शनिबार, १५ वैशाख २०८१
ताजा लोकप्रिय

भारतीय सीमाका ८४ स्थानमा सशस्त्र

शनिबार, ०३ जेठ २०७७, १० : ०६
शनिबार, ०३ जेठ २०७७

भारतसँग सीमा जोडिएको बैतडीसहित सुदूरपश्चिम प्रदेशका ८४ स्थानमा सशस्त्र प्रहरी बलको उपस्थिति रहेको छ । 

कोरोना सङक्रमण नियन्त्रणका लागि नेपाल–भारत सीमा सिल गरिएपछि सशस्त्र प्रहरीले सीमा क्षेत्रमा आफ्नो उपस्थितिलाई मजबुद बनाउँदै लगेको हो । 

सुदूरपश्चिमका भारतसँग सीमा जोडिएका पाँच जिल्लाका ८४ ठाउँमा सशस्त्र प्रहरी बलले आफ्नो पोष्ट खडा गरी सीमा क्षेत्रमा दिनरात पहरा दिइरहेको छ ।
 
जसमा सबैभन्दा बढी कैलालीमा ४२, कञ्चनपुरमा २४, दार्चुलामा नौ, बैतडीमा पाँच र डडेल्धुरामा चार स्थानमा पोष्ट स्थापना गरिएका सशस्त्र प्रहरी वैद्यनाथ बाहिनी अत्तरिया कैलालीले जनाएको छ । 

भारतबाट अवैधरुपमा नेपाल प्रवेश नरोकिएपछि सीमा क्षेत्रमा बिओपी, पोष्ट र गुल्म स्थापना गरिएका वैद्यनाथ बाहिनीका बाहिनीपति सशस्त्र प्रहरी नायब महानिरीक्षक हरिशङ्कर बुढाथोकीले बताए । 

बैतडीसहित सुदूरपश्चिमका सीमा क्षेत्रमा एक हजार ४०० सशस्त्र प्रहरी परिचालन गरिएको जनाइएको छ । 

अवैध नेपाल प्रवेश रोकिएन

सीमा क्षेत्रमा सशस्त्र प्रहरीको उपस्थितिले अवैध नेपाल प्रवेशमा कमी आएको दाबी सशस्त्र प्रहरीको भए पनि उनीहरुको आँखा छलेर नेपाल प्रवेश गर्ने क्रम भने अझै रोकिएको छैन । 

अवैधरूपमा नेपाल प्रवेश गर्ने क्रम नरोकिँदा सङ्क्रमणको जोखिम पनि बढ्दै गएको छ । लकडाउनको समयमा हालसम्म १०० भन्दा बढी  नेपाली नागरिक महाकाली नदी तरेर नेपाल भित्रिएका छन् । बैतडी र दार्चुलामा गरी उक्त सङ्ख्यामा स्वदेश भित्रिएका हुन् ।
  
महाकाली नदीमा ट्युबमार्फत बैतडीमा ४० जना भित्रिएका सहायक प्रमुख जिल्ला अधिकारी लोकेन्द्रसिंह नेगीले बताए । सीमा सिल रहेका बेला सुरक्षाकर्मीको आँखा छलेर उनीहरु नेपाल आएका हुन् । उनीहरु सबैलाई अनिवार्य १४ दिन क्वारेन्टाइनमा राख्ने गरिएको उनले बताए । भारतमा लकडाउन खुकुलो भएपछि अवैधरूपमा नेपाल भित्रिने क्रम नरोकिएको हो ।
  
दार्चुलामा पनि लकडाउनका समयमा महाकाली नदी तरेर ७० जना भित्रिएको तथ्याङ्क रहेको छ । उनीहरुमध्ये कोही महाकालीमा पौडिएर, कोही तुहिनमार्फत र कोही ट्युबमार्फत स्वदेश भित्रिएका हुन्  ।  स्वेश फर्कने सबै नेपाली मजदुर रहेको र उनीहरुलाई अनिवार्य १४ दिन क्वारेन्टाइनमा राख्ने  र कोरोना परीक्षणपश्चात मात्रै घर पठाउने गरेको प्रमुख जिल्ला अधिकारी यदुनाथ पौडेलले जानकारी दिए ।
   
बैतडी र दार्चुलासँग सीमा जोडिएको भारतको पिथौरागढ जिल्लालाई भारत सरकारले ग्रिनजोनमा राखेकाले त्यहाँ मजदुरी गर्दै आएका नेपाली स्वदेश भित्रिने क्रम बढेको हो । सुरक्षाकर्मीको आँखा छलेर नेपाल भित्रिने क्रम नरोकिँदा सङ्क्रमणको जोखिम पनि बढ्दै गएको जिल्ला अस्पताल बैतडीका प्रमुख डा वसन्तराज जोशीको भनाइ छ । 

लकडाउन रहेको समयमा सीमा क्षेत्रबाट हुने वारपार रोक्न बैतडीमा निगरानी समूह गठन गर्न थालिएको छ । कोरोनाको जोखिम हुनसक्ने भएकाले सीमासँग जोडिएका सबै स्थानीय तहले निगरानी समूह गठन गर्न थालेको सहायक प्रमुख जिल्ला अधिकारी लोकेन्द्रसिंह नेगीले जानकारी दिए।  भारतसँग सीमा जोडिएका जिल्लाको दशरथचन्द नगरपालिका, शिवनाथ गाउँपालिका र पञ्चेश्वर गाउँपालिकामा  निगरानी समूह गठन गरिँदैछन् ।
  
निगरानी समूहले अवैधरूपमा महाकालीबाट स्वदेश नफर्कनका लागि माइकिङ गर्ने, सीमामा खटिएका प्रहरीलाई सहयोग गर्ने, कोही सीमाबाट तरिहालेमा उनीहरुलाई क्वारेन्टाइनमा पु¥याउने काममा सहयोग गर्ने  जनाएको छ । दशरथचन्द नगरपालिकाले सीमा क्षेत्रका वडामा निगरानी समूह गठनको काम भइरहेको नगरप्रमुख नरेन्द्रसिंह थापाले जानकारी दिनुभयो ।  वडाध्यक्षको अगुवाइ निगरानी समूह गठन गर्ने काम भइरहेको थापाको भनाइ छ ।  
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप