केन्द्रीय संस्करण
अर्थतन्त्र

भारुको स्थिर विनिमयदर परिवर्तन गर्दा त्यसको धक्का सहन सक्छौँ ?

person explore access_timeअसार ४, २०७७ chat_bubble_outline0

यतिबेला नेपाल भारत सीमा विवाद छ । केही समयअघि भारतले नेपाली भूमि समेटेर नक्सा जारी गरेपछि नेपालले पनि भारतद्वारा अतिक्रमित सो भूमिलाइ समेत समेटेर नयाँ नक्सा जारी गरिसकेको छ । यति नै बेला भारतसँग नेपालको स्थिर विनिमयदर परिवर्तनको विषय उठ्न  थालेको छ । मंगलबार मात्रै अर्थसमितिमा पूर्व अर्थमन्त्री सुरेन्द्र पाण्डेले ‘भारतीय मिडियाले नेपाल भारतको स्थिर विनिमयदर  परिवर्तनको विषय उठाउन खोजेको’ बताएका छन्  । उनका अनुसार अब नेपालको मुद्राको अवमूल्यन हुनसक्ने सम्भावना बढेर गएको छ ।

उनले भने, ‘नेपाल भारतको यो बीचको अवस्थामा सम्बन्ध बिग्रने स्थिति भयो भने हाम्रो अहिलेको परिस्थिति के हुन्छ थाहा छैन । यो कुरा भयो भने मैले एउटा आर्टिकल पढेको थिएँ ‘द वार द प्रिन्ट’ द हिन्दुस्तान टाइम्सका न्यूजहरु पढ्दा नेपालको सन्दर्भमा भयावह खालका नकारात्मक टिप्पणीहरु देखिन्छन् । भारतीय एक रुपैयाँको नेपाली एक रुपैयाँ साठी पैसाको कन्भर्सन रेट तय गरेको १९९३ मा हो । यता आएर झण्डै ३० वर्ष बढी भयो । हामीले कुनै रेट चेन्ज गरेका छैनौं । कमजोर नेपाली पैसालाई बलियो भारतीय पैसाले १.६० मा कारोबार गर्न दिएका छौं, यो एकप्रकारले प्रिभिलेज दिएको हो, अब यो गर्नु जरुरी छैन, हामी यो चेन्ज गर्नुपर्छ भन्ने एउटा धारणा यसमा देखिन्छ ।’

केही गरी त्यसो भयो भने नेपालमा महंगी बढेर जाने र  उद्योग क्षेत्र प्रतिस्पर्धी बन्न नसक्ने विज्ञहरु बताउँछन् । नेपाल राष्ट्र बैंकमा लामो समय काम गरिसकेका नरबहादुर थापा स्थिर विनिमयदर बजारलाई छोड्ने हो भने हामीले खरिद गर्ने हरेक वस्तु महंगो पर्न जाने बताउँछन् । नेपालमा भारतीय मूद्राको आर्जन उसै पनि कम छ । अहिले डलर बेचेर भारु खरिद गरी भुक्तान गर्नुपर्ने अवस्था रहेकोमा विनिमयदर परिवर्तन हुँदा भारु नेपालमा नभित्रने थापा बताउँछन् ।  नेपाल राष्ट्र बैंकको तथ्यांकलाई आधार मान्ने हो भने कुल विदेशी विनिमय सञ्चितीमा भारतीय मुद्राको अंश २४ प्रतिशत रहेको छ ।

कुनै पनि मुलुकको मुद्राको विनिमयदरलाई प्रमुख रूपमा त्यहाँको समष्टिगत आर्थिक अवस्थाले निर्धारण गर्छ । मूल््यवृद्धि, ब्याजदर र चालू खाता घाटा उच्च भएको, आर्थिक क्रियाकलाप सुस्त रहेको, राजनीतिक अस्थिरता कायम भएको र विदेशी मुद्राको सञ्चिति घट्न गएको अवस्थामा सम्बन्धित देशको मुद्रा कमजोर हुन जान्छ भने यसको ठीक विपरीत अवस्थामा मुद्रा बलियो हुन्छ । कमजोर हुँदा मुद्राको अवमूल्यन हुन्छ भने बलियो हुँदा अधिमूल्यन हुन्छ ।

स्थिर विनिमयदर बजारलाई छोड्दा ......

भारुको विनिमयदर बजारलाई छोडिदिने हो भने यो मुद्रा नेपालमा कम पाइने सम्भावना रहने थापा बताउँछन् । कृषि उपजको मूल्य बृद्धि भई महंगी बढ्न जाने उनको तर्क छ । कुनै पनि देशलाई महंगी उसको टाउको दुःखाइको विषय हुने गरेको छ  । कृषि उपजमा क्षमता छ भने त्यसको उत्पादन बढ्छ । धान, उखु, तरकारी उत्पादन गर्ने क्षमता छ भने किसान मुनाफा गर्न प्रोत्साहित हुन्छन्, उनले भने ।

उनी भन्छन्, ‘विनिमयदरको कारण कृषिको लागत बढ्यो तर उत्पादन मार्फत् लाभ लिन सकेनौं भने स्वभाविक रुपमा मूल्य बढ्छ । कुनै देशको अधिक क्षमता छ भने विनिमय दर तलमाथि हुँदा लाभ लिन्छन् । अर्थतन्त्रलाई फाइदा भनेको उत्पादन कति बढ्यो भन्ने हो । रोजगारीको अवसर थपियो कि थपिएन, निर्यात भयो कि भएन र विदशी मुद्रामा सञ्चिति बढ्यो की बढेन भन्नेले मान्यता राख्छ । यसको सैद्धान्तिक आधार भनेको किसानलाई केही राहत हुन्छ कि भन्ने हो । तर खरिद गरेर खानेलाई मर्का पर्छ ।’

नेपालको वैदशिक व्यापार सबैभन्दा बढी भारतसँग छ । त्यस्तो घाटा पनि भारतसँग नै छ ।

उद्योगको लागत बढेर प्रतिस्पर्धी क्षमता कमजोर हुन्छ

भारतको स्थिर विनिमयदर बजारलाई छोडिदिँदा आयातित सामानको लागत बढ्न जान्छ । त्यसले गर्दा उद्योगले ल्याउने कच्चा पदार्थको मूल्य बढी प्रतिस्पर्धी क्षमता गुमाउने थापाको तर्क छ । यस्तो बेला उद्योगीहरुले लागत बढ्न जाँदासामानको मूल्य बढाउनुपर्ने हुन्छ । तर अरु देशको सामानभन्दा नेपालको सामान महंगो हुने स्थितिमा उपभोक्ताले त्यसलाई स्वभाविक रुपमा खरिद गर्दैनन् । यस्तो स्थितिमा  प्रतिस्पर्धा गर्न  नसकेर नेपाली उद्योगहरु नै धरासायी अवस्थामा पुग्न सक्ने उनको भनाइ छ । यो स्थितिमा उद्योगीहरु पलायन हुन सक्ने सम्भावना समेत रहन्छ । महंगीले गरीबीको दर समेत बढाउन सक्ने अवस्था आउने थापा बताउँछन् ।

यसरी फाइदा पनि लिन सकिन्छ

त्यसो त त्यो स्थितिमा कृषि उत्पादन बढाएर भारतीय परनिर्भरता तोड्न सक्ने अवस्था पनि रहने थापाको भनाइ छ । बढी मूल्य पाउने लोभले हिजो भन्दा आज बढी उत्पादन गर्न सक्छन् । अर्कोतर्फ पर्यटन क्षेत्रलाई राम्रो बनाएर त्यसबाट रोजगारी सृजना गर्न सकिने ठाउँ पनि रहन्छ । तर क्षमता नबढाई विनिमयदर परिवर्तन हुँदा अर्थतन्त्रमा समस्या ल्याउँछ ।

ब्याजदर बजारलाई छोड्दा जस्तो हालत भयो त्यस्तै हुन्छ

थापाको भनाइमा ब्याजदर बजारलाई छोड्दा नेपालमा ब्याजदरले आकाश छुने अवस्था आयो  राष्ट्र बैक टुलुटुलु हेरेर बस्यो, नियन्त्रण गर्नै सकेन । उद्योगी व्यवसायी धेरै बढी ब्याज तिर्नुपर्यो, अब ब्याजदरमा स्थायित्व चाहियो भनेर कराए । अन्ततः राष्ट्र बैंक बैंकहरुलाई ब्याजदरमा कार्टेलिङ गर्न उक्साउन बाध्य भयो । नियामक भएकाले ब्याजदर उसले तोक्न सकेन ।

‘विनिमयदर पनि मूल्य हो, त्यसलाई बजारमा छोडिदिदा ब्याजदरमा देखिएको हालत देखिन सक्छ । यहि गुनासो फेरी उद्योगी व्यवसायी तथा उपभोक्ताले पनि गर्न सक्छ्न ।  लागत बढ्यो, मूल्यबृद्धि भयो, प्रतिस्पर्धी भएनौं, नेपालमा भन्दा विदेशकै गएर उद्योग व्यवसाय गछौ भन्न सक्ने अवस्था आउन सक्छ । त्यस्तो बेला सरकार र राष्ट्र बैंक टुलुटुलु हेरेर बसिराखेको हुनेछ ।  पुँजी पलायन हुँदा अर्थतन्त्र झन् कमजोर हुन्छ ।  अर्थतन्त्र बलियो नभइ बिनिमयदर बजारलाई छोडिदिँदा त्यसको धक्का सहन सक्दैनौँ,’ थापा भन्छन् ।

रातोपाटीको अंग्रेजी, हिन्दीग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।

कमेन्ट

कमेन्ट गर्नुहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.