नेदरल्यान्ड्स र मोरक्कोबिच प्रतिस्पर्धा सुरु
सारांश
- फिफा विश्वकप २०२६ को 'राउन्ड अफ ३२' अन्तर्गत नेदरल्यान्ड्स र मोरक्कोबिचको प्रतिस्पर्धा मेक्सिकोको मोन्टेरेमा सुरु भएको छ ।
- समूह 'एफ' को शीर्ष स्थानमा रहँदै नकआउट चरणमा प्रवेश गरेको नेदरल्यान्ड्सले समूह चरणमा १० गोल गरेको छ ।
- समूह 'सी' को उपविजेता बन्दै नकआउट चरणमा पुगेको मोरक्कोले समूह चरणमा ६ गोल गरेको छ ।
काठमाडौँ । फिफा विश्वकप २०२६ को ‘राउन्ड अफ ३२’ अन्तर्गतको नेदरल्यान्ड्स र मोरक्कोबिचको प्रतिस्पर्धा सुरु भएको छ । मेक्सिकोको मोन्टेरेमा भइरहेको खेलमा अन्तिम १६ मा प्रवेश गर्ने लक्षका साथ दुवै टिम मैदानमा उत्रिएका छन् ।
मोरक्कोले सन् २०२२ को कतार विश्वकपको क्वाटरफाइनलमा क्रिष्टियानो रोनाल्डोको पोर्चुगललाई स्तब्ध पार्दै सेमिफाइनलसम्म पुगेर इतिहास रचेको थियो । फिफा वरीयताको छैटौँ स्थानमा रहेको मोरक्को र सातौँ स्थानमा रहेको नेदरल्यान्ड्स दुवै यस विश्वकपमा आक्रामक फुटबल खेल्दै अघिल्लो यात्रा तय गर्न केन्द्रित छन् ।
नेदरल्यान्ड्स समूह ‘एफ’ को शीर्ष स्थानमा रहँदै नकआउट चरणमा प्रवेश गरेको हो । समूह चरणको पहिलो खेलमा जापानसँग २–२ को बराबरी खेलेको नेदरल्यान्ड्सले दोस्रो खेलमा स्विडेनलाई ५–१ को फराकिलो अन्तरले पराजित गरेको थियो भने अन्तिम खेलमा ट्युनिसियामाथि ३–१ को जित दर्ता गरेको थियो ।
डच टोलीले समूह चरणमा गरेका कुल १० गोलमध्ये ब्रायन ब्रोबेले सर्वाधिक तीन तथा क्रिसेंसियो समरभिल र कोडी गाक्पोले दोस्रो स्थानमा रहँदै दुई–दुई गोल गरेका छन् । यस्तै भर्जिल भान डाइक र जान पल भान हेकेले एक–एक गोल गरेका छन् । डच टोली अफ्रिकी टोलीहरू विरुद्ध विश्वकपका कुल ६ खेलमा अपराजित रहेको इतिहास छ, तर नकआउट चरणमा भने यो नेदरल्यान्ड्सको पहिलो अफ्रिकी प्रतिद्वन्द्वी हो ।
अर्कोतर्फ, अफ्रिकी महारथी मोरक्को ‘समूह सी’ को उपविजेता बन्दै नकआउट चरणमा पुगेको हो । मोरक्कोले पहिलो खेलमा बलियो ब्राजिललाई १–१ को बराबरीमा रोकेको थियो भने दोस्रो खेलमा स्कटल्याण्डलाई १–० र अन्तिम खेलमा हाइटीलाई ४–२ ले पराजित गर्दै अपराजित यात्रा कायम राखेको थियो । मोरक्कोका लागि सर्वाधिक लयमा रहेका इस्माइल साइबारीले समूह चरणमा कुल ६ गोलमध्ये एक्लैले ३ गोल गरेका छन् । नेदरल्यान्ड्सको लिग खेल्ने साइबारीले यस खेलमा गोल गरेमा उनले क्यामरुनका रोजर मिलाको ४ गोलको कीर्तिमान बराबरी गर्दै विश्वकप इतिहासमै संयुक्त रूपमा सर्वाधिक गोल गर्ने अफ्रिकी खेलाडीको कीर्तिमान बनाउनेछन् । मोरक्कोको टोलीमा तीन डच मुलका खेलाडी रहेकाले पनि यो खेल थप चासोको विषय बनेको छ ।
यस खेलको विजेता टोलीले अन्तिम १६ मा घरेलु टोली क्यानडाको सामना गर्नेछ, जसले यसअघि नै दक्षिण अफ्रिकालाई १–० ले पराजित गर्दै अघिल्लो चरणमा स्थान पक्का गरिसकेको छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘रात्रिकालीन जीप सफारी’ ले सामुदायिक वनका उपभोक्तामा उत्साह
-
गुणस्तर परीक्षणमा एआईले अपेक्षित नतिजा दिन नसकेपछि फोर्डले पुनः नियुक्त गर्यो अनुभवी इन्जिनियर
-
युएनडीपीले भन्याे– पश्चिम एसिया द्वन्द्व समाधानको प्रयास विकासशील देशहरूलाई बोझिलो
-
चिकित्सा शिक्षाको परीक्षा प्रणाली सुधारको माग गर्दै माइतीघरमा विद्यार्थी प्रदर्शन (तस्बिरहरु)
-
लामो समय अलपत्र मर्स्याङ्दी करिडोर प्रसारण लाइन निर्माण सम्पन्न
-
जुम्ला पूर्णखोप सुनिश्चितता तथा दिगोपना घोषणा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण