शनिबार, १५ वैशाख २०८१
ताजा लोकप्रिय

त्रिभूवन अन्तर्राष्ट्रिय विमानस्थलमा थप कडाई, अब आकाशमै विमान होल्ड गरेर बस्नु नपर्ने

सोमबार, ३० भदौ २०७६, २० : ११
सोमबार, ३० भदौ २०७६

काठमाडौं– नेपालको एक मात्र अन्तर्राष्ट्रिय विमानस्थल ‘त्रिभूवन अन्तर्राष्ट्रिय विमानस्थल’(टिआईए) को सुव्यवस्थापनको कामले तिव्रता पाएको छ । भौतिक, नीतिगत, व्यवस्थापकीय र शान्ति सुरक्षाको दृष्टिकोणले विमानस्थललाई व्यवस्थित गरिन लागेको टिआइएले बताएको हो । 

त्रिभूवन विमानस्थलले सोमबार पत्रकार सम्मेलनको आयोजना गर्दै विमानस्थलको समग्र सुधार र भए गरेका प्रगतिको बारेमा जानकारी गराएको छ । एकमात्र अन्तर्राष्ट्रिय विमान स्थललाई ऐतिहासिक बुटिक एयरपोर्टको रुपमा विकास गर्ने प्रधानमन्त्रीको उद्घोषसँगै अहिले कामले तिब्रता पाएको छ । 

नेपाल भ्रमण वर्ष २०२० लाई लक्षित गर्दै अहिले एयरपोर्ट श्रृंगारको काम धमाधम अघि बढिरहेको छ । एयरपोर्टको मुल प्रवेश द्वारदेखि विदेश प्रस्थान आगमन कक्ष र कार्गो कक्षमा समेत विशेष सुधारका कामहरु भैरहेका छन् । 

त्रिभुवन विमानस्थलको धावनमार्ग र ट्राफिक जाम व्यवस्थापनमा समेत सुधार गरिएको विमानस्थलले जनाएको छ । पत्रकार सम्मेलनमा बोल्दै विमानस्थलका महाप्रबन्धक राजकुमार क्षेत्रीले अन्तर्राष्ट्रिय उडान अन्तर्गतको दक्षिणी धावन मार्गलाई थप गरी विस्तार गरिएको र विमान पार्कको लागि समेत स्पेस व्यवस्थापन गरिएकाले अहिले पहिलेजस्तो विमान अवतरणमा समस्या नआउने बताएका छन् । 

‘त्रिभूवन विमानस्थलले धावन मार्ग अन्तरगतको दक्षिणी क्षेत्रमा दुईवटा मार्ग तयार गरेको छ । यसले थप विमान परिचालनमा सहयोग पुर्याएको छ । क्षेत्रीले भने, ‘यसले गर्दा अहिले  पहिले जस्तो आकाशमै विमान होल्ड गरेर बस्नु पर्दैन । धावनमार्गमा विमानको टायर रगडिँदा रगडिँदा चिप्लो हुने र सम्भावित दुर्घटना बढाउने हुँदा त्यस्तो समस्या पनि आउन नदिन समय–समयमा धावन मार्ग पखाल्ने र पुच्छने व्यवस्था समेत मिलाएका छौं ।’


क्षेत्रीका अनुसार हाल विमान स्थलको शान्ति सुरक्षा र सुव्यवस्थापनलाई ध्यानमा राखेर अध्यागमन विभागलाई पनि चुस्त र दुरुस्त बनाइएको छ । जो कोही र जुनकुनै सामान पनि अध्यागमनबाट सजिलै छिर्न नसक्ने गरि शुक्षा व्यवस्था कडाई गरिएका छ । 

कार्यक्रममा बोल्दै त्रिभूवन विमानस्थल सुरक्षा निकायका प्रमुख डिआईजी सूर्यप्रसाद उपाध्यायले पहिलेको तुलनामा अहिले विमानस्थललाई तेब्बर सुरक्षित र व्यवस्थित गरिएको बताए ।  विमानस्थल हाताभरी आवश्यक सुरक्षा जनशक्तिका साथै ३४५ सीसी क्यामेरा जडान गरिएको उनले जानकारी दिए ।

‘पहिले के थियो, कस्तो थियो, तेता नजाउँ । अहिले ९० प्रतिशत विमानस्थलको सुरक्षा व्यवस्था कडाई गरिएको छ ।’ डिआईजी उपाध्यायले भने,‘ विमानस्थलको मुख्य प्रवेश द्वारदेखि अध्यागम कक्ष, लगेज परिक्षण कक्षदेखि एयरपोर्टसम्मको स्थलहरुमा ३४५ सीसी क्यामेरा जडान गरिएका छन् । यसबाहेक १०० क्यामेराहरु जडानकै क्रममा छन् । अझ थप सीसी क्यामेरा जडान गर्ने योजना छ । जसले गर्दा विमानस्थलभित्र र हाताभरी कसैले बदमासी गर्छु भनेर नसोचे हुन्छ । हामीले त्यसको निगरानी राखेका हुन्छौं ।’

सामान, लगेजको चेक जाँच र व्यवस्थापनमा समेत व्यवस्थित मेसिनको प्रयोग गर्न लागिएको उनले बताएका छन् । जसले गर्दा पहिलेको जस्तो लगेज फुट्ने, सामान हराउने वा चोरि हुने समस्या अब नआउने उनले बताए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप