ad
केन्द्रीय संस्करण
रातोपाटी अन्तरक्रियाको रिपोर्ट– ५

हाम्रोमा राजनीतिक पार्टीहरूमार्फत औपनिवेशीकरणको प्रक्रिया चलिरहेको छ

युरोपेली सैद्धान्तिक प्रणालीमा बनेका पार्टीले नेपाली समाजको संरचना चिन्छ ? : युग पाठक

person explore access_timeफागुन ११, २०७७ chat_bubble_outline0

 

 

 

 

हाम्रा राजनीतिक पार्टीहरू १९५० को सेरोफेरोमा बनेका पार्टी हुन् । यी सबै पार्टी पश्चिमा सैद्धातिक–दार्शनिक प्रणालीअन्तर्गत बनेका हुन् । हामीले जुन विचारअन्तर्गत पार्टी बनायौँ त्यो विचारले हाम्रो समाजको संरचना चिन्छ कि चिन्दैन ? यो बहस हामीले गरेका छैनौँ ।  पार्टी त  मार्क्सवादी वा लिबरल डेमोक्रेटिक पार्टी बनाएको हो ।

यी दुवैथरिका पार्टीहरु १९औँ शताब्दीमा युरोपमा बनेका सैद्धान्तिक प्रणालीअन्तर्गत बनेका हुन् । त्यो विचार र दृष्टिले नेपालका समाजलाई हेरिन्छ, समाजका समस्याहरु पहिचान र त्यसपछि समाधान गर्न खोजिन्छ, पार्टीहरुले त्यसको संयन्त्र –इन्स्ट्रुमेन्ट) बनाएका होलान् नि ! त्यो संयन्त्र साँच्चै त्यो विचारले समाजलाई चिन्छ र बदल्न सक्ने ल्याकत राख्छ भने त्यो संयन्त्रले काम गर्ने भयो, राखेन भने काम नगर्ने भयो ।   नेपालमा ७० वर्षको इतिहास हेर्दा मलाई लाग्छ नेपालमा जुन वैचारिक दृष्टिकोणले पार्टी बनेको छ त्यसले हाम्रो देशको समस्या न ठीकसँग चिन्न सकेको छ, न त समाधान नै गर्न सकेको छ ।

समस्या र समाधान नभनिकन अर्को शब्दमा भन्ने हो भने राजनीतिक पार्टीहरुले राजनीति गर्ने क्रममा समाजको सामथ्र्य चिन्ने र त्यसमा रचनात्मक–सिर्जनात्मक हुने कुरा हुने कुरामा जुन संयन्त्रको रुपमा काम गर्नुपर्ने हो, समस्या त्यहीँ भइरहेको देख्छु म । 

जब तपाईंले आममान्छेलाई बुद्धिहीन भन्ने ठान्नुहुन्छ र आफ्नो सङ्गठन र आफ्नो पार्टीले बनाएको दस्तावेज र पार्टीका मान्छे चाहिँ जनताभन्दा सर्वोच्च र जान्ने हुन् भनेर मान्नुहुन्छ भने त्यो मिनेटमा, त्यहाँभित्र केपी ओली नजन्मिएर को जन्मिन्छ ?

मोटामोटी रुपमा कुरा गर्दा नेपालमा राज्य चल्ने र चलिरहेकोे तीनवटा मुख्य वैचारिक आधार देख्छु–

एउटा पश्चिमा तरिका, जो १९५० को दशकदेखि सुरु भएर नवउदारवादसम्म आइपुुगेको छ । यसले यसले निरन्तरतामा दुई तीनवटा काम गरेको छ । यसले किसान उन्मूलन, संस्कृति उन्मूलन र नेपाली समाजको जरा काट्ने काम गरेको छ ।

नेपाली समाजका मान्छेहरूको ज्ञान, ज्ञान प्रणाली, उत्पादन प्रणाली, विविधता के हो भन्ने कुरालाई किताब पढेर माथिबाट  तरबार चलाइयो । १९औँ शताब्दीमा पश्चिमा देशमा बनेका किताब जस्ताको त्यस्तै घोकेको जान्ने मान्छे चाहिँ जान्ने भयो ।  किसान अथवा अन्य धेरै किसिमका विविधताका जनताका अर्गानिक ज्ञानप्रणाली काम नलाग्ने भयो । यो औपनिवेशिकरण हो । हाम्रोमा यस्तो औपनिवेशीकरणको प्रक्रिया राजनीतिक पार्टीहरूमार्फत चलिरहेको छ । हामीमाथि राजनीतिक पार्टी,  हाम्रो शिक्षा प्रणाली, कर्मचारीतन्त्र र विकासका सिद्धान्त ल्याएर पनि औपनिवेशीकरणकै काम भइरहेको छ ।

सामान्य उखानकै कुरा गर्ने हो भने पनि किसानलाई सामान्य मानिसले के भन्छ भने  तथाकथित दुुई चार अक्षर पढेको मान्छे गएर कोदालो खन्यो भने ‘ओहो, पढेलेखेको मान्छे आएर कोदालो खनिरहेको छ ।’ कृषिलाई नष्ट गर्ने कुरा हाम्रो समाजको परिवार–परिवारसम्म पुुगेको छ । मैले माओवादी आन्दोलनको समीक्षा गर्ने क्रममा कसरी समीक्षा गर्ने भन्ने सन्दर्भमा मार्क्सवादीहरूको पद्दति के हुन्छ भने  को कति ऐतिहासिक भौतिकवादी भयो कि भएन ? को कति वैज्ञानिक भयो कि भएन ? को कति गद्दार भयो ? को कति क्यारेटको कम्युनिस्ट भयो वा भए भन्ने भन्दा माथि कहिल्यै उठ्दैन ।

त्यहाँ मैले एउटा उदाहरण दिने गरेको छु : तत्कालीन माओवादीको क्याडर गाउँमा गएर किसानसँग कसरी व्यवहार गर्छ ? उसले आफ्नो छोराछोरी युद्धमा पठाइदिएको छ अथवा सहिद भएको छ भने क्याडरले ती कृषकलाई सम्मान गर्ने भयो । तर उसले अन्न उत्पादन गरेवापत, मह उत्पादन गरेवापत, जडीबुटी चिनेबापत, अमला कतिबेला खानुहुन्छ र खानुहुँदैन भन्ने ज्ञान आफ्नो पुस्ता–पुस्तामा सारेबापत प्राणदाताको रुपमा ऊ स्वतः सम्मानित हुनुपर्ने थियो । तर उसलाई त्यतिबेलाको माओवादी क्याडरले किसान भएबापत सम्मान गर्दैन । किन गर्दैन भने उक्त क्याडरको दिमागमा किसानले मार्क्सवाद पढेको छैन, यो त नजान्ने मान्छे हो, बुद्धि नभएको, शिक्षा नभएको मान्छे हो भनेर मान्ने भयो ।

यसरी हाम्रा तमाम राजनीतिक परियोजनाहरु नै औपनिवेशीकरणको परियोजना भइरहेका छन् । किनभने विचार जे हुन्छ, त्यहीअनुसारको पार्टी, पद्धति हुन्छ र त्यहीअनुसार नीति नियम बन्ने हो ।

जब तपाईंले आममान्छेलाई बुद्धिहीन भन्ने ठान्नुहुन्छ र आफ्नो सङ्गठन र आफ्नो पार्टीले बनाएको दस्तावेज र पार्टीका मान्छे चाहिँ जनताभन्दा सर्वोच्च र जान्ने हुन् भनेर मान्नुहुन्छ भने त्यो मिनेटमा, त्यहाँभित्र केपी ओली नजन्मिएर को जन्मिन्छ ?

हामीकहाँ पञ्चायतकालमा निर्माण भएको विचारधारा नै हावी छ । हाम्रोमा पछिल्लो १५ वर्षमा धेरै बहस पृृथ्वीनारायण शाह राष्ट्रनिर्माता भए कि भएनन् भन्नेबारे भएको हो नि ! को कति क्यारेटको मार्क्सवादी भन्ने त कुरै छाडिदिनुस् । पृृथ्वीनारायण शाहमै छ हाम्रो समाजको बहस । पार्टीभित्र सबैभन्दा धेरै बहस त्यसैबारे भएको हो ।

त्यसकारण हामी जहाँबाट बहस गर्न खोज्दैछौं,  त्यो चाहिँ हाम्रा पार्टीहरूलाई चिन्ने र त्यही वैचारिक ढाँचाभित्र राम्रो बनाउन सक्छौँ कि भन्ने कोसिस हो । तर त्यसको दुुर्भाग्य के हो भने– कम्युनिस्ट पार्टी कम्युनिस्ट हुनुपर्ने कारण के हो ? कम्युनिस्ट हुँ भनेर घोषणा गरेवापत, कम्युनिस्ट पार्टीको सदस्यता लिएबापत वा मार्क्सवादका चारवटा जार्गन भनेबापत ? के कारणले ऊ कम्युनिस्ट पार्टी हो त ? उसको कुन आचारण, पद्दति, नीतिले वा जनतासँग गरेको कुन व्यवहारले ? जनताको वा समाजको बीचको के कुरामा सिर्जनशीलता भर्ने काम गर्छ त्यो पार्टीले ? अथवा लिबरल डेमोक्रेटिक पार्टी हुँ भन्यो भने त्यसको कुन लक्षणले ऊ लिबरल डेमोक्रेटिक पार्टी हो त ?

म त के देख्छु भने हामीकहाँ पञ्चायतकालमा निर्माण भएको विचारधारा नै हावी छ । हाम्रोमा पछिल्लो १५ वर्षमा धेरै बहस पृृथ्वीनारायण शाह राष्ट्रनिर्माता भए कि भएनन् भन्नेबारे भएको हो नि ! को कति क्यारेटको मार्क्सवादी भन्ने त कुरै छाडिदिनुस् । पृृथ्वीनारायण शाहमै छ हाम्रो समाजको बहस । पार्टीभित्र सबैभन्दा धेरै बहस त्यसैबारे भएको हो । अहिले प्रतिगमनको यो बिन्दुमा आइपुुग्दाखेरि नारायणहिटी दरबार अगाडि गएर केपी ओलीले हिन्दुराष्ट्र घोषणा गर्दैछन् भन्ने अपेक्षा थियो ! त्यो ठाउँमा राजनीति पुुगेको हो । राम र सीताको मूर्ति पठाउन बालुवाटारमा खडा गरिराखेको स्थिति छ । त्यहाँ छ नि बहस त !

पुुँजीवाद, दलाल पुँजीवाद, समाजवादको  डिस्कोर्स त केवल किताबमा छ । तर यहाँ चलिरहेको राजनीति, जीवन अन्तै छ । यद्यपि चुरो हामीले पत्तै नलगाएको भने होइन । ०६२–६३ को आन्दोलन पार गरिसक्दा हाम्रो राज्यको पुनर्संरचना कुन आधारमा गर्ने भन्नेमा ज्ञान त पत्ता लगाएको हो नि ।

नेपाली राज्यसत्ताको मोडेल एउटा पश्चिमा ढाँचाको अर्थात् औपनिवेशिकरणको भइहाल्यो । अर्को आदिवासी, दलित, जनजातिमाथिको  सब्जेक्टिभ–अब्जेक्टिभ औपनिवेशीकरणको हतियार बनेको  हाम्रो राज्यसत्ता चलाउने विचारधारा वर्णव्यवस्था चलाउने विचारधारा बनेको हो । अर्को विचारधारा भनेको पितृसत्ता हो ।

हाम्रो चाहिँ सतहभन्दा, जीवनभन्दा माथि छ । राजनीति पार्टीहरू जनताको जीवनभन्दा बाहिर हावामा छन् । अनि त्यो विचारलाई हामीले ती राजनीतिक पार्टीहरुलाई त्यही पश्चिामा तौरतारिकाअनुसार सुधार गर्न  खोजिरहेका छौं भने त्यो सम्भव छैन ।

यी तीनवटा विचारधारालाई ‘अन्डुु’ गर्ने (पूर्ववत अवस्थामा लैजाने) वा अल्टर (फेरबदल) गर्दै लैजाने, त्यसभित्रबाट समाजलाई न्यायपूर्ण अग्रगमनमा लैजानका लागि कुनै काम गर्ने साधनको रुपमा  हाम्रो राजनीतिक दल भइदिएको भए र त्यो राजनीतिक दलको संरचना त्यो विचारको आधारमा निर्माण भएको भए त्यसको संरचना पनि काम लाग्दो हुन्थ्यो ।  त्यसमा जतिसुकै दलाल पुुँजीपतिहरूले हस्तक्षेप गर्न खोजे पनि सक्दैन थिए किनकि त्यो समाजको जरासँग जोडिएको हुन्थ्यो । तर हाम्रो चाहिँ सतहभन्दा, जीवनभन्दा माथि छ । राजनीति पार्टीहरू जनताको जीवनभन्दा बाहिर हावामा छन् । अनि त्यो विचारलाई हामीले ती राजनीतिक पार्टीहरुलाई त्यही पश्चिामा तौरतारिकाअनुसार सुधार गर्न  खोजिरहेका छौं भने त्यो सम्भव छैन ।

त्यो सम्भव कसरी हुन्छ भने हाम्रो राजनीतिक पार्टीहरूको वैचारिक लाइन पहिले बनाउनुुपर्यो । पश्चिमा विचारधाराबाट आएको चीजलाई जस्तोका त्यस्तै लिएकाले पार्टीहरू नक्कली भएका हुन् । कुरा चाहिँ मुखमा छ  तर व्यवहारमा किन आउँदैन ? त्यो किन आउँदैन भने व्यवहार चलाउन त पञ्चायतले बनाएको विचार छ नि । त्यो मिलिरहेको छैन । त्यसकारण समाजलाई चिन्ने बिचार, त्यसअन्तर्गत  हुने पार्टी र पार्टी सदस्यहरु र जनताका जीवनसँग प्रत्यक्ष जोडिने गरी त्यसअन्तर्गत बन्ने पार्टी संरचनाहरुले मात्रै काम गर्छ जस्तो मलाई लाग्छ ।  

 


 

 

रातोपाटीको अंग्रेजी, हिन्दीग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।

कमेन्ट

कमेन्ट गर्नुहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.