केन्द्रीय संस्करण
सहाना प्रधानको जीवनी-१

ढुङ्गाको कापमा झाङ्गिएको पीपल हुन् सहाना प्रधान

person explore access_timeअसार २७, २०७७ chat_bubble_outline0

[नेपालको लोकतान्त्रिक, वामपन्थी तथा महिला आन्दोलनकी अग्रणी नेतृ सहाना प्रधानको ९३ औँ जन्मजयन्ति हो आज l नेपाली कम्युनिस्ट आन्दोलनका प्रणेता र नेपाल कम्युनिस्ट पार्टीका संस्थापक पुष्पलाल श्रेष्ठको जीवन संगिनी हुन् सहाना प्रधान l तर, सात दशक लामो राजनीतिक जीवन, त्यस क्रममा सहाना प्रधान स्वयंको संघर्षशील भूमिका र योगदानले नेपाली समाजमा उनलाई चिरकालसम्म स्मरणीय बनाएको छ । र, उनका तिनै भूमिका र योगदान पुनर्ताजगी होस् भनेर रातोपाटीले आगामी केही साता प्रत्येक शनिबार सहाना प्रधानको जीवनी प्रकाशित गर्दै जानेछ l ]

कुनै समय नेपालमा कम्युनिस्ट भनेको निषेधित फलझैँ मानिन्थ्यो । त्यति बेला कम्युनिस्ट भनेका समाजभाँडा, समाजद्रोही या अवाञ्छित तत्वका पर्यायका रूपमा मानिन्थे । समाजमा कुनै मानिसलाई नैतिक आचरणबाट खसेको पर्यायका उपमाका दिनु पर्यो भने त्यसलाई कम्युनिस्टको ट्याग लगाइने गरिन्थ्यो । अर्थात् त्यस घडी असामाजिक गतिविधिमा बिग्रिएको कुनै व्यक्ति मात्र कम्युनिष्ट मानिन्थ्यो । उक्त समय वास्तवमै कम्युनिष्ट विचारधाराका लागि कालरात्रि थियो । त्यस्तो कालरात्रिलाई आफ्नो जीवन समर्पण गर्दै नेपाली समाजको चौतर्फी विकास र जनताको समृद्धिका लागि कम्युनिस्टको निष्ठा फैलाउने साहसी राजनेता थिए- पुष्पलाल श्रेष्ठ । यति बेला तिनै पुष्पलालीय कम्युनिस्टको जरा नेपालैभरि फैलिएको छ ।

२००६ सालमा पुष्पलालबाट नेपाल कम्युनिस्ट पार्टीको बीजको दल राखेको अर्को वर्षदेखि नै सहाना प्रधानले पनि त्यस संस्थाउपर मलजल गरेकी थिइन्, गोडमेल गरेकी थिइन् र सुरक्षाका लागि हरेक प्रहरमा आफ्नो गच्छेअनुसारको पहल गर्दै आएकी थिइन् । त्यस दलमा उभिएपछि उनले आफ्नो भावना सधैँ त्यसैभित्र मात्र रोपिरहिन् ।

अन्ततः २०४६ सालमा समेत दलनेतृका रूपमा उनलाई हात्तीको दाँतका रूपमा देखाइएको थियो । मानौँ उनलाई अगाडि राखेपछि सिङ्गो पुष्पलाल नै उभिएको दलपतिहरूले अनुभूत गरेका थिए । त्यही सिलसिलामा उनी राजा वीरेन्द्रसँग पनि बहुदलीय व्यवस्था चाहियो भन्न राजदरबार पुगेकी थिइन् । स्मरण रहोस् तिनै राजा वीरेन्द्रको नेतृत्वमा सञ्चालित पञ्चायती व्यवस्थाले उनलाई प्राध्यापकीय सेवाबाट अनाहक उछिट्याएर उनी र उनका सन्तानलाई भोकमारीको समस्यामा अवतरित गरिदिएको थियो । तर, उनले अनेक सङ्घर्ष गरेर छोराछोरी हुर्काएकी थिइन् । अन्ततः अन्यायमा परेका तिनै समस्त सहाना प्रधानहरूसमेतको बल, बुता र ईखले पञ्चायती व्यवस्थाको नासैसमेत भयो । अनि नेपालमा बहुदलीय व्यवस्था हुँदै गणतन्त्र पनि आयो । 

यदि नेपालमा साँच्चै लोकतन्त्र आएको थियो र पुष्पलालले खाँबो गाडेको नेपाल कम्युनिस्ट पार्टी पनि निष्ठावादी हुँदो हो त पुष्पलाल, मनमोहन अधिकारी, सहाना प्रधान, तुलसीलाल अमात्य, सीपी मैनाली, मोदनाथ प्रश्रित, अमृत बोहोरा, अष्टलक्ष्मी शाक्य, माधवकुमार नेपाल, मदन भण्डारी, चन्द्रदेव जोशी, प्रदीप नेपाल, वामदेव गौतम, झलनाथ खनाल आदिको आदर्श, सिद्धान्त र निष्ठाअनुरूप कृत्य पनि हुनु पर्थ्यो ।

अब यदि नेपालमा गणतान्त्रिक लोकतन्त्र नै पनि पतन भयो भने यसका ठेकेदारहरूको विवेकहीन दृष्टिकोण, अयोग्य कार्यशैली, व्यक्तिवादी सोच, राष्ट्र र जनताप्रति अनुत्तरदायी कार्य र विदेशमुखी शैलीका कारणले यसको पतन भएको मान्नुपर्ने हुन जान्छ । नेपालमा निष्ठाको राजनीति गर्नेहरू लोकतान्त्रिक व्यवस्थामा देखिएको धूवाँको मुस्लोमा निसासिएका छन् । साथै बगरबगरका ढुङ्गाहरूले चाहिँ आफ्नो पहुँच बनाइरहेको नै देखिन्छ ।

नेपाली कम्युनिस्ट आन्दोलनका प्रणेता र नेपाल कम्युनिस्ट पार्टीका संस्थापक पुष्पलाल र मनमोहन अधिकारीको लगत्तै पछिल्तिर उभिने पुष्पलालीय कम्युनिस्टको एउटा विशिष्ट स्तम्भको नाउँ लिइँदा सहाना प्रधानबाहेक अरूको नाउँ लिन मिल्दैनथ्यो । वास्तवमा तत्कालीन नेपालमा अति आवश्यकीय जनजागरणका लागि सहानाको  गौरवी भूमिका छँदै थियो । यति हो समयसन्दर्भ र विविध प्रपञ्चका कारण उनी पदीय मर्यादामा भने उपप्रधानमन्त्रीदेखि माथि उक्लिन नै सकिनन् । उनको राजनीतिक पृष्ठभूमि, योगदान र समर्पण हुँदाहुँदै पनि उनले शासनको चुलीमा टेक्न भ्याइनन् । 

२०४७ सालमा कृष्णप्रसाद भट्टराईको प्रधानमन्त्रित्वमा अन्तरिम सरकार बनेपछि भट्टराईको नेतृत्वमा सहाना प्रधान पनि भारतको भ्रमणमा गएकी थिइन् । त्यतिखेर नेपाल सरकारको विज्ञप्तिमा ‘नेपालका नदीहरू साझा नदी’ भनेर लेखिएको थियो । त्यस विज्ञप्तिउपर सहानाको समर्थन थिएन । साथै उनले २०५२ सालमा महाकाली सन्धिको समर्थन पनि गरेकी थिइनन् । उनको त्यस प्रकारको दृष्टिकोणसमेतको हिसाबको जोडघटाउका कारण उनको उक्लिने लिस्नो पनि मक्काइसकेको थियो । लुछाचुडी, भागबन्डा, विदेशमुखी, कमाउधन्दा आदिले दूषित बनेको राजनीतिक वातावरणले निरासिँदानिरासिँदै र निसासिँदानिसासिँदै उनको भौतिक चोला समाप्त भएको थियो ।

(प्रकाशोन्मुख जीवनीकृति 'ढुङ्गाको कापमा झाङ्गिएको पीपल : सहाना प्रधान'बाट) 

रातोपाटीको अंग्रेजी, हिन्दीग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।

कमेन्ट

कमेन्ट गर्नुहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.