मङ्गलबार, १६ असार २०८३
ताजा लोकप्रिय

सबै कुरा सरकारको नियन्त्रणबाट मात्र सम्भव छैन, हुलाकमा निजी क्षेत्रसँग सहकार्य गर्छौँ : सञ्चारमन्त्री

मङ्गलबार, १६ असार २०८३, १३ : ४२
मङ्गलबार, १६ असार २०८३

सारांश

  • सूचना तथा सञ्चारमन्त्री डा. विक्रम तिमिल्सिनाले हुलाक सेवालाई निजी क्षेत्रसँग सहकार्य गरेर अघि बढाउने योजना रहेको बताएका छन्।
  • उनले हुलाक सेवालाई सार्वजनिक-निजी साझेदारी (पीपीपी) मोडलमा अघि बढाउन चाहेको र यसमा राम्रो प्रगति भएको दाबी गरे।
  • मन्त्री तिमिल्सिनाले सरकारी हुलाक सेवाले मात्रै सम्पूर्ण पोस्टल सेवा प्रभावकारी बनाउन सम्भव नभएकोले निजी क्षेत्रसँग सहकार्य गरिने स्पष्ट पारे।

काठमाडौँ । सूचना तथा सञ्चारमन्त्री डा. विक्रम तिमिल्सिनाले सरकारले हुलाक सेवालाई निजी क्षेत्रसँग सहकार्य गरेर अघि बढाउने योजना बनाएको दाबी गरेका छन्। 

मंगलबार काठमाडौँमा आयोजित हुलाक सेवाको आधुनिकीकरणसम्बन्धी उच्चस्तरीय संवाद कार्यक्रममा बोल्दै उनले उक्त कुरा स्पष्ट पारेका हुन्। 

सञ्चारमन्त्री तिमिल्सिनाले सरकारी क्षेत्रले निजी क्षेत्रसँग सहकार्य गरेर अघि बढ्दा नै जनतालाई प्रभावकारी सेवा दिन सकिन्छ भन्ने कुरामा सरकार जानकार रहेको उल्लेख गरे। सरकारले हुलाक सेवालाई पनि सार्वजनिक–निजी साझेदारी (पीपीपी) मोडलमा अघि बढाउन चाहेको स्पष्ट पार्दै उनले हुलाकसँग सम्बन्धित कामलाई प्राथमिकताका साथ अघि बढाइएको र यसमा निकै राम्रो प्रगति भएको जिकिर गरे।

यस क्षेत्रमा अझै धेरै काम गर्न बाँकी रहेको उल्लेख गर्दै सञ्चारमन्त्री तिमिल्सिनाले हुलाकसँग सम्बन्धित नीतिगत र संरचनागत रूपमा नै पुनर्संरचना गर्नुपर्ने अवस्था रहेको बताए। उनले भने, ‘यो हुलाकसँग सम्बन्धित पोलिसीहरूको रिफर्म जरुरी छ। हुलाकको स्ट्रक्चरको नै रिफर्म जरुरी छ। यसको एक्जिस्टिङ बडीहरूको इफिसेन्सी बढाउनुपर्नेछ। धेरै कामहरू छन्। पहिला हामीले केही सुरुवात गरेका छौँ। गर्नुपर्ने के हो भन्ने कुरा पनि आइडेन्टिफाइ भएका छन्। यो सरकारको सय दिन पुग्न पुग्न लागेको छ। सय दिनभित्र हुलाकसँग सम्बन्धित केही कामहरू हामीले आँटेका थियौँ। त्यो कामहरूको निकै राम्रो प्रगति पनि भएको छ। र, आउँदो वर्षमा हुलाकलाई कहाँ पुऱ्याउन सकिन्छ भन्ने बारेमा हामी गम्भीर छौँ। गम्भीरतासहित काम गर्छौँ।’

उनले सरकारी हुलाक सेवाले मात्रै देशको सम्पूर्ण पोस्टल सेवालाई प्रभावकारी बनाउन सम्भव र जरुरी नभएको धारणा राखे। सबै कुराहरू सरकारको नियन्त्रणबाट मात्र गर्ने सोच सरकारको नभएको प्रस्ट पार्दै उनले सरोकारवालाहरूलाई कुनै समस्या भए सरकारले सहजीकरण गरिदिने प्रतिबद्धता जनाए। 

त्यस अवसरमा सञ्चारमन्त्री तिमिल्सिनाले हुलाक सेवालाई आगामी दिनमा गर्व गर्न लायक हुनेगरी काम गर्न सम्बन्धित निकायका कर्मचारीहरूलाई निर्देशनसमेत दिए।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप