संरचनात्मक लाभांश : सामाजिक न्यायको एउटा नयाँ दृष्टि
सारांश
- संरचनात्मक लाभांशले समाजमा केही व्यक्तिहरूलाई जन्मँदै प्राप्त हुने सहजतालाई बुझाउँछ, जुन उनीहरूको परिश्रम वा प्रतिभाभन्दा बाह्य कारकहरूमा आधारित हुन्छ ।
- संरचनात्मक हिंसाको अवधारणाले समाजमा असमानताको विश्लेषण गर्छ भने, संरचनात्मक लाभांशले त्यही असमान संरचनाबाट केहीले प्राप्त गर्ने सुविधाहरूमाथि प्रकाश पार्छ ।
- सामाजिक न्याय प्राप्त गर्नका लागि केवल नीतिगत परिवर्तन मात्र नभई व्यक्तिगत आत्मालोचना र संरचनात्मक लाभांशबारे सचेतना आवश्यक छ ।
आज हामी डा. देवेन्द्रराज पाण्डे लेक्चर सिरिजको पहिलो व्याख्यान प्रारम्भ गर्दैछौँ । डा. पाण्डे — जसले सन् २००६ को नागरिक आन्दोलनको नेतृत्व गर्नुभयो, जसले दशकौँदेखि लोकतन्त्र र सामाजिक न्यायको पक्षमा अविरल संघर्ष गर्नुभयो — उहाँ ८६ वर्षको उमेरमा घातक रोगसित लड्दै हुनुहुन्छ ।
यो लेक्चर सिरिज उहाँको नाममा समर्पित गरिनु एउटा औपचारिकता मात्र होइन । यो उहाँले जीवनभर उठाउनु भएका प्रश्नहरूलाई जीवित राख्ने प्रतिबद्धता हो — न्याय कसले पाउँछ ?
किन र कसरी पाउँछ ?
आज सार्वजनिक भएको मेरो कृति संरचनात्मक लाभांशले त्यही प्रश्नको एउटा उत्तर खोज्ने प्रयास गरेको छ । र आजको यो प्रवचन त्यही पुस्तकमा उठाइएका विचारहरूलाई तपाईंहरू समक्ष साझा गर्ने अवसर हो ।
यो प्रस्तुतिको शुरूवात मैले आफैलाई प्रश्न गरेर गर्छु: मैले जीवनमा जे जति अवसर पाएँ, के ती मेरो परिश्रम र प्रतिभाको मात्र फल थिए ? वा त्यसमा केही अदृश्य कारक तत्वहरू पनि थिए जसबारे म धेरै समयसम्म सचेत थिइन ।
योहान गाल्टुङले सन् १९६९ मा 'संरचनात्मक हिंसा' को अवधारणा सार्वजनिक गरे ।
उनको भनाइ अनुसार यस किसिमको हिंसा समाजको संरचनामै निहित हुन्छ । समाजमा असमान सामाजिक र आर्थिक धरातलहरू हुन्छन् जसले गर्दा ती असमान धरातलमा बाँचिरहेका मानिसहरूका लागि जीवन अवसरहरू पनि असमान हुन्छन् । कुनै व्यक्तिले अर्कालाई जानाजानी कुनै खालको हिंसा नगरेपनि मानिसहरू सामाजिक, राजनीतिक र आर्थिक शक्तिका असमान धरातलमा बाँच्ने हुँदा संरचनामा नै हिंसा फस्टाएको हुन्छ ।
यहाँ म एउटा पूरक प्रश्न सोध्न चाहन्छु: यदि त्यही असमान संरचनाले केहीलाई थिच्छ भने, के त्यही संरचनाले अरूलाई माथि उठाउँदैन? यदि असमान संरचनाले कसैको जीवनलाई पिल्सिरहेको छ भने, अरूको जीवनलाई सहज पनि बनाइरहेको छ ।
त्यही सहजतालाई नै मैले संरचनात्मक लाभांश भनेको छु ।
समस्या के छ भने प्राय सबै सिद्धान्तका विश्लेषणात्मक दृष्टिहरू बाह्य जगत् तिर फर्किएका छन् । तिनले समाज, संरचना र सीमान्तकृत समूहहरूको सटिक विश्लेषण गर्दागर्दै पनि केही प्रश्न अधुरै छाडेका हुन्छन् — विश्लेषक गर्ने व्यक्ति स्वयं कहाँ उभिएको छ ? उसको आफ्नै सामाजिक, आर्थिक, जातीय, लैङ्गिक र भाषिक धरातल कुन हो ? उसमा निहित विश्लेषण–क्षमता के कस्ता अवसरबाट निखारिँदै आएको हो ?
यही प्रश्नको उत्तर खोज्ने प्रक्रियामा संरचनात्मक लाभांशको अवधारणा अर्थपूर्ण बन्छ ।
संरचनात्मक लाभांशहरूका प्राप्ति निम्ति मेहनत गर्नु पर्दैन । ती लाभांशहरू जन्मँदै प्राप्त हुन थाल्छन् र बिस्तारै हामी तिनमा अभ्यस्त हुँदै जान्छौँ । कालान्तरमा ती लाभांशहरूले सिर्जना गरेको सहजता हामीलाई आफ्नो 'स्वाभाविक अधिकार' जस्तो लाग्न थाल्छ ।
केही अपवाद बाहेक समाजमा रहेका सबैलाई कुनै न कुनै खालको संरचनात्मक लाभांश उपलब्ध हुन्छ । उदाहरणको लागि, कुनै व्यक्ति पुरूष छ भने, समाजको संरचनामा तथा वैचारिकीमा पुरूष-प्रभुत्व रहुञ्जेल, पुरूष भएकै कारणले उसलाई “लैङ्गिक” लाभांश प्राप्त हुन्छ । उच्च मध्यम वा मध्यम वर्गीय परिवारमा जन्मेको छ भने उसलाई श्रमिक परिवारमा जन्मिएकाहरूका तुलनामा “वर्गीय लाभांश” प्राप्त हुन्छ ।
राज्यको संरचनामा पहाडी राष्ट्रवादको वर्चश्व रहेसम्म पहाडी परिवारमा जन्मिएकालाई मधेसी मूलका मानिसहरूको तुलनामा बढी लाभांश उपलब्ध हुन्छ । गैरदलितहरूलाई जातप्रथाबाट प्राप्त हुने लाभांश उपलब्ध हुन्छ । सपांगहरूले दृष्टिहीन, श्रवणहीन र अन्य किसिमका फरक क्षमता भएकाहरूका तुलनामा “शारीरिक लाभांश” पाउँछन् ।
यी सबै संरचनात्मक लाभांशका विविध स्वरूपहरू हुन् । हरेक व्यक्तिले अन्य किसिमका भौतिक वा सामाजिक अवसर प्राप्तिका निम्ति संघर्ष गर्नु परेता पनि जन्मको संयोगले गर्दा उपलब्ध हुने संरचनात्मक लाभांशहरूका लागि मेहनत गर्नु पर्दैन ।
वर्ग, जात, लिङ्ग, भूगोल, भाषा, शरीर आदि सित जोडिएका लाभांशहरू बृहत् समाजको आर्थिक-राजनीतिक संरचना तथा वैचारिकीहरूसितै गाँसिएरै आउँछन् ।
मधेसी, जनजाती, दलित, निम्नवर्गीय, महिला तथा दुर्गम ठाउँका बासिन्दाहरूको तुलनामा पहाडी, बाहुन-क्षेत्री, मध्यमवर्गीय, पुरूष तथा काठमाण्डौँबासीहरूको आर्थिक र राजनीतिक संरचनामा पहुँच बढी छ । यसबाहेक हरेक समूहहरूभित्र पनि आ–आफ्नै किसिमका सोपानतन्त्र (हायरार्की) हुन्छन् । मध्यमवर्गीय बाहुन-क्षेत्रीलाई श्रमिक वर्गका बाहुन क्षेत्रीको तुलनामा बढी वर्गीय संरचनात्मक लाभांश उपलब्ध छ । काठमाण्डौँमा बस्ने महिलालाई दुर्गम ठाउँमा बस्ने महिलाको तुलनामा भौगोलिक लाभांश प्राप्त छ । र पहाडी दलितलाई मधेसी दलितको तुलनामा भाषिक लाभांश उपलब्ध हुन्छ ।
यस्तै गरेर दलित समुदायका विश्वकर्मा र सुनारको त्यही समुदायकै पोडे र मुसहरलगायतका अन्य दलितहरूको तुलनामा संरचनामा केही बढी पहुँच हुन सक्छ । त्यसैले तिनलाई सिमान्तको पनि सिमानामा रहेका झनै बढी सीमान्तकृत दलितको तुलनामा (बाहुन-क्षेत्रीको तुलनामा होइन) संरचनात्मक लाभांश उपलब्ध हुन्छ ।
यसरी केलाएर बुझ्दा संरचनात्मक लाभांशको अवधारणालाई विभिन्न समुदायबीचका भिन्नतालाई मात्र नभएर एउटै समुदायभित्रका इन्टरसेक्शनल (अन्तर्सम्बन्धित) भिन्नतालाई समेत बुझाउन सक्ने सैद्धान्तिक अवधारणाको रूपमा प्रयोग गर्न सकिन्छ ।
संरचनात्मक लाभांशको सन्दर्भमा मैले बारम्बार एउटा परिकल्पित उदाहरण प्रस्तुत गर्ने गरेको छु ।
संरचनाको पीँधमा परेर अलिकति पनि लाभांश नपाउने को होला ? कल्पना गरौँ एउटी चरम गरीब मधेशी महिला जो दलित छिन्, समलिङ्गी छिन् र दृष्टिहीन छिन् भनें उनी नेपाली समाज-संरचनाको पीँधको पनि पीँधमा परेकी हुन्छिन् । उनीमाथि सबैभन्दा बढी शोषण, उत्पीडन र दुर्व्यवहार हुने सम्भावना हुन्छ ।
उनलाई कुनै संरचनात्मक लाभांशको अवसर हुँदैन । उनको विपरित मधेसी दलित पुरुषलाई समेत मधेसी दलित महिलाको तुलनामा बढी लैङ्गिक संरचनात्मक लाभांश प्राप्त हुन्छ । यदि पहाडी दलित पुरुष छ भने उसलाई मधेसी दलित पुरुषको तुलनामा फरक किसिमको लाभांश उपलब्ध हुन्छ । भाषीय लाभांश ।
यो भनिरहँदा प्रश्न उठछ, के “मेरिट”को भूमिका हुँदै हूँदैन त ?
“मेरिट”को भूमिका पक्कै हुन्छ । तर “मेरिट”को मात्रै भूमिका हुँदैन । र “मेरिट”लाई विभिन्न किसिमका संरचनात्मक लाभांशहरूले निरन्तर मद्दत गरिरहेका हुन्छन् वा असर पारिरहेका हुन्छन् ।
यहाँ म एउटा कुरा स्पष्ट गर्न चाहन्छु । संरचनात्मक लाभांशको अवधारणाले कसैलाई दोषी ठहर गर्न खोजेको होइन ।
पुरुष भएर जन्मनु अपराध होइन । काठमाडौंमा जन्मनु अपराध होइन । मध्यमवर्गीय परिवारमा जन्मनु अपराध होइन । शिक्षित परिवारमा जन्मनु अपराध होइन । समस्या लाभांशको आभाससम्म नहुनु र आफ्नो लाभांशलाई स्वभाविक मान्नुमा छ ।
समस्या आफ्नो सहजतालाई सार्वभौमिक सत्य ठान्नुमा छ ।
संरचनात्मक हिंसा र संरचनात्मक लाभांश
यी दुई अवधारणाहरू एकअर्काका पूरक भएपनि यिनमा एउटा तात्त्विक भिन्नता छ । संरचनात्मक हिंसाको अवधारणाले 'आलोचनात्मक चेत'को प्रयोग गर्दै बाह्य जगत् र समाजको विश्लेषण गर्छ । यस किसिमको चेतमा संसारलाई हेर्ने वा विश्लेषण गर्ने “लेन्स” बाहिरतिर फर्किएको हुन्छ ।
यस किसिमको 'आलोचनात्मक चेतले हामीलाई महिला, दलित, जनजाति, मधेसीलगायत अन्य सीमान्तकृत समूहले दैनिक जीवनमा कस्ता-कस्ता संरचनात्मक हिंसाहरू खेपिरहेका छन् भनेर बुझ्न मदत गर्छ ।
संरचनात्मक लाभांशको अवधारणाले भने संसारलाई हेर्न र विश्लेषण गर्ने लेन्सलाई भित्र-बाहिर सँगसँगै घुमाउँछ । बाहिरतिर घुमेको आलोचनात्मक चेतले समाजको संरचनाभित्र लुकेको असमानता र असंवेदनशीलतालाई बुझ्न मद्दत गर्छ ।
यसले महिला, दलित, आदिवासी-जनजाति र मधेसी समुदायहरूले दैनिक जीवनमा संरचनात्मक हिंसा कसरी भोगिरहेका हुन्छन् भनेर देखाउँछ । अवसरहरूको असमान वितरण, स्रोतहरूको सीमित पहुँच र स्वाभाविक जस्तो लाग्ने तर ऐतिहासिक रूपमा निर्मित श्रेणीबद्धताहरूलाई समेत उजागर गर्छ ।
तर संरचनात्मक लाभांशको अवधारणाले बाह्य जगततिर मात्र नभएर आफैँतिर निर्देशित 'आत्मालोचनात्मक चेत'को समेत साथसाथै प्रयोग गर्छ । उक्त 'आत्मालोचनात्मक चेत'को प्रयोगमार्फत यसले संरचनामा तुलनात्मक रूपमा 'माथि' परेकाहरूको सामाजिक मनोविज्ञान बुझ्न मद्दत गर्छ ।
हामी यस्तो समयमा बाँचिरहेका छौँ जहाँ सार्वजनिक बहसहरू बढेका छन् तर सार्वजनिक आत्मालोचना छैन भनेपनि हुन्छ ।
हामी अरूलाई विश्लेषण गर्न आतुर हुन्छौँ तर आफूलाई विश्लेषण गर्न त्यति इच्छुक छैनौँ । हामी समाजको आलोचना गर्न तत्पर छौँ, तर समाजभित्रको आफ्नै स्थानलाई आलोचनात्मक दृष्टिले हेर्न कमै तयार हुन्छौँ ।
जबसम्म व्यक्तिले 'विश्लेषणात्मक लेन्स'लाई आफैँतिर फर्काएर आत्मालोचनात्मक प्रश्न सोध्दैन — म कुन ठाउँबाट बोलिरहेको छु ? मेरो जीवन-यात्रालाई के कस्ता अप्रत्यक्ष कारकहरूले सघाउ पुराए ? मैले जसलाई मेरो 'मेहनत' भनेर बुझें, त्यसमा संरचनाको कति योगदान थियो ?
मैले जेजस्ता अवसर पाएँ र जीवनमा जुन ठाउँमा पुग्न सकें त्यसका पछाडि मेरो “मेरिट” मात्र थियो ? वा विभिन्न किसिमका संरचनात्मक लाभांशहरुले मलाई सघाइरहेका थिए ?
हामी जबसम्म आफूलाई यस्ता अपठ्यारा प्रश्न सोध्दैनौँ तबसम्म असमानताहरूको पुर्नउत्पादन प्रक्रिया प्राज्ञिक रुचिको विषय मात्र रहने खतरा रहन्छ ।
समालोचना वा सिद्धान्त लेखनमा व्यक्तिगत र विषयगत अनुभवहरूलाई पन्छाइ तटस्थ भएर लेख्नुपर्छ भन्ने पारम्परिक मान्यता छँदैछ । यसैले प्राज्ञिक तथा विश्लेषणात्मक लेखनमा लेखकको ‘लोकेशन’ वा आर्थिक-सामाजिक धरातललाई अदृश्य राख्ने चलन छ ।
र हामीलाई लाग्छ हामी संसार र समाजलाई तटस्थ दृष्टिकोणबाट हेर्छौँ ।
तर वास्तवमा हामी सधैँ कुनै न कुनै स्थानबाट हेर्दै हुन्छौँ । वर्गीय लोकेशनबाट । लैँगिक लोकेशनबाट । जातीय लोकेशनबाट । भाषिक लोकेशनबाट । हामी कुनै शून्य बिन्दुबाट बोलिरहेका हुँदैनौँ । हामी सधैँ इतिहास, वर्ग, संस्कृति, भाषा, शिक्षा र अनुभवद्वारा निर्मित स्थान वा लोकेशनहरु बाट बोलिरहेका हुन्छौँ।
तर मलाई लाग्छ सामाजिक न्यायबारे लेख्ने बोल्ने जोसुकैले (चाहे त्यो गैरदलित होस् वा दलित, महिला होस् वा पुरुष, मध्यम वर्गीय होस् वा श्रमिक वर्ग) आफ्नो व्यक्तिगत धरातललाई ‘फोरग्राउन्ड’ गर्नु अति आवश्यक छ ।
मलाई लाग्छ, यो बौद्धिक इमानदारीको एउटा आधारभूत शर्त पनि हो ।
त्यसै पनि आत्मालोचनात्मक शैलीको प्रयोग गर्दै आफ्नै आनुभवहरुलाई केलाइरहनु पर्ने आवश्यतकताबारे मैले अघि नै छलफल गरिसकेकै छु ।
संरचनात्मक असंवेदनशीलता
संरचनात्मक लाभांशको एउटा अर्को पाटो छ — जसलाई जति बढी प्रकारका लाभांशहरू उपलब्ध हुन्छन्, उसमा त्यति नै प्रकारका संरचनात्मक असंवेदनशीलताहरू पनि साथसाथै मौलाएका हुन्छन् । त्यो असंवेदनशीलता ममा पनि छ जसबारे मैले आफ्नो पुस्तकमा लेखेको छु ।
विभिन्न खालका लैङ्गिक, जातीय, वर्गीय र क्षेत्रीय लगायतका कैयौँ असंवेदनशीलताहरू हाम्रो अवचेतन वा अर्धअवचेतनमा सल्बलाइरहेका हुन्छन् । त्यसैले आफ्नै संरचनात्मक असंवेदनशीलताहरूलाई चिन्न र तिनीबाट स्वतन्त्र हुन पनि हरेक व्यक्तिले आफूलाई जीवनपर्यन्त असजिला प्रश्नहरू सोधिरहनु पर्छ ।
कुरो हामीले के देख्छौँ र के देख्दैनौँ भन्ने हो ।
कल्पना गरौँ, आज बिहान नेपालमा दुई शिशु जन्मिए । एक जना काठमाडौंको मध्यमवर्गीय परिवारमा । अर्को नेपालकै कुनै दुर्गम पहाडी गाउँमा ।
दुवैले जन्मिनुअघि आफू खुशी आफ्नो परिवार रोजेका थिएनन् । दुवैले आफ्नो भूगोल रोजेका थिएनन् । दुवैले आफ्नो वर्ग, जात, भाषा, धर्म, लिङ्ग रोजेका थिएनन् ।
तर जन्मिने बित्तिकै उनीहरूको जीवनको प्रारम्भिक बिन्दु फरक हुन थाल्छ ।
एउटा शिशुले जन्मिने बित्तिकै उत्तम स्वास्थ्य उपचार, पौष्टिक आहार, राम्रो हेरविचार पाएर हुर्कन्छ । राम्रो शिक्षा, कम्प्युटर, इन्टरनेट, अंग्रेजी भाषा र शैक्षिक वातावरणको पहुँच पाउँछ । दोस्रो बालकले विद्यालयसम्म पुग्नै संघर्ष गर्नुपर्न हुन सक्छ ।
स्वभावले दुवै मेहनती हुन सक्छन् । दुवै प्रतिभाशाली हुन सक्छन् । तर के उनीहरूले एउटै स्थानबाट जीवनको शुरूवात गर्ने अवसर पाए त ?
यदि होइन भने, हामी उनीहरूको सफलतालाई केवल व्यक्तिगत उपलब्धि भनेर कसरी बुझ्न सक्छौँ ?
यदि कसैको बाटोमा तगाराहरू छन् भने कसैको बाटोमा अवसरका पुलहरू छन् ।
संरचना, लाभांश र न्याय: रुकुम हत्याकाण्ड
कोरोना लकडाउन दौरान २०७७ जेठमा रुकुमको सोती गाउँकी सुष्मा मल्लसित अन्तर्जातीय प्रेम गरेको 'अपराध'मा हत्या गरिएका जाजरकोटका गाउँका दलित युवा नवराज बिक र उनका अन्य पाँच साथीहरूको लाश भेरी नदीबाट झिकियो ।
रुकुम हत्याकाण्डलाई सूक्ष्म र बृहत् दुवै दृष्टिबाट बुझ्दा संरचनामा रहेका लाभांश र असंवेदनशीलता कसरी जीवन, कानुन र न्यायिक प्रक्रियामा विद्यमान छन्, त्यो देखिन्छ ।
यस घटनामा माथिल्लो तहका राजनितिक नेताहरूको विरोधाभासी कथन देखिन्छ । एकातिर अपराधीहरूलाई 'कडा कारबाही हुनुपर्छ' भनिरहे । अर्कोतिर हत्याकाण्डलाई एउटा सामान्य दुर्घटनाको आवरण ओढाउने प्रयास गरिरहे ।
यो केवल नेताहरुको ब्यक्तिगत असंवेदनशीलता थिएन, पूरै राजनीतिक प्रवृतिको प्रतिबिम्ब थियो — जहाँ सत्ता पाउने बित्तिकै क्रान्तिकारी विचार संस्थागत विभेदमा रूपान्तरित हुन्छ ।रूकुम हत्याकान्ड एकल अपवाद होइन ।
गएको दशकमा अजित मिजार, लक्ष्मी परियार, राजेश नेपाली, झुमा विक, सेते दमाइ, शिवशंकर दास लगायतका डेढ दर्जनभन्दा बढी दलितहरू अन्तरजातीय प्रेम प्रसंगको कारणले मारिए । कयौंलाई चरम यातना दिइयो । कयौंले आत्महत्या गरे भनियो ।
नेपालमा राजा महेन्द्रको शासनकालमा २०१९ सालमा जारी गरेको ऐनले छुवाछूत र जात–आधारित भेदभावलाई कानुनी रूपमा अवैध बनाउने प्रयास गर्यो । यस पछि २०६८ सालमा संसद्ले पारित गरेको “जातीय भेदभाव तथा छुवाछुत (कसुर र सजाय) ऐन, २०६८” ले छुवाछूतलाई सार्वजनिक र निजी दुबै क्षेत्रमा दण्डनीय अपराध घोषणा गर्यो र सजायसहितको प्रावधान राख्यो ।
यस किसिमको ऐन बनेको आधा शताब्दी पछि पनि किन यस्ता घटनाहरू अझै घटिरहन्छन् ?
किन राज्यका शीर्षस्थ पदाधिकारीहरूनै अमानवीय घटनाको ढाकछोप गर्न खोज्छन् ? किन प्रहरीले प्रमाण संकलन गर्न ढिलाइ गरेर दोषीलाई उम्कने ढोका खोलिदिन्छ ? किन न्याय पीडितहरूलाई उपेक्षा गर्दै पीडकहरूकै पक्षमा उभिन्छ ?
संरचनात्मक लाभांश र असंवेदनशीलताका सूक्ष्म र स्थूल पक्षहरूलाई जोडेर विश्लेषण गर्दा यी प्रश्नहरूको उत्तर सहजै भेटिन्छ ।
कानुन आफैमा अर्मुत हुन्छ । त्यसलाई राजनेता, न्यायाधीश, प्रहरी, स्थानीय अगुवा आदिका बयान तथा कृत्यले मुर्त रूप दिन्छन् । न्यायको माग गर्दै प्रहरी वा अदालत पुगेका पीडितहरूले “कानुन” लेखिएको टोपी पहिरेको अमुर्त अस्तित्वलाई भेटदैनन् । उनीहरूले भेटने भनेको कानुनको कार्यान्वयन गर्न नियुक्त भएका व्यक्तिहरूसितै हो ।
अनि ती व्यक्तिहरू बढी जसो पहाडी समुदायका गैरदलित पुरूषहरू नै छन् ।
अपवाद बाहेक प्रायः सबैले जातप्रथा र पुरूषवादी भाष्यलाई आन्तरिकरण गरेका छन् ।
अपवादका रुपमा कुनै दलित समुदायकै पुरुष आफ्नै अथक मेहनतले कानुन क्षेत्रमा अघि बढेर वकिल वा न्यायधीश बनेको छ भने उसले समेत जातप्रथा तथा पुरूषवादी भाष्यलाई केही न केही रुपले आन्तरिकरण गरेको हुन सक्छ जसरी केही महिला कानुनकर्मीले पुरुषवादी भाष्यलाई आन्तरिकरण गरेका हुन्छन् !
यी सबै किसिमका आन्तरिकरणहरू र तीमार्फत् कानुनकर्मीहरूका व्यक्तिगत मनमस्तिष्कमा वा सूक्ष्म रुपमा झ्याँगिएका असंवेदनशीलताले सम्पूर्ण न्याय प्रयाणीको संरचनात्मक स्वरूप वा स्थूल रुपलाई नै जातवादी र पितृसत्तात्मक बनाएका छन् ।
सूक्ष्म र स्थूल रुपको यसै दोसाँधमा जातप्रथा “अदृश्य” बन्छ र हत्याकाण्डहरू सामान्य दुर्घटनामा परिवर्तित गराइन्छन् ।
सांस्कृतिक पुँजी, ब्रोवाद र पितृसत्ता
संरचनात्मक लाभांशहरू धेरै प्रकारका हुन्छन् । कुनै विशेष वर्गमा जन्मिँदा उपलब्ध हुने संरचनात्मक लाभांशले मानिसको शिक्षा तथा त्यससित जोडिएर आउने 'सांस्कृतिक पुँजी'लाई समेत प्रभाव पार्छ ।
पियर बुरदियु र जाँ–क्लोद पासेरोंले साँस्कृतिक पुँजीलाई व्यक्तिको बैंक खाताको व्यालेन्स वा घरजग्गा लगायतका वस्तुमाथिको स्वामित्व जस्ता आर्थिक परिसूचकहरूसित मात्र नभएर उसको शिक्षा, बोल्ने तरिका र हाउभाउ, र लुगालत्ता लगायतका अन्य सामाजिक र साँस्कृतिक संकेतकसित समेत जोडेर ब्याख्या गरेका छन् ।
प्रविधिको तीव्र विकास र डिजिटल प्रवृत्तिको विस्तारसँगै साँस्कृतिक पुँजीको स्वरूप र यसको प्रभाव क्षेत्रलाई पुनः व्याख्या गर्न आवश्यक छ । पछिल्ला वर्षहरूमा प्रकाशित नयाँ अनुसन्धानहरूले यस अवधारणालाई ‘डिजिटल पुँजी’ सँग जोड्दै, विद्यालय शिक्षा र सामाजिक अवसरको परिपेक्षमा यसको अर्थलाई पुनःनिर्माण गर्ने प्रयास गरेका छन् ।
पारम्परिक साँस्कृतिक पुँजी (घरमा पुस्तक, अभिभावकको शिक्षा, कलात्मक रुचि) र डिजिटल पुँजी (डिजिटल उपकरण, इन्टरनेट पहुँच, प्रविधि साक्षरता) बीच प्रत्यक्ष सम्बन्ध नभएता पनि विद्यालयको ‘साँस्कृतिक क्षेत्र’ भित्र विद्यार्थीको व्यवहार, शिक्षकको दृष्टिकोण र संस्थागत संस्कृतिले यी दुबैलाई समन्वय गर्छ ।
सरसरती हेर्दा डिजिटल पुँजी सबैलाई उपलब्ध हुन सक्ने देखिएका पनि जात, वर्ग, लिङ्ग, भूगोल र भाषाका दृष्टिले प्रशस्त लाभांश प्राप्त भएका विद्यार्थीहरूको डिजिटल पुँजी, त्यस किसिमका लाभांश नपाएका वा कम पाएका विद्यार्थीको तुलनामा, बढी हुन्छ । यसै कारणले गर्दा तिनको समग्र साँस्कृतिक पुँजी समेत बढी हुन्छ ।
अंग्रेजी माध्यममा नपढेका र उक्त भाषासित जोडिएको 'सांस्कृतिक पुँजी' (जसमा माथि चर्चा गरिएझैँ 'डिजिटल पुँजी' समेत समाहित हुने गर्छ) कमाउन नसकेका विद्यार्थीहरूलाई भने अन्तर्वार्ताहरूमा सफल हुन ठूलै परिश्रम गर्नुपर्छ।
बहुराष्ट्रिय कम्पनी, अन्तर्राष्ट्रिय गैरसरकारी संस्था र अन्य गैरसरकारी संस्था लगायतका विविध आर्थिक तथा सामाजिक संजालहरूद्वारा निर्मित नवउदारवादी पुँजीवादको विश्वव्यापी 'मेसिन'मा छिर्दा पनि तिनले अपवादबाहेक माथिल्ला अथवा नेतृत्व गर्ने महत्त्वपूर्ण ठाउँहरू ओगट्ने सम्भावना कम हुन्छ ।
आज नेपालमा विद्यालयहरू केवल शैक्षिक संस्था मात्र छैनन् । तिनीहरू सामाजिक संसारहरू पनि हुन् ।
उनीहरूले फरक प्रकारका सांस्कृतिक पूँजी उत्पादन गर्छन् । फरक प्रकारको आत्मविश्वास उत्पादन गर्छन् । फरक प्रकारको सामाजिक सञ्जाल उत्पादन गर्छन् ।
र अन्ततः फरक प्रकारका जीवन- अवसरहरू उत्पादन गर्छन् ।
नवदारवादी पुँजीवादको आर्थिक/ सांस्कृतिक बैचारीको केन्द्रमा आत्मनिर्मित व्यक्तिको मिथक अवस्थित छ ।
उक्त मिथकले भन्छ, “यदि तिमी सफल भयौ भने त्यो तिम्रो मेहनतका कारण हो ।”
यो कथामा केही सत्य छ । मेहनत महत्त्वपूर्ण छ । अनुशासन महत्त्वपूर्ण छ । प्रतिभा महत्त्वपूर्ण छ । तर समस्या के हो भने यो कथाले आधा सत्यलाई पूर्ण सत्य बनाइदिन्छ ।
यसले संरचनाको प्रश्नलाई अदृश्य बनाउँछ । यसले अवसरको असमान वितरणलाई सामान्य बनाउँछ । यसले इतिहासलाई व्यक्तिको जीवनीमा विसर्जित गर्छ । फलस्वरूप, सफल व्यक्ति आफ्नो सफलतालाई पूर्णतः व्यक्तिगत उपलब्धि ठान्न थाल्छ । र असफल व्यक्ति आफ्नो असफलतालाई पूर्णतः व्यक्तिगत कमजोरी ठान्न थाल्छ ।
यहीँबाट सामाजिक न्यायको गम्भीर समस्या सुरु हुन्छ ।
यसैसँग जोडिएको अर्को समस्या छ — ब्रोवादको सर्कल ।
नेपाली साहित्यिक वृत्तमा पुरुष लेखक, पत्रकार, समालोचकहरूले ब्रोहरु मात्र जम्मा भएका, खासगरी साँझका 'रमाइलो' भेटघाटहरूमा भनेको सुनेको छु — “नेपालमा महिला लेखक नै भएनन्, जो छन् तिनको स्तर निम्न छ ।” तीमध्ये केहीलाई त हाल लेखिरहेका महिला लेखक र तिनका रचनाबारे केही पनि थाहा हुँदैन।
प्रश्न उठ्छ: अधिकांश पुरुष लेखक समालोचकले महिलाका कृति किन पढ्दैनन् ? किन उनीहरूलाई महिला लेखक र तिनका रचनाबारे पर्याप्त जानकारी छैन ? किन थुप्रै महिला लेखक तिनका दृष्टिको परिधिबाहिर पर्छन् ? के यो पनि संरचनात्मक असंवेदनशीलताको उदाहरण होइन ?
ब्रोवादी भेटघाटहरु पुरुष लेखक, पत्रकार, समालोचक, पाठक र अन्य वौद्धिकका लागि एकअर्कासँग मित्रताका सम्बध दरिलो बनाउने, एकअर्काका रचना छलफल गर्ने अवसर पनि हुन् । यसको परिणाम, लेखक, पत्रकार, समालोचक, साहित्यिक कार्यक्रममा संचालक आदिले एकअर्कालाई राम्ररी चिन्छन् । मित्रताका नाताले एक अर्काका लेख, उपन्यास, नाटक आदि प्रवर्धन गर्छन् ।
यस बाहेक लेखक समालोचक आदिको “रमाइलो साहित्यिक भेटघाट” प्रायः साँझ हुने गर्छ । अपवाद बाहेक जति नै प्रतिष्ठित भइसके पनि महिला लेखकहरूलाई घरायसी दायित्वको बाध्यता अझै रहेकाले तिनलाई यस्ता रमाइला सर्कलमा नियमित उपस्थिति जनाउन गार्है हुन्छ । त्यसैले गर्दा “साहित्यिक मेरिट”को दौडमा तिनीहरू बिस्तारै आफै पछाडि छुट्दै जान्छन् ।
यो कुनै सुनियोजित षडयन्त्र होइन । पुरुष समालोचक, पत्रकार, लेखक आदिले “महिला लेखकलाई पछि पारौँ, हामी दाजुभाइ मात्र अघि बढौं” भन्ने सोचेर कुनै योजना बनाएको हुँदैन ।
तर पुरुषप्रधान समाजको संरचना नै यस्तो छ कि त्यो आफै हुँदै जान्छ । यहि हो लैङ्गिक लाभांशको चुरो !
यसैले गर्दा कतिपय समालोचक, पत्रकार र आमपाठकका नजरमा महिलाका कृति अदृश्य हुन्छन् र “म त महिलाका कृति नै पढ्दिन किनभने तिनका रचना गुणस्तरीय हुँदैनन्” र “पारिजात पछि कुनै स्तरीय महिला लेखक जन्मेकै छैन” जस्ता भाष्य साहित्यिक वृतका जेन्डर्ड भाष्य बन्न पुग्छन् ।
सबै पुरुष लेखकहरू पुरातनवादी, महिला द्वेषी पक्कै हुँदैनन् । खास गरेर मैले भेटका अधिकांश समालोचक, पत्रकारहरू महिला अधिकारको बारेमा सचेत भेटेको छु । यति हुँदाहुँदै पनि समाजको पुरुष प्रधान संरचना, उक्त संरचना भित्र झ्याँगिएको महिला र पुरुषका अलग भूमिका र अपेक्षा बारेका सामाजिक मान्यताले गर्दा थाहै नपाई उनीहरु ब्रोवादी परिधिमा सिमित भएरहेका हुन्छन् ।
उनीहरु त्यस परिधिभित्र बसेर राजनीतिक छलफल गर्दा कहिलेकाहीँ महिला अधिकारबारे समेत विचार विमर्श गर्छन् । तर उक्त वृतमा “म कसरी परेँ, कुनै महिला लेखक, समालोचक, पत्रकार किन सामेल हुन सकेन” भनेर आत्मालोचनात्मक प्रश्न सोध्दैनन् ।
जबसम्म हामी पुरुषहरुले आफैलाई यस्ता कठिन प्रश्न सोध्ने हिम्मत गर्न सक्दैनौँ, तबसम्म हामी जतिसुकै उदारवादी भएता पनि आ-आफ्ना “कम्फर्ट जोन”बाट बाहिर निस्कन सक्दैनौँ ।
हामीभित्र जेन्डरसित गाँसिएका संरचनात्मक असंवेदनशीलताहरू मौलाई नै रहन्छन ।
मैले धेरै सफल व्यक्तिहरूलाई एउटा कुरा भनेको सुनेको छु। "मैले त जीवनमा धेरै संघर्ष गरेको छु।" प्रायः यो कुरा सत्य पनि हुन्छ ।
तर त्यसपछि म कहिलेकाहीँ अर्को प्रश्न सोध्न चाहन्छु । तपाईंले कुन-कुन संघर्ष गर्नुपरेन ? किनकि सामाजिक न्यायको प्रश्न केवल हामीले भोगेका संघर्षहरूको कथा होइन । हामीले भोग्न नपरेका संघर्षहरूको न्यारेटिभ पनि हो ।
मानिसका लागि आफ्नो पीडा सम्झन सजिलो हुन्छ । तर आफ्नो विशेषाधिकार सम्झन गाह्रो हुन्छ ।
आफ्ना संघर्षहरूको अनुभव थाहा हुन्छ । तर आफ्ना सहजताहरूको सचेतना नहुन सक्छ ।
किनभने हामी सबैले आफुले भोगेका कठिनाइहरू देखेका हुन्छौँ । तर हामीले भोग्न नपरेका कठिनाइहरू देखेका हुँदैनौँ । यही कारणले आत्मालोचना गर्न कठिन हुन्छ।
आत्मालोचनात्मक चेत र नागरिक आन्दोलन
जब हामी — खासगरी विभिन्न किसिमका संरचनात्मक लाभांश पाएकाहरू — आफैँसित यस किसिमका असहज, आत्मालोचनात्मक प्रश्नहरू गर्न डराउँछौँ, तब हाम्रा संरचनात्मक असंवेदनशीलताहरू झाँगिँदै जान्छन् ।
नागरिक आन्दोलनको सन्दर्भमा पनि यो प्रश्न अत्यन्त सान्दर्भिक छ ।
तत्कालीन प्रधानमन्त्री केपी ओलीले ५ पुस २०७७ मा गैरसंवैधानिक ढंगले संसद विघटन गरे लगत्तै काठमाडौंमा संगठित भएको बृहत् नागरिक आन्दोलनको सञ्जालमा म पनि जोडिन पुगेँ । सुरुवातमा आन्दोलनको नेतृत्व युग पाठक र नारायण वाग्लेले गरेका थिए । पछि युग आफ्नो व्यक्तिगत काममा व्यस्त भए र केही समय पश्चात नारायण पनि आफ्नो तनहुँ कृषि फार्मको काममा लागे पछि म अगाडि सरेँ ।
काठमाडौंमा बृहत नागरिक आन्दोलनले बेलाबेला गर्ने शान्तिपूर्ण आन्दोलन, शान्तिपूर्ण विरोध र्यालीहरू, धर्ना र विरोध भाषणहरू हुँदा बेलाबेला मेरो मनमा विचार आउँथ्यो — आन्दोलन हाँक्न म, नारायण वाग्ले, भास्कर गौतम, युग पाठक तथा अनुप सुवेदी जस्ता कथित “उच्च जात”का पुरुषहरू मात्र किन अगाडि भयौँ ?
किन महिला, दलित, जनजाति वा मुस्लिम समुदायका साथीहरुले सक्रिय नेतृत्व लिन सक्ने स्थिति भएन ?
यिनै प्रश्नहरुमार्फत २०६२ र २०६३ को वरिपरी संगठित भएका नागरिक आन्दोलनहरू र विभिन्न नागरिक समाजहरूको नेतृत्व पंक्तिलाई नियाल्दा पनि त्यस्तै परिदृश्य देखापर्यो । त्यसबेला पनि देवेन्द्र राज पाण्डे, कृष्ण पहाडी, कृष्ण खनाल, खगेन्द्र संग्रौला, श्याम श्रेष्ठ, महेश मास्के, कनक दीक्षित आदि काठमाण्डौँमै वसोबास गर्दै आएका हुनेखाने वर्गका बाहुन, क्षेत्री र नेवा समुदायकाहरूले नै आन्दोलनको नेतृत्व गरेका थिए ।
के विशेष वर्ग र जातका पुरुषहरूले आन्दोलनमा सक्रिय नेतृत्व लिन सक्नुको एउटा मुख्य कारण तिनले पाएका संरचनात्मक लाभांशहरु पनि थिएनन र ?
यस पाटोलाई बुझ्न र समाधानको लागी सचेत रहेका आन्दोलनकारीहरुले आफ्ना विभिन्न किसिमका लाभांशहरुप्रति निरन्तर सजग रहनु पर्छ जस्तो मलाई लाग्छ ।
यदि हामी लोकतन्त्रको पक्षमा आन्दोलन गर्छौ भनें नागरिक आन्दोलनका मिटिंङ र निर्णय प्रक्रियामा आन्तरिक लोकतन्त्रको अभ्यासलाई पनि अगाँल्न जरूरी हुन्छ । यदि हामी सामाजिक न्यायको पक्षमा लेख्छौँ, बोल्छौ भने हामी आफैले के कस्ता लाभांश उपभोग गर्दै छौँ र ती लाभांशले हामीलाई लेख्ने, बोल्ने स्थानमा पुर्याउन कसरी मदत गरे त्यसबारे सजग भई आफ्नो व्यवहारमा परिवर्तन ल्याउन जरुरी छ ।
अर्को शब्दमा, आन्दोलनलाई सडकमा मात्र नभएर आफ्नै मनमस्तिष्क र व्यवहारमा लगातार चलाउन आवश्यक छ । आत्मालोचनात्मक चेतको प्रयोगमार्फत आफैलाई झकझकाइरहन जरुरी छ ।
आन्दोलनकारीहरुले आफैलाई सोधिरहनु पर्यो, आन्दोलनमार्फत् लोकतन्त्र र सामाजिक न्यायका एकअर्कासित अविछिन्न रुपमा जोडिएका आदर्श र अभ्यासहरुका लागि भिडिरहने कुरा त छँदैछ, तर उक्त आन्दोलनले हामी आफैमा कत्तिको आन्तरिक रुपान्तरण ल्याएको छ ?
हाम्रा आफ्नै संरचनात्मक असंवदेनशीलताहरूलाई भत्काउन कत्तिको मद्दत गरेको छ ?
नेपालका सबै ठूला दलका वरिष्ठ नेताहरू कुनै न बेला कुनै न कुनै आन्दोलनसित जोडिएका थिए । तीमध्य केहीले सशस्त्र विद्रोहको अगुवाइ गर्दै क्रान्तिको सपना समेत बाढेका थिए । उनीहरू पछि गएर सरकारमा पुगे, सांसद, मन्त्री, प्रधानमन्त्री समेत बने ।
तर देशमा नयाँ संविधान बनेपछि पनि महिला, दलित, मधेसी, जनजाति लगायतको स्थितिमा उनीहरूलाई देखाइएको सपना जस्तो परिवर्तन आउन सकेन । भुइँतहका धेरैलाई न्याय पाउन गारो भइरह्यो । भ्रष्टाचारको जालो देश भरी फैलँदै गयो । महिलाहरूको राज्यका सबै अङ्गमा ३३ प्रतिशत प्रतिनिधित्व गराउने कुरो संविधानमा सुनिश्चित गरिएपनि निर्णयकर्ताको आसनमा कथित “उच्च जात”का पुरुषहरू नै रहिरहे ।
यी सबका विभिन्न कारणहरूमध्ये एउटा कारण जात, वर्ग, भूगोल, लिङ्ग सित गाँसिएका प्रशस्त संरचनात्मक लाभांश प्राप्त “उच्च”हरूले त्यस किसिमका लाभांश नपाएकाहरूबारे आत्मालोचनात्मक चेतको विकास नगर्नु वा गर्न नचाहनु पनि थियो । वा बुझेर पनि बुझपचाउनु थियो ।
यो सबैले सङ्केत गर्छ, बाह्य संसारमा क्रान्ती, विद्रोह वा आन्दोलनको नेतृत्व गर्ने नेताहरूको मनभित्र आन्दोलनको आँधी चल्न सकेन ।
तिनले आन्दोलनलाई बाह्य संसार र जगतको रूपान्तरणको उपकरण मात्र सम्झिए । अन्तर्मनको संसारमा पितृसत्ता र सामन्तवादको वैचारिकीले जरा गाडेकाले लोकतन्त्र र सामाजिक न्यायको समेत सही अभ्यास हुन सकेन ।
बहुदलीय व्यवस्था, आवधिक चुनाव, “स्वतन्त्र न्यायपालिका,” संसद् र आयोगहरू सहितको लोकतान्त्रिक अभ्यास, संरचना र संस्थाहरूको उपस्थितिले गर्दा लोकतन्त्रको आवरण त रहिरह्यो तर डा. देवेन्द्रराज पाण्डेले भने झैँ लोकतन्त्रको “प्राण-प्रतिष्ठा” विलुप्त भयो ।
लोकतन्त्रमा प्राण कसरी भर्ने ? यो संवैधानिक वा प्रशासनिक नभएर नैतिक प्रश्न हो ।
कुनै बेला नैतिकता धार्मिक विश्वदृष्टिसँग जोडिएको थियो । हालको समय धार्मिक विश्वदृष्टिको उपादेयता कमजोर हुँदै गएको तर लौकिक नैतिकता (सेक्युलर इथिक्स) विकसित हुन नसकेको डिजिटल-नव-उदारवाद तथा एलोगरिदमिक उपभोक्ता संस्कृतिको समय हो ।
हालको समयमा गणतन्त्र, सामाजिक न्याय, समावेशिता जस्ता शब्दको पुनरावृति वा सार्वजनिक भाषणले मात्र लौकिक नैतिकताको विकास गर्न सक्दैन । न यस किसिमका शब्दले खोक्रो र सतही बनेको लोकतन्त्रमा प्राण नै भर्ने सक्छन् ।
दशकौँदेखि खोक्रा चुनावी वाचा र लोकप्रियतावादी भाषणहरूमा यस किसिमका शब्दहरूको प्रशस्त प्रयोग हुँदै आएकाले यी शब्दहरू आफै निस्तेज बन्दै गएका छन् । यस परिपेक्षमा आफ्नै संरचनात्मक धरातललाई बारम्बार प्रश्न गर्ने आत्मालोचनात्मक संस्कृतिको अभ्यास लौकिक नैतिकताको विकास गर्ने प्रयत्न समेत बन्न सक्छ ।
संरचनात्मक लाभांशको अवधारणाले सफलता अस्वीकार गर्दैन । यसले सफलतालाई सन्दर्भ दिन्छ ।
यसैले मलाई लाग्छ, यस अवधारणाको एउटा नैतिक पक्ष पनि छ । यदि हामीले बुझ्यौँ कि हाम्रो सफलतामा संरचनाको पनि योगदान छ भने हाम्रो सफलता अलि विनम्र बन्छ । हामी अरूप्रति अलि संवेदनशील बन्छौँ । हामी अवसरको असमान वितरणलाई अलि गम्भीर रूपमा लिन थाल्छौँ । हामी आफ्ना उपलब्धिहरूलाई पूर्णतः व्यक्तिगत उपलब्धिको रूपमा हेर्न छोड्छौँ ।
मलाई लाग्छ लोकतन्त्रको भविष्य अन्ततः आत्मालोचनात्मक नागरिकमा निर्भर छ ।
त्यस्तो नागरिक जसले आफ्नो अनुभवलाई सम्पूर्ण सत्य ठान्दैन । जसले आफ्नो लाभांशलाई पहिचान गर्न सक्छ र आफ्ना सीमाहरू स्वीकार गर्न सक्छ ।
लोकतन्त्रका लागि यस्ता नागरिक नेता र संसदभन्दा कम महत्त्वपूर्ण छैनन् । संस्थाहरूले लोकतन्त्रलाई संरचना दिन्छन् । तर नागरिक चेतनाले लोकतन्त्रलाई आत्मा दिन्छ ।
सामाजिक न्यायतर्फको बाटो
हाम्रो समाजमा संरचनात्मक हिंसाको अन्त्य गर्नु छ भने हामीले संरचनात्मक लाभांशको विषयलाई पनि त्यत्तिकै गम्भीरतापूर्वक लिनु पर्छ । यसका लागि केवल नीतिगत परिवर्तन मात्र काफी हुँदैन — सामाजिक न्यायको संघर्ष बाहिर मात्र होइन, आफ्नै अन्तःस्करणमा पनि निरन्तर चलाउनु पर्छ ।
अनि सबै भन्दा महत्वपूर्ण कुरो — आत्मालोचनात्मक चेतको प्रयोग गर्दै, विश्लेषणको लेन्स बाह्य जगततिर मात्र केन्द्रित नगरी आफैतिर घुमाउँदै आफैलाइ लगातार अपठ्यारा प्रश्नहरु सोधी रहनु पर्छ ।
मलाई थाहा छ, यी प्रश्नहरू सजिला हुँदैनन् किनकि तिनले हाम्रो सहजतालाई खल्बलाउँछन् । सायद त्यसैले समाजमा देखिएको असमानताको आलोचना गर्न सजिलो हुन्छ तर असमानताको चाँगभित्र आफ्नो स्थान पहिचान गर्न बढी गाह्रो । तर सायद प्रश्न यहीँबाट सुरु हुन्छ ।
डा. देवेन्द्रराज पाण्डेको नाममा समर्पित यस व्याख्यानमालाको उद्देश्य नै हो — ती असहज प्रश्नहरूलाई जीवित राख्नु । आउने वर्षहरुमा यस प्रवचन शृङ्खलाले निरन्तरता पाउने छ । हरेक वर्ष विषयहरु फरक होलान् — तर हरेक व्याख्यानले यो एउटा प्रश्नलाई बोकेर हिँड्नु पर्छ: समाजमा को माथि छ, किन ? र त्यसका बारेमा हामी के गर्छौँ ?
डा. पाण्डेले लोकतन्त्रको लागि गरेको जीवनभरको संघर्षप्रति गहिरो श्रद्धा अर्पण गर्दै म देवेन्द्रराज पाण्डे प्रवचन शृंखलाको शुरूवात गर्ने नर्थ साउथ कलेक्टिभि टिमलाई हार्दिक धन्यवाद दिन्छु । यहाँ उपस्थित सबै प्रति आभारी छु । साथै संरचनात्मक लाभांश प्रकाशित गर्ने अक्षर क्रिएशन्स टिमलाई पनि धन्यवाद दिँदै म आफ्नो कुरा यहीँ सकाउँछु ।
धन्यवाद ।
(स्टाफ कलेज जावलाखेलमा आइतबार सम्पन्न देवेन्द्रराज पाण्डे प्रवचन शृङ्खलामा उप्रेतीले दिएको मन्त्वव्य ।)
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण