सोमबार, २४ वैशाख २०८१
ताजा लोकप्रिय

आन्दोलनको नेतृत्व गर्न वीरगन्ज पुगे राजेन्द्र, उपेन्द्रलाई दिए यस्तो जवाफ

बुधबार, ३१ जेठ २०७४, १७ : ५१
बुधबार, ३१ जेठ २०७४


पर्सा– राष्ट्रिय जनता पार्टीका नेता राजेन्द्र महतो आन्दोलको नेतृत्व गर्न बुधबार वीरगञ्ज आइपुगेका छन् ।
 मध्यान्न वीरगञ्ज आइपुगेका महतोले सडकमै पत्रकार सम्मेलन गरेर संविधान संशोधन नभएसम्म कम्तिमा मधेशका जिल्लाहरुमा निर्वाचन नगर्न सरकारसँग आग्रह गरेका छन् । 

वीरगंजको घण्टाघरस्थित सडकमै पत्रकार सम्मेलन गर्दै नेता महतोले विवाद नभएका ठाउँमा निर्वाचन गरे आफुहरुलाई आपत्ति नहुने भन्दै संविधान संशोधन विना मधेशमा निर्वाचन गरे त्यसको प्रतिकार गर्ने चेतावनी दिए । महतोले झापा, मोरङ, सुनसरीदेखि कञ्चनपुर सम्म १९ जिल्लामा निर्वाचन नगर्न आग्रह गरे ।  
उनले मधेशमा जवर्जस्ती बन्दुकको बलमा निर्वाचन गराए मधेश र देश वर्वादितर्फ जाने चेतावनी पनि दिए । ‘संविधानमा मधेशी, दलित, जनजाति लगाएतको अधिकार खोसीएको र सोहि संविधान कार्यान्वयन गर्न अहिलेको निर्वाचन हुन लागेकोले यसलाई सामान्य रुपमा लिन सकिदैन’ महतोले बताए ।
मधेश आन्दोलनको क्रममा पक्राउ परेकाहरुको मुद्धा फिर्ता, जनसख्ंयाको आधारमा स्थानीय निकायको संख्या बृद्धि, आन्दोलनमा ज्यान गुमाएकाहरुलाई शहिद घोषणा, राजपाको बटम लाईन रहेको महतोको भनाई थियो । उनले सरकारले आफ्ना माग पुरा गर्नेतर्फ अग्रसर भए आन्दोलनको स्वरुप परिवर्तन हुने बताए । 
उनले कांग्रेस एमाले र माओवादीले संविधान संशोधन नै नचाहेको आरोप लगाए । ‘कहिले कांग्रेस मानेन, कहिले एमाले मानेन र कहिले माओवादी मानेन भनेर संबिधान संशोधन नभएको हो । अधिकार खोस्ने बेला तिनै पार्टी एक हुने अनि अधिकार दिने विषयमा यो मानेन त्यो मानेन भनेर हुन्छ ?भन्दै प्रश्न गरे ।
उपेन्द्रलाई जवाफ
मधेशी जनता आन्दोलनमा होमिएको बेला उपेन्द्र यादव निर्वाचनमा गएको भन्दै नेता महतोले यादवको मानसिक सन्तुलन गुमेको टिप्पणी गरे । ‘संविधान पुनर्लेखन गर्छु भन्ने उपेन्द्र यादव अहिले संशोधन समेत नगराई निर्वाचनमा गएका छन् र आन्दोलन गर्ने मधेशीलाई पारीबाट आएको भन्दैछन् उनको मानसिक सन्तुलन ठिक छैन’नेता महतोले भने । नाकाबन्दीका बेला पुर्व प्रधानमन्त्री केपी ओलीले मधेशी जनतालाई पारीबाट आएको भन्ने गरेकोमा अहिले उपेन्द्रले नै उक्त भाषा बोल्नुले उनि केपी ओलीको अवतार भएको आरोप लगाए । पत्रकार सम्मेलनमा राजपाका उपाध्यक्ष सरोज यादव, महामन्त्रि जितेन्द्र सोनल लगाएतका नेता कार्यकर्ताहरुको सहभागिता रहेको थियो ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

अमित अग्रवाल
अमित अग्रवाल

 अग्रवाल रातोपाटीका पर्सा जिल्ला प्रतिनिधि हुन् ।

लेखकबाट थप