दै गएकाले लामो दूरीको यात्रामा निस्कनुअघि सडकको अवस्थाबारे जानकारी लिन र सावधानी अपनाउन प्रहरीले सर्वसाधारणमा अनुरोध गरेको छ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप