शनिबार, १५ वैशाख २०८१
ताजा लोकप्रिय

नरेन्द्र मोदीको सुरक्षा घेरा झन् बलियो, गान्धी परिवारबाट हटाइयो विशेष सुरक्षा फोर्स

बुधबार, २७ कात्तिक २०७६, ०० : २२
बुधबार, २७ कात्तिक २०७६

एजेन्सी । भारतीय काँग्रेसको संस्थापक नेतृत्वको रुपमा रहेका गान्धी परिवारलाई लामो समयदेखि उपलव्ध गराईँदै आएको सुरक्षा व्यवस्थापनमा हेरफेर गरिएको छ । भारतीय सरकारले २८ वर्षपछि पहिलोपटक गान्धी परिवारलाई उपलव्ध गराउँदै आएको सुरक्षा व्यवस्थापनमा हेरफेर गरेको हो । गान्धी परिवारलाई २८ वर्षदेखि त्यहाँको विशेष सुरक्षा समूह((एसपीजी)ले सुरक्षा प्रदान गर्दै आएको थियो ।

यो सुरक्षा व्यवस्था कार्यकारी प्रधानमन्त्रीलाई दिइने सुरक्षा सो सरह हो । गान्धी परिवारका लागि अब केन्द्रीय रिजर्व पुलिस फोर्स (सीआरपीएफ) को टोलीले सुरक्षा प्रदान गर्ने जनाइएको छ । भारतीय सरकारको यो निर्णयसँगै अब एसपीजीले सुरक्षा प्रदान गर्ने एक मात्र उच्च पदस्थ नेता प्रधानमन्त्री नरेन्द्र मोदी मात्र भएका छन् । प्रधानमन्त्री मोदी अहिले विशेष सुरक्षा फोर्स (एसपीजी) का ४ हजार कर्मचारीको बलियो घेरामा रहने एकमात्र उच्चपदस्थ व्यक्ति भएका छन् ।

सरकारको यो निर्णयलगत्तै सीआरपीएफले गान्धी परिवारको सुरक्षाको कमाण्ड लिइसकेको छ । गतहप्ता एसपीजीको सुरक्षा हटाइएपछि सीआरपीएफले सोमबार काँग्रेस आईकी अध्यक्ष सोनिया गान्धी र उनका छोरा राहुल र छोरी प्रियंकाको सुरक्षा जिम्मेवारी लिएको अधिकारीहरूले जानकारी दिएका छन् ।

भारतीय सुरक्षा अधिकारीहरुका अनुुसार केन्द्रीय अर्धसैनिक बलको एउटा टोली सोनिया गान्धीको आवासमा बस्न थालेका छन् । सुरक्षाकर्मीहरुसँग इजरायली एक्स ९५ लगायतका अत्याधुनिक हतियार रहेको समेत बताइएको छ ।
त्यसैगरी सीआरपीएफको टोली सांसद राहुल गान्धीको तुगलक लेन र प्रियंका गान्धीको वाड्राको घर लोधी एस्टेटमा तैनाथ भएका छन् । अधिकारीहरुका अनुसार यसमा विशेषज्ञ कुकुरहरूको टोली पनि छ, जसले तीन काँग्रेस नेताहरूको परिसरको विशेष सुरक्षा गर्नेछ भने एसपीजीले सीआरपीएफलाई केहि दिनको लागि सुरक्षामा मद्दत गर्नेछ ।

एसपीजीले केही समय सहयोग उपलव्ध गराएपछि सीआरपीएफ सुरक्षा टोलीले दिल्ली पुलिस र राज्यका विभिन्न पुलिस बलको सहयोगमा स्वतन्त्र रूपमा सुरक्षा प्रदान गर्ने अधिकारीहरुले जानकारी दिएका छन् । सरकारले गतहप्ता मात्र गान्धी परिवारलाई उपलव्ध गराउँदै आएको एसपीजी सुरक्षा टोली फिर्ता लिने निर्णय गरिएको थियो । यो निर्णयसँगै गान्धी परिवार २८ बर्षपछि पहिलोपटक एसपीजी सुरक्षा बिनाको भएको छ  ।

 सीआरपीएफ भारतमा चर्किरहेको नक्सलाईट आन्दोलन दबाउन र आन्तारिक सुरक्षा सञ्चालनका लागि निर्माण गरिएको सुरक्षा फोर्स हो । यो प्रमुख सुरक्षा बलले अहिले भारतमा लगभग ५२ जना भीभीर्आपीहरुको सुरक्षाको जिम्मेवारी लिएको छ । यसमा केन्द्रीय गृहमन्त्री अमित शाह, पूर्वप्रधानमन्त्री मनमोहन सिंह र उद्योगपति मुकेश अम्बानी र उनकी श्रीमती नीता अम्बानी लगायत पर्छन् । 

विशेष सुरक्षा समूह (एसपीजी) को गठन सन् १९८८ मा गठन भएको थियो । यो फोर्स गठनको उद्देश्य तत्कालीन प्रधानमन्त्री र उनको परिवारसहित विशिष्ट व्यक्तिलाई विशेष सुरक्षा प्रदान गर्नु थियो। यसको पहिलो आवश्यकता सन् १९८४ मा पूर्वप्रधानमन्त्री इन्दिरा गान्धीको हत्या भएपछि महसुस भएको थियो।

उनको हत्यालगत्तै सरकारले सीबीआईको विभागको रूपमा सीधा केन्द्र सरकारको अधीनमा विशेष सुरक्षा टोली गठन गर्ने निर्णय गरेको थियो । एसपीजीको गठन हुनुअघि प्रधानमन्त्रीको सुरक्षाको जिम्मेवारी दिल्ली पुलिसको विशेष शाखाले लिने गरेको थियो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप