शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

कोरोनाः अमेरिकी सिनेटमा चीनमाथि गम्भीर प्रतिबन्ध लगाउने धम्की

बुधबार, ३१ वैशाख २०७७, ०९ : १३
बुधबार, ३१ वैशाख २०७७

समाचार एजेन्सी एएफपीका अनुसार अमेरिकी सिनेटमा चीनमा प्रतिबन्ध लगाउने प्रस्ताव राखिएको छ । रिपब्लिकन पार्टीका सांसदले मंगलबार यस्तो कानून ल्याउने प्रस्ताव राखे जसले राष्ट्रपति डोनल्ड ट्रम्पलाई चीनमा प्रतिबन्ध लगाउने शक्ति दिनेछ । चीनले कोरोनाभाइरस संक्रमणबारे पूरा जानकारी दिँदैन भने उसमाथि यस्तो प्रतिबन्ध लगाउन आवश्यक भएको सांसदहरुले बताए ।

सांसद जिम इनहोफले आफ्नो बयानमा भने, ‘चीनको कम्युनिष्ट सरकारलाई यो विश्वव्यापी महामारीका लागि जिम्मेवार ठहर गर्नैपर्छ किनभने यसमा उसको भूमिका सुनिश्चित भइसकेको छ । चीनले संक्रमणको सुरुवातबारे पूर्ण रुपमा धोका दिएको छ र यो धोकाका कारण संसारकै अमूल्य समय र जिन्दगी बर्बाद भएको छ ।’

प्रस्तावित कानूनको नाम ‘कोभिड–१९ अकाउन्टिबिलिटी बिल’ हो ।

प्रस्तावित कानून अनुसार राष्ट्रपति ट्रम्पले ६० दिनभित्र संसदलाई चीनले संक्रमणबारे पूरा जानकारी दिएको र यस सम्बन्धमा संयुक्त राष्ट्र र उससँग जोडिएको संगठन (जस्तै डब्ल्यूएचओ)ले आफ्नो अनुसन्धान सुरु गर्न सक्छ भनेर जानकारी दिनुपर्नेछ ।

कानूनका अनुसार ट्रम्पले चीनले आफ्नो सबैभन्दा खतरापूर्ण ‘वेट मार्केट’ बन्द गरिदिएको  र कोभिड–१९ संक्रमणका बीच पक्राउ गरिएका हङ्गकङका लोकतन्त्र प्रदर्शनकारीहरुलाई रिहा गरिसकेको छ भन्ने बारे पनि जानकारी दिनुपर्नेछ ।

यदि माथि उल्लेखित कुराहरु प्रमाणित नभए डोनल्ड ट्रम्पसँग चीनमाथि विभिन्न प्रकारको गम्भीर प्रतिबन्ध लगाउने अधिकार रहनेछ । जस्तै कि सम्पत्ति फ्रिज गर्नु, यात्रामाथि प्रतिबन्ध लगाउनु र भिसा रद्द गर्नु, चिनियाँ कम्पनीलाई अमेरिकी बैंक र बजारसम्म पुग्न रोक लगाउने अधिकार पनि यसमा समावेश हुनेछ ।

‘कोभिड–१९ अकाउन्टिबिलिटी बिल’ का एक अन्य समर्थक सांसद लिन्जी ग्राहमले भने, ‘ऊहानको प्रयोगशालामा अनुसन्धान गर्नका लागि चीनले अन्तर्राष्ट्रिय समुदायको प्रस्ताव अस्विकार गरेको छ । उनीहरुले संक्रमणको सुरुवातबारे पनि बुझाउनका लागि अनुसन्धानकर्तालाई ऊहान ल्याबमा पहुँच दिएका छैनन् । मलाई पूर्ण विश्वास छ कि चीनलाई बाध्य नपारेसम्म उसले एक गम्भीर अनुसन्धानमा कहिले पनि सहयोग गर्नेछैन ।’

स्रोतः बीबीसी

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप