केन्द्रीय संस्करण

रने दाइको भ्यालेन्टाइन

personaccess_timeFeb 14, 2020 chat_bubble_outline0

दीपक घिमिरे

एकपछि अर्को चुरोटको खिल्ली सल्काउँदै धुवाँ आकासतिर फुकिरहेका रनेदाइलाई सोधेँ, “के भो, किन उदास यार ?”

बचेको सानो ठुटो भुइँमा अचेटेर निभाउँदै भने, “भ्यालेन्टाइन डे आयो, उसको बहुत याद आइराखेको छ ।”

नबुझे जस्तो गरेर सोधेँ “कसको ?”

  उनी खिस्स हाँसे अनि भने, “मजाक नगर के यार !”

मैले उनको मोबाइलतिर आँखा पु¥याएँ, उनले मोबाइल लुकाउन खोज्दै भने, “बिहानदेखि हेर्दैछु, अनलाइन नै आउँदैने ।”

उनले फेरि अर्को खिल्ली चुरोट सल्काए । नाकका प्वालबाट धुवाँ निकाल्दै भने, “नेपाल जाने कोही छ तिम्रो ?”

मैले मुन्टो दायाँबायाँ हल्लाउँदै भने, “नाइँ छैनन् यार ! किन र ?”

उनले मोबाइलको स्क्रिनमा भएको फोटो देखाउँदै भने, “उसलाई  यो आइफोन अनि यो स्मार्ट वाच पठाउने विचारमा छु ।”

 मैले उनको हातबाट मोबाइल लिएँ अनि हेरेँ लामो सास फेर्दै भने “यति महँगो गिफ्ट ! दुई लाख बराबर खर्च गर्ने भयौ है ?”

उनी फिस्स हाँसे, आकासतिर फर्केर फुरुरु धुवाँ उडाए अनि भने, “प्यारमा पैसाको कुरा आउदैन बे ! उनी खुसी हुन प-यो ।”

मैले ओठ ल्याप्र्याक्क पारेँ । मनमनै हिसाब लगाएँ, “करिब डेढ लाखको मोबाइल अनि सत्तरी हजारको स्मार्ट वाच ।”

उनको मोबाइलमा म्यासेन्जर कल आयो, उनी चुरोटको ठुटो भुइँमा अचेटेर उठे अनि अलि पर भएको कुर्सीमा बसेर गफमा मस्त हुन थाले ।

रनेदाइ ! चार वर्षअघि अमेरिका छिरेका हुन् उनी । उमेरले पैँतीस काटे पनि अहिलेसम्म अविवाहित नै छन् । ग्रिनकार्ड भएपछि नेपाल गएर धुमधामसँग बिहे गर्ने सपना देख्न थालेको पनि धेरै भयो तर अहिलेसम्म कार्ड आएको छैन ।

नेपाल हुँदै प्रेममा परेका रनेदाइले कमाइको केही हिस्सा उनकै प्रेमिकाका लागि खर्चिन्छन् । कहिले सामान त कहिल्यै पैसा ।

पोहोर साल स्कुटी किनिदिएका थिएँ, त्योभन्दा अघिल्लो वर्ष सुनका गहना अनि यो वर्ष महँगो मोबाइल अनि महँगै घडी पठाउने सोचमा छन् । तर उनी कहिले हिसाब गर्दैनन् । उताबाट अफर आयो भने रनेदाइले पु¥याएरै छाड्छन् ।

“सुन न भाइ !” रनेदाइले कोट्याउँदै केही सोध्न खोजे ।

“यहाँबाट कुरियर गरेको सामान नेपाल पुग्छ ?” फोन काटेर आएका रनेदाइले कुरियर गरेरै भए पनि भ्यालेन्टाइन गिफ्ट पठाउने सोचमा पुगेको प्रष्टै भयो ।

मैले थाहा नभएको कुरामा कसरी सल्लाह दिनु, नबुझे जस्तै गरी भन्दिएँ “खै त बड्डा ! मलाई त्यति थाहा छैन ।”

छुट्टीको दिनसमेत तनावमा देखिएका रनेदाइले विभिन्न साथीहरुलाई फोन घुमाए । अनि अन्त्यमा फेसबुकमा एउटा स्टाटस लेखे “तुरुन्तै नेपाल जाने कोही हुनुहुन्छ भने प्लिज ! मलाई खबर गर्नु होला । अत्यन्तै जरुरी काम छ ।”

स्टाटस पोस्टेर हामी दुईभाइ बाहिर निस्कियाँै । उनले सधैँजसो आफ्नो प्रेमिकाको बयान गर्न थाले ।

“मा कसम भाइ ! मलाई पाइन भने मोर्चु भन्चे यार ।” रनेदाइले गफ चुट्न थाले । “पैला आफ्नो खुट्टामा उभियौ भने बिहे गर्चु भनेको हुनाले त्यतिबेला बिहे गरिएनँ, अहिले कार्ड नहुँदा नेपाल जान नसकेर बिहे हुन सक्या छैन तर लास्टै माया गर्ची यार कसम ।”

रनेदाइका कुरा अनुसार उनीहरुको जोडी निक्कै मिलेको थियो । दुवैले एकअर्कालाई खुबै माया गर्थे ।

मोबाइल पसलमा छिरियो, भर्खरै लन्च भएको आइफोन अनि एप्पलकै स्मार्ट वाच किनियो । गिफ्ट पेपरमा बाँधेर काउन्टरमा पैसा तिर्दा रनेदाइको मुहारमा मुस्कान थियो, म तनावमा थिए ।

साच्चै प्रेममा मूल्यको महत्त्व हुँदो रहेनछ । नेपाली रुपैयाँ अनुसार दुई लाखभन्दा माथिको गिफ्ट किनेका रनेदाइ मुस्कुराउँदै बाहिरिए, म चाहिँ बाफरे भन्दै बाहिरिएँ ।

रनेदाइले अघि लेखेको स्टाटसमा दर्जनौँ कमेन्ट थिए । तीमध्ये एकजना पर्सि नेपाल जाँदै रहेछन् । भ्यालेन्टाइनकै दिन प्रेमिकाको हातमा गिफ्ट पुग्ने भएर रनेदाइ मख्ख परे ।

आधा घण्टाको दूरीमा बस्ने विजयको डेरामा पुगेर सामान जिम्मा लगाइयो । प्रेमिकाको लागि भ्यालेन्टाइन गिफ्टको चटारो सकिएकाले रनेदाइ सुइय सुस्केरा हाल्दै भने “आफू रोएरै भए पनि उनलाई हसाउन पाउँदा जीवन सफल भएको जस्तै लाग्च् यार । कहिले नेपाल जाउँला अनि बिहे गरेर आफ्नो बनाउला भन्ने सपनाले कहिल्यै निदाउन दिँदैन यार ।”

उनी चिन्तित पनि देखिए ।

दैनिक भिडियो कल, लामो  म्यासेन्जर च्याट गर्दै दिनहरु बित्दै थिए । सुरुवातीका सातै दिनबाट उनीहरु भ्यालेन्टाइन स्पेसल बनाउँदै थिए ।

म लास्टै भाग्यमानी हँु यार !” एक्कासि बिस्तराबाट उठेर रनेदाइ कोठाभरी मुस्कान छर्न थाले ।

“हैन के भो रन्दाइ ? मैले सिरकभित्रैबाट सोधेँ ।

“विजयले आज प्रपोज डेकै दिन मेरो सामान उनलाई दिएछ । उनले म्यासेज लेख्या छिन ।” रनेदाइ मेरो नजिक आएर म्यासेज देखाउन थाले ।

कालू ! तिम्ले पठाएको भ्यालेन्टाइन गिफ्ट पाए । आई लभ यु मेरो माया ।” उताबाट यस्तै म्यासेज आएको थियो ।

रनेदाइले आज बेलुका रुममा सबैलाई पार्टी दिने भए । उनी यस्ता पार्टी बेलाबेलामा दिइरहन्छन् । उता उनी खुसी भएको मौकामा यता हामी रनेदाइको पार्टीमा रमाउने चलन चल्दै आएको छ ।

 प्रपोज डेमा सामान दिएर भ्यालेन्टाइन डे स्पेसल बनाउने तयारीमा हामीलाई समेत खुसी पारेका रनेदाइ दुई दिनदेखि फेरि तनावमा थिए । कामको व्यस्तताले उनीसँग बोल्न पाइएको थिएन । आज छुट्टीको मौका पारेर उनको उदासी बारे सोधेँ ।

“ऊ अनलाइन नै आएकी छैन, फोन पनि अफ छ ।” निरास हुँदै रनेदाइले बताए ।

गोजीबाट चुरोट निकाले अनि सल्काएर उस्तै धुवाँ उडाउन थाले । रनेदाइ तनावमा भए भने चुरोट धेरै पिउँछन् । उनको सिरानीतिर भएको चुरोटको एस्ट्रेमा भएका ठुटाले प्रष्ट पार्दै थियो कि रनेदाई पीडामा छन् ।

उनले फेरि फोन ट्राई गरे तर अँह ! लागेन । फोन स्विच अफ थियो । बिहे गर्ने पक्का भएकी प्रेमिकालाई प्रपोज डेमा गिफ्ट दिएका रनेदाइ आज किस डेमा मज्जाले किस गर्ने सोचमा थिए होलान् तर विचराको त्यो सपना पूरा हुन सकेन । तनावै तनावले बेलुका सुतियो ।

 भ्यालेन्टाइन डे ! हरेक प्रेम गर्ने जोडीहरुका निम्ति महत्त्वपूर्ण पर्व । आफ्ना सारा खुसी मारेर प्रेमिका हसाउन चाहने रनेदाइका निम्ति दसैँ भन्दा महत्त्वपूर्ण दिन । गएका वर्षका भ्यालेन्टाइन डेमा छुट्टी लिएर बस्ने अनि मज्जाले प्रेमिकासँग गफिने रनेदाइले यो वर्षको भ्यालेन्टाइनमा पनि छुट्टी लिए ।

 हामी डिउटी गयौँ, बेलुका भ्यालेन्टाइन स्पेसल पार्टी रुममै थियो । आयोजक रनेदाइ नै थिए । हामी मुख मिठ्याउँदै डिउटी सक्यौँ । बेलुका रुममा पुग्यौँ ।

रनेदाइ फिटान भएर बिस्तरामा ढलेका थिए । टेबुलमा बियरका खाली बोतलहरु छरपष्ट थियो । आधा खाएर फालेका मासुका टुक्रा छरपष्ट थिए । कराईमा टन्न मासु थियो । फ्रिजमा दर्जनभन्दा बढी बियर थियो ।

नशाले अचेत बनेका रनेदाइलाई उठाएनौँ, हामीले रनेदाइको प्रेमको अझ धेरै सफलताको कामना गर्दै बियर पियौ, मासु चपायौ । हामी विवाहितहरुका निम्ति यस्ता भ्यालेन्टाइन डे फ्वासे लाग्दथे । खाने रमाउने हाम्रा योजनाभित्र पर्दथे । तर रनेदाइ जस्ता अविवाहितहरुका निम्ति भ्यालेन्टाइन डे खास दिन थियो । त्यसैले त परदेशमा पनि दसैँजस्तै रमाइलो गर्दै थिए ।

राति रमाइलो गरेर सुतियो, बिहानै रनेदाइ रोएको आवाज मैले सुने । बिस्तरामै ढलेर रोइरहेका रनेदाइको आवाजले अरू साथीहरु पनि बिउँझिए । सबैले एकै साथ सोध्यौँ “रनेदाई ! किन रोको ?”

“ऊ अर्कैसँग हिडी अरे ! उसको चक्कर गाउँकै केटासँग रहेछ । मेरो गिफ्ट पाएको पर्सि पल्ट ऊ त्यही केटासँग भागेर बिहे गरी अरे ।” रनेदाइ भक्कानिदै रुन थाले ।

हामी सबै ट्वाँ प¥यौँ । वर्षौंदेखिको प्रेम झुटो ठहरियो । पैसाका लागि रनेदाइलाई माया गरेको जस्तो गर्ने ती केटीको चक्कर अर्कैसँग चलेको बिचरा परदेशमा बस्ने रनेदाइलाई सुईकोसम्म थिएन ।

विचरा रनेदाइलाई भ्यालेन्टाइनकै दिन प्रेमिकाले रुवाएपछि कैयौँ दिनसम्म हाँस्न सकेनन् । आजभोलि हामी रनेदाइलाई भ्यालेन्टाइन डेको बेला जिस्काउँन थाल्छौँ, उनी भन्छन् “तैट ! केको भ्यालेन्टाइन डे ? परदेशमा हाम्लाई एउटा डिउटी डे अनि अर्को छुट्टी डे ।

रातोपाटीको अंग्रेजी, हिन्दीग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।

कमेन्ट

कमेन्ट गर्नेहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.
Loading comments...