शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

जल्दै गरेको घरबाट भागेका दिल्लीका भूरे खानको जिन्दगी यसरी चल्दैछ

बुधबार, १९ फागुन २०७७, १२ : १५
बुधबार, १९ फागुन २०७७

२४ फेब्रअरी २०२० को दिन एकपटक फेरि भूरे खानको आँखा अगाडि घुम्यो । उनको बोली थरथर्राउन थाल्यो, आँखाबाट आशु आयो, मुस्किलले उनी आफैंलाई सम्हाल्ने प्रयासमा थिए । २४ फेब्रअरी २०२० मा जब दंगाकारीले भूरे खानको पसल अगाडि पार्क गरिएको कार, पसल र घरमा आगो लगाइदिएका थिए, तब ज्यान जोगाउनका लागि उनी र उनको परिवार जल्दै गएको घरको छतबाट भागेका थिए । 

त्यसको भोलिपल्टै  दिउँसोको समय खानलाई बीबीसीले भेटेको थियो । जलेका रिक्सा, स्कुटर र फुटेका सिसाहरु पार गर्दै मानिसहरुसँग कुराकानी गर्दै बीबीसीको टोली उनीसामु पुगेको थियो र उनले घटनाको बयान गरेका थिए । 
वर्ष दिनपछि फेरि उनीसँग भेट्दा त्यस दर्दनाक दिनको संझना फेरि गरियो । ‘तपाई गएपछि घर हेरेर रुन्थे । 

परिवारका बाँकी सदस्यलाई एउटा कोठा भाडामा लिएर राखे । कयौं दिनसम्म त यो के भयो भन्ने लाग्यो । केही दिनमा सम्हालिएँ, फेरि लकडाउन भयो,’ आँशु सम्हाल्दै उनले भने । भूर दुखी छन्, उनलाई घर नजिकैको सडकमा गुड्ने सवारीको आवाज अझै चर्को लाग्न थालेको छ । यस इलाकामा मेट्रो रेल निर्माणको काम चल्दैछ, यसलाई राजधानी दिल्ली र भारतका अन्य हिस्सामा विकासको नयाँ निशानीका रुपमा लिइएको छ । 

मानिसहरुले आफु सभ्य भएको दाबी गरेको हजारौं वर्षपछि पनि जब मानिस–मानिस मारकाट, लूटपाट गरिरहेका छन् । महिलाहरुको शरीरलाई लुटिएको छ । अनि, सिमेन्ट–स्टिलका यी स्तम्भहरुमा खडा भएर मानिसले आफैंलाई सान्त्वना दिँदैछ कि हामी अघि बढ्दैछौँ, चमत्कार गर्दैछौं । 

ठूला सडकहरूदेखि गल्लीहरू र नालाको किनारमा बसेका उत्तर पूर्व दिल्लीका बस्तीहरुमा पनि विकास पुगेको छ, त्यही इलाकामा जहाँ वर्ष दिन पहिले दंगामा ५३ जना मारिएका थिए । मर्नेहरूमा हिन्दू– मुसलमान सबै थिए । ८५ वर्षकी एक वृद्धालाई ज्यूँदै जलाइएको थियो । 

बीबीसीको टोली भूरे खानको घरको पहिलो तलामा राखिएको दुईवटा कुर्सीमा आमने सामने बसेको छ । पछाडि त्यो सिँढी छ, जहाँ तल बसेर उनले एक वर्षअघि हामीलाई दंगाबारे जानकारी दिएका थिए । उनीसँगै उनकी श्रीमती, छोरीहरू र भाइ पनि खडा थिए र सबै डरले त्राहि माम थिए । 

जहाँ हामी बसेका छौं, त्यहाँ अझै पनि दंगाका निशान चारैतर्फ छ । ढोका पछाडि किलामा लड्किएको आधा जलेको सर्ट, जलेको सोफा, आगलागिपछि भित्तामा पोतिएको धुवाँको निशान । 
भूरे खानका अनुसार यसलाई सफा गर्ने हिम्मत पनि छैन । ‘अहिले त यही सपना छ कि कुनै तरिकाले घर बनाउन सकियोस् ।’

उनको पिठ्यँुतर्फको जुन भित्ता छ, त्यसमा एक फोटो फ्रेम छ । वर्षौं पुरानो तस्विर रंग बदलिएर पहेँलो देखिन लागेको छ । भूरेका अनुसार यो उनका हजुरबा दाद बुन्दे खानको फोटो हा, जो फौजमा थिए । 
लकडाउनका दौरान भूरे खानले तरकारी र फलफूलको ठेला चलाए । यही समय ईद आयो र गयो । अब लकडाउनपछि फेरि पसल खुलेको छ र फेरि जिन्दगीको इटा जोड्ने कोसिसमा उनी छन् । 

उनी भन्छन्,‘हामीले केही पैसा पनि जोडेका छौं । केही चिज थियो मसँग सुनको, त्यसलाई बैंकमा राखेर ऋण लिएको छु,’ आँखाबाट आँशु रोक्दै भुरे खानले भने,‘ सरकारले जुन मुआब्जा घोषणा ग¥यो । त्यसको आधार के थियो ? कुन हिसाबले पैसा आयो । मैले बुझिँन । मेरो पसल जल्यो, घर जल्यो र केवल १ लाख ८४ हजार पाएँ । त्यसमध्ये धेरै पैसा लकडाउनका दौरान खाँदा नै सकियो ।’ 

सडकको किनारसँग जोडिएको पसल र घर भूरे खानको थियो, तर दुबैमा आगो लागेपछि उनी सडकमा आए । भूरे खानलाई समय समय प्रहरीले दंगाकारीहरुलाई देखेको छौं भनेर सोध्ने गरेको छ । छैन भनेर उनी जवाफ फर्काउँछन् । ती प्रदर्शनकारीहरूले हेल्मेट लगाएका थिए । 

खानका अनुसार प्रहरीले आफैं एफआईआर दर्ता गराएको थियो, एक स्थानीय पुलिस अधिकारीका तर्फबाट यो दर्ता गराइएको थियो । त्यसपछि ती प्रहरीले दिएको लिखित ब्यहोरालाई पनि यस घटनामा समावेश गरियो । 

‘मलाई १९८४ पनि याद छ’

भूरे​ खान जब सानो थिए, तब उनले १९८४ मा भएको दंगा देखेका थिए । उनी भन्थे,‘झन्डै ३५ वर्षदेखि मैले झन्डै त्यसलाई भुलिसकेको थिएँ । तर हामीले सोचेका थिएनौं कि दिल्लीमा फेरि यस्तो हुनेछ । हामीले त सोचेका थियौं, दिल्लीमा सानले बस्नेछौं । पुलिस प्रशासन यहाँ निकै कडा छ ।’

भारतको स्वतन्त्रतापछि राजधानी दिल्लीमा भएको दोस्रो ठूलो हिन्दू–मुस्लिम दंगामा पनि पुलिसमाथि त्यसरी नै प्रश्न उठ्यो, जसरी १९८४ मा उठेको थियो । 
भूरे खानको घरजस्तै चाँद पीरको मन्जारमा पनि आगो लागेको निशान बाँकी छ, यो पनि निर्माणकै प्रतिक्षामा छ ।  यहाँ केही ईटाहरु जोड्ने कोसिस भएको देखिन्छ, तर पछि निर्माण गर्ने भन्दै फेरि मानिसहरुले पुनर्निर्माणमा रोक लगाइदिएका छन् । दिल्लीबाट ९ सय ४६ किलोमिटर पर अहमदावादमा उर्दूका शायरवाला दक्कनीको शालिक पनि तोडिएको थियो, तर त्यो फेरि बन्न सकेन । 

बीबीसी हिन्दी

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप