शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

युवतीलाई बलि दिन खोजिएको प्रकरणः एकाएक जब आरोपीले खोले मास्क !

बिहीबार, १० पुस २०७६, १५ : १७
बिहीबार, १० पुस २०७६

काठमाडौँ । मोडलिङ गर्ने भन्दै एक युवतीलाई प्रलोभनमा पारेर बलि दिने कार्यमा प्रयोग गर्न खोजेको आरोपमा पक्राउ परेकाहरुलाई बिहीबार प्रहरीले सार्वजनिक गरेको छ । 

पत्रकार सम्मेलनमा आरोपीले उल्टै प्रहरीलाई अपराध पुष्टि गर्न चुनौति दिएका छन् । आरोपीमध्येका एक उमेश साहले आफूहरुलाई बिना आधार पक्राउ गरिएको भन्दै पत्रकार सम्मेलनमै आक्रोश पोखेका हुन् । 

पत्रकार सम्मेलनपछि ७ आरोपीलाई प्रहरीले महानगरीय प्रहरी परिसर काठमाडौँको प्राङ्गणमा ल्यायो । हत्कडी र मास्कसहित सार्वजनिक गरिँदै गर्दा एकाएक उमेश मास्क खोल्दै चिच्याउन थाले । उनले भने, ‘हामी अपराधी हो भनेर प्रहरीले कसरी पुष्टि गर्न सक्छ । हामीले त्यस्तो कुनै गल्ती नगर्दा पक्राउ गर्ने काम भएको छ ।’ 

उनले मास्क खोलेर एकाएक चिच्याउन थालेपछि प्रहरीले सबैलाई हतार–हतार हिरासत कक्षतर्फ लगेको थियो । प्रहरीले हतार हतार उमेशसहितलाई भित्र लैजाँदा पनि उमेश भन्दै थिए, ‘हामीलाई प्रहरीले कसरी दोषी करार गर्दौ रहेछ हामी पनि हेर्छौँ ।’ 

अन्य आरोपीले पनि आफ्नो मास्क नखोली पक्राउको प्रतिवाद गरिरहँदा साहले भने एकाएक मास्क खोलेर चिच्याउँदै आरोपको प्रतिवाद गरेका हुन् । 

प्रहरीले भने काठमाडौँमा मोडलिङ गर्ने भन्दै युवतिलाई बलि दिने योजनाका साथ भारतको बिहान पुर्याउने कार्यमा संलग्न भएको पाइएकाले उनीहरुलाई पक्राउ गरिएको बताएको छ । 

उमेश सप्तरी राजबिराजका हुन् । उनीसँगै कावासोती नवलपरासीका २६ वर्षीय कृष्ण तामाङ, दाङ घोराहीका २४ वर्षीय दिलकुमारी बुढामगर, सप्तकोशी ११, सप्तरीका ३५ वर्षीय उमेश माझी, धादिङ झार्लाङका २३ वर्षीय प्रेमा तामाङ र गढी गाउँपालिका सुनसरीका ३७ वर्षीय रञ्जितकुमार चौधरी पनि पक्राउ परेका छन् । 


उनीहरुले एक युवतीलाई मोडलिङ गर्नका लागि छानिएको र नेपाल भारत सीमामा डकुमेन्ट्रीको छायांकन गर्ने भन्दै त्यसबापत मोटो रकम दिने प्रलोभन दिएर विराटनगरसम्म पुर्याएका थिए । 

उनीहरुको प्रस्तावमा स्वीकार गरेकी युवतीले पछि शंका लागि महानगरीय प्रहरी परिसर टेकुमा मौखिक उजुरी दिएपछि प्रहरीले गिरोहमाथि निगरानी बढाएको थियो । त्यसलगत्तै युवतीलाई विराटनगर सीमाबाट जोगबनी हुँदै बिहारको मन्दिरतर्फ लैजान लागिएको अवस्थामा प्रहरीले पुस ७ गते राति साढे ९ बजे विराटनगरबाट  पक्राउ गरेको हो । 

प्रहरी स्रोतका अनुसार भारत बिहारस्थित एक मन्दिरका बाबाले ६ फिट अग्लो उचाई भएकी युवती मगाएका थिए । उनले युवती मासु र रक्सी खाने हुन नहुने, महिनावरी नभएको समय हुनुपर्ने र शरीरमा कुनै खत भएको वा घाउचोट नभएको हुनुपर्ने बताएका थिए । 

युवती ल्याएवापत मोटो रकम दिने भनेपछि विराटनगर ८ मोरङका ५१ वर्षीय दिलिप पोद्दारले यो सबै प्रपञ्च रचेका थिए । यो घटनाको मास्टरमाइन्ड र डिजाइनर सबै पोद्दार रहेको प्रहरीको दावी छ । 

पोद्दार र भारत बिहारस्थित एक मन्दिरका बाबाबीच टेलिफोनमा पटकपटक संवाद भएको पाइएको प्रहरीले बताएको छ । प्रहरीले बाबाकाे पहिचान भने खुलाएकाे छैन । 

 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप