शनिबार, १५ वैशाख २०८१
ताजा लोकप्रिय

राष्ट्रसेवक बन्न आएका थिए प्रशान्त, बने बाजेको सेकुवाको मालिक

काठमाडौं भन्ने नै नचिनेका शेरमानको सेफ यात्रा
शुक्रबार, ०३ असोज २०७६, १० : २७
शुक्रबार, ०३ असोज २०७६

सेकुवा पारखीहरुका लागि निकै चर्चित नाम हो ‘बाजेको सेकुवा’ ।

अझ भन्नुपर्दा मासुको एउटा निश्चित परिकारका लागि नेपालमा ख्याति कमाएको एउटा विशिष्ट ब्राण्ड ।

बाजेको सेकुवाको नाम लिँदै धेरैको मुख रसाउँछ पनि । नेपालमा बिस्तारै ‘रेष्टुरेन्ट कल्चर’ विकासको शुरुवाती चरणमै खुलेको बाजेको सेकुवा अहिले सेकुवा र मासुका अन्य परिकारका पारखीहरुका लागि अत्यन्तै लोकप्रिय ब्राण्ड बन्न पुगेको छ । आधुनिक जीवनशैलीलाई पच्छ्याईरहेका नेपाली र शहरवासीका लागि रेष्टुरेन्ट पछिल्लो समयको एउटा अभिन्न हिस्सा जस्तै बन्न पुगेको छ ।  व्यस्त जीवनशैली बाँच्न विवश शहरवासीका लागि दिउँसोका खाजा होस् या साँझको खाना, पछिल्लो समयको एउटा उत्तम विकल्प रेष्टुरेन्ट नै हो । पारिवारिक भेटघाट वा खानपान होस् या साथीभाइसँगको मिटिङ, रेष्टुरेण्ट एउटा सरल र सहज गन्तव्य हो । र, यस्तै गन्तव्यमध्येका एक हो– चर्चित ब्राण्ड बाजेको सेकुवा ।

पहिले पहिले हरेक पारिवारिक कार्यहरु घरमै हुने गरेपनि अहिले हरेकजसो कार्यक्रम पार्टी प्यालेस, होटल तथा रेष्टुरेन्टमा हुने गरेका छन् । औपचारिक होस् या अनौपचारिक कार्यक्रम र भेटघाट, रेष्टुरेण्ट एउटा सरल र सहज स्थान नै हो । अहिले कसैसँग भेट्नु पर्यो भन्दा पनि कफीगफ वा लन्च ब्रेक मिटिङ भन्ने गरिन्छ । यसको अर्थ हो खानासँगै भेटघाट ।

यतिबेला काठमाडौं उपत्यकामा नाम चलेको सेकुवाको ब्राण्ड अर्थात् बाजेको सेकुवा धेरै ग्राहकहरुको एउटा सरल र सहज गन्तब्य हो । सेवा वा सुविधामा एकरुपता, खानाको परिकारको शुल्क तथा परिमाणमा एकरुपता बाजेको सेकुवाको विशेषता हो । बेलाबेलामा आफैंले खानाको ल्याब टेष्ट गर्ने, कोइला वा मासुको गुणस्तरमा एकरुपता ल्याउन खोज्नु बाजेको सेकुवाको एउटा महत्त्वपूर्ण पाटो हो ।

राष्ट्रसेवक बन्न आएका थिए प्रशान्त, तर बने बाजेको सेकुवाको म्यानेजरदेखि मालिकसम्म

भनिन्छ नि ‘मिहिनेत र धैर्यताले मानिसलाई सफलतातिर डोर्याउँछ ।’ कुनै समय नेपाली सेनामा जवानको जागिर खान भनेर नुवाकोटबाट काठमाडौं छिरेका प्रशान्त लामा अहिले बाजेको सेकुवाको कुमारीपाटी तथा सिनामंगल आउटलेटको मालिक बनेका छन् । १६ वर्षअगाडि बाजेको सेकुवामा हेल्पर, वेटर हुँदै म्यानेजर बनेका प्रशान्त लामाले पहिले सिनामंगलमै एउटा आउटलेट खोले । सिनामंगलको आउटलेटमा ग्राहकले देखाएको रुचि, सद्भाव र मायाले हौसिएका लामाले भर्खरैमात्र ललितपुरको कुमारीपाटीमा पनि बाजेको सेकुवाको १२ औं आउटलेट खोलेर दुईवटा आउटलेटको मालिक बनेका छन् ।

लगनशील र मेहनती प्रशान्तले दुःख र सुखको यात्रालाई आत्मसाथ गर्न सिके बाजेको सेकुवाबाटै । रोजगारी छैन भन्दै विदेशिने आफूजस्ता थुप्रै युवाका लागि एक उदाहरण पनि बने । ‘कडा परिश्रम गर मीठो फल मिल्छ’ भन्ने उक्तिलाई पछ्याएका प्रशान्तले आफ्नो मिहिनेत र परिश्रमको बलबुतामा भविष्यको लय समातिसकेका छन् । यही लयलाई व्यवस्थित गर्दै अगाडि लैजाने बाटोमा दत्तचित्त भएर लागेका छन् प्रशान्त ।

...

२०५९ सालताका देशमा माओवादी द्वन्द्व उत्कर्षमा थियो । त्यही समयमै जागिरको खोजीमा प्रशान्त काठमाडौं हानिएका थिए । तर काठमाडौंमा जागिर पाउनु पनि ठूलै कुरा थियो ।

ग्रामिण भूभागमा हुर्केको कारण र देश द्वन्द्वमा रहेकाले नेपाली सेनामा जागिर पाउन कुनै कठिन थिएन । त्यसकारण प्रशान्त सैनिक बन्ने लक्ष्यका साथ  नुवाकोटको गेर्खुबाट काठमाडौं आए । त्यतिबेला उनको एक मात्र धोको नेपाली सेनामा भर्ती भएर देशको सेवा गर्ने थियोे । तर विडम्बना द्वन्द्वको त्यो भुमरीमा पर्ने डरले उनलाई परिवारले साथ दिएन । सेनामा फारम भरेर उनी भर्ती हुने अन्तिम अवस्थामा थिए । शारीरिक परीक्षणहरु पनि पास गरिसकेका थिए । तर चर्को पारिवारिक विरोधका कारण उनी सेनामा भर्ना भएनन् । अन्ततः वैकल्पिक जागिर खोज्ने क्रममा उनले जागिर पाए एयरपोर्टस्थित बाजेको सेकुवामा ।

सामान्य सहायकको जागिरबाट सुरु भएको उनको सेकुवा यात्रा अन्तत सञ्चालकसम्म आइपुगेको छ । हुन त बाजेको सेकुवामा जागिर गर्दै प्लस टु पढेका लामाले विदेश जाने सोच नबनाएका भने होइनन् । त्यो बेला विदेश जाने लहड निकै थियो । साथीभाइ विदेश जान पासपोर्ट बनाउन थाल्दै गर्दा प्रशान्त भने बाजेको सेकुवामा सेकुवा पोल्नेदेखिका त्योसँग जोडिएका सबै काम धमाधम सिक्न थाले । उनले कामलाई सानो ठूलो भनेनन् ।

देशमै रोजगारीको थुप्रै अवसर छ, सानै किन नहोस् अनि ‘आफ्नै आँगनको बासना मीठो’ भने जस्तै उनलाई देश र घरको मायाले विदेश जानबाट रोक्यो ।

बाजेको सेकुवामा अपरेशन म्यानेजरसम्ममा पुगेका लामाले अब आफैले केही गर्ने सोचसहित कम्पनीसँग सल्लाह लिएर हाल फ्रेन्चाइज मोडलमा दुईवटा आउटलेट सञ्चालनमा ल्याएका छन् ।

प्रशान्तको बाजेको सेकुवालाई फ्रेन्चाइज मोडलमा लैजाने बाटोमा साथ दिएका छन् सेकुवाकै ‘सेफ’ शेरमान गुरुङले ।

आफुसँग भएको सानो रकमले आउटलेट खोल्न अपर्याप्त ठानेर प्रशान्तले अन्य तीन लगानीकर्ताहरु शेरमान गुरुङ, प्रकाश श्रेष्ठ र रोजित श्रेष्ठको साथ लिएका छन् । हाल सिनामंगल र कुमारीपाटीमा सञ्चालनमा आएको बाजेको सेकुवाको आउटलेटमा ती चार जनाको संयुक्त लगानी छ ।

काठमाडौं भन्ने नै नचिनेका शेरमानको सेफ यात्रा

लमजुङबाट २१ वर्ष अगाडि काठमाडौं छिर्दा शेरमान गुरुङलाई काठमाडौँ के हो भन्ने पनि थाहा थिएन । त्यबेला कहाँ कुन उद्देश्यका लागि आएका थिए, उनी आफैलाई थाहा थिएन । सिधा स्वभावका शेरमानको जीवनमा संयोग नै भन्नुपर्छ बाजेको सेकुवाले मान्छे खोजी रहेको रहेछ । कहीँ कतैबाट उनी त्यहाँ पुगे । र, सिनामंगलको एक सटरमा संचालनमा आएको बाजेको सेकुवामा जागिर पाए शेरमानले ।

त्यो समयमा पनि सिनामंगल एयरपोर्ट क्षेत्रमा मानिसको निकै चहलपहल हुने गर्दथ्यो । एकातिर बाजेको सेकुवाले चर्चा बटुल्दै थियो भने अर्कोतिर शेरमान सेकुवा पोल्न प्रखर बन्दै गए । 

२१ वर्षभन्दा बढी भयो शेरमानले बाजेको सेकुवामा सेकुवा पोलेको । अन्ततः सामान्य कामदारबाट सेफ बनेका शेरमानले फ्रेन्चाइज मोडेलमा संचालनमा आएका दुई आउटलेटमा आँफैलेसमत लगानी गर्ने तहमा पुगेका छन् ।

आफ्नो जीवनको उतारचढावलाई हेर्दा शेरमानलाई लाग्छ– मिहिनेतको फल साँच्चिकै मीठो हुँदोरहेछ ! अब उनको उद्देश्य नै आफ्ना ग्राहकलाई उच्चस्तरीय सेवा दिने र बाजेको सेकुवालाई फ्रेन्चाइज शैलीमा विकास गर्दै अगाडि लैजाने छ ।

कुमारीपाटी स्थित ‘बाजेको सेकुवा’ ललितपुरकै पहिलो

शहरका मुख्य मुख्य स्थानमा फ्रेन्चाइज मोडलमा आउटलेटहरु खुल्न थालेका छन् । काठमाडौंकै विभिन्न स्थानमा संचालनमा आएको बाजेको सेकुवाको फ्रेन्चाइज आउटलेट कुमारीपाटीमा यही भदौ ११ गतेबाट संचलनमा आएको हो । कुमारीपाटी स्थित यो ‘बाजेको सेकुवा’ ललितपुरकै एकमात्र आउटलेट हो ।

कुमारीपाटीस्थित बाजेको सेकुवाले तत्कालका लागि २० जनालाई प्रत्यक्ष रोजगारी दिएको छ । ग्राहकको चाहना अनुसार नै व्यस्त बजार क्षेत्र रहेको ललितपुरको कुमारीपाटीमा बाजेको सेकुवाको नयाँ आउटलेट खोलिएको सञ्चालकमध्येका एक प्रशान्त लामा बताउँछन् ।

गुणस्तरीय सेवा र स्वास्थ्यकर परिकार

बाजेको सेकुवा सञ्चालनमा आएको चार दशक नाघिसकेको छ । यति लामो यात्रामा विभिन्न बाधा अवरोध नआएको भने होइन । तर गुणस्तरीय तथा स्वादिष्ठ परिकार र सेवामा कहिल्यै नचुकेको कारण यो ब्राण्ड अन्ततः रेष्टुरेन्ट व्यवसायमा सफल ब्राण्डका रुपमा स्थापित भएको छ ।

विशेष गरेर मासुका परिकार धेरै बन्ने बाजेको सेकुवाले आफूलाई चाहिने मासु आफैँ उत्पादन गर्छ । कमलपोखरीस्थित मुख्य कार्यालयमा खसी काटिन्छ र मासु तयार पारी सबै शाखामा वितरण हुन्छ । उपत्यकाका सबै आउटलेटहरुमा मुख्य कार्यालयबाट नै मासु वितरण गरिन्छ । उपत्यका बाहिरका शाखाहरुमा भने एसओपी (स्ट्याण्डर्ड अपरेटिङ प्रोसिडिउर) पठाएर सोही अनुसारको मासु प्रयोग गर्ने गरिएको छ ।

उनी भन्छन्, ‘आफ्ना ग्राहकहरुलाई स्वस्थ्यकर र एकै गुणस्तरको परिकार पस्कन हामी तल्लीन छौं । त्यसैले पनि स्वास्थ्यकर खसी, कुखुरा लगायतका मासुको लागि उपत्यकामा मुख्य कार्यालयले नै जिम्मा लिँदै आएको छ ।’

त्यसैगरी, बाजेको सेकुवाले खाद्य तथा गुण नियन्त्रण विभागबाट प्रमाणित कोइलाहरुको मात्रै प्रयोग गर्ने गरेको छ । ग्राहकहरुको स्वास्थ्यलाई ख्याल गर्दै मासुका परिकार वा अन्य परिकारमा विशेष ध्यान दिइएको कुमारीपाटीका सञ्चालक प्रशान्त बताउँछन् ।

ग्राहकको मागलाई मध्यनजर गरेर बाजेको सेकुवा कुमारीपाटीले उसिनेको मासुका परिकार तथा सादा परिकारहरु पनि बनाउने गरेको र ग्राहकहरुको चाहना अनुसारका परिकार प्रदान गर्ने गरिएको लामाको भनाइ छ ।

हाल, अन्य आउटलेटहरुमा जस्तै कुमारीपाटीले पनि होम डेलिभरीको समेत व्यवस्था गरेको छ । शहरको ब्यस्त जीवनशैलीका कारण अनलाईनबाटै खानाको अर्डर लिनेहरु पनि बढ्दै गएका छन् । अनलाईन अर्डरका आधारमा होम डेलिभरीको व्यवस्थालाई प्राथमिकता दिइएको लामा बताउँछन् ।

त्यसैगरी कुमारीपाटी आउटलेटलाई आधुनिक शैलीमा आकर्षक इन्टेरियर डिजाइन पनि गरिएको छ । ग्राहकलाई खानासँगै वातावरणले पनि प्रभाव पार्ने भएकाले इन्टेरियरमा ध्यान दिएको प्रशान्तले बताए ।

कुमारीपाटी स्थित आउटलेटले नेपाली खानाको व्यवस्था पनि गरेको छ । व्यस्तताका कारण घरमा खाना खान नभ्याउनेहरुको लागि भन्दै आउटलेटले नेपाली खाना पनि उपलब्ध गराएको हो । त्यसैगरी घर, अफिस, पसल वा अन्यत्र खानाको लागि लन्च सेटको पनि व्यवस्था गरेको छ ।

नो एक्सट्रा चार्ज

बाजेको सेकुवाका परिकारमा औसत मूल्य तोकिएको छ । सर्भिस चार्ज र भ्याटको नाममा अतिरिक्त शुल्क केही नलिने गरेकाले बाजेको सेकुवामा मेनु प्राइसमा नै खान पाइने भएकाले पनि दैनिक बाहिर खानेहरुको लागि बाजेको सेकुकवा सहज गन्तब्य बन्दै गएको सञ्चालकहरुको दावी छ । 

असोजको अन्तिमसम्म १५ प्रतिशत छुट

भदौ ११ गतेबाट औपचारिक रुपमा सञ्चालनमा आएको कुमारीपाटीस्थित बाजेको सेकुवाले असोज महिनासम्म विशेष छुट पनि दिएको छ ।

कुमारीपाटीका संचालक प्रशान्त भन्छन्, ‘हाम्रो यो आउटलेट संचालनमा आएसँगै ओपनिङ अफरको रुपमा असोज महिनासम्म हरेक परिकारमा १५ प्रतिशत छुट दिएका छौं । खानाका पारखीहरुले यसको भरपुर उपयोग गर्न सक्नुहुनेछ ।’

यस्तो थियो बाजेको सेकुवा यात्रा

२०३५ सालमा काठमाडौंको सिनामंगलस्थित एयरपोर्ट गेट अगाडि सानो सटरबाट सुरु भएको थियो बाजेको सेकुवाको यात्रा । खोटाङबाट झापा हुँदै काठमाडौं आएका दीनानाथ भण्डारीले एयरपोर्टको गेटमा सेकुवा बेच्न सुरु गरेका थिए ४ दशक अगाडि नै ।

एयरपोर्ट गेट अगाडि मानिसहरुको भीडभाड निकै हुन्थ्यो, बिस्तारै यो सेकुवा प्रचलित हुन थाल्यो । भण्डारीलाई सबैले बाजे भनेर बोलाउने गर्थे । सबैको प्रिय बाजे बनेका दीनानाथले त्यही स्थानमा सुरु गरे ‘बाजेको सेकुवा कर्नर’ । यसरी सेकुवाको नाम नै बाजेको सेकुवा रहन गएको थियो ।

बाजेको सेकुवा अहिले सिनामंगलमा मात्रै सीमित छैन । नेपालका हरेक मुख्य मुख्य शहरहरुमा यसको आउटलेट बिस्तार भएका छन् । बाजेको सेकुवाले ख्याति बटुल्दै गएपछि यो एउटा लोकप्रिये ब्राण्ड नै बन्न गयो । कमलपोखरीमा मुख्य कार्यालय रहेको बाजेको सेकुवाले ४ दशक पार गर्दा आज काठमाडौं उपत्यका, भरतपुर, पोखरा र वुटवलमा मात्रै होइन, अमेरिकामा समेत सञ्चालनमा छन् ।

सामान्य रुपमा नाम सुन्दा अनौठो लाग्छ, बाजेको सेकुवा । अन्तर्राष्ट्रिय स्तरमा ख्याती कमाएको केएफसी, म्याक डोनल जस्तै ख्याति कमाउने दौडमा रहेको छ, यो नेपाली ब्राण्ड पनि । मासुका परिकारका पारखीहरुका लागि चर्चित नाम र बार्बिक्यु अर्थात् सेकुवाका पारखीहरुका लागि एउटा भिन्न पहिचान बनाएको बाजेको सेकुवा टिनएजरदेखि युवा र परिवारका सदस्यहरुका लागि आकर्षक गन्तव्य बन्दै गएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

टुना भट्ट
टुना भट्ट

टुना भट्ट रातोपाटी अनलाइन टिभीकी  संयोजक तथा समाचार प्रस्तोता हुन् ।

लेखकबाट थप