गुणस्तर परीक्षणमा एआईले अपेक्षित नतिजा दिन नसकेपछि फोर्डले पुनः नियुक्त गर्यो अनुभवी इन्जिनियर
सारांश
- फोर्डले गुणस्तर परीक्षणमा कृत्रिम बौद्धिकता (एआई) प्रणालीले अपेक्षित नतिजा दिन नसकेपछि केही अनुभवी मानव इन्जिनियरलाई पुनः नियुक्त गरेको छ ।
- खर्च घटाउने र उत्पादकत्व बढाउने उद्देश्यले सुरुमा एआई प्रयोग गरिए पनि यसले अनुभवी प्राविधिकहरूको सीप र अनुभवको बराबरी गर्न सकेन ।
- फोर्डले ३०० भन्दा बढी अनुभवी गुणस्तर निरीक्षकलाई पुनः नियुक्त गरी एआई प्रणालीलाई प्रशिक्षण दिन र युवा कर्मचारीलाई मार्गदर्शन गर्न परिचालन गरेको छ ।
क्यालिफोर्निया । अमेरिकी अटो मोबाइल निर्माता कम्पनी फोर्डले कृत्रिम बौद्धिकता (एआई) प्रणालीले अपेक्षित स्तरको गुणस्तर परीक्षण गर्न नसकेपछि केही अनुभवी मानव इन्जिनियरलाई पुनः नियुक्त गरेको जनाएको छ ।
खर्च घटाउने र उत्पादकत्व बढाउने भन्दै कम्पनीले आफ्नो उत्पादन प्रणालीका विभिन्न क्षेत्रमा एआई प्रयोग गर्न थालेको थियो । कम्पनीले विशेष गरी गुणस्तर परीक्षणका लागि एआई प्रविधिको प्रयोग गरेको थियो । तर, कम्पनीका अधिकारीहरूका अनुसार स्वचालित प्रणालीले अनुभवी प्राविधिकहरूको सीप र अनुभवको बराबरी गर्न सकेन ।
ब्लुमबर्गका अनुसार, फोर्डले पछिल्ला केही वर्षमा ३०० भन्दा बढी अनुभवी गुणस्तर निरीक्षकलाई पुनः नियुक्त गरेको छ, ताकि स्वचालित प्रणालीका कमजोरीहरूलाई सुधार गर्न सकियोस् । फोर्डका भेहिकल हार्डवेयर इन्जिनियरिङ उपाध्यक्ष चार्ल्स पुनले भने, ‘कृत्रिम बौद्धिकता उत्कृष्ट उपकरण हो, तर यसलाई प्रशिक्षण दिन प्रयोग गरिने जानकारीको गुणस्तरमा यसको प्रभाव निर्भर हुन्छ ।'
उनले थपे, ‘अघिल्ला वर्षहरूमा हामीले धेरै उत्पादन चक्र पार गरेका अनुभवी इन्जिनियरहरूको ज्ञान र अनुभवलाई पर्याप्त महत्त्व दिन सकेनौँ,’ । फोर्डका प्रमुख कार्यकारी अधिकृत जिम फार्लीले गत वर्ष एआईले धेरै श्वेतपोश (अफिसमा काम गर्ने) कर्मचारीहरूको रोजगारीमा असर पार्न सक्ने बताएका थिए । कम्पनीले आफ्नो औद्योगिक प्रणालीभर एआई प्रविधि प्रयोग गरिरहेको जनाएको थियो ।
यसअन्तर्गत, फोर्डले आफ्ना कारखानाहरूमा ९०० वटा एआईबाट चल्ने क्यामेरा जडान गरेको थियो, जसको उद्देश्य उत्पादन प्रक्रियामै गुणस्तरसम्बन्धी समस्या पहिचान गर्नु र आपूर्ति शृङ्खलामा आउने अवरोध कम गर्नु थियो । तर, कम्पनीका भेइकल हार्डवेयर इन्जिनियरका उपाध्यक्ष चार्ल्स पुनका अनुसार एआईमा आधारित गुणस्तर परीक्षण प्रणालीले कम्पनीको अपेक्षाअनुसार नतिजा दिन सकेन । उनले भने, ‘हामीले डिजाइनसम्बन्धी आवश्यक जानकारी एआईलाई उपलब्ध गराएपछि यसले स्वतः उच्च गुणस्तरको उत्पादन सुनिश्चित गर्छ भन्ने गलत अनुमान गरेका थियौँ ।’
उनका अनुसार, स्वचालित उपकरणहरूमा अनुभवी प्राविधिकहरूको सीप र अनुभवको कमी थियो । साथै, तीमध्ये धेरै प्राविधिक कम्पनी छोडिसकेकाले उनीहरूको ज्ञान एआई प्रणालीलाई प्रशिक्षण दिन प्रयोग गर्न सकिएको थिएन । हाल कम्पनीले पुनः नियुक्त गरिएका अनुभवी इन्जिनियरहरूलाई एआई प्रणालीलाई प्रशिक्षण दिन र युवा कर्मचारीलाई मार्गदर्शन गर्न परिचालन गरेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एक महिनासम्म किन केन्द्रमा पुगेन कांग्रेसको क्रियाशील सदस्यतासम्बन्धी विवरण ?
-
देशैभर किन झ्याप्प–झ्याप्प गइरहेको छ बिजुली ?
-
सिलिचोङमा पहिरो : विस्थापितको सङ्ख्या २८, विद्युत सेवा अवरूद्ध, ६ सय घर अन्धकारमा
-
विद्युत् प्रवाहमा अवरोध हटाउन जनशक्तिको व्यवस्था
-
लागुऔषधसहित पाँच जना पक्राउ
-
ओलीका अगाडि खेलाडीले देखाए खेलकला, तस्बिरहरू
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण