केन्द्रीय संस्करण

गणतन्त्रको पोस्टमार्टम – नक्सामा लिम्पियाधुरा र फेसबुक ट्वीटरमा युवा आन्दोलन

person explore access_timeजेठ १५, २०७७ chat_bubble_outline0

केही दिनअघि काठमाडौंको कीर्तिपुरमा एक वृद्धको शव फेला पर्‍यो । नाम्लो बोकेको अवस्थामा भेटिएको शव कुनै भरियाकर्म गरेर जीविकोपार्जन गर्ने श्रमजीवि नागरिकको थियो भनेर अनुमान लगाउन गाह्रो थिएन । प्रहरीले लगत्तै पोस्टमार्टमका लागि शवलाई त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल महाराजगन्ज लग्यो ।

शव नै सही राज्यले अस्पताल त पुर्‍यायो, तर पोस्टमार्टम त्यसरी नै भयो, जसरी आम रुपमा हुन्छ ।  चिकित्सकहरुले शरिरीक चोटपटक नै हेर्छन्, भावनात्मक दर्द देख्दैनन् । एक्ला सूर्यबहादूर तामाङले बुढेशकालसम्म आइपुग्दा गरेको श्रम र बगाएका पसिनाका  चिन्ह पक्कै शरीरमा थियो, पोस्टमार्टममा देखिएको हुनुपर्छ । तर, कोठा भाडा तिर्ने पैसा नभएर बुढेशकालमा पार्टीमै सुत्न बाध्य थिए, कहिल्यै वृद्धभत्ता बुझ्न पाए या पाएनन् होला, कैयन रात कीर्तिपुर चिसो ठिहीमा कीरा, लामखुट्टेहरुसँग भोकोपेट पौंठेजोरी खेल्दै अनिदो बिताए होलान् भनेर पनि शायद देखिएन होला ?

भारी बोक्दाबोक्दै थलिएको उनको शरीरले कहिल्यै गणतन्त्र अनुभव गर्‍यो कि गरेन ? थकित आँखाले यो मुलुकमा उनी जस्ता निरीह सर्वहारा श्रमजीविका लागि सोचिदिने, बोलिदिने र चिन्ता गरिदिने कुनै साँचो ‘राज्य’ देख्यो वा देखेन ? र, उनको कानले सुशासन सुन्यो वा सुनेन ? सत्यतथ्य बुझ्न यसबारे पोस्टमार्टम हुनुपर्ने थियो, त्यो पक्कै पनि भएन ।

पत्रपत्रिकामा आएको समाचारअनुसार लकडाउन भएयता काम खोसिएको थियो, स्थानीय समाजसेवी र विभिन्न संस्थाले उपलब्ध गराएको निशुल्क भोजनकै भरमा उनले केही दिन गुजारा गरे । कैयन रात भोकभोकै सुतेपछि अन्ततः  उनी कहिल्यै नउठ्ने गरी लडे । यस दुर्घटनाबारे कुनै छानविन समिति बन्ने कुरा भएन किनकि अभिभाकत्व लिनुपर्ने शासकका दृष्टिमा यस्ता दुर्घटना सामान्य नै हुन् र वास्तविक छानविन भइहाल्यो भनेपनि दोषी देखिने त राज्य स्वयंम् नै हो । 

भोक र रोगले ग्रस्त भएर जतिबेला यी वृद्धले आँखा चिम्लिए, त्यति बेला सामाजिक सञ्जालका अधिकांश प्रयोगकर्ताको आँखा नेपालको नयाँ नक्सामा अडिएको थियो, लिम्पियाधुरासहितको यो चुच्चो नक्सा हेरेपछि धेरै ‘बौद्धिक र राष्ट्रवादी’ हरुले भोक र भोजन बिर्सिए होलान्, उनीहरु मज्जाले अघाएजसरी मिठो निन्द्रा सुते होलान् ।

उनीहरु उठिसक्दा सूर्यबहादूरको आँखाको ढकनी सदाका लागि बन्द भइसकेको थियो । मृतकको फोटो सामाजिक सञ्जालमा केही समय त भाइरल भयो, तर राष्ट्रियताको तुफानसामु यो अँध्यारो यर्थाथ निमेषमै विलाएर गयो ।  जसरी शरीर सजिलै बिलायो, त्यसरी नै ‘श्रद्धान्जली’  र ‘स्वर्गमा वास होस्’ लेखेर जताइएका सहानूभूतिसँगै नाम्लो बोकेर पल्टिएको शवको तस्विर फेसबुक– ट्वीटरमा चाडैं इतिहास भयो । राज्यले मात्र होइन, आम जनताले पनि मृत्युको कारण खोज्न चाहेको र उनको पक्षमा आवाज बुलन्द गरिएको देखिएन । उनी कुनै पार्टीको नेता, कार्यकर्ता, ‘झोले’, ‘अरिंगाल’ नभएकैले होला, उनको पक्षमा आवाज उठाएर सडकमा नाराजुलूस भएको तथा उनको पक्षमा आवाज उठ्दा ‘डलरको खेती’ नहुने भएरै होला शायद् कतै धर्ना, विरोध प्रदर्शनहरु भएको पनि चाल पाइएन  ।

0

उता दलित पुरुष र गैरदलित कन्याको बीचको ‘प्रेम’ले दुःखान्त मोड लिाँद रुकुममा कैयन युवाहरुले अनाहक बर्बर मृत्युको शिकार बने ।  रुपन्देहीमा कथित उपल्लो जातको ‘बलात्कारको शिकार’ बनेकी दलित युवतीलाई ‘सभ्य समाज’को न्यायले जबरजस्ती ‘बलात्कारको अभियोगी’ सँग भिँडाइदिँदा उनको ‘रहस्यमय’ मृत्यु भयो, जसलाई अहिलेसम्म ‘आत्महत्या’को कफनले छोप्ने काम भएको छ, त्यसको गूढ रहस्य के थियो भन्ने कुरा अझै सतहमा आउन सकेको छैन ।

जातीय उत्पीडनको जाँतोमा पिसिएर युवाहरु बर्बर हत्याको शिकार बन्छन्, निरीह बलात्कृतलाई ‘कथित’ आत्महत्याको शिकार बनाइन्छ र खान नपाएर गरिब मजदुरहरु भोकभोकै देह त्याग्न बाध्य तुल्याइन्छ । सतहमा नआएका तर जातीय उत्पीडन, सामन्ती शोषण र लकडाउनको कहरका कारण भोकभोकै मरिरहेका, मारिइरहेका यस्ता सयौं घटनाहरु सतहमा नआउँदै पानीको फोका जस्तै फुटेर विलाइसकेका हुन्छन् । खटिखाने निमुखाहरुको अस्तित्व नै नरहेको जस्तो प्रतीत हुने ‘आधुनिक समाजको कलंकारी क्षणमा यस्ता घटनाहरु घटित भइरहन्छन् । अर्कोतर्फ, फेसबुक र ट्वीटरमा कतिपय व्यक्ति यो सरकार इतिहासकै राष्ट्रवादी भन्दै तारिफमा गीत र गजल लेखिरहेका हुन्छन् । यसले बलिउड फिल्म यशवन्तमा नाना पाटेकरले बोलेको डायलग याद दिलाइदिन्छ – सौ मे से असी बेइमान, फिर भी हमारा देश महान् ।’

सारमा, गणतन्त्र नेपालको नागरिक हुनुमा हामीमध्ये धेरैैलाई गर्व नै छ र यो व्यवस्था ल्याउन बलिदानी दिने तमाम नेपाली दाजु–भाई दिदीबहिनीहरुलाई संझेर अझै हाम्रो शिर झुक्छ ।

तर विगतमा आन्दोलनको नेतृत्व गरेकाहरुको व्यवहार र शासनशैली राजा – महाराजालाई माथ खुवाउने तहमा पुगिसकेको छ । के वडाध्यक्षलाई पिर्के सलामी र राष्ट्रपतिलाई विलासी हेलिकोप्टर किनिदिनकै लागि हामीले गणतन्त्र ल्याएका हौं ? जवाफ व्यक्तिपिच्छे फरक नै आउँला । तर, गणतन्त्र परिपक्व नहुँदै जनप्रतिनिधिको आचरणबारे यसरी प्रश्न उठ्नु पक्कै  सुखद संकेत होइन ।

गणतन्त्रले न्याय र समतामुलक समाज निर्माण गर्न सक्दैन भने यति धेरै छोटे राजा किन पाल्ने ? यस्तो प्रश्न पनि छ ।  लिम्पियाधुरा नक्सामा, गणतन्त्र संविधानमा, समाजवाद र समृद्धि नेताको भाषणमा, युवा जागरण फेसबुक–ट्वीटरमा – आजको यर्थाथ यही हो । व्यवहार त, हात्ती र हात्तीछाप चप्पल उस्तै भनेजस्तै पो छ ।

रातोपाटीको अंग्रेजी, हिन्दीग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।

कमेन्ट

कमेन्ट गर्नेहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.