मङ्गलबार, १६ असार २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट
पर्यटन

अफ सिजनमा गुलजार नेपाली पर्यटन : भारतीय पर्यटक तान्न केले गर्‍यो काम ?

उत्साहित छन् व्यवसायी, बढ्दो छ सुरक्षा चिन्ता
मङ्गलबार, १६ असार २०८३, ०७ : ५२
मङ्गलबार, १६ असार २०८३

सारांश

  • यस वर्ष असार महिनामा पनि नेपालको पर्यटन क्षेत्र चलायमान छ, जसको मुख्य कारण छिमेकी मुलुक भारतबाट आउने उल्लेख्य तीर्थयात्री तथा पर्यटकहरू हुन् ।
  • भारतमा अत्यधिक गर्मी, विद्यालयको लामो बिदा, डलर सञ्चिति जोगाउन भारत सरकारको नीति, र मध्यपूर्वमा तनाव तथा हवाई भाडा वृद्धिका कारण भारतीय पर्यटकहरूले नेपाललाई सहज र किफायती विकल्पको रूपमा रोजेका छन् ।
  • नेपाली पर्यटन व्यवसायीहरूको प्रवद्र्धनात्मक अभियान, सामाजिक सञ्जालमा प्रचार, र भारतीय ब्लगर तथा इन्फ्लुएन्सरहरूको भिडियोले पनि नेपालप्रति आकर्षण बढाउन सहयोग पुर्‍याएको छ ।

काठमाडौंँ । वर्षायाम सुरु भएसँगै पर्यटकीय गतिविधिहरू सुस्ताउँछन् र व्यवसायीहरू फुर्सदिला हुन थाल्छन् ।

नेपालमा जेठ र असारलाई पर्यटकीय दृष्टिकोणले ‘अफ सिजन’ मानिन्छ । तर, यस वर्ष असारमा पनि यस क्षेत्र चलायमान छ । छिमेकी मुलुकबाट आउने उल्लेख्य तीर्थयात्रीहरू नै यस समय पर्यटक बनेका छन् । पूर्वदेखि पश्चिमसम्मका प्रमुख पर्यटकीय गन्तव्यहरू भरिभराउ छन् ।

नेपालका विभिन्न नाकाहरूबाट अहिले दैनिक २ देखि ३ हजारसम्म भारतीय नम्बर प्लेटका सवारी साधनहरू नेपाल प्रवेश गरिरहेका छन् ।

किन नेपाल नै आए ?

सामान्यतया नेपाल भित्रिने मोटरसाइकलमा दुई जना र कार वा जिपमा कम्तीमा चार जना सवार हुने गर्छन् । तीर्थयात्रीहरू भने ठुलो संख्यामा समूह बनाएर बस चढेर आउने गरेका छन् । यसरी दैनिक हजारौँको संख्यामा भारतीय नागरिक स्थलमार्गबाट नेपाल भित्रिरहेका छन् ।

असार महिना नेपालमा मनसुन भित्रिने र बाटोघाटोको समस्या हुने समय भए पनि यसै अवधिमा भारतका विभिन्न राज्यहरूमा अत्यधिक गर्मी चल्ने गर्छ । भारतको तराई र मैदानी भागमा बढेको प्रचण्ड गर्मी छल्नका लागि भारतीयहरू शीतल तथा पहाडी क्षेत्रतर्फ आकर्षित हुने गरेका छन् ।

भारतका दार्जिलिङ वा सिम्लाजस्ता पर्यटकीय क्षेत्रहरूमा अत्यधिक चाप र बढी खर्चिलो हुने भएकाले धेरै भारतीय परिवारहरूले नेपाललाई उपयुक्त र सहज विकल्पका रूपमा रोज्ने गरेका छन् । साथै भारतमा हुने विद्यालयहरूको लामो बिदा पनि अर्को मुख्य कारण हो ।

नेपाली पर्यटन व्यवसायीहरूले भारतका विभिन्न सहरहरूमा पुगेर गरेका प्रवद्र्धनात्मक अभियानहरूले पनि यसमा सहयोग पुर्‍याएका छन् । विशेषगरी पोखरा र भैरहवाका पर्यटन व्यवसायीहरूले भारतका सीमावर्ती तथा मुख्य सहरहरूमा प्रवद्र्धनात्मक कार्यक्रमहरू आयोजना गर्दै आएका छन् । साथै सामाजिक सञ्जालमा नेपाली पर्यटकीय गन्तव्यहरूको प्रचार, भारतीय ब्लगर र इन्फ्लुएन्सरहरूले बनाएका भिडियोहरूका कारण पनि नेपालप्रति आकर्षण बढेको व्यवसायीहरूको भनाइ छ ।

विगतका वर्षहरूमा भारतीय पर्यटकहरू मुख्यतया सीमावर्ती सहरहरूमा घुमफिर गर्ने वा काठमाडौँको पशुपतिनाथ र मुस्ताङको मुक्तिनाथ जस्ता धार्मिक क्षेत्रको दर्शनमा मात्र केन्द्रित हुने गर्थे । तर, हालका दिनहरूमा भारतीय पर्यटकहरूको भ्रमणको ढाँचामा परिवर्तन आएको छ । उनीहरू नेपालका पहाडी तथा हिमाली क्षेत्रमा मनोरञ्जन र दृश्यावलोकनका लागि पुग्न थालेका छन् ।  

भारतको डलर नीति र गल्फ तनावले नेपाल रोजाइ

यस वर्ष भारतीय पर्यटकहरूको संख्या बढ्नुमा पहिलो मुख्य कारण भारत सरकारको नीति हो । डलर सञ्चिति जोगाउन भारत सरकारले आफ्ना नागरिकहरूलाई धेरै डलर खर्च हुने देशहरूमा भ्रमण गर्नुको सट्टा आफ्नै मुद्रा सहजै चल्ने वा कम डलर खर्च हुने नेपालजस्ता छिमेकी देशहरू भ्रमण गर्न प्रोत्साहित गरेको छ । दोस्रो कारण, मध्यपूर्व र अन्य अन्तर्राष्ट्रिय गन्तव्यहरूमा देखिएको तनाव र उच्च हवाई भाडाका कारण धेरै भारतीय पर्यटकहरूले आफ्नो भ्रमण योजना बदलेर नेपाललाई रोजेका छन् ।

कम बजेटमा पनि नेपालमा गुणस्तरीय पारिवारिक भ्रमण गर्न सकिने भएकाले उनीहरूका लागि नेपाल पहिलो रोजाइको गन्तव्य बनेको हो ।

पहिले भारतीय नागरिकहरू बढी जाने गरेका गन्तव्यहरू जस्तै सिङ्गापुर, मलेसिया, थाइल्यान्ड र दुबईको भ्रमण महँगो र असहज बनेको छ ।

हवाई भाडासमेत अत्यधिक बढेका कारण उनीहरूका लागि नेपाल उपयुक्त र किफायती विकल्प बनेको छ । यसका साथै भारतीय सरकारले विदेशी मुद्रा सञ्चिति जोगाउन देशभित्र वा नजिकका क्षेत्रमा भ्रमण गर्न प्रोत्साहन गर्ने नीति लिएकाले पनि डलर खर्च नहुने नेपाल जस्तो छिमेकी मुलुक उनीहरूको रोजाइमा परेको छ ।

होटल संघ नेपालले हालै भारतमा सञ्चालन गरेको ‘गर्मी से बेहाल, चलो नेपाल’ जस्ता प्रवद्र्धनात्मक कार्यक्रमले पनि यसमा सकारात्मक प्रभाव पारेको छ ।

भारतीय पर्यटकले उत्साह बढेको छ : नाटा

नेपाल एशोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाटा) का अध्यक्ष कुमारमणि थपलियाले स्थलमार्ग हुँदै भित्रिने भारतीय पर्यटकहरूको बढ्दो आगमनले नेपाली पर्यटन क्षेत्रमा नयाँ उत्साह थपेको बताएका छन् ।

भारतीय पर्यटकको संख्यामा भएको वृद्धिले पर्यटन व्यवसायलाई चलायमान बनाएको उल्लेख गर्दै उनले आगामी पर्यटकीय सिजनलाई फलदायी बनाउन अहिलेदेखि नै पूर्वतयारी र पर्यटकीय व्यवस्थापनमा जोड दिनुपर्ने आवश्यकता औंल्याएका छन् ।

थपलियाले चालु वर्षमा भारतीय पर्यटकको आगमन गत वर्षको तुलनामा अनौपचारिक रूपमा झन्डै दोब्बर भएको जानकारी दिए । अहिले नेपाल भित्रिने भारतीय पर्यटकहरूमा आफ्नै सवारी साधन लिएर आउने (‘सेल्फ ड्राइभ’) हरूको बाहुल्यता रहेको उनको भनाइ छ ।

पछिल्लो समय भारतीय पर्यटक तथा तीर्थयात्रीहरू सडक किनारमा वा आफ्नै सवारी साधनमा रात बिताउने गरेको भनी चर्चामा आएका विषयहरूबारे स्पष्ट पार्दै अध्यक्ष थपलियाले भने, ‘तीर्थयात्रीहरू हाम्रा लागि गहना हुन् । उनीहरू धार्मिक आस्थाका साथ नेपाल आएका हुन् र उनीहरूको उचित व्यवस्थापन गर्नु हाम्रो दायित्व हो ।’

यस समस्याको दीर्घकालीन समाधानका लागि सीमा नाकाबाट गाडीहरू भित्रिँदाकै बखत नेपालका पर्यटकीय क्षेत्र र बस्न उपयुक्त स्थानहरूबारे जानकारीमूलक पम्पलेट वा सूचना सामग्री वितरण गर्नुपर्ने उनले सुझाव दिए । सवारी चालक तथा सहयोगी कर्मचारीहरूलाई कुन क्षेत्रमा बस्ने व्यवस्था मिलाइएको छ र कहाँ बस्न मिल्दैन भन्नेबारे पूर्वजानकारी नाकामै उपलब्ध गराउन सके यस्ता सानातिना व्यवस्थापकीय समस्याहरू तत्कालै समाधान हुने उनको विश्वास छ ।

अहिले नेपाल भित्रिएका पर्यटकहरू पोखरामा मात्र सीमित नभई जनकपुर, चितवन, मुक्तिनाथ, जोमसोम र काठमाडौँसम्म पुग्ने गरेका छन् । यसले समग्र देशकै अर्थतन्त्र र विभिन्न क्षेत्रका पर्यटन व्यवसायीहरूलाई प्रत्यक्ष फाइदा पुर्‍याएको छ । पर्यटकको आगमन बढेसँगै पर्यटकीय क्षेत्रहरूमा होटलहरूको बुकिङ (अकुपेन्सी) मा निकै सुधार आएको छ । ‘यसअघि तीव्र प्रतिस्पर्धाका कारण होटल व्यवसायीहरू लागत मूल्यभन्दा पनि कममा कोठाहरू उपलब्ध गराउन बाध्य हुनुहुन्थ्यो,’ अध्यक्ष थपलियाले भने, ‘अहिले अकुपेन्सी सुध्रिएसँगै होटलहरूले उपयुक्त दरमा आफ्ना सेवाहरू बिक्री गर्न पाएका छन्, जसले समग्र पर्यटन उद्योगलाई ठुलो आर्थिक राहत मिलेको छ ।’

मैदानी र कम उचाइ भएका भारतीय भूभागबाट सिधै पहाडी तथा हिमाली क्षेत्रमा आफ्नै गाडी लिएर यात्रा गर्ने पर्यटकहरूमा ‘लेक लाग्ने’ (अल्टिच्युड सिकनेस) समस्या देखिने गरेको प्रति अध्यक्ष थपलियाले चिन्ता व्यक्त गरे । विशेषगरी जोमसोम र मुक्तिनाथ क्षेत्रतर्फ जाने पर्यटकहरूलाई उचाइका कारण हुन सक्ने स्वास्थ्य जोखिमबारे पर्याप्त सूचना प्रवाह गर्नुपर्नेमा उनले जोड दिए ।

पर्यटकहरूलाई सुरक्षित यात्रासम्बन्धी चेतनामूलक जानकारी सीमा नाका र मुख्य राजमार्गहरूमै उपलब्ध गराउनु आवश्यक रहेको उनको बुझाइ छ  ।

नेपाल पर्यटक प्रहरीका डीएसपी कृष्ण ओझाका अनुसार वीरगन्ज नाका हुँदै आफ्नै सवारी साधनमा सीधै जोमसोम र मुक्तिनाथजस्ता उच्च हिमाली क्षेत्रतर्फ जाने भारतीय पर्यटकहरूमा सूचना र सचेतनाको अभावका कारण लेक लाग्ने (अल्टिच्युड सिकनेस) समस्या बढी देखिएको छ । यस विषयमा पर्याप्त जानकारी नहुँदा केही पर्यटकहरू बिरामी पर्ने गरेको र हालैका दिनमा यस्ता एक–दुईवटा घटनाहरू समेत दर्ता भएको डीएसपी ओझाले रातोपाटीलाई बताए ।  

होटलको अकुपेन्सी बढ्यो  

अहिले भारतीय पर्यटकहरू मुस्ताङको मुक्तिनाथसँगै पोखरा, काठमाडौँ, चितवन, लुम्बिनी, पाल्पा, बर्दिया र बागलुङसम्म पुग्ने गरेका छन् । चितवन र बर्दियामा जङ्गल सफारीका लागि जानेहरूको संख्या उत्तिकै छ भने पाल्पा, बागलुङ, मनाङ र पोखराका रिसोर्टहरूमा पहाडी चिसो मौसम र प्राकृतिक दृश्यको आनन्द लिन भारतीय परिवारहरू पुग्ने गरेका छन् ।

पोखरामा त यतिबेला होटलहरूको अकुपेन्सी ९० प्रतिशतको हाराहारीमा पुगेको व्यवसायीहरू बताउँछन्, जुन सामान्यतया यस मौसममा विरलै हुने गर्छ । यसका साथै सीमावर्ती सहरहरूमा रहेका सुविधासम्पन्न क्यासिनो र मनोरञ्जनका केन्द्रहरूमा रमाउन आउने पर्यटकहरूको संख्या पनि उत्तिकै रहेको पाइन्छ ।

यस अवधिमा पनि स्थलमार्ग र हवाइमार्ग प्रयोग गरी कैलाश मानसरोवर जाने भारतीय तीर्थयात्री र अन्य पर्यटकका कारण नेपालगन्ज, काठमाडौँ र पोखराका होटलहरूलाई ठुलो टेवा पुगेको छ । हाल भित्रिरहेका अधिकांश पर्यटकहरू ट्राभल एजेन्सीमार्फत प्याकेज बुकिङ गरेर भन्दा पनि सिधै र अनौपचारिक रूपमा नेपाल आउने गरेका छन् । उनीहरूले होटलहरू सीधै बुकिङ गर्ने र आवश्यक परे मात्र यातायात सेवाका लागि ट्राभल एजेन्सीहरूसँग समन्वय गर्ने गरेको पाइएको नाटा अध्यक्ष थपलियाले उल्लेख गरे ।

होटल संघ नेपाल (हान) का अध्यक्ष विनायक शाहले हाल पर्यटकीय क्षेत्रहरूमा देखिएको चहलपहल र होटलहरूको व्यावसायिक अवस्थाका बारेमा महत्त्वपूर्ण जानकारी सेयर गरेका छन् ।

अफ–सिजन भनिए तापनि अहिले पोखरा, चितवन, मुस्ताङ, मनाङ लगायतका पर्यटकीय क्षेत्रहरूमा होटलहरूको अकुपेन्सी उत्साहजनक रूपमा बढेको उनले बताए । यसरी अकुपेन्सी बढ्नुको मुख्य कारण भारतीय पर्यटकहरूको आगमन रहेको उनको भनाइ छ । भारतीय पर्यटकहरू नेपालतर्फ आकर्षित हुनुमा विभिन्न बाह्य र आन्तरिक परिस्थितिहरूले भूमिका खेलेको उनले स्पष्ट पारे ।

‘पोखरा, लोमान्थाङ, मुक्तिनाथ, जोमसोम लगायतका क्षेत्रमा पर्यटकको चहलपहल राम्रो रहेको र ती क्षेत्रका होटलहरूको अकुपेन्सी ७० देखि ७५ प्रतिशतभन्दा माथि पुगेको अध्यक्ष शाहले जानकारी दिए ।’ उनले भने  भारतीय पर्यटकहरूले नेपालमा धेरै खर्च गर्दैनन् भन्ने आम बुझाइलाई चिर्दै उनले पर्यटकहरूलाई उनीहरूको रुचि अनुसारका गतिविधि, साहसिक खेल (जस्तै बन्जी जम्पिङ), र खानपानका विविधता उपलब्ध गराउन सके उनीहरू खर्च गर्न तयार हुने बताए । पर्यटकको चाहना र बजारको माग अनुसार सेवाको विविधीकरण गर्न सके मात्र उनीहरूबाट बढी फाइदा लिन सकिने उनको विश्लेषण छ । 

नेपालको होटल क्षेत्रले हाल वार्षिक झण्डै ३५ देखि ४० लाख पर्यटकलाई सेवा दिन सक्ने क्षमता विकास गरिसकेको भए पनि सो अनुपातमा पर्यटक आगमन हुन नसकेको उनको भनाइ छ । हाल देखिएको यो चहलपहल मौसमी र केही दिनका लागि मात्र सीमित हुने भएकाले यसलाई संस्थागत र दीर्घकालीन बनाउनु चुनौतीपूर्ण रहेको पनि उनले बताए ।

यसका लागि गर्मी मौसममा अत्यधिक तातो हुने युरोपेली मुलुकहरू (जस्तैः इटाली, पोर्चुगल, स्पेन) र चीनबाट समेत पर्यटक आकर्षित गर्न सकिने सम्भावना छ । यस कार्यलाई व्यवस्थित बनाउन सरकारले ठोस राष्ट्रिय कार्यनीति र गुरुयोजना निर्माण गर्नुपर्नेमा उनले जोड दिए ।

‘क्रस–बोर्डर टुरिज्म अवधारणाले काम गर्‍यो’

नेपाल पर्यटन बोर्डका वरिष्ठ अधिकृत सूर्य थपलियाका अनुसार गर्मी मौसममा गर्मी छल्न उपयुक्त र नजिकको गन्तव्यको रूपमा नेपाललाई रोज्ने भारतीयहरूको संख्यामा उल्लेख्य वृद्धि भएको छ । विशेष गरी हवाई भाडा महँगो भएका कारण टाढाका वैदेशिक गन्तव्यहरू खर्चिलो बन्दै गएको वर्तमान अवस्थामा भारतीयहरूका लागि छिमेकी मुलुक नेपाल सहज, सुलभ र किफायती विकल्प सावित भएको छ ।

भारतीय पर्यटकहरू आफ्नै सवारी साधन प्रयोग गरेर नाकाहरूबाट सजिलै नेपाल प्रवेश गर्न सक्ने र छोटो समयमै शीतल पहाडी गन्तव्यहरूमा पुग्न सक्ने भौगोलिक सुगमता यसको प्रमुख आकर्षण बनेको थपलियाले बताए ।

नेपाल पर्यटन बोर्डले विगत ५–६ वर्षदेखि भारतका सीमावर्ती क्षेत्रहरूलाई लक्षित गरी ‘क्रस–बोर्डर टुरिजम’ (सीमापार पर्यटन) को अवधारणालाई आक्रामक रूपमा अघि बढाएको छ । यस रणनीति अन्तर्गत पूर्वी नाका काँकडभिट्टा, वीरगन्ज, भैरहवा, नेपालगन्ज र धनगढीजस्ता प्रमुख नाकाहरू आसपासका भारतीय राज्यहरू (पश्चिम बंगाल, सिक्किम, दार्जिलिङ, उत्तर प्रदेश र बिहार) मा निरन्तर प्रवद्र्धनात्मक कार्यक्रमहरू सञ्चालन गरिएको अधिकृत थपलियाले जानकारी दिए ।

सीमा नाकाहरू पार गरेपछि नेपालतर्फ गुणस्तरीय होटल, रिसोर्ट, क्यासिनो र फन पार्कहरू निर्माण भएका कारण पनि भारतीयहरू सप्ताहान्त मनाउन र छोटो अवधिको छुट्टी बिताउन नेपालतर्फ आकर्षित भइरहेका छन् ।

यसले गर्दा पूर्वी नाकाबाट इलाम र पश्चिमी नाकाबाट पहाडी शीतल स्थानहरूमा पुग्न उनीहरूलाई निकै सहज भएको छ । पछिल्लो समय नेपालमा डिजिटल भुक्तानी प्रणाली (अनलाइन क्युआर पेमेन्ट) को विकास हुनुले पनि भारतीय पर्यटकहरूलाई नेपाल बसाइमा ठुलो राहत दिएको छ । यसअघि नगद बोकेर हिँड्नुपर्ने र मुद्रा सञ्चिति सम्बन्धी झन्झट बेहोर्नुपर्ने अवस्था रहेकोमा अहिले अनलाइन भुक्तानी सहज बन्दै जाँदा उनीहरूलाई निकै सजिलो भएको छ ।

साथै, डलरको तुलनामा भारतीय रुपैयाँ (भारु) सँग नेपाली रुपैयाँको विनिमय दर स्थिर रहेका कारण पनि उनीहरूलाई डलर खर्च गर्नुपर्ने अन्य देशको तुलनामा नेपाल भ्रमण निकै किफायती महसुस हुने गरेको छ, जसले गर्दा उनीहरूको स्वाभाविक रोजाइमा नेपाल पर्न सफल भएको छ ।

सामाजिक सञ्जाल र डिजिटल माध्यमबाट गरिएको प्रवद्र्धनका कारण भारतीय युवा पुस्तामाझ पनि नेपाल प्रमुख पर्यटकीय रोजाइको रूपमा स्थापित हुँदै गएको थपलियाको विश्लेषण छ ।

स्थलमार्गबाट आफ्नै गाडीको पास लिएर नेपाल प्रवेश गर्ने भारतीय पर्यटकहरूका कतिपय व्यावहारिक गतिविधिका विरुद्ध पर्यटकीय क्षेत्रहरूमा गुनासाहरू आउने गरेका छन् । कतिपय पर्यटकहरूले जथाभावी रूपमा सडक किनार वा खुला ठाउँमा टेन्ट टाँगेर पकाउने, खाने र फोहोर मैला फाल्ने गरेको पाइएको छ ।

नेपाल आउने भारतीय पर्यटकहरूको प्रकृति र खर्च गर्ने प्रवृत्तिमा पनि पछिल्लो समय सकारात्मक परिवर्तन देखिएको छ । विगतमा धार्मिक र तीर्थयात्राका लागि मात्र आउने र न्यून खर्च गर्ने पर्यटकहरूको तुलनामा अहिले मध्यम तथा उच्च आय भएका पारिवारिक र युवा समूहहरू नेपाल आउने क्रम बढेको छ । भारतका काठमाडौँलगायतका छिमेकी क्षेत्र र ठुला सहरका विशाल जनसंख्यामा मध्यमवर्गीय र उच्च आय भएका युवाहरूको हिस्सा ठुलो छ, जसले गुणस्तरीय सेवा, मनोरञ्जन र आरामदायी बसाइका लागि राम्रो खर्च गर्न सक्छन् ।

पारिवारिक समूहमा यात्रा गर्ने उनीहरूको बानीका कारण होटल, यातायात र स्थानीय उत्पादनहरूको खपतमा प्रत्यक्ष वृद्धि भई स्थानीय स्तरमा रोजगारी र व्यापार व्यवसायमा प्रत्यक्ष टेवा पुगेको छ ।

गुणस्तरीय सेवा, पूर्वाधार विकास र आतिथ्यतामा जोड

पर्यटकको संख्या बढेसँगै नेपालले आफ्नो पूर्वाधार र सेवाको गुणस्तरमा अझै सुधार गर्नुपर्ने आवश्यकता रहेको अधिकृत थपलियाले औंल्याए । पर्यटकहरूले नेपालका सडक पूर्वाधारहरू अझै सुदृढ हुनुपर्ने गुनासो गर्ने गरेका छन्, यद्यपि देशका प्रमुख पर्यटकीय सडकहरूको स्तरोन्नति कार्य तीव्र रूपमा अघि बढेको छ ।

खुला सिमानाका कारण स्थलमार्गबाट आउने भारतीय पर्यटकहरूको यकिन तथ्याङ्क राख्न कठिन भए पनि विगतमा वार्षिक करिब १५ देखि १७ लाखको संख्यामा भारतीयहरू स्थलमार्गबाट नेपाल आउने गरेको अनुमान छ । हालको उत्साहजनक आगमन र नाकाहरूमा अनलाइन दर्ताको सहजतालाई हेर्दा यस वर्ष स्थलमार्गबाट मात्रै आउने भारतीय पर्यटकहरूको संख्या २० देखि २२ लाखसम्म पुग्न सक्ने प्रक्षेपण बोर्डले गरेको छ ।

के छ सुरक्षा चुनौती ?

नेपालमा भारतीय पर्यटकहरूको आगमन उल्लेख्य रूपमा बढेसँगै पर्यटकीय गतिविधि सुरक्षित र व्यवस्थित बनाउन पर्यटक प्रहरीको सक्रियता बढेको छ । नेपाल पर्यटक प्रहरीका डीएसपी कृष्ण ओझाका अनुसार भारतीय पर्यटकहरूको बढ्दो आगमनले व्यवसायमा सकारात्मक प्रभाव पारे तापनि यससँगै केही नयाँ चुनौती र गुनासाहरू पनि थपिएका छन् ।

स्थलमार्गबाट आफ्नै गाडीको पास लिएर नेपाल प्रवेश गर्ने भारतीय पर्यटकहरूका कतिपय व्यावहारिक गतिविधिका विरुद्ध पर्यटकीय क्षेत्रहरूमा गुनासाहरू आउने गरेका छन् । कतिपय पर्यटकहरूले जथाभावी रूपमा सडक किनार वा खुला ठाउँमा टेन्ट टाँगेर पकाउने, खाने र फोहोर मैला फाल्ने गरेको पाइएको छ ।

यस्ता गतिविधिले वातावरणीय सुन्दरता बिगार्ने र स्थानीय स्तरमा असन्तुष्टि बढाउने भएकाले पर्यटक प्रहरीले विभिन्न चेकपोस्ट तथा गन्तव्यहरूमा त्यस्ता गाडी र पर्यटकहरूलाई रोकेर जथाभावी नलगाउन र तोकिएका स्थानमा मात्र क्याम्पिङ गर्न नम्रतापूर्वक सम्झाउने तथा सचेत गराउने कार्य गरिरहेको छ ।

साथै, पर्यटक प्रहरीमा दर्ता हुने गुनासाहरूमध्ये रात्रिकालीन मनोरञ्जनका क्षेत्रमा हुने ‘ओभर बिलिङ’ (अत्यधिक शुल्क असुली) प्रमुख हो छ । नेपालका विभिन्न पर्यटकीय सहरहरूमा रहेका डान्स बार, डिस्को तथा क्लबहरूमा भारतीय पर्यटकहरू जाने र त्यहाँ खानपान तथा अन्य मनोरञ्जनात्मक सेवा लिइसकेपछि अत्यधिक बिल उठाइएको भन्दै उनीहरूले प्रहरीमा गुनासो गर्ने गरेका छन् ।

यस्ता ओभर बिलिङ र बढी शुल्क लिएर ठगी गरिएका घटनाहरूमा पर्यटक प्रहरीले तत्काल हस्तक्षेप गरी छानबिन गर्ने, विवाद समाधान गराउने र पर्यटकहरूलाई न्याय दिलाउने कार्य गरिरहेको डीएसपी ओझाले स्पष्ट पारे  ।

नेपाल भारतीय पर्यटकहरूका लागि सहज र खुला मनोरञ्जनको गन्तव्य बन्दै गएको छ । भारतका कतिपय सीमावर्ती राज्यहरूमा मदिरा निषेध तथा रात्रिकालीन मनोरञ्जनमा कडाइ गरिएका कारण पनि भारतीय पर्यटकहरू नेपालका डान्स बार र क्लबहरूमा स्वतन्त्र रूपमा समय बिताउन मन पराउँछन् ।

यस प्रकारको स्वतन्त्र वातावरण र तुलनात्मक रूपमा सस्तो गन्तव्य भएकाले पनि नेपालतर्फ उनीहरूको आकर्षण बढेको हो । हाल अफ–सिजन भनिए तापनि पोखरा, लुम्बिनी, मुक्तिनाथ र जोमसोम क्षेत्रमा भारतीय पर्यटकहरूको चहलपहल निकै बाक्लो रहेको पर्यटक प्रहरीले जनाएको छ ।

‘हस्पिटालिटी क्षेत्रले राहत महसुु गरेको छ’

नेपालको होटल तथा हस्पिटालिटी क्षेत्रले परम्परागत रूपमा मन्द मानिने अफ–सिजनमा पनि भारतीय पर्यटकहरूको बाक्लो आगमनका कारण राहत महसुस गरेको छ । सिद्धार्थ बिजनेस ग्रुप अफ हस्पिटालिटीका सीईओ कृष्ण न्यौपानेका अनुसार यस वर्ष नेपाल आउने भारतीय पर्यटकहरूको संख्यामा उल्लेख्य वृद्धि भएको छ, जसले होटल व्यवसायलाई सुस्ताउन दिएको छैन ।

भारतीय पर्यटकहरू यसरी ठुलो संख्यामा नेपाल आउनुमा विश्वव्यापी परिस्थिति, छिमेकी देशको सरकारी नीति र आन्तरिक पर्यटकीय वातावरणको ठुलो योगदान रहेको न्यौपानेको विश्लेषण छ  ।

यो वर्ष चीन सरकारले भिसा प्रक्रिया खुकुलो बनाइदिएपछि र वर्षभरिको योजना बनाएका पर्यटकहरूले सहजै बुकिङ गर्न पाएका कारण मानसरोवर जाने उच्च आर्थिक हैसियत भएका भारतीय पर्यटकहरूको आगमन राम्रो भएको छ, जसको प्रत्यक्ष लाभ नेपालका होटल तथा ट्राभल एजेन्सीहरूलाई मिलेको छ ।

न्यौपानेका अनुसार नेपालको ब्रान्डिङ र प्रचार–प्रसारमा आएको सकारात्मक परिवर्तनले पनि नयाँ पुस्ताका भारतीय पर्यटकहरूलाई आकर्षित गरेको छ । काठमाडौँ महानगरपालिका लगायतका स्थानीय तहहरूले चालेका सफाइ र व्यवस्थापनका कदमहरू, युट्युब, भ्लग र सामाजिक सञ्जालमा नेपाल सफा र सुरक्षित छ भनी फैलिएका सकारात्मक भिडियोहरूका कारण पनि भारतीय युवा पुस्ता (जेन–जी) मा नेपालप्रति आकर्षण बढेको छ ।

होटलहरूको अकुपेन्सी बढे तापनि पर्यटकहरूको औसत खर्च गर्ने क्षमता (पर–क्यापिटा स्पेन्डिङ) मा भने अझै सुधार आउन बाँकी रहेको न्यौपानेले औंल्याए । होटल व्यवसायलाई थप नाफामूलक बनाउन र पर्यटकको गुणस्तर सुधार्न पूर्वाधार विकास र विशिष्टीकृत सेवाहरू प्रदान गर्न आवश्यक रहेको उनको भनाइ छ ।

कैलाश मानसरोवर यात्रा सुचारु हुँदा होटल व्यवसायलाई फाइदा

धार्मिक पर्यटनतर्फ यो वर्ष मानसरोवर यात्रामा आएको सुधारले होटल व्यवसायमा विशेष योगदान पुर्‍याएको सीईओ न्यौपानेले बताए ।

सन् २०१८ को ऐतिहासिक आगमनपछि कोभिड–१९ र भिसा सम्बन्धी चिनियाँ नीतिका कारण मानसरोवर जाने भारतीय पर्यटकहरूको संख्या शून्यप्रायः भएको थियो । गत वर्ष पनि भिसा प्रक्रिया निकै ढिलो र कडा हुँदा पर्यटकहरू आउन सकेका थिएनन् ।

तर यो वर्ष चीन सरकारले भिसा प्रक्रिया खुकुलो बनाइदिएपछि र वर्षभरिको योजना बनाएका पर्यटकहरूले सहजै बुकिङ गर्न पाएका कारण मानसरोवर जाने उच्च आर्थिक हैसियत भएका भारतीय पर्यटकहरूको आगमन राम्रो भएको छ, जसको प्रत्यक्ष लाभ नेपालका होटल तथा ट्राभल एजेन्सीहरूलाई मिलेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

अमृत चिमरिया
अमृत चिमरिया
लेखकबाट थप