शनिबार, १५ वैशाख २०८१
ताजा लोकप्रिय

स्वतन्त्रता भनेको उच्छृङ्खलता होइन गगनजी

बुधबार, १३ कात्तिक २०७६, ०९ : ५३
बुधबार, १३ कात्तिक २०७६

रातोपाटी अनलाइन पत्रिकामा गगन थापाले आफ्नो चियापान समारोहमा राखेको धारणा भनेर उहाँको विचार छापिएको रहेछ । शीर्षक छ ‘गीत मन नपरे कान थुन्ने हो, गायक थुन्ने होइन’ । मलाई शीर्षक देख्दा नै गगनको विचारप्रति दया लागेर आयो । के रहेछ त भनेर पुरै लेख पढें, एक पटक होइन, दोहो¥याएर–तेहे¥याएर पढें । लेखमा गीतका कुरामात्र नभएर अरु कुराहरु पनि थिए तर पनि जनताको वैचारिक स्वतन्त्रता र वाक स्वतन्त्रतालाई सरकारले निमोठ्न लाग्यो भन्ने कुरो नै लेखको मूल आसय थियो । गिरिजाप्रसाद कोइरालाले धराशायी पारेर छोडेको र शेरबहादुर देउवाले ध्वस्त नै बनाएको नेपाली कांग्रेसमा गगनजस्ता युवा नेताहरुले केही आशाको किरण ल्याउलान् भन्ने अपेक्षा सबै सच्चा कांग्रेसीहरु र हामीजस्ता स्वतन्त्र र लोकतन्त्रमा विश्वाश गर्ने जनताहरुमा अझै पनि छ । तर पनि उहाँको त्यो धारणा पढ्दा मन अलिकति अमिलो भयो ।


सन्दर्भ थियो– दुर्गेश थापाले गाएको तिहारको गीत अनि -यापर भिटेनले गाएको -याप गीत । दुवैलाई सामाजिक सद्भाव बिगारेको आरोपमा प्रहरीले केही समय थुनामा लियो । दुर्गेशलाई गीत सच्याउने सर्तमा छोडिदियो भने भिटेनलाई छोडे पनि मुद्दा चलाउने तयारी गर्दैछ ।

*****

सरकार जति नै कराए पनि न त तपाईँहरु बोल्न छोड्नु भएको छ, न त पत्रकारले लेख्न छोडेका छन् । अनि, न त मजस्ता स्वतन्त्र नागरिकले विभिन्न मञ्चमार्फत सरकार र नेकपामाथि नियमितरुपमा विष बमन गर्न नै छोडेका छौँ ।

*****

त्यसैलाई आधार बनाएर गगनले सरकारले ‘प्रेसको निब र नागरिकको मुख नियन्त्रण गर्दै छ सरकार’ भन्ने आरोप लगाउनु भएको रहेछ । संख्याको भरमा आफ्नो रुचीअनुसार कानुन बनाएर न्यायालयलाई समेत आफ्नो कब्जामा लिने गरी कम्युनिष्ट अधिनायकवाद लाद्न थालेको शंका व्यक्त गर्नु भएको रहेछ । तर नेपाली जनताले कसरी बिर्सेलान् कि न्यायालयमा राजनीतिकरण शुरु गर्ने काम त कांग्रेसीहरुले महान् नेता भन्ने गरेका आधुनिक नेपालको दुर्भाग्यका सुत्रधार गिरिजाप्रसाद कोइरालाले गरेका हुन् भनेर ।

गगनजी तपाईँलाई थाहा हुनै पर्छ अहिलेको समय भनेको ५०–६० वर्ष अगाडिको समय हैन, जनता धेरै सचेत भइसकेका छन्, विश्व निकै साँघुरिइ सकेको छ । प्रचण्ड र ओलीले चाहँदैमा नेपालमा न त साम्यवाद आउँछ न त तानाशाही व्यवस्था नै । केही सुधार गरौँ भन्ने आशय राखेर गुठी विधेयक ल्याउन खोज्दा त त्यति धेरै विरोध भयो अनि त्यो विधेयक फिर्ता गर्न सरकार बाध्य भयो, पत्रकारको विरोध भएपछि मिडिया काउन्सिल विधेयक पनि सच्याउन बाध्य भयो भने लोकतन्त्र र राष्ट्रलाई दुरगामी असर गर्ने काम सरकारले गर्न थाल्यो भने के नेपाली जनता मुखमा दही जमाएर बस्छ जस्तो तपाईँलाई लागेको छ ? यदि लागेको छ भने तपाईँले नेपाली जनतालाई अझै बुझ्नु भएको छैन ।

सरकार जति नै कराए पनि न त तपाईँहरु बोल्न छोड्नु भएको छ, न त पत्रकारले लेख्न छोडेका छन् । अनि, न त मजस्ता स्वतन्त्र नागरिकले विभिन्न मञ्चमार्फत सरकार र नेकपामाथि नियमितरुपमा विष बमन गर्न नै छोडेका छौँ ।

विपक्षी भन्दैमा सरकारका हरेक कुराहरुलाई विरोध गर्ने होइन, सत्यलाई सत्य भन्न सक्नु पर्छ अनि गलतलाई गलत । एउटै कुरालाई कसैले सत्य देख्न सक्छ भने त्यही कुरालाई अर्को कसैले गलत देख्न पनि सक्छ तर लोकतान्त्रिक राजनीतिको कुरा गर्दा बहुमत जनताले जुन कुरोलाई सत्य देख्छन् त्यही कुरो नै सत्य कहलिन्छ । हुन त अहिले देशमा विपक्ष नै कहाँ छ र ? विपक्षले गर्नुपर्ने आफ्नो काम नगरेर शेरबहादुर जस्ता तपाईँका दलका नेताहरु हत्यारा कार्यकर्तालाई बचाउन लागिपरेका छन् । अहिले तपाईँले पनि त्यही चरित्र देखाउन थाल्नु भयो कि जस्तो भान हुन थालेको छ ।

*****

त्यस्ता गीत पश्चिमी देशमा सायद स्वीकार्य होलान् तर हाम्रो धर्म संस्कृति र समाजमा यस्ता गीतको लागि अझै ठाउँ बनिसकेको छैन । हुन त परिवर्तनलाई रोकेर रोक्न सकिदैँन, तर परिवर्तनको पनि आफ्नै गति हुन्छ, त्यो गतिभन्दा छिटो हुन गयो भने दुर्घटना हुन सक्छ । समयको गतिसँगै कुनै दिन नेपाली समाजले पनि त्यस्ता गीतहरु सजिलै पचाउने समय आउला तर अहिले नै स्वतन्त्रता, आधुनिकता र परिवर्तनको नाममा जथाभावी अन्धाधुन्ध पाराले उच्छृङ्खलतालाई जबर्जस्ती लाद्न खोज्नु भनेको हाम्रो समाजको धर्म र संस्कृतिलाई नै चुनौती दिनु हो ।

*****

ती दुई गीतको बारेमा चर्चा गर्दा, अंझ विशेष रुपमा भिटेनको गीतको बारेमा चर्चा गर्दा, तपाईँले गीत मन नपरे कान थुन्ने हो गायकलाई थुन्ने होइन भन्नुभएको छ । त्यसको मतलब यदि कसैले तपाईँको घर अगाडि आएर निर्लज्ज तरिकाले रतिक्रिडा ग¥यो भने तपाईँ आँखा थुन्नु हुन्छ कि त्यसलाई धपाएर कारबाही गर्नु हुन्छ ता कि उसले दोस्रो पटक त्यस्तो आँट नगरोस् ? यदि त्यो उदाहरण तपाईँलाई अलि कडा लाग्छ भने अर्को सानो उदाहरण दिऔं– यदि कसैले सडकमा आए तपाईँको घर अगाडि दिनदिनै शौच गरेर दुर्गन्ध बढाएको छ भने त्यसलाई तपाईँले हप्काएर पाठ सिकाउनु हुन्छ कि उसलाई केही नभनी सधैं आफ्नो नाक थुनेर हिंड्नु हुन्छ ? त्यो गीतको कुरो पनि त्यही हो । तपाईँले पनि सायद हेरेकै हुनु पर्छ भिटेनको त्यो गीत । तपाईँ आफैँलाई पनि पढ्न लाज लाग्ने शब्दहरु त्यहाँ छन् । त्यही गीत तपाईँ आफ्ना बालबच्चा, दिदीबहिनीहरुले नसुनुन् भन्ने चाहनुहुन्छ कि सबैलाई ‘ए भिटेनको गीत बज्दैछ है, सबैले कान थुनेर बस’ भन्नुहुन्छ ?

गलत आखिर गलत नै हो । त्यस्ता गीत पश्चिमी देशमा सायद स्वीकार्य होलान् तर हाम्रो धर्म संस्कृति र समाजमा यस्ता गीतको लागि अझै ठाउँ बनिसकेको छैन । हुन त परिवर्तनलाई रोकेर रोक्न सकिदैँन, तर परिवर्तनको पनि आफ्नै गति हुन्छ, त्यो गतिभन्दा छिटो हुन गयो भने दुर्घटना हुन सक्छ । समयको गतिसँगै कुनै दिन नेपाली समाजले पनि त्यस्ता गीतहरु सजिलै पचाउने समय आउला तर अहिले नै स्वतन्त्रता, आधुनिकता र परिवर्तनको नाममा जथाभावी अन्धाधुन्ध पाराले उच्छृङ्खलतालाई जबर्जस्ती लाद्न खोज्नु भनेको हाम्रो समाजको धर्म र संस्कृतिलाई नै चुनौती दिनु हो ।

राजनीति फोहरी खेल हो भन्ने गरिन्छ तर मलाई लाग्छ, राजनीति आफैँमा फोहरी खेल होइन । यसलाई त फोहर खेलाडीहरुले फोहरी खेल बनाएका हुन् । खासमा नेपालका राजनीतिक दलहरुले गरेको त राजनीति नै होइन ‘भाज नीति’ हो, जनतालाई भाजन गरेर भोटको व्यापार गर्ने नीति । त्यति हुँदाहुँदै पनि तपाईजस्तो युवा र जुझारु नेतासँग जनताले ठूलै आशा राखेका छन् । त्यसैले तपाई पनि त्यही फोहरी खेलाडी भएर भाज नीतिमा नफस्नुस् । यदि विरोध गर्नु छ भने वाइड बडी जहाज किन्दा भएको अनियमितता र भ्रष्टाचारको विरोध गर्नुस्, हत्याको आरोप लागेका तपाईका दलका सांसदलाई कारबाही गर्न सहयोग पु¥याउनुस् र उनलाई दलबाट निस्कासन गर्नुस् । जनतालाई मन पर्ने, देश विकास र सुशासनमा सहयोग गर्ने काम नगरेर यस्ता झिना मसिना, कुरामा टिप्पणी गर्न थाल्नु भयो भने तपाई पनि झिना मसिना नेताको स्तरभन्दा माथि उठ्नु हुने छैन ।

विपीको सिद्धान्त, गणेशमानको त्याग र कृष्णप्रसादको निष्ठाले गर्दा कांग्रेस अझै पनि अलिअलि घिटी–घिटी गर्दै ज्युँदै छ, तर तपाईजस्ता जनताले आशा गरेका नेताहरुले पनि यस्तै चाला देखाउन थाल्नु भयो भने नेपाली कांग्रेसलाई पनि कुनै दिन ‘इतिहासको महान दल’ भनेर सम्झने दिन नआउला भन्न सकिन्न ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

डा. राजु अधिकारी
डा. राजु अधिकारी
लेखकबाट थप