लामो समय अलपत्र मर्स्याङ्दी करिडोर प्रसारण लाइन निर्माण सम्पन्न
सारांश
- सात वर्षसम्म अलपत्र परेको मर्स्याङ्दी करिडोर अन्तर्गतको २२० केभी मार्कीचोक-भरतपुर प्रसारण लाइनको २८ किलोमिटर खण्ड निजी क्षेत्रको सक्रिय सहभागितामा डेढ वर्षभित्रै सम्पन्न भई सञ्चालनमा आएको छ ।
- प्रारम्भिक निर्माणको जिम्मा पाएको चिनियाँ कम्पनी पिङ्गाओ ग्रुपले सात वर्षमा केवल ३५ वटा फाउण्डेसन र १० वटा टावरको इरेक्सन मात्रै सम्पन्न गर्न सकेको थियो ।
- निजी क्षेत्रले जिम्मेवारी सम्हालेपछि निर्माण कार्यले तीव्र गति लिएको छ र हालसम्म सबै ८४ वटा टावरको फाउण्डेसन सम्पन्न भई ७८ वटा टावरको इरेक्सन सम्पन्न भइसकेको छ ।
काठमाडौँ । ऊर्जा क्षेत्रमा निजी क्षेत्रले पहिलो पटक प्रसारण पूर्वाधार निर्माण सम्पन्न गरेको छ । करिब सात वर्षसम्म अलपत्र परेको मर्स्याङ्दी करिडोर अन्तर्गतको २२० केभी मार्कीचोक–भरतपुर प्रसारण लाइनको २८ किलोमिटर खण्ड निजी क्षेत्रको सक्रिय सहभागितामा डेढ वर्षभित्रै सम्पन्न भई सञ्चालनमा आएको छ ।
सात वर्षसम्म अलपत्र परेको आयोजना निजी क्षेत्रले डेढ वर्षभित्रै सम्पन्न गरेसँगै अब जलविद्युत उत्पादन मात्र नभएर पूर्वाधार निर्माणमा पनि सफलता हासिल गरेको छ ।
सरकारले अनुमतिपत्र दिएमा प्रसारण लाइन निर्माण र विद्युत् व्यापारसमेत गर्न सक्ने स्पष्ट सन्देश दिएको छ । यो आयोजना लामो समयसम्म अलपत्र परेपछि निजी क्षेत्रका जलविद्युत प्रवर्द्धकहरूले आफैँ निर्माणको जिम्मेवारी लिएर काम सम्पन्न गरेका छन् । ऊर्जा पूर्वाधार विकासमा निजी क्षेत्रको नयाँ उपलब्धि र सार्वजनिक–निजी साझेदारीको सफल नमुनाका रूपमा हेरिएको छ ।
प्रसारण लाइनको प्रारम्भिक निर्माणको जिम्मा चिनियाँ कम्पनी पिङ्गाओ ग्रुपले २०७४ साल कार्तिकमा पाएको थियो । तर सात वर्षभन्दा बढी समय बितिसक्दा पनि कम्पनीले ८४ वटा टावरमध्ये केवल ३५ वटाको फाउण्डेसन र १० वटा टावरको इरेक्सन मात्रै सम्पन्न गर्न सकेको थियो ।
निर्माणको गति अत्यन्त सुस्त भएपछि नेपाल विद्युत् प्राधिकरणले २०८१ साल मंसिर ५ गते उक्त निर्माणको जिम्मेवारी निजी क्षेत्रलाई हस्तान्तरण गरेको थियो ।
२०८१ साल मंसिर ९ गते मर्स्याङ्दी करिडोरका सात जलविद्युत आयोजनाले संयुक्त रूपमा निर्माण अघि बढाउने निर्णय गरेको थियो । करिब ४ करोड ९६ लाख ९५ हजार रुपैयाँ लगानी गर्ने गरी भीभा कन्स्ट्रक्सन एण्ड इन्जिनियरिङ कन्सर्न र भूगोल इन्फ्रास्ट्रक्चर कम्पनीलाई निर्माणको जिम्मा दिएका थिए ।
प्रसारण लाइन निर्माणमा सहजीकरण र समन्वयका लागि स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था, नेपाल (इप्पान) का वरिष्ठ उपाध्यक्ष उत्तम ब्लोन लामाको नेतृत्वमा पिपुल्स हाइड्रोका आयोजना निर्देशक अर्जुन गौतम र आशुतोष इनर्जी लिमीटेडका अध्यक्ष मोहनविक्रम कार्की रहेको समिति निर्माण गरिएको थियो । समितिले प्रसारण लाइन आउने सबै समस्याहरूको समाधान गर्दै समयमै आयोजना निर्माण सम्पन्न गरेको छ ।
निजी क्षेत्रले जिम्मेवारी सम्हालेपछि निर्माण कार्यले तीव्र गति लिएको थियो हालसम्म सबै ८४ वटा टावरको फाउण्डेसन सम्पन्न भएको छ भने ७८ वटा टावरको इरेक्सन सम्पन्न भइसकेको छ । गत वर्षसम्म शून्य प्रगति रहेको २८ किलोमिटर प्रसारण लाइन अहिले पूर्ण रूपमा निर्माण सम्पन्न भई सञ्चालनमा आएको छ ।
प्रसारण लाइनमा ५४ मेगावाटको सुपर दोर्दी, १२ मेगावाटको दोर्दी खोला–१, २७ मेगावाटको दोर्दी खोला, ३० मेगावाटको न्यादी, ८.६० मेगावाटको चेपे खोला तथा ९.०५ मेगावाटको सुपर चेपेखोला जलविद्युत आयोजनाले लगानी गरेका थिए ।
सात वर्षसम्म सम्पन्न हुन नसकेको आयोजना निजी क्षेत्रले डेढ वर्षमै पूरा गरेको इप्पानका वरिष्ठ उपाध्यक्ष लामाले निजी क्षेत्रले उत्पादनमा मात्र सीमित नरही प्रसारण पूर्वाधार निर्माणमा पनि सक्षम रहेको पुष्टि गरेको बताए।
‘निजी क्षेत्रलाई प्रसारण लाइन निर्माण गर्न दिएमा निजी क्षेत्र सक्षम छ भन्ने पुष्टि मर्स्याङ्दी करिडोर २२० केभी प्रसारण लाइन आयोजनाअन्तर्गत मार्कीचोक–भरतपुर खण्डको निर्माण सम्पन्न गरेर देखाएको छ,’ उनी भन्छन्, ‘प्रसारण लाइनको अभावको कारणले विद्युत् खेर गएर निजी लगानीकर्ताको बिजुली खेर गएर आर्थिक समस्या बेहोरिरहेको बेला जिम्मा पाएको डेढ वर्षमै सम्पन्न गरेर निजी क्षेत्रले इतिहास रचेको छ ।’
विद्युत् प्राधिकरणले पनि मर्स्याङ्दी करिडोर २२० केभी प्रसारण लाइन आयोजनाअन्तर्गत मार्कीचोक–भरतपुर खण्डको निर्माण सम्पन्न भएको जनाएको छ ।
युरोपियन लगानी बैंकको ऋण सहयोग तथा नेपाल सरकार र नेपाल विद्युत् प्राधिकरणको संयुक्त लगानीमा निर्माण भएको उक्त प्रसारण लाइनलाई राष्ट्रिय प्रसारण प्रणालीमा समाहित गर्ने अन्तिम तयारी पूरा भएको प्राधिकरणले जनाएको छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
स्वास्थ्य विज्ञान प्रतिष्ठानहरूमा उपकुलपति पदको अन्तर्वार्ता र प्रस्तुतीकरण सुरु
-
अब वीरेन्द्रनगरमा ‘लाइन होइन, अनलाइन’
-
भारतमा रुसी तेल आयात कीर्तिमानी स्तरमा पुग्ने संकेत
-
पोल्याण्डको सत्तारुढ पार्टीका प्रवक्ता र कांग्रेस प्रवक्ता चालिसेबिच भेटवार्ता
-
कम्पनी दर्तासँगै अनलाइनबाटै प्यान प्रमाणपत्र डाउनलोड गर्न सकिने
-
विद्यार्थी सङ्गठनका संरचना हटाउने त्रिविकाे निर्देशन फिर्ताकाे माग
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण