यस्तो छ सेलिब्रेटीको नयाँ वर्षको योजना र संकल्प

काठमाडौँ । वर्ष २०७७ सकिएर नयाँ वर्ष २०७८ साल सुरु भइसकेको छ । नयाँ वर्षको दिन नयाँ जोस, जाँगर र रमाइलो सँग बिताउन सकियो भने वर्षभरिका दिन त्यसैगरि बित्ने भन्ने कतिपयको मान्यता छ ।
त्यसैले यो दिन मठमन्दिर गएर, सकारात्मक सोच, एकता, नयाँ योजना र मीठा परिकार खानपिन गर्दै एक अर्काको प्रगति र सफलताको कामना गरि हर्षोल्लासका साथ मनाइन्छ । नयाँ वर्षको प्रारम्भसँगै हरेकले नयाँ–नयाँ योजना र संकल्प समेत गर्ने गर्दछन् । केही सेलिब्रेटीको नयाँ वर्षको योजना र प्रण यहाँ प्रस्तुत गरिएको छ
दीपकराज गिरी (अभिनेता)
नयाँ वर्षको पहिलो दिन संयोजले जन्मदिन परेको छ । त्यसैले मठमन्दिर जाने, प्रार्थना गर्ने, साथीभाई, सहकर्मीबाट आशीर्वाद प्राप्त गर्ने, फ्यानसँग केही समय रमाउने सोचमा छु । धेरै, थोरै सके जति सहयोग समेत गर्नेछु । भविष्यको योजना समेत बनाउँछु । बेलुका घरपरिवारसँग बसेर रमाइलो गर्छुु । आफूमा भएको खराबी यो बर्ष हटाउने प्रण गर्दछु ।
देवीका बन्दना (गायिका)
घरमा नै रमाइलोसँग मनाउँदैछु । कोरोनाको कहर दिन प्रतिदिन बढ्दो छ । तैपनि यो वर्ष धेरै काम गर्ने सोच छ । नयाँ गीत रेकर्ड, गीतको भिडियो निर्माण, देशविदेशको कार्यक्रममा पनि सहभागी हुने सोच छ । अरुलाई नराम्रो लाग्ने आफ्नो बानी हटाउने प्रण लिन्छु ।
रोशनी केसी (अभिनेत्री, निर्माता)
अहिले कोरोनाको दोस्रो लहरको जोखिम बढेको छ । त्यसकारण यो वर्ष आफ्नो घरमै परिवारसँग नयाँ वर्ष मनाउँदैछु । बढ्दो कोरोनाको कारण पनि यो बर्ष भीडभाडबाट जोगिनु जरुरी छ । २०७८ मा नयाँ फिल्म निर्माण गाह्रो छ । फिल्म निर्माण नगरेपनि चलचित्रसँग सम्बन्धित मेरो अधुरा कामहरु पुरा गर्नेछु । सकारात्मक सोचका साथ जीवन बाच्न कोसिस गर्ने र हरेक नागरिकलाई कोरोना संक्रमणबाट जोगिन सावधानीका लागि पहल गर्ने प्रण रहेको छ ।
दीपेन्द्र के खनाल (निर्देशक)
हालै बुबा गुमाएको भएकोले नयाँ वर्षको खासै उमंग छैन । नयाँ वर्षमा केही नयाँ काम गर्ने सोच भने छ । यो वर्ष कोरोना संक्रमण हराएर सम्पूर्ण विश्वको जनजीवन सामान्य बनोस् यही कामना गर्दछु ।
सीपी पुडासेनी (हाँस्य कलाकार)
आजको दिन परिवारसँगै बिताएको छु । नयाँ वर्षको सुरुवातसँगै नयाँ हास्यश्रृंखला ‘राम्रो म’ लिएर आउँदैछु । यो श्रृंखला नेपाली हाँस्यश्रृखलाकै मार्ग निर्देशन गर्न सक्ने बनाउने प्रण र उद्देश्य छ ।
डिआर उपाध्याय (गीतकार)
नयाँ जोश, उमंग र खुसीकासाथ परिवारसँगै घरमा छु । दुई नयाँ उपन्यासको रुपरेखा कोर्ने सोच समेत छ । ती दुई उपन्यास वर्ष २०७८ भित्र बजारमा ल्याउने प्रण गर्दै यो वर्ष कम्तिमा पनि ५ विश्व कीर्तिमान राख्ने कोसिस गर्नेछु ।
अनु शाह (अभिनेत्री)
परिवार लिएर बाहिर घुम्न निस्कने योजना थियो । म्युजिक भिडियोको सुटिङले सिन्धुलीमा आएकोले त्यो प्लान फेल खायो । यो बर्ष नयाँ नयाँ एक्सपेरेन्स होस्, नयाँ नयाँ ठाउँ घुम्न पाइयोस् भन्नेछ ।
शुलेमान शंकर (इकु)
आफ्नै आश्रमका १४ जना बाबुनानीसँग खुसी साटासाट गर्दै मनाउँदैछु । वर्ष २०७८ मा कोरोनामुक्त होस् भन्ने प्रार्थना मेरो रहनेछ ।
नम्रता सापकोटा (अभिनेत्री)
घरमै फ्यामिलीसँग मनाउँदैछु । कोरोनाको कारणले गर्दा बाहिर नजाने सोच बनाएको छु । नजिकका साथी र आफन्तसँग मनाउँछु । नयाँ वर्षमा स्तरीय नयाँ काम गर्ने प्रण गर्दछु ।
दिनेश काफ्ले (हास्य कलाकार)
कोरोनाको बढेको हल्लाले गर्दा मैले सहभागी जनाउनु पर्ने केही कार्यक्रम रद्द भयो । आफ्नो जन्मथलो सिन्धुलीमा ‘द बर्गर हाउस एण्ड क्रन्ची फ्राई चिकेन’ नयाँ साखा खोलेर जीवनमा नयाँ उमंग भर्न लागेको छु । यो कामबाट १५–१६ जनालाई रोजगारी दिँदैछु । कलाकारिताबाट भएको आम्दानीका अलिअलि जम्मा गरेर यो व्यवसाय गर्न लागेको हो । नयाँ वर्षमा आफु र मैले रोजगार दिएको ब्यक्तिको जीवनमा उमंग थपिने विश्वास लिएको छु ।
खुस्बु खड्का (अभिनेत्री)
त्यस्तो केही योजना छैन । जताततै कोरानाको कहरले गर्दा घरमै आफन्तसँग खुसी साट्दै मनाउँदैछु । केही उल्लेखनीय काम गर्ने, भिडभाडमा नजाने र नराम्रो बानी त्यस्तो केही छ भने हटाउने प्रण गर्दछु ।
शिवशंकर रिजाल (जोगिन्दर)
वर्ष २०७८ पनि कोरोनाले पिरोल्ने देखिएको छ । त्यसैले गतवर्ष झै कुनै उत्सव, महोत्सव र कार्यक्रम यो बर्ष पनि भएन । आज घरमै परिवारसँग बसेर विभिन्न मन्दिर गएर मनाउँदैछु । २०७८मा दर्शकका लागि भरपूर मनोरञ्जनले भरिएको नयाँ कार्यक्रम दिने प्रण गर्दछु ।
रजनी केसी (अभिनेत्री)
यो वर्षपनि कोरोनाको त्रास र सावधानी कायम नै छ । अहिले सुरक्षित रहनु पर्ने बेला हो । त्यसैले कुनै विषेश तरिकाले नयाँ वर्ष मनाइएको छैन । कोरोनाको कहर नबढेको भए कतै घुम्न जान्थे होला । पहिले झै खुलेर काम गर्ने, आफु र आफन्त सधै खुसी राख्ने प्रण नयाँ बर्षमा पनि छ । नयाँ वर्षमा कोरोनाको कहरबाट सबैले मुक्ति पाउन् यही कामना पनि छ ।