उद्योगमा वैदेशिक लगानी घट्यो, कुन क्षेत्रमा कति लगानी छ ?
काठमाडौँ । उद्योगमा वैदेशिक लगानी ४३.४८ प्रतिशतले घटेको छ । चालु आर्थिक वर्षको (२०७५/७६) पाँच महिनामा (मङ्सिरसम्म) ७ अर्ब ४७ करोड ५० लाख रुपैयाँको वैदेशिक लगानी प्रतिबद्धता आएको छ । गत वर्षको यसै अवधिको तुलनामा वैदेशिक लगानीमा उल्लेख्य गिरावट आएको हो । जबकि गत वर्षको पाँच महिनामा १३ अर्ब १३ करोड ९० लाख रुपैयाँ वैदेशिक लगानी प्रतिबद्धता आएको थियो ।
१ सय ७१ वटा प्रोजेक्टका लागि ७ अर्ब ४७ करोड रुपैयाँको प्रतिबद्धता आएको हो । चालु आर्थिक वर्षको पाँच महिना १७१ उद्योगका लागि प्रतिबद्धता आएको देखिन्छ । उद्योगको सङ्ख्या बढी हुँदा लगानी बढ्नुपर्ने आम सोचाइ स्वाभाविक हो । गत वर्ष यस अवधिमा १४४ वटा उद्योगका लागि लगानी प्रतिबद्धता आएको थियो ।
उद्योग विभागका सूचना अधिकारी जीवनराज सेढाइँ अहिले जुन क्षेत्रमा वैदेशिक लगानी आएको छ, त्यो सानो उद्योग भएको बताउँछन् । उनी भन्छन्, ‘ससाना उद्योगमा लगानी आउँदा सानो रकमको हुने भएकाले कम लगानी देखिएको हो । यद्यपि, गत वर्षको भन्दा यो वर्ष उद्योग सङ्ख्याको हिसाबमा लगानी भने बढी छ ।’
उनका अनुसार ठुला उद्योग भन्नाले जलविद्युत क्षेत्र पर्छन् । ठूला उद्योगहरूमा लगानी आउँदा अर्ब रुपैयाँभन्दा बढीको आउँछ । यसले गर्दा पनि धेरै लगानी भएको देखिन्छ, जुन पहिलेका वर्षहरूमा नै आइसके । ती आयोजना सम्पन्न हुन अझै केही समय लाग्ने भएकाले अबका केही वर्ष वैदेशिक लगानीको फिगर घटेको देखिने सेढाईंको तर्क छ । यो पाँच महिनामा ऊर्जा क्षेत्रमा लगानी आएको छैन ।
नेपालमा आउने वैदेशिक लगानी साना उद्योगमा केन्द्रित भएको देखिएको छ । वैदेशिक लगानी आउँदा २ अर्ब रुपैयाँभन्दा कम भएमा उद्योग विभागबाट, २ देखि १० अर्ब रुपैयाँ औद्योगिक प्रवद्र्धन बोर्डबाट र १० अर्बभन्दा माथिको लगानी बोर्डको माध्यमबाट आउने गरेको छ ।
पर्यटन क्षेत्रमा वैदेशिक लगानीको आकर्षण
समग्र फिगरमा वैदेशिक लगानीको रकम घटिरहेको बेला पर्यटन क्षेत्रमा भने वैदेशिक लगानीको आकर्षण देखिएको छ । यस क्षेत्रमा पाँच महिनामा ३ अर्ब ३८ करोड ६० लाख रुपैयाँ बराबरको वैदेशिक लगानी भित्रिएको छ । गत वर्षको यसै अवधिमा १ अर्ब १८ करोड २० लाख रुपैयाँ बराबरको लगानी प्रतिबद्धता आएको थियो । यो भनेको चालु वर्ष पाँच महिनामा १०६.३९ प्रतिशतले बढी लगानी प्रतिबद्धता आएको हो ।
सेवामूलक क्षेत्रमा पनि वैदेशिक लगानी बढेको छ । यो क्षेत्रमा ४२ प्रतिशतले लगानी बढेको छ । मङ्सिर २७ गतेसम्ममा १ अर्ब ३९ करोड ३० लाख रुपैयाँ लगानी आएको छ । गत वर्षको यसै अवधिमा ९८ करोड १० लाख रुपैयाँ बराबरको वैदेशिक लगानी भित्रिएको थियो ।
सरकारले कृषि तथा वन्यजन्तु, निर्माण, उर्जामूलक, खनिज, उत्पादनमूलक, पर्यटन र सेवा गरी सात विधाका उद्योगमा प्रत्यक्ष वैदेशिक लगानी भित्र्याउँदै आएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एक दर्जन सुरुङमार्गको सम्भाव्यता अध्ययन र निर्माणका लागि ६८ करोड
-
एक राउन्ड गोली प्रहार गरी ३० हजार क्याप्सुल ट्रामाडोल सहित ३ जना पक्राउ
-
अखिल (क्रान्तिकारी) केन्द्रीय समितिको तेस्रो बैठक सम्पन्न, एकता प्रक्रियालाई अन्तिम टुङ्गो दिने निर्णय
-
२ मतको अन्तरले रास्वपा बागमतीको सभापतिमा उत्सव अर्याल विजयी
-
एचआइभी नियन्त्रण र उपचारमा सुधार भए पनि लाञ्छना र विभेद अझै गम्भीर
-
ब्राजिल विरुद्ध मोरक्को : टिम, तथ्यांक र पूर्वानुमान
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण