केन्द्रीय संस्करण

‘जूनेलीले हिँडेको गोरेटो’

person explore access_timeबैशाख १५, २०७७ chat_bubble_outline0

रिमा केसी

पुसको मध्य जाडो छ । चारैतिर चिसो सिरेटो चलिरहेको छ, मानौँ काठमाडौँ जै कठ्याङ्ग्रिएको छ । चिसोले मलाई एकदमै सताउँछ । हात गोडा सुन्निएका छन् । टाउको रमरम दुखिरहेको छ । जाडो महिनाभर रुघाले मलाई बेपत्तासँग माया गर्छ ।

दिनभरि अफिसको कामको चटारोले लखतरान थिएँ । कतिबेला कोठामा पुगेर सिरकमा गुटमुटिउँ झैं भइरहेको थियो । उता, शहर आफ्नै नियमित दौडधूपमा व्यस्त थियो । केही कुराको वास्ता नगरी म भने हतार–हतार कोठामा पुगेँ । अफिसको ड्रेस चेन्ज गरेँ । एक श्वासमा किचनमा पुगेर तातोपानी तताएँ ।

हत्तपत्त गिलासमा पानी खन्याएँ र सञ्चोको केही थोपा हालेँ । अनि आफ्नो बेडमा सिरकभित्र पसेर सुस्ताउदै फेसबुक लगइन गरेँ ।

फेसबुकले नयाँ फ्रेन्ड रिक्वेस्ट आएको जनाऊ दियो । म अक्सर नचिनेका मानिसहरुको फ्रेन्ड रिक्वेस्ट असेप्ट गर्दिनँ । हेर्दै जाँदा एउटी महिलाको पनि रिक्वेस्ट रहेछ । नाउँ थियो जूनेली । अरुभन्दा अलि फरक नाम थियो र नाउँमै थियो गाउँको सुगन्ध । त्यो नामले मलाई चुम्बकले झैँ आकर्षित ग¥यो । प्रोफाइलमा गएर हेरेँ । चिनेचिने जस्तो पनि नचिने नचिने जस्तो पनि । नामबाट कताकता अपनत्वको भावनाले मलाई अँगाले जस्तो लाग्यो र मैले असेप्ट गरें ।

केही मेसेजहरु पनि रहेछन् । इनबक्स खोलेर हेर्दा उसको लामो चिठी नै पो रहेछ ।  चिठ्ठी पढ्न सुरु गरेँ । आँखाहरु एकाएक वर्खेभेलजस्तै भरिएर आए । पुरानो यादका तस्वीरहरु आँसुका ढिक्कासँगै सल्बलाउन थाले  आँखामै । मेरो आँखासामु अतीतका ती दृश्यहरु चलचित्रको पर्दाजस्तै एकपछि अर्का गरी नाच्न थाले । मेरो शरीर ओछ्यान थियो तर मेरो मन भने खरायोलेझैं बुर्कुसी मारेर स्कुले दिनहरुमा पुगिसकेको थियो ।

हरेक दिन जस्तै त्यो दिन पनि ऊ स्कुलको गेट बाहिर कुरेर बसिरहेकी थिइन् ।  कति दिनदेखि ऊ सधै त्यहीँ देखिन्थी । अनुहारमा गहिरो सुरुङजस्तो उदासी पोतिएको थियो तर आँखामा जिन्दगीको रहस्य खोतल्ने उत्सुकता । उसका आँखाहरुले मलाई सधैँ विचलित बनाउँथे तर म खासै वास्ता नगरी खुरुखुरु घरको बाटो लाग्थेँ । उसका ओठहरु सधैँ मसँग कुरा गर्न खोजिरहेका जस्ता देखिन्थे ।

एकदिन स्कुल छुट्टी हुनासाथ म घरजान हतारिँदै थिएँ । मलाई देखेर मुसुक्क मुस्कुराइ प्रतिउत्तरमा म नि  मुस्कुराएँ ।

नजिक गएँ अनि सोधेँ, ‘कति दिनदेखि तिमीलाई यहीँ देखिराछु । तिम्रो नाम के हो  ? घर कहाँ हो ? सधैँ स्कूल बिदा हुनेबेला तिमी किन यहाँ आउँछौ ?’ सब प्रश्न एकै श्वासमा शोधेछु ।

अन्जान शहरमा आफन्त भेटिएजस्तो खुशीले फुरुङ्ग हुँदै बोली, ‘जुनेली हो मेरो नाम । घर यही चिस्बाङ्ग हो । मलाई तपाईंसँग भेट्न बोल्न मन लागेर आएकी । सधैँ बोलाउन खोज्छु तर सक्दिनँ अनि फेरि घर जान्छु ?’

‘हिँड जाऊँ सँगै परसम्म,’ भन्छु म  । ऊ खुट्टा खोच्याउँदै हिँड्न खोज्छे ।

‘के भाको तिम्रो खुट्टा ?’

मेरो प्रश्न सुनेर आँखा भरी आँशुको समुद्र उर्लिन्छ । हावाको बेग आउन मात्र बाँकी हुन्छ सुनामी आउनलाई ।

यत्तिकैमा मिराले हातमा तानेर लैजान्छे । आज घर जान ढिलो भएन तँलाई ? यस्ती लङ्गडीको पछि लागेर बस्छेस् ?’

म उस्का आँखा हेर्दै बिस्तारै बिस्तारै ओझेल पर्छु ।

त्यो रातभर सुत्न सकिनँ । उसका टिलपलिएका मासुम आँखाहरु आँखावरिपरि आइरह्यो । खोइ किन जीवनमा पहिलो चोटी त्यो केटी र उसका आँखाहरुले मेरो रात बिथोलिदिए । मुटुमा खिल बसेजस्तो भयो । पढ्न पनि मन लागेन मलाई त्यो दिन । बिहान उसलाई भेट्ने हतारोमा फेरि स्कुल गएँ ।

गेटमा हेर्छु कतै अत्तोपत्तो थिएन । दिनभर कक्षामा पढाइमा भन्दा गेट बाहिरकी त्यही केटीमा थियोे मेरो पूरापूर ध्यान । त्यो दिनको क्लास एक  महिना जस्तो लाग्यो मलाई ।

घण्टी बज्नासाथ बाहिर निस्कएँ । उसलाई खोजेँ तर कही फेला पारिनँ ।

म जाँगर ओइलाएको खुट्टाले बिस्तारै घर फर्किएँ । भोलि त पक्कै आउँली भन्ने आश लिएर ।

भोलि पनि छुट्टी हुने बित्तिकै गेटतिर दौडिए । पर ठूलो ढुङ्गामाथि बसेकी रहेछिन् ।

खरी ढुङ्गाले जानी नजानी उल्टोपाल्टो लेख्दै गरेकी जूनेली । म मुस्कुराउँदै ऊ नजिकै पुगेँ । ऊ पनि मुसुक्क हाँसी ।

‘हिजो किन नआकि तिमी ?’

ऊ डाँको छाडेर रुन्छे ।

‘के भो ? किन रोएकी ?  भन न के भो ?’

‘आमाले गाली गर्नु भो ? तिमी स्कुल किन जाँदैनौ ?’

आँधी पछिको सन्नाटाजस्तै एक छिनको रुवाइपछि आफै शान्त हुन्छे ।

बिस्तारै बोल्न थाल्छे ।

‘मेरो आमा म सानो हुँदै मर्नु भो ।

सानी आमाले माया गर्नुहुन्न । गाली गरिराख्न्नुहुन्छ मलाई नजिक परेको देखि सहनुहुन्न । पिट्नु हुन्छ मलाई । घरको काम गरेर फुर्सद नै हुँदैन ।

म कसरी स्कुल जानुँ ? फेरि मलाई कसले पढ्न दिन्छ र ? भाइले मात्रै पढ्नुपर्छ भन्नुहुन्छ बा पनि ।

मलाई कस्ले किनिदिन्छ र कापी, किताब र झोला ?

मेरो ड्रेस छैन ।

चप्पल छैन ।

मलाई माया गर्ने कोही त छैन ।

मेरो दाइ इन्डिया गयो पैसा कमाउन भनेर फर्केर आको छैन ।

दिदिको बिहे भयो कहिलेकाहीँ मात्र आउनुहुन्छ ।

घरमा एउटी लाटी दिदी छे ।

अनि म छु ।

लङ्गडी भन्छन् सबैले मलाई ।

पेटभरी खान त पाइन्न हाम्रो घरमा ।

तिम्रो कस्तो राम्रो झोला है?

कति राम्रो ड्रेस, रिबन अनि चप्पल

सबै नयाँ रहेछन् ।

मैले त नयाँ लुगा नयाँ चप्प्ल कहिल्यै लगाउन पाउन्न  ।

मलाई नि तिमी जस्तै बन्न रहर लाग्छ नि ।’

म उसलाई सुनिरहेको थिएँ । उसका हरेक कुराले म चोइटिरहेको थिएँ ।

मेरो आँखा अघिदेखि भरिएका थिए, कति बेला बाँध भत्कियो थाहा नै पाइनँ ।

‘ला ! तिमी त रोएछौ त ? के भो? मेरो घाउ देखेर हो ?’

‘उम्म कसरी भो घाउ ?,’ मैले सोधेँ ।

यो म पाँच वर्ष कि हुँदा पिलो आएको रे ।

बुवाले अस्पताल लाने भन्नू भएको रे । आमाले आफै ठीक हुन्छ पर्दैन लैजानु  भन्नू भो रे अनि यस्तै भएको रे । पाकेर सधैं घाउबाट पिप र रगत आउँछ नि मेरो । टालो बाँधेर हिँड्छु म ।’

‘नरोऊ है तिमी । मेरो कुराले तिम्रो मन दुखाइदिएँ ।’

मैले हस् भनेँ ।

तर, मन भित्र भुकम्प आइरहेको थियो ।

‘तिमी मेरो साथी बन्छौँ ?’

‘साथी ?’

‘म साथी हुन सक्छु तिम्रो ?’

उम्म् ।

हात मिलाऊ ।

दुबैले हात मिलायौँ ।

ल म घर जान्छु । भोलि भेट्ने है ढिलो भयो आज आमाले गाली गर्नु हुन्छ मलाई  ।

हस, हुन्छ ।

भोलि पनि कुर्छु है तिम्लाई ।

तिम्रो नाम के हो नि ?

मैया ।

बाइ बाइ मैयाँ

भोलि भेटौँला !

आज त मैले क ख लेख्न सिक्दै छुँ नि ।

ए हो र?

ल–ल हेर त यो भयो कि भएन ?

उल्टो भयो ।

पर्ख म सिकाउँछु तिमीलाई । यी लेउ तिम्लाई कापी र कलम । क ख लेख्न सिकाउँछु म ।

यसरी ऊसँग मित्रता गाँसेपछि दिनहरु बितेको पत्तो नै पाउदिनँ थिएँ । मलाई कतिबेला छुट्टी होला र उसँग भेटुँला भन्ने ध्याउन्न मात्रै हुन्थ्यो ।

आमासँग भनेर म उसलाई किताब किनेर लग्दिएँ ।

हामी संगै खेलथ्यौँ, खान्थ्यौँ ।

म उसलाई मेरो घरमा बोलाउँथे । आमाले पनि निक्कै माया गर्नु हुन्थ्यो उसलाई ।

म घरमा चोरी चोरी खाने कुरा र लुगा लग्दिन्थे ।

म उस्लाई आफुले जानेको कुरा पढ्न र लेख्न सिकाउँथे ।

एक दिन मेरो सरसँग उसको पढाइको बारेमा कुरा गरेँ र सरलाई लिएर उस्को घर गएँ ।

आमा पनि सँगै जानुभयो ।

मनमा डर लागिरहेको थियो तै पनि उसको पढाइको लागि युद्ध लडिरहेकी थिएँ ।

सम्झाइ बुझाइ बल्लतल्ल । केही पैसा सर र आमाले तिरिदिने सहमतिमा उसको स्कुल भर्ना हुने अनुमती मिल्यो ।

 

मेरो खुशीले सीमा नाघेको दिन थियो मानौँ कुनै ठूलो युद्ध जितेर फर्केको थिएँ म त्यसदिन ।

यति खुशी त म कक्षामा प्रथम  हुँदा पनि भएको थिइनँ ।

ऊ पर लुकेर हेरिरहेकी थिइन् डरले ।

मलाई देखेर खुशीको मुल फुट्यो उसका अबोध आँखाबाट ।

म गएर अँगालो हाले । निकै बेर हामी अँगालोमा बाँधिएर खुशीका आँसु साँट्यौँ ।

सधैँ स्कुलको गेटमा उभिने ऊ अब कक्षाकोठामा बसेर पढ्ने गर्न थाली । उसका नयाँ–नयाँ साथीहरु भए ।

सर मिसहरु पनि उसको मेहनत र जिज्ञासा देखेर दङ्ग पर्नु हुन्थ्यो । अवसरको अभावले पिल्सिनुको पीडा उसले राम्रोसँग बुझेकी थिइन् शायद । प्रथम श्रेणीमा एसएलसी पास पनि गरिछे । उसको दिनरात एक गर्दै पढेको परिश्रमले उसलाई पुरस्कृत गरेछ ।

एल सि पास गरेपछि छात्रवृत्ति मै प्लस टु पनि त्यही स्कूलबाट सकिछे ।

मलाई समयको आँधीले उडाएर काठमाडौँको खाल्डोमा हुत्याइदिएको  थियो । म आफ्नै जिन्दगीले दिएका परीक्षाहरुको सामना गरिरहेकि थिएँ । गाउँ छाडेर शहर पसेपछि धेरै साथीभाइहरु  बिरानो बनिसकेका थिए ।

जिन्दगीको रित यस्तै हो, हरेकलाई आफ्नै बेफुर्सदीले गाँज्दै लगेको हुन्छ । म कहाँ अछूतो रहन सक्थें र ?

कुनै बेला जुन स्कूलको फलामे गेट उसका लागि पार गर्न नसकिने चिनियाँ पर्खाल जस्तै थियो, आज ऊ त्यही स्कूलको मास्टर्नी भइछे ।

शिक्षा सेवा आयोगको परीक्षा उत्तीर्ण भएर सरकारी कोटामा नाम निकालिछे । त्यो खुशीको समाचार ऊ पहिलो चोटी मलाई सुनाउन चाहन्थी रे । तर मेरो नम्बर भेटिनछे । अनि फेसबुकमा भेट्छु होला भनेर धुइँपताल खोजिछे । मेरो नाउँ त उसलाई मैयाँ भनेको थिएँ । कति खोज्दा पनि भेटिनछे ।

अनि एकदिन अचानक ‘फ्रेन्ड यु मे नो’ मा मेरो फोटो देखिछे ।  त्यति भेट्दा पनि उसलाई वर्षौँदेखि हराएको हृदयको सबैभन्दा नजिकको मान्छे भेटेजस्तै अनुभूति भयो भनेर उसले लेखेका अक्षरहरु पढ्दा म वर्षिन लागेको बादल भइसकेको थिएँ । उसले आफ्नो सारा सफलताको श्रेय मलाई दिएकी थिइन् ।

‘तपाईंले मलाई जिन्दगी दिनुभयो र आज म अरुलाई पनि आफूसँग भएको उज्यालो बाँड्न सक्ने जूनेली भएकी छु ।,’ उसले लेखेकी थिइन् ।

मैले त उसलाई बाटो मात्रै देखाएको थिएँ, हिँडेको त आखिर उसले नै थिइन् । बाटोमा आएका ठेसहरुसँग जुझेको त उसले नै थिइन् ।

रातोपाटीको अंग्रेजी, हिन्दीग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।

कमेन्ट

कमेन्ट गर्नेहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.