शनिबार, १५ वैशाख २०८१
ताजा लोकप्रिय

पूर्वमाओवादी धारका सांसद आफ्नो बनाउने यस्तो छ ओलीको रणनीति

मङ्गलबार, १६ वैशाख २०७७, १६ : ०५
मङ्गलबार, १६ वैशाख २०७७

काठमाडौं । पार्टीभित्रको विवाद उत्कर्षमा पुगेका बेला प्रधानमन्त्री तथा नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष केपी शर्मा ओली संसदको अंक गणितमा जुटेका छन् । 

पार्टी कमिटीको सचिवालय र स्थायी समितिमा बहुमत गुमाएका ओली असन्तुष्ट पक्षको माग अनुसार अध्यक्ष र प्रधानमन्त्री कुनैपनि पद नछाड्ने बरु संसदीय दलमा आफ्नो बहुमतसिद्ध गर्ने रणनीतिमा लागेका हुन् ।

 त्यसका लागि उनले खासगरी पूर्वमाओवादी धारका सांसदहरुलाई आफ्नो पक्षमा पार्ने प्रयास थालेका छन् । 

१७४ सांसदमा कसका कति ?
नेकपाका प्रतिनिधिसभामा कुल १ सय ७४ जना सांसद छन् । त्यसमा पूर्वएमालेतर्फका १२१ र पूर्वमाओवादीतर्फका ५३ जना छन् । 

१२१ मध्ये ओली समूहका मात्रै ७८ जना छन् । बाँकी ४३ जना माधव नेपाल, वामदेव गौतम र झलनाथ खनाल समूहका छन् । संसदीय दलमा बहुमत कायमै गर्न ८८ सांसद चाहिन्छ । यसो हुँदा ओलीलाई १० जना सांसद अपुग हुन्छन् । 

यस्तो अवस्थामा पूर्वमाओवादी समूहका केही सांसद आफ्नो पक्षमा पार्न सके आफू आरामले बहुमत कायमै राखेर प्रधानमन्त्रीबाट हट्न नपर्नेगरी योजना बनाइरहेका छन्, ओली । गौतम समूहका केही सांसदले पनि साथ दिने ओलीको बुझाइ छ । त्यसका उनले बालुवाटारमा केही सांसदहरुलाई बोलाएर आफूलाई साथ दिन आग्रह नै गरिसकेका छन् ।

सोमबारमात्रै झण्डै २ दर्जन सांसदहरुलाई बालुवाटारमा बोलाएर ओलीले जतिवेला जे पनि हुन सक्ने भन्दै साथ दिन आग्रह गरेका हुन् । पूर्वमाओवादी धारका लेखराज भट्टले ओलीलाई साथ दिने बताइसकेका छन् । 

टोपबहादुर रायमाझी, देवेन्द्र पौडेल लगायतका सांसदहरुलाई पनि ओलीले आफ्नो पक्षमा ल्याउन प्रयास गरिरहेका छन् । त्यसका लागि उनले विभिन्न सूत्रहरु परिचालन गरिरहेका छन् । ‘विभिन्न स्रोतबाट भेटघाटका लागि बालुवाटार बोलाइएको छ । तर पार्टीको विवाद माथिल्लो तहबाटै मिलाउनुपर्ने भएकाले म बालुवाटार गएको छैन,’ सांसद देवेन्द्र पौडेलले रातोपाटीसँग भने ।

प्रधानमन्त्री ओलीले सोमबार राष्ट्रियसभाका सांसद  दिनानाथ शर्मालाई पनि बालुवाटारमा बोलाएर भेटघाट गरेका छन् । 

बलिङ र ब्याटिङ फेरि दोहोेर्याए ओलीले 
‘राम्रो काम गर्दागर्दै पनि पार्टीबाट घेराबन्दीमा पारियो । म जस्तोसुकै परिस्थितिको पनि सामना गर्न तयार छु । तर तपाईँहरुको साथ चाहिन्छ’, ओलीले सोमबार बालुवाटार बोलाएर सांसदहरुलाई भनेका थिए, ‘जतिबेला जे पनि हुनसक्छ तपार्इँहरु तयारी अवस्थामा बस्नु’ ओलीको प्रष्ट संकेत थियो । प्रफुल्ल मुद्रामा सांसदहरुमाझ प्रस्तुत भएका उनले अहिलेको अवस्थामा पार्टी एकढिक्का भएर जानुपर्ने आशय व्यक्त गरेका थिए ।

 त्यसअघि सोमबार बिहान नेता माधवकुमार नेपालसँगको भेटमा ओेलीले ‘तपाईँहरु बलिङ गर्नुस् म ब्याटिङ गर्छु’ भनेका थिए । यसको अर्थ संसदमा बहुमत देखाउन ओलीको नेपाललाई चुनौती थियो । यसअघि केही महिना पहिला पत्रकारहरुसँगको भेटमा ओलीले आफूमाथि सञ्चारमाध्यले खेदो खनेकाले आफूले पनि व्याटिङ गरेको बताएका थिए । 

बाहिरकालाई काठमाडौं बोलाइयो 
प्रधानमन्त्री ओलीले आफू निकटका उपत्यका बाहिर रहेका केही सांसदलाई काठमाडौं बोलाएका छन् । हाल ओली निकटका सत्यनारायण मण्डल, छविलाल विश्वकर्मा तथा खगराज अधिकारी काठमाडौ बाहिर छन् ।

उनीहरुलाई जे पनि पर्न सक्ने भन्दै काठमाडौं आउनुपर्ने अवस्थालाई मध्यनजर गर्दै तयारी अवस्थामा बस्न खवर गरिएको छ । सांसद मण्डलले आवश्यक पर्दा आफू काठमाडौ आउन सक्ने बताए । ‘अहिले आइहाल्नुस् भन्ने कुरा त केही छैन । आवश्यक पर्दा आउन सकिन्छ, । सायद भोलि आउँछुहोला,’ मण्डलले रातोपाटीसँग भने ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप