शनिबार, १५ वैशाख २०८१
ताजा लोकप्रिय

काठमाडौंबाट १ करोड ५० लाखको नक्कली कस्मेटिक जफत

मङ्गलबार, २४ चैत २०७७, २२ : ४५
मङ्गलबार, २४ चैत २०७७

काठमाडौं । महानगरीय अपराध महाशाखा र बाणिज्य विभागको टोलीले गैह्रकानूनी रुपमा उत्पादन गरिएको कस्मेटिक सामग्री जफत गरेको छ । काठमाडौं महानगरपालिकास्थित कलंकी, मखन गल्ली र चन्द्रागिरी नगरपालिका–१५ ढुंगेअड्डामा गैह्रकानूनी रुपमा उत्पादन गरेको कस्मेटिक जफत गरिएको हो ।

विराटनगर घर भएका ३३ वर्षीय चेतन गोयलले भारतीय कालाकोला ब्रान्डको मेहन्दी र अन्य नाम चलेका ब्रान्डमा प्याक गरेर आफ्नै उत्पादन बेच्ने गरेका थिए । चेतनलाई पक्राउ गरेर थप अनुसन्धान थालिएको महानगरीय अपराध महाशाखाका एसएसपी चन्द्र कुवेर खापुङले रातोपाटीलाई बताए ।  

०७३ साउन १९ मा उच्च अदालतले खारेज गरेको ट्रेडमार्क ‘निसा’ प्रयोग गरेर उनले कस्मेटिक सामान उत्पादन गरिरहेका थिए । महाशाखा र विभागको टोलीले कलंकीमा रहेको उनको उद्योग ‘हाबिब कालाकोला हेन्ना’ मा सिल गरेका छन् ।

उद्योग र गोदाममा फेला परेको करिब १ करोड ५० लाख मूल्य पर्ने मेहन्दी लगायत कस्मेटिक सामान अनुसन्धानका लागी नियन्त्रणमा लिएर सिलबन्दी गरिएको अपराध महाशाखाले जनाएको छ । २ वर्षअघि महाशाखाले चेतनलाई कालाबजारी र ठगी कसुरमा मुद्दा चलाएको थियो ।

कमसल उत्पादन, ब्रान्डेड प्याकेट

कलंकीस्थित चेतनको उद्योगमा २४ प्रकारका कस्मेटिक सामग्री उत्पादन हुने गरेको छापा मार्दा भेटिएको छ । ती सामग्री प्याकेजिङ गर्न उनीसँग आफ्नो कम्पनी र नाम छैन् । भारत र नेपालमा ब्रान्डका रुपमा स्थापित कम्पनीको ट्रेडमार्क दुरुपयोग गरेर उनले प्याकेट बनाउने र त्यसमा प्याक गरेर बजार पठाउने गरेको भेटिएको छ ।

‘धेरैजसो विदेशी कम्पनीको खोलमा कमसल सामग्री बेचेर स्वास्थ्यमा खेलवाड गरेको देखिएको छ’ एसएसपी खापुङले भने– ‘थप अनुसन्धान हुँदैछ ।’ चन्द्रागिरी नगरपालिका–१५ ढुंगेअड्डामा उत्पादित सामग्री भण्डारण गरेको भेटिएको छ । काठमाडौं महानगर–२५ ताम्राकार प्लाजामा रहेको आहान इन्टरप्राइजेज बाट ती सामग्री बजार पठाइन्थ्यो । आहान इन्टरप्राइजेजमा पनि हाबिब काला–कोलाका विभिन्न कस्मेटिक सामानहरु आफैंले तयार गरी ओरिजिनल लेखिएको होलोग्रामहरु टाँस गरेको भेटिएको छ ।

कमसल सामान उत्पादन गर्न उनले ४ वटा मेशिन प्रयोग गर्थे । सामान कमसल हुन्थ्यो तर, चेतनले ब्रान्डेड प्याकेटमा बजार पठाएर उपभोक्तालाई ठग्ने गरेको आरोप छ । कस्मेटिक सामान ओसार्न प्रयोग हुने बा.१९च ८०५३ नम्बरको भ्यान र सो भ्यानमा रहेको ८ बोरा निशा मेहेन्दी पनि बरामद गरिएको अपराध महाशाखाले जनाएको छ ।

काला–कोला मेहेन्दीको प्याकेटमा उत्पादन स्थान, मिति र म्याद समाप्त हुने मिति लगायतका महत्वपूर्ण विवरण समेत उल्लेख नगरिएको प्याकेट प्रहरीले बरामद गरेको छ । ताम्राकार प्लाजामा रहेको  आहान इन्टरप्राइजेज चेतनले ०७६ पछि नवीकरण नगरी सञ्चालन गरेको भेटिएको छ ।

यो पनि पढौँ...

 


 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप