आइतबार, २३ वैशाख २०८१
ताजा लोकप्रिय

वीरगञ्जमा पेस्तोलसहित एकजना पक्राउ

बुधबार, १८ भदौ २०७६, १८ : ४६
बुधबार, १८ भदौ २०७६

जनकपुर– पर्सा सदरमुकाम वीरगंजबाट एकजना हातहतियार सहित पक्राउ परेका छन् । वीरगञ्ज महानगरपालिका वडा नम्बर १६ ईनर्वा बस्ने सत्यराज योगी उपनाम भएका २६ वर्षीय सन्तोष दास तत्मालाई म्याग्जीन सहितको पेस्तोल १ थान, गोली १७ राउण्ड र सेतो प्लाष्टिकमा रहेको खैरो रंगको धुलो जस्तो पदार्थ अन्दाजी १ सय ७० ग्राम सहित मंगलबार राति प्रहरीले पक्राउ गरेको हो । 

वीरगञ्ज महानगरपालिका वडा नम्बर १३ राधेमाई चोकमा जिल्ला प्रहरी कार्यालय पर्साबाट खटिएको प्रहरीले चेकजाँच गर्ने क्रममा पैदल आउँदै गरेका तत्माले प्रहरीलाई हतियार देखाएर ताक्दै भाग्न लागेपछि प्रहरीले नियन्त्रणमा लिएको थियो । प्रहरीले जवाफी कारवाहीको क्रममा गोली प्रहार गर्दा तत्माको दाहिने घुँडामा गोली लाग्न गई घाइते भएका थिए । 

घाइते तत्मालाई तत्कालै उपचारको लागि नारायणी अस्पताल लगिएको र अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ । वीरगंजमा भयत्रास फैलाउने उद्देश्यले आपराधिक समूहका व्यक्तिहरु हातहतियार गोलीगठ्ठासहित प्रवेश गर्दै छन् भन्ने सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालयबाट खटिएको प्रहरीले उक्त चोकमा चेकप्वाईन्ट खडा गरी चेकजाँच गर्ने क्रममा उनलाई फेला पारेको जनाइएको छ ।

तत्मा यसभन्दा अगाडि आर्थिक वर्ष २०६४/०६५ मा हातहतियार मुद्दामा पुर्पक्षको लागि जेल चलान भएको तथा आर्थिक वर्ष २०६६/०६७ मा पशुपती रोड कैरियर ट्रान्सपोर्टमा काम गर्ने राजेश्वर दुवेलाई गोली प्रहार गरी हत्या गरेको कर्तव्य ज्यान मुद्दामा ८ वर्ष ५ महिना १० दिन कैद सजाय भुक्तान गरेको प्रारम्भिक अनुसन्धानबाट खुल्न आएको प्रदेश २ प्रहरी कार्यालयले जनाएको छ । यस सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप