ठुला टोलीलाई ‘अन्डरडग’को झट्का : स्पेनदेखि इंग्ल्याण्डसम्म कसरी फसे रणनीतिक जालमा?
सारांश
- विश्वकपमा तल्लो वरीयताका केप भर्डे, कुराकाओ, घाना र दक्षिण अफ्रिकाले स्पेन, इक्वेडर, इंग्ल्याण्ड र दक्षिण कोरिया जस्ता बलिया टोलीहरूबाट अंक खोस्न सफल भएका छन्।
- अन्डरडग टोलीहरूले विपक्षीको पासोमा नपरेर, मैदानको चौडाइ कभर गरेर र प्रेसलाई तान्ने रणनीति अपनाएर बलिया टोलीहरूलाई चुनौती दिएका छन्।
- कम खेलाडी हुँदा पनि सही संरचना र सामूहिक प्रयासले साना राष्ट्रहरूले ठूला टोलीहरूलाई चुनौती दिन सक्छन्, तर भाग्यको साथ पनि आवश्यक हुन्छ।
४८ टोली सहभागी यस विश्वकपमा केही निकै रोचक भिडन्तहरू देखिएका छन्। तल्लो वरीयताका टोलीहरूले विश्वका शीर्ष टोलीहरूविरुद्ध प्रभावशाली प्रदर्शन गरिरहेका छन्।
फिफा वरीयतामा क्रमशः ६४औँ, ८१औँ, ६५औँ र ५४औँ स्थानमा रहेका केप भर्डे, कुराकाओ, घाना र दक्षिण अफ्रिकाले अहिलेसम्म स्पेन (तेस्रो), इक्वेडर (२९औँ), इंग्ल्याण्ड (चौथो) र दक्षिण कोरिया (२८औँ) जस्ता बलिया टोलीहरूबाट अंक खोस्न सफल भएका छन्।
सुरुवाती चरणमै देखिएका यी आश्चर्यजनक नतिजाहरू केवल भाग्यको खेल हुन् या चलाखीपूर्ण योजना र उत्कृष्ट कार्यान्वयनको नतिजा ?
अप्रत्याशित नतिजा आएका ती खेलहरूमा के भएको थियो भनेर गहिरिएर हेर्दा केही साझा ढाँचाहरू फेला पर्छन्।
- विपक्षीको पासोमा नपर्नु
स्पेनविरुद्ध केप भर्डेले खेलेको ०–० को बराबरी सायद यस प्रतियोगिताको अहिलेसम्मकै सबैभन्दा ठूलो 'अपसेट' थियो। रणनीतिक दृष्टिकोणले पनि यो खेल उत्तिकै प्रभावशाली रह्यो।
विश्वकप इतिहासकै तेस्रो सानो राष्ट्र केप भर्डेले आफ्नो ४–५–१ को रक्षात्मक संरचना मार्फत स्पेनलाई रोकेर राख्यो। उनीहरूको सफलताको मुख्य कडी मिडफिल्ड लाइन र डिफेन्सिभ लाइनबिचको खाली ठाउँ (ग्याप) एकदमै कम हुनु थियो।
यस्तो चुनौती सामना गर्दा बल पोसेसनमा खेल्ने टोलीहरू बललाई पछाडि पास गरेर विपक्षीलाई अगाडि बढ्न उक्साउने प्रयास गर्छन्।
जब स्पेनले मिडफिल्डरहरू अघि बढ्लान् र डिफेन्डरबिच खाली ठाउँ बन्ला भन्ने आशामा बल पछाडि पास गर्यो, केप भर्डे त्यो पासोमा परेन। उनीहरूले आफ्नो संरचनालाई कसिलो बनाएरै राखे।
त्यसपछि स्पेनका डिफेन्डरहरूले विपक्षीको प्रतिक्रिया हेर्न आफैँ बल अगाडि बढाए। तर, केप भर्डेका खेलाडीहरूले अन्तिम समयसम्म आफ्नो संरचनालाई भत्किन दिएनन्।
यसको परिणामस्वरूप स्पेनलाई विपक्षी खेलाडीको ब्लकभित्र आफ्ना खेलाडी खोज्न निकै गाह्रो भयो। स्पेनसँग कि त केप भर्डेका खेलाडीहरूको साइडबाट खेल्ने कि माथिबाट बल पास गर्ने विकल्प मात्र बाँकी रह्यो।
घानाले इंग्ल्याण्डविरुद्ध अपनाएको रक्षात्मक रणनीतिमा पनि ठ्याक्कै यही ढाँचा देखिएको थियो।
प्रशिक्षक थोमस टुचेलको नेतृत्वमा रहेको इंग्ल्याण्डले विपक्षीलाई दबाब दिन उक्साउनका लागि बललाई पछाडि लैजाने र त्यसपछि खुल्ने खाली ठाउँमा छिटो आक्रमण गर्ने रणनीतिलाई बढी जोड दिँदै आएको छ।
घानाले यसको सामना गर्न कसिलो संरचना तयार पारेको थियो। जोर्डन अयुले इलियट एन्डरसनलाई म्यान मार्क गर्न अलि माथिल्लो पोजिसन लिएका थिए। तर, टोलीका बाँकी खेलाडीहरूले केप भर्डेले जस्तै पेनाल्टी क्षेत्रको ठीक बाहिर दुई लाइन बनाएर बसे, जसले लाइनहरूबिच कुनै खाली ठाउँ नै दिएन।
विपक्षीले आफूतिर तान्न खोज्दा पनि दबाब नदिने यी दुवै टोलीको रणनीतिलाई एउटा तथ्यांकले अझ प्रस्ट पार्छ, जसले टोलीले कति तीव्रताका साथ प्रेस गर्छ भन्ने मापन गर्छ।
यसलाई ‘पिपिडिए’ (अपेजिसन पासेस अलाउड पर डिफेन्सिभ एक्सन) अर्थात् रक्षात्मक कार्य गर्नुअघि विपक्षीलाई कति पास खेल्न दिइयो भन्ने मापन भनिन्छ। यो संख्या जति धेरै हुन्छ, टोलीले विपक्षीको खेललाई त्यति नै कम अवरोध गर्न सकेको भन्ने बुझिन्छ।
स्पेनविरुद्धको बराबरीमा केप भर्डेको औसत पिपिडिए ५१.२ थियो भने स्पेनको ५.९ मात्रै। त्यसैगरी, इंग्ल्याण्डविरुद्धको खेलको पहिलो १५ मिनेटमा घानाको पिपिडिए ६२ थियो।
यी दुवै अन्डरडग टोलीहरू जानाजानी रक्षात्मक बनेका थिए।
चाखलाग्दो कुरा के छ भने खेल अघि बढ्दै जाँदा घाना र केप भर्डे दुवैले आफ्नो प्रेसिङलाई बढाएका थिए। यसलाई खेलको अन्त्यतिर नतिजा आफ्नो पक्षमा पार्ने आशामा घानाजस्ता टोलीहरूले बढी पहल र जोखिम लिन खोजेको रूपमा बुझ्न सकिन्छ।
- मैदानको चौडाइ कभर गर्ने रणनीति
केही अन्डरडग टोलीहरूले किन राम्रो गरिरहेका छन् भन्ने बुझ्नका लागि अन्य टोलीहरूले कहाँ कमजोरी गरेर विपक्षीलाई फाइदा लिन दिए भनेर विश्लेषण गर्नु उपयुक्त हुन्छ।
साउदी अरेबियाले स्पेनसँग बेहोरेको हारले ‘पार्क द बस’ (अत्यधिक रक्षात्मक खेल्ने रणनीति) अपनाउने धेरै टोलीहरूमा देखिने एउटा मुख्य कमजोरीलाई प्रस्ट पारेको छ।
बाहिरबाट हेर्दा पाँच जना डिफेन्डर हुनु भनेको टोली रक्षात्मक रूपमा बलियो हुनुपर्ने हो। तर, त्यहाँ ठीक उल्टो भयो। साउदी अरेबियाको ब्याक फाइभमा स्पष्टता थिएन र उनीहरू धेरैजसो बल भएको खेलाडीतिरै तानिए।
उनीहरूको लो ब्लकमा चार मिडफिल्डरहरू आवश्यकताभन्दा बढी बल भएकै साइडतिर ढल्किए। यसको मतलब उनीहरूले मैदानको पूरै चौडाइलाई कभर गर्न सकेनन्। यो कमजोरी बुझेको स्पेनले बललाई राम्रोसँग दायाँबाट बायाँतिर स्विच गर्यो।
लामिने यामाल र पेड्रो पोरोले साउदी अरेबियाका विंग–ब्याकविरुद्ध ‘टु–अगेन्स्ट–वान’ कोअवस्था बनाए। यही रणनीतिको फाइदा उठाउँदै स्पेनले तेस्रो गोल गर्यो।
बलतिर तानिएका वाइड मिडफिल्डरलाई बल स्विच हुँदा पोरोलाई दबाब दिन फर्किन निकै गाह्रो भयो। विंग–ब्याक पनि पोरोलाई रोक्न अघि बढ्न सकेनन्, उनी अघि बढेको भए यामाल फ्री हुने थिए।
बलमा पर्याप्त समय र स्पेस पाएका पोरोले ब्याक पोस्टमा क्रस पास दिए। जसलाई सेन्टरतिर धकेलेर मिकेल ओयारजाबालले सहजै गोलमा परिणत गरे।
आठौँ वरीयताको नेदरल्याण्ड्सविरुद्ध अन्डरडग रहेको ३६औँ वरीयताको स्विडेनले पनि यही रक्षात्मक कमजोरीका कारण ५–१ को हार बेहोर्यो। उनीहरूको ५–३–२ को संरचनामा साउदी अरेबियाको चार मिडफिल्डरको तुलनामा तीन जना मात्र मिडफिल्डर हुँदा मैदानको चौडाइ झनै कम कभर भएको थियो।
नेदरल्याण्ड्सले आफ्ना राइट–विङ्गरलाई प्रयोग गरेर स्विडेनका लेफ्ट विङ–ब्याकलाई पछाडि धकेल्यो। स्विडेनका तीन मिडफिल्डर बलतिर बढ्दा डेन्जेल डम्फ्रिजले पछाडिको पोजिसनबाट उत्कृष्ट फरवार्ड रन बनाए, जसलाई कसैले मार्क गरेनन्।
स्विडेनले यो ‘टु–अगेन्स्ट–वान’ अवस्थालाई सम्हाल्न सकेन। जब खेलको पछिल्लो भागमा उनीहरूले केप भर्डे र घानाले जस्तै ४–५–१ को संरचना अपनाए, तब मात्र उनीहरूको खेलमा सुधार आयो।
- प्रेसलाई तान्ने र लङ पास खेल्ने
अन्त्यमा, बलिया विपक्षीविरुद्ध नतिजा निकाल्ने हो भने टोलीहरूले बल आफूसँग हुँदा खतरा पैदा गर्न सक्नुपर्छ।
दक्षिण अफ्रिकाले दक्षिण कोरियाविरुद्धको खेलमा जम्मा ३१% बल पोसेसन राखेर पनि १४ वटा सट प्रहार गर्यो, जबकि दक्षिण कोरियाले ७ वटा मात्र सट हानेको थियो।
गोलकिपरले सीधै लामो प्रहार गर्नुको सट्टा जानाजानी बललाई अगाडि बढाउने उनीहरूको क्षमता यसको मुख्य कारण थियो।
राम्रो प्रदर्शन गरेका अन्डरडग टोलीहरूले अक्सर गोल–किकबाट छोटो पास खेलेका छन्। जसले गर्दा हाई प्रेस गर्न रुचाउने ठूला टोलीहरू उनीहरूतर्फ तानिन्छन्, त्यसपछि मात्र उनीहरूले खाली ठाउँमा रहेका आफ्ना खेलाडीहरूको समूहमा बल चिप गरेर दिन्छन्।
केप भर्डे, इराक र दक्षिण अफ्रिका जस्ता टोलीहरूले छोटो गोल–किकको प्रयोग गर्दै आफ्ना खेलाडीहरूलाई एक–अर्काबाट टाढा पोजिसनमा राखेको देखिएको छ, जुन निकै रोचक छ।
यसको मुख्य विचार के हो भने, खेलाडीहरूबिच धेरै दूरी हुँदा म्यान–टु–म्यान प्रेस गर्न चाहने विपक्षीले खेलाडीलाई क्लोज डाउन गर्न धेरै दौडिनुपर्छ। यसका लागि लाग्ने समयमा डिफेन्डरहरूले खाली ठाउँमा रहेका मिडफिल्डर र आक्रमणकारीहरूलाई भेटाउन सक्छन्।
खेलाडीहरूबिच ठूलो दूरी राख्दै पछाडिबाट खेल्दा खतरनाक ठाउँमा बल गुम्ने जोखिम पनि बढ्छ। मेक्सिकोविरुद्ध दक्षिण अफ्रिका र नर्वेविरुद्ध इराकले यस्तै अवस्थाबाट गोल खाएका थिए।
यद्यपि, उनीहरूले धेरै राम्रा अवसरहरू पनि सिर्जना गरेका थिए। यदि अन्तिम मुभमेन्ट राम्रो भएको भए खेलको नतिजा अर्कै हुन सक्थ्यो।
फुटबल भनेको केही गुमाएर केही पाउने खेल हो। जब दक्षिण कोरियाले दक्षिण अफ्रिकालाई हाई प्रेस गर्यो, बफाना बफानाले आफ्नो सिद्धान्त छाडेनन् र अझ सटिक रूपमा बल अगाडि बढाए।
एकपटक माथि पुगेपछि उनीहरूले द्रुत गतिमा आक्रमण गरे र गोल गर्दै प्रतियोगिताको अर्को चरणमा प्रवेश सुनिश्चित गरे।
- र अलिकति उत्कृष्ट प्रदर्शन
यी उदाहरणहरूले देशहरूको वरीयता जस्तोसुकै भए पनि उनीहरूमा रणनीतिक गुणस्तर बढ्दै गएको देखाउँछन्।
कमस्तरका खेलाडीहरू हुँदा पनि टोलीहरूले सही तरिकाले संरचना बनाएर सामूहिक रूपमा एकै दिशामा अघि बढ्दा विपक्षीलाई वास्तविक चुनौती दिन सक्छन्। र त्यति हुँदाहुँदै पनि उनीहरूलाई भाग्यको साथ भने चाहिन्छ।
यस प्रतियोगितामा ४० वर्षीय गोलकिपर भोजिन्हाले स्पेनविरुद्ध उत्कृष्ट बचाउ गर्दै धेरैको मन जितेका छन्। कुराकाओका गोलकिपर एलोय रुमले पनि एकै खेलमा १५ वटा सेभ गर्दै विश्वकपको कीर्तिमान बराबरी गरे र आफ्नो देशलाई पहिलो अङ्क दिलाउन मद्दत गरे।
रणनीतिले साना राष्ट्रहरूलाई खाडल पुर्न र आफ्नै सर्तमा खेल्न मद्दत गर्न सक्छ। तर विश्वकपको माहोलले खेलाडीहरूमा यस्तो उत्कृष्ट प्रदर्शन बाहिर ल्याइदिन्छ, जुन उनीहरू आफैँलाई पनि थाहा हुँदैन।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
चिनियाँ बक्स अफिस हिट ‘डियर यू’ ले सिङ्गापुरमा छेडेको पहिचान बहस
-
उदयपुरमा टिपर दुर्घटना, ७ जना घाइते
-
हेटौँडा औद्योगिक क्षेत्रः १३१ उद्योगको बक्यौता बाँकी, नतिरे जग्गा सम्झौता खारेज गर्ने चेतावनी
-
लुम्बिनीमा भुटानी गुम्बा निर्माण
-
सेती नदीमा फसेका ११ जनाको सकुशल उद्धार
-
प्राविधिक मापदण्डमा आधारित मूल्याङ्कनबाट वित्तीय मूल्याङ्कनतर्फ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण